सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन एक दिन लम्बिने, मनिष झा महामन्त्रीमा भिड्ने

सोमबार, ०८ असार २०८३, १४ : ५४
सोमबार, ०८ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनको भरतपुरमा जारी पहिलो राष्ट्रिय महाधिवेशन निर्धारित समयभन्दा एक दिन थप भई भदौ १० गतेसम्म लम्बिने भएको छ।
  • अपेक्षितभन्दा बढी प्रतिनिधिहरूको सहभागिता र व्यवस्थापकीय चुनौतीका कारण महाधिवेशन लम्बिएको हो, जसमा ४ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी भइसकेका छन्।
  • रास्वपाका नेता मनिष झाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने स्पष्ट पारेका छन्।

चितवन । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन निर्धारित समयभन्दा एक दिन ढिलो गरी समापन हुने भएको है।

प्रतिनिधिको अपेक्षित सङ्ख्याभन्दा बढी सहभागिता र व्यवस्थापकीय चुनौतीका कारण महाधिवेशन भदौ १० गतेसम्म लम्बिने देखिएको हो।

महाधिवेशनको पछिल्लो अवस्थाबारे जानकारी दिँदै रास्वपाका सांसद एवं नेता मनिष झाले सुरुमा ३ हजार प्रतिनिधिको आँकलन गरिए पनि हाल ४ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी भइसकेको र यो सङ्ख्या ४ हजार ५ सयसम्म पुग्न सक्ने बताए। उनका अनुसार प्रवासबाट समेत अपेक्षितभन्दा चार गुणा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ। 

पहिलो महाधिवेशन भएकाले केही व्यवस्थापकीय कमजोरी र कार्यविधिको अभाव रहेको स्वीकार गर्दै झाले यसलाई सिकाइको रूपमा लिएको उल्लेख गरे। पार्टी नेतृत्वका लागि सहमति जुटाउने प्रयास भइरहेको र सहमति नभए लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचनमा जाने तयारी समेत गरिएको छ। हाल दर्ता प्रक्रिया जारी रहेको र छुटेका प्रतिनिधिहरूलाई समेट्न छुट्टै टोलीले काम गरिरहेको जानकारी दिइएको छ।

manish jha 2

यसैबिच नेता झाले पार्टीको महत्त्वपूर्ण पद महामन्त्रीमा आफ्नो उम्मेदवारी दिने स्पष्ट पारेका छन्। सुरुमा केही द्विविधामा रहे पनि आफू अब मानसिक रूपमा तयार भएको उनको भनाइ छ।

आफ्नो उम्मेदवारी र महाधिवेशनको समयबारे नेता झाले भने, ‘हामीले ९ गते नै सबै कार्यक्रम सक्ने लक्ष्य राखेका थियौँ, तर प्रतिनिधिको ठुलो सङ्ख्या र उम्मेदवारीमा धेरैको आकाङ्क्षाका कारण १० गतेसम्म लम्बिन सक्ने कुरामा हामी मानसिक रूपमा तयार थियौँ। राजनीतिमा लागेपछि थप चुनौती लिन तयार हुनुपर्छ। पार्टीको आगामी दुई निर्वाचनको तयारी र देशले राखेको अपेक्षालाई सम्बोधन गर्न महामन्त्रीको जिम्मेवारी महत्त्वपूर्ण छ। मैले आफ्नो क्षमता, पृष्ठभूमि र साथीहरूको सल्लाहका आधारमा यस पदका लागि आफूलाई योग्य पात्र ठानेको छु।’

उनले महामन्त्री पदलाई ठुलो जिम्मेवारी र जोखिमका रूपमा व्याख्या गर्दै आफूले पदसँग न्याय गर्न सक्ने आत्मविश्वासका साथ प्रतिस्पर्धामा उत्रने निर्णय गरेको बताए। चितवनको चर्को गर्मी र व्यवस्थापकीय असहजताका बाबजुद पनि कार्यकर्ताहरूमा उत्साहजनक सहभागिता देखिएको झाले उल्लेख गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप