बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

बर्ड फ्लूबाट बागमती प्रदेशमा ३ करोडको क्षती

बुधबार, ०९ चैत २०७८, १९ : ५०
बुधबार, ०९ चैत २०७८

बागमती प्रदेशमा बर्ड फ्लूका कारण ३ करोड बराबरको आर्थिक क्षती भएको छ । गत माघ १६ गतेदेखि प्रदेशका विभिन्न जिल्लामा देखिएको बर्ड फ्लू रोगबाट देशभर ६ करोड बराबरको आर्थिक क्षती भएको छ भने त्यसको आधा भाग बागमती प्रदेशमा भएको कृषि तथा पशुपन्छी मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।

मन्त्रालयले बुधबार हेटौंडामा पत्रकार भेटघाटमा हालसम्म प्रदेशका ६ जिल्लाका पन्छीहरूमा बर्ड फ्लू रोगको संक्रमण देखा परेको जनाएको छ । प्रदेशका मकवानपुर, चितवन, काठमाडौं, भक्तपुर, ललितपुर र सिन्धुपाल्चोकका कृषकहरुले पालेका पन्छीहरूमा बर्ड फ्लू रोगको संक्रमण देखापरेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म बर्ड फ्लू रोगको संक्रमण देखिएका जिल्लाहरुमा ५८ हजार २६१ वटा पन्छी, २२ हजार ३४ वटा अण्डा र ११ हजार ४३९ किलो दाना नष्ट गरेको छ । जसमा काठमाडौंमा १९ हजार ५०६ वटा पन्छी, ५ हजार ६५२ वटा अण्डा र ४ हजार १०८ किलो दाना नष्ट गरिएको छ । त्यस्तै चितवनमा ९ हजार ६७० पन्छी, २ हजार ३८६ वटा अण्डा, १ हजार ५०० किलो दाना, भक्तपुरमा २४ हजार ३१९ वटा पन्छी, १३ हजार ९० वटा अण्डा, २ हजार ९०० किलो दाना, मकवानपुरमा ३१६ वटा पन्छी, १६ वटा अण्डा, ८२ किलो दाना, ललितपुरमा २ हजार २६२ वटा पन्छी, ९०० किलो दाना र सिन्धुपाल्चोकमा २ हजार १८ वटा पन्छी, १ हजार ९५० किलो दाना नष्ट गरिएको छ ।

६ जिल्लामा बर्ड फ्लू रोगको संक्रमणको कारण ५७ हजार ११४ वटा विभिन्न जातका कुखुरा नष्ट गरिएको कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव शरण कुमार पाण्डेले बताए । उनले क्षती व्यहोरेका कृषकहरुलाई संघीय र स्थानीय सरकारसँगको सहकार्यमा क्षतिपूर्ति समेत दिने तयारी भइरहेको बताए । संघीय सरकारले तोकेको मापदण्ड र नीति अनुसार क्षती व्यहोरेका कृषकहरुलाई राहत स्वरुप क्षतीपूर्ती दिने सरकारको योजना रहेको उनको भनाइ छ ।

प्रदेशका बर्ड फ्लू रोगको संक्रमण देखिएका जिल्लाहरु हाल सुरक्षित रहेको उनले बताए । प्रदेशका अन्य जिल्लामा बर्ड फ्लू रोग फैलन नदिन परिक्षणको दायरालाई फराकिलो बनाइएको उनले बताए । एक क्षेत्रबाट अर्को क्षेत्रमा संक्रमण फैलन नदिन नमूना संकलन, परिक्षण र निगरानी कार्यहरु बढाइएको उनको भनाइ छ । संक्रमणको जोखि बढ्न नदिन र रोगको नियन्त्रणको लागि प्रदेश सरकारले मातहतका निकायमा कार्यरत पशु चिकित्सक तथा कर्मचारीहरुलाई लामो बिदा नबस्न तथा जिल्ला नछाड्न पत्राचार गरेको छ ।

त्यस्तै सबै जिल्लाका भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रबाट ¥यापिड टेस्ट किटबाट परिक्षणको व्यवस्था मिलाइएको छ । संक्रमित पन्छीहरूको ओसार प्रसारमा पनि कडाइ गरिएको छ । त्यसका लागि प्रहरीको समन्वयमा पन्छी पालक व्यवसायीले पन्छी ढुवानीको लागि भेटेरिनरी स्वास्थ्य कार्डमा कडाई गर्ने र ¥यापिड टेष्ट रिपोर्ट अनिवार्य गर्ने सम्बन्धमा छलफल गरिरहेको मन्त्रालयका प्रवक्ता झलकनाथ कंडेलले बताए । रोग नियन्त्रणका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न कृषि तथा पशुपन्छी विज्ञान अध्ययन संस्थानहरूसँग छलफल जारी रहेको र संक्रमण भएको सूचना छिटो प्रवाह गर्नका लागि टोल–फ्रि नम्बरको व्यवस्थापनमा मन्त्रालय लागेको उनले बताए ।

रोगबाट बढी क्षती हुन नदिन तत्काल आपतकालिन योजना निर्माण गरी कार्यान्वयन गर्न मन्त्रालय अग्रसर रहेको तथा संघीय र स्थानीय सरकारसँगको समन्वयमा आपतकालिन रोग अन्वेषण एवम् संक्रमित पन्छी, पन्छी जन्य पदार्थ उत्पादन सामग्रीहरु नष्ट गर्ने काम भइरहेको उनको भनाइ छ ।

मन्त्रालयले बर्ड फ्लू रोग अन्यत्र फैलन नदिन पन्छी पालक कृषकहरुले जैविक सुरक्षालाई अवलम्बन गर्न, फाम तथा घरमा पालिएका पन्छीहरूलाई जंगली पन्छीबाट अलग राख्न, पन्छी र पन्छी जन्य पदार्थ ओसारपसार गर्दा अनिवार्य रुपमा परिक्षण गराई भेटेरिनरी प्रमाण पत्र लिन, ढुवानीमा प्रयोग गरिएका सवारी साधन निःसंक्रमण गर्न, ढुवानी कर्ता र पन्छी फार्ममा काम गर्ने व्यक्तिगत स्वास्थ्य तथा सरसफाइमा ध्यान दिन आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप