मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय
कर्णालीमा बजेट विवाद

‘प्रतिपक्षले बजेट प्रस्तुत हुनुअघि नै विरोध गर्नु जायज थिएन’

हरेक ठाउँमा राजनीति गर्ने प्रवृत्तिले कर्णालीका मान्छे निकै पछाडि परेः मन्त्री शाह
मङ्गलबार, ०३ असार २०८२, १२ : ०३
मङ्गलबार, ०३ असार २०८२

समाचार सारांश

  • कर्णालीका अर्थमन्त्री राजीवविक्रम शाहले बजेट ल्याउँदा विभिन्न दबाब झेल्नुपरेको बताए। बजेट प्रस्तुत हुनुअघि नै विवादित बनेको र प्रतिपक्ष दलसँग सहमति गर्नुपरेको थियो।
  • बजेटले भ्रष्टाचार कम गर्ने र विकासको अनुभूति दिलाउने लक्ष्य राखेको छ। पुँजीगत बजेट वृद्धि, कृषि र पर्यटनमा जोड, तथा युवा लक्षित कार्यक्रम समावेश छन्।
  • मन्त्री शाहले व्यक्तिगत योजनाको मागलाई कम गर्दै ठूला र देखिने योजनामा बजेट केन्द्रित गरेको बताए। चालु खर्च कटौती गरी पुँजीगत बजेट बढाउने योजना रहेको छ।

सुर्खेत । कर्णालीका अर्थमन्त्री राजीवविक्रम शाहले बजेट ल्याउने क्रममा विभिन्न दबाब झेल्नुपरेको बताए । संसदमा पेस हुनुअघि नै बजेट विवादित बनेको कर्णालीमा यो पहिलो पटक हो । प्रतिपक्ष दल माओवादीसँग मुख्यमन्त्री यामलाल कँडेल र सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले एक बुँदे सहमित गरेका छन् ।

सहमतिमा भनिएको छ– आज बजेट प्रस्तुत गर्ने, योजना निर्माण र बजेटसँग प्रमुख प्रतिपक्षले उठाएका विषयमा छलफल पश्चातमात्र सदनको प्रक्रिया अगाडि बढाउने सहमति गरियो ।

मन्त्री शाहले बजेटमात्र प्रस्तुत गरे, आर्थिक विधेयक र विनियोजन विधेयक अझै पेस गर्न पाएका छैनन् ।

यही सन्दर्भमा मन्त्री शाहसँग रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः

तपाईंले ल्याएको बजेट संसदमा प्रस्तुत हुनुअघि नै विवादित बनेको छ, जसका कारण मध्यराति बजेट ल्याउनुप¥यो, यो विषयमा के भन्नुहुन्छ ?

म आफूले ल्याएको बजेटमा शतप्रतिशत विश्वस्त थिएँ र छु । तर, प्रमुख प्रतिपक्षले बजेट प्रस्तुत हुनुअघि नै विरोध गर्नु जायज थिएन । बजेटमा के छ भनेर हेरेपछि चित्त नबुझेका विषयमा आवाज उठाउनु उहाँहरूको अधिकार हो, तर त्यसअघि नै प्रक्रिया रोक्नुले मेरो आफ्नो मेहनत खेर जाने हो कि भन्ने चिन्ता भयो ।

विभिन्न किसिमका इस्यु थिए । प्रतिपक्ष दलका मागहरूलाई मैले व्यक्तिगत रूपमा सम्बोधन गर्न नसके पनि संस्थागत रूपमा त्यसको ‘स्प्रिट’लाई सम्बोधन गर्ने प्रयास गरेको छु । यो विवाद सुल्झाउन मैले राति १० बजेसम्म विभिन्न सचिवहरूसँग बसेर छलफल गरेँ र हामीले त्यसको शीर्षक बचाएर राखेका छौँ ।

  • खासमा प्रतिपक्षको माग के थियो, उहाँहरूले भनेजस्तो योजना छनोटमा कमजोरी भएकै हो ?

म त्यो सबै विवरणमा जान चाहन्नँ । यो विषयमा सरकारका प्रवक्ताले बोल्नुहोला । धेरैजसो छलफल दलका नेताहरू र मुख्यमन्त्रीकै तहमा भएको थियो । सधैँ हामीले मागेजस्तै सबै कुरा बजेटमा आउन सक्दैन किनकि सरकार नियम–कानुनभित्र बसेर चल्नुपर्छ । वित्तीय हस्तान्तरण ऐनभन्दा बाहिर गएर हामीले केही गर्न सक्दैनौँ, तर हामीले उहाँहरूले उठाएका विषयका मर्मलाई छोडेका छैनौँ ।

यो सरकार एक्लै हिँड्यो भन्ने आरोप गलत हो । सबै माग जस्ताको त्यस्तै पूरा गर्न सकिँदैन । हामीले आफ्नै छोराछोरीको त सबै माग पूरा गर्न सक्दैनौँ । लगभग ८० प्रतिशतसम्म सहमति भयो भने त्यसलाई सफलता मान्नुपर्छ । सरकार र अर्थ मन्त्रालयले यही भावनामा काम गरेको छ ।

  • तपाईंले ल्याएको बजेटमा मुख्य कुराहरू के छन् ? छोटकरीमा बताइदिनुहोस् न ?

यो बजेटले दुई वटा मुख्य कुरालाई सम्बोधन गर्न खोजेको छ– जनतामा व्याप्त भ्रष्टाचारको आरोपलाई निरुत्साहित गर्ने र लोकतन्त्रमा विकासको वास्तविक अनुभूति दिलाउने ।

यो गर्दा हाम्रै ठुला नेता र कार्यकर्ताको गाली सुन्न र भोग्न पर्ला, तर यदि जनता र देशले जित्छ भने त्यो नै हाम्रो जित हो । हामीले राजनीति गरेको जनता र विकासकै लागि हो । यही लक्ष्य लिएर हामी अगाडि बढेका छौँ ।

  • बजेटका मुख्य विषय के के छन् ?

पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार अर्थात् ६०.५५ प्रतिशत बजेट ल्याएका छौँ, जुन चालु आर्थिक वर्षको तुलनामा ११.६३ प्रतिशतले बढी हो ।

एकमुष्ट बजेट (अवण्डा) प्रस्ताव गर्ने परिपाटीमा सुधार भएको छ । बजेटको प्रमुख विशेषता आयआर्जन वृद्धि मार्फत गरिबी न्यूनीकरण गर्ने, उद्यमशीलता र रोजगारी प्रवर्द्धन गर्ने विषयमा केन्द्रित छ ।

कर्णाली प्रदेशको प्रमुख पेसाको रुपमा रहेको कृषि क्षेत्रको प्रवर्द्धन र विकासको लागि चालु आर्थिक वर्षको तुलनामा ३८ प्रतिशतले बजेट वृद्धि गरेको छु । जेनजी पुस्तालाई लक्षित गरी कार्यक्रम ल्याइएको छ ।

कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकासमा जोड र पर्यटकीय क्षेत्रको जानकारीका लागि गन्तव्य कर्णाली एप, पर्यटक गाइड बुक, पर्यटन सूचना केन्द्र स्थापना लगायतका विषय समावेश छन् ।

कर्णालीमा रहेको जडीबुटीको प्रचुर सम्भावनालाई उपयोग गरी आयआर्जन वृद्धि गर्न विभिन्न कार्यक्रम समावेश गरिएको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको बजेट चालु आर्थिक वर्षको तुलनामा २५ प्रतिशतले वृद्धि गरिएको छ ।

भौतिक पूर्वाधार विकासमा बजेट केन्द्रित छ । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुदलाई उच्च प्राथमिकता दिई बजेट विनियोजन गरिएको छ ।

विदेशबाट फर्किएका युवालाई लक्षित गरी रिटर्नी रिटेन कार्यक्रम समावेश गरिएको छ । आन्तरिक राजस्वको दायरा वृद्धि गर्न वन, पर्यटन, कृषि लगायतका सम्भावित क्षेत्र पहिचान गरिएको छ । राजस्व छुट तथा सहुलियतको व्यवस्था छ । उत्पादनमुलक उद्योग, महिला ज्येष्ठ नागरिक तथा राजस्वबाट प्राप्त आय बाट खरिद गरिने जग्गामा रजिष्ट्रेशन दस्तुर छुट छ ।

  • बजेटलाई वितगकै निरन्तरताका रुपमा आयो, नयाँ खासै केही पनि आउन सकेन भन्ने छ नि ?

खासमा मेरो सोच भनेको जाजरकोट, जो मेरो पुर्ख्यौली थलो हो, त्यहाँ र समग्र कर्णाली प्रदेशमा केही विकास गरौँ भन्ने हो । यहाँका जनता २१ औँ शताब्दीमा पनि असाध्यै पछाडि पर्नुभएको छ । २० वर्ष अघिको कुरा त झनै कहालीलाग्दो थियो । मुख्य समस्या कहाँनिर रहेछ भने यत्रो लोकतन्त्र र गणतन्त्रमा पनि हामीले जनतालाई विकासको वास्तविक अनुभूति किन दिन सकेनौँ भन्ने प्रश्नमा हो । यसको जड राजनीतिक दबाबमा छ ।

हाम्रा कार्यकर्ताहरूबाटै व्यक्तिगत र टुक्रे योजनाको माग अत्यधिक आउँछ । ठुला नेताहरूबाट पनि ‘यो गर्देऊ, त्यो गर्देऊ’ भन्ने दबाब हुन्छ । तपाईं आफैँ सोच्नुहोस्, १० जनाले १०–१० लाखको योजना मागे भने त्यो एक करोड हुन्छ, तर हामीकहाँ माग गर्नेहरू १५०–२०० जनासँग जोडिएका हुन्छन्, जसले गर्दा बजेट छरिन्छ । १० लाखको योजनाले कुनै ठोस र देखिने काम गर्न सक्दैन, न त त्यसको परिणाम नै आउँछ ।

त्यसैले, यसपाली हामीले यस्तो अनावश्यक प्रेसरबाट मुक्त भएर बजेटलाई ठुला र देखिने योजनामा केन्द्रित गरेका छौँ । जस्तैः बाटो, पुल, सिँचाइजस्ता आयोजना, जसको अनुभूति व्यक्तिले भन्दा सिङ्गो समाजले गर्न सकोस् । व्यक्तिभन्दा संस्थालाई प्राथमिकता दिइएको छ । कार्यकर्ताको भन्दा समाजको आवश्यकतालाई सम्बोधन गर्न खोजिएको छ, ताकि जनताले विकासको अनुभूति गर्न सकून् ।

यो बजेटमार्फत हामीले केही ‘बोल्ड’ निर्णय लिएका छौँ । हामीले विभिन्न मन्त्रालय र सरकारी कार्यालयहरूमा जाने चालु खर्च कटौती गर्ने प्रयास गरेका छौँ र, त्यसमा सफल पनि भएका छौँ । कर्मचारीको सुविधा कटौती गर्दा हामी ‘अनपपुलर’ हुन सक्छौँ, तर त्यो चालु खर्चलाई पुँजीगत बजेटमा रूपान्तरण गर्न सकियो भने त्यसले विकासमा ठुलो मद्दत गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप