बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

बाढीबाट जोगाउन तटबन्ध निर्माण

बुधबार, ०४ असार २०८२, १५ : २८
बुधबार, ०४ असार २०८२

कञ्चनपुर । स्याली नदीको बाढीको उच्च जोखिममा रहेका शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ का बासिन्दालाई जोगाउन भरपर्दो तटबन्ध निर्माण गरिएको छ । नदीको चार ठाउँमा गरी दुई सय ३५ मिटर तारजाली र ढुङ्गाको प्रयोग गरी तटबन्ध निर्माण गरिएको छ ।

तटबन्ध निर्माण गरिएपछि एक सय ७५ बढी परिवारको बाढीबाट सुरक्षा भएको वडा अध्यक्ष चक्र बहादुर खड्काले बताए । “स्याली नदीको बाढीले गर्जमुनी, खजुवा, बुढीनाला क्षेत्रमा बसोवास गर्ने बासिन्दाको जग्गा कटानी गरी क्षति पुर्‍याउँदै आएको थियो”, उनले भने, “सङ्घीय र प्रदेश सरकारको रु एक करोड चार लाख बजेटमा भूक्षय हुँदै आएको क्षेत्रमा तटबन्ध निर्माण गरेका छौँ ।”

तटबन्ध निर्माण भएपछि अब जग्गा नदीको बाढीले कटानी गरी बगाउने चिन्ता हटेको स्थानिय रमेश विकले बताए । “वर्सेनि नदीको बाढीले जग्गा कटानी गर्दा तटीय क्षेत्रका बासिन्दाले निकै समस्यामा थिए”, उनले भने, “तटबन्ध निर्माणले जग्गा मात्रै जोगिएको छैन, नदीकै कारण विस्थापनमा पर्ने सम्भावना टरेको छ ।”

 थोरै रकमले तटबन्ध निर्माण हुन सक्ने अवस्था नभएपछि सङ्घीय र प्रदेश सरकारका सांसदले यस क्षेत्रको अनुगमन गरेपछि बजेटको व्यवस्था मिलाइ दिएको वडा सदस्य जयराज पाण्डेयले बताए । 

वडाध्यक्ष खड्काका अनुसार तटबन्ध निर्माणको कार्यसँगै बैजनाथ आधारभूत विद्यालय राजपुर खजुवामा रु ५० लाखको लागतमा दुई सय मिटर लम्बाइको पर्खाल निर्माण गरिएको छ ।

वडा कार्यालयमा रु ३५ लाखको लागतमा सामुदायिक भवन निर्माण, शिवशक्ति माध्यमिक विद्यालयमा रु २० लाखको लागतमा पर्खाल निर्माण र गर्जमुनिमा रु ३५ लाखको लागतमा भगवतीको मन्दिरसँगै गेट निर्माणको कार्य गरिएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप