बिहीबार, २९ जेठ २०८२
ताजा लोकप्रिय

सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी

बुधबार, २८ जेठ २०८२, १० : ५२
बुधबार, २८ जेठ २०८२

समाचार सारांश

  • पत्रकार दिलभुषण पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। साइबर ब्युरोको अनुरोधमा पक्राउ पुर्जी जारी भएको हो।
  • पाठकले युट्युब च्यानलमा शेरबहादुर देउवाका छोरा जयवीर देउवाले हिल्टन होटल खरिद गरेको आरोप लगाएका थिए, जसका कारण उनीविरुद्ध उजुरी परेको थियो।

काठमाडौँ  । सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको साइबर ब्युरोको अनुरोधमा उनीबिरुद्ध अदालतले पक्राउ गर्न अनुमति दिएको ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले नक्सालस्थित हिल्टन होटल खरिद गरेको भन्दै पाठकले आफ्नो युट्युब च्यानलमा टफ टकमा ‘टफ एक्स्प्लेनर’ सामग्री प्रसारण गरेका थिए । त्यसबारे उनीविरुद्ध साइबर अपराध गरेको उजुरी परेको ब्युरोका अधिकृतहरू बताउँछन् ।

होटल शंकर ग्रुपको स्वामित्वमा छ । होटलका प्रबन्ध निर्देशक शाहिल अग्रवाल र व्यापारी दीपक भट्टसँग मिलेर उनले होटल खरिद गरेको पाठकले समाचारमा आरोप लगाएका थिए । जयवीरले यसअघि आफ्ना बुवा प्रधानमन्त्री हुँदा डायपर र सेनिटरी प्याड आयात गर्दा कर छुट हुनेगरी करको दर हेरफेर गरेको पनि पाठकले आफ्नो समाचार सामग्रीमा उल्लेख गरेका छन् ।

१७ तले सो होटलको नक्सापास विवादको बिचमा देउवा परिवार सो होटलसँग जोडिएको समाचारमा दाबी गरिएको छ । प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृत भन्छन्– ‘कपोलकल्पित सामग्री प्रसारण गरेको भनेर उजुरी परेको थियो, त्यसैमा पक्राउ पुर्जी जारी भएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप