बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय
प्रदेश सरकार

डाक्टरको सरूवामा संघ र प्रदेशबिच शक्ति संघर्ष : संघको निर्देशन लत्याउँदै लुम्बिनी सरकार

मङ्गलबार, ०३ असार २०८२, १८ : १९
मङ्गलबार, ०३ असार २०८२

समाचार सारांश

  • लुम्बिनी प्रदेश सरकारले संघीय स्वास्थ्य मन्त्रालयको निर्देशनलाई वेवास्ता गर्दै डाक्टर इन्द्र ढकाललाई उनको दरबन्दीमा नपठाएको आरोप लागेको छ।
  • डा. ढकाल लामो समयदेखि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको रूपमा कार्यरत छन्, जसले गर्दा सप्तरीको अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा प्रभावित भएको छ।
  • संघीय मन्त्रालयको लिखित निर्देशनपछि पनि लुम्बिनी प्रदेश सरकारले डा. ढकाललाई बुटवलमै निरन्तरता दिन खोजेको र यसले राजनीतिक पहुँचको दुरुपयोगको आरोपलाई बल पुर्‍याएको छ।

काठमाडौँ । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको स्पष्ट निर्देशनलाई अवज्ञा गर्दै लुम्बिनी प्रदेश सरकारले एक चिकित्सकलाई दरबन्दी रहेको स्थानमा नपठाई राजनीतिक शक्तिको आडमा संरक्षण गरेको घटना सार्वजनिक भएको छ । 

सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दी रहेका १०औँ तहका अर्थोपेडिक सर्जन डा. इन्द्र ढकाललाई फिर्ता पठाउन दिइएको निर्देशन लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले लत्याएको हो ।

डा. ढकालको दरबन्दी २०८१ असार ५ को निर्णयअनुसार मधेश प्रदेशको गजेन्द्रनारायण सिंह अस्पतालमा कायम छ । तर, उनी लामो समयदेखि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को भूमिकामा कार्यरत छन् । 

उनको अनुपस्थितिका कारण सप्तरीमा हाडजोर्नीसम्बन्धी विशेषज्ञ सेवा प्रभावित भएको भन्दै गजेन्द्रनारायण सिंह अस्पतालले पटक–पटक संघीय मन्त्रालयको ध्यानाकर्षण गराएको थियो ।

सोही गुनासोका आधारमा संघीय स्वास्थ्य मन्त्रालयले पटक–पटकको मौखिक आग्रहलाई बेवास्ता गरिएपछि जेठ २३ गते डा. ढकाललाई आफ्नो दरबन्दी रहेको सप्तरीको अस्पतालमा हाजिर हुन लिखित निर्देशन दिएको थियो । 

tejendra-lumbini-news-photo (2)

मन्त्रालयका शाखा अधिकृत बद्रीनाथ ढकालद्वारा हस्ताक्षरित उक्त पत्रको बोधार्थ लुम्बिनी प्रादेशिक अस्पताल र लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत पठाइएको थियो ।

तर, संघीय मन्त्रालयको निर्देशन पालना गर्नुको साटो लुम्बिनी प्रदेश सरकारले उल्टै डा. ढकाललाई बुटवलमै थमौती गर्न प्रयास थालेको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारूले डा. ढकालले राम्रो काम गरिरहेकाले उनको आवश्यकता बुटवलमै रहेको भन्दै उनलाई निरन्तरता दिन संघीय मन्त्रालयलाई अनुरोध गरिएको बताए । 

यसैगरी, प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले पनि डा. ढकालको दरबन्दी अन्यत्र रहेको विषयमा संघीय मन्त्रालयको पत्र आएपछि मात्र आफूले थाहा पाएको र यस सम्बन्धमा प्रदेश स्वास्थ्य मन्त्रालयले संघीय मन्त्रालयमा पत्राचार गरिसकेको जानकारी दिए ।

यो विवादको केन्द्रमा रहेका डा. ढकालमाथि राजनीतिक पहुँचको दुरुपयोग गरेको गम्भीर आरोप लाग्दै आएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा ११औँ तहका आधा दर्जनभन्दा बढी वरिष्ठ चिकित्सकहरू हुँदाहुँदै १०औँ तहका डा. ढकाललाई मेसुको जिम्मेवारी दिनुले यो आरोपलाई थप बल पुर्‍याएको छ । 

सामान्यतया मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी एमपीएच गरेका चिकित्सकलाई दिने प्रचलन छ, तर यहाँ योग्य उम्मेदवारलाई पन्छाएर ढकाललाई नियुक्ति दिइएको अस्पतालकै एक चिकित्सकले बताए ।

डा. ढकालको विगत पनि विवादास्पद देखिन्छ । केही वर्षअघि उनले बढुवाका लागि गलत कागजात पेस गरेको प्रमाणित भएपछि मन्त्रालयले उनलाई ११औँ तहबाट १०औँ तहमा घटुवा गरेको थियो ।

यता, संघीय स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीले डा. ढकाललाई थमौती गर्न लुम्बिनी प्रदेशबाट पत्र आएको पुष्टि गर्दै यस विषयमा अन्तिम निर्णय भइनसकेको बताए । 

उता, सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा. प्रकाश शाहले दरबन्दीका चिकित्सक अन्यत्र बस्दा सेवा प्रवाहमा प्रत्यक्ष असर परेको बताउँदै यस विषयमा सम्बन्धित निकायले विवेक पुर्‍याउनुपर्नेमा जोड दिए । 

यस घटनाले प्रदेश र संघबीचको क्षेत्राधिकार र समन्वयमा गम्भीर प्रश्न खडा गरेको देखिएको छ ।

nn

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप