आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय
राजनीति

नेपाल सद्भावना पार्टी बिक्रीमा !

बेचबिखनमा कुरा नमिलेपछि अनिल झाविरुद्ध अदालतमा मुद्दा
आइतबार, २५ जेठ २०८२, १९ : ००
आइतबार, २५ जेठ २०८२

समाचार सारांश

  • नेपाल सद्भावना पार्टी स्थापनाकालदेखि नै विवादमा रहँदै आएको छ, पटक-पटक विभाजन हुँदै आएको छ।
  • हालै, अनिल झाले पार्टी आफ्नो नाममा दर्ता गराउन खोजेपछि विवाद सुरु भएको छ, अध्यक्ष रामकुमार महतोले कागजात फर्जी रहेको दाबी गरेका छन्।
  • पार्टी सञ्चालनको क्रममा रकमको लेनदेन र पदको विषयमा विवाद देखिएको छ, जसका कारण मुद्दा दर्ता भएको छ र पार्टी भित्रै गुटबन्दी बढेको छ।

काठमाडौँ । गजेन्द्रनारायण सिंहले गठन गरेको नेपाल सद्भावना पार्टी स्थापनाकालदेखि नै विवादको घेरामा रह्यो । २०५८ सालमा गजेन्द्रनारायण सिंहको निधन भएपछि पार्टी पटक–पटक विभाजन भयो ।

विभाजनकै कारण पार्टी ‘कोल्याप्स’को अवस्थामा पुगेको थियो । एकपछि अर्को विभाजन भएर अवशेषको रूपमा मात्र बाँकी रहेको सो पार्टीमा अहिले पनि विवाद कायमै छ । 

२०७८ साल मा रामकुमार महतोले निर्वाचन आयोगबाट नेपाल सद्भावना पार्टी ब्युँताएका थिए । उनले पार्टी ब्युँताए पनि विवादरहित भने रहेन ।

सानो समूहमा पनि पटक–पटक विवाद भइरह्यो । अहिले आएर सो पार्टी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता रहेका अनिल झाले आफ्नो नाममा दर्ता गराउन थालेपछि अर्को विवाद सुरु भएको छ । 

अध्यक्ष रामकुमार महतोको अध्यक्षतामा बसेको पार्टीको बैठकले अनिल कुमार झालाई पार्टीको अध्यक्ष बनाउने भनेर गरेको निर्णयसहितको माइन्युट निर्वाचन आयोगमा पुगेको छ । पार्टीको अध्यक्ष अनिलकुमार झालाई बनाउने भनी नेपाल सद्भावना पार्टीका महासचिवसहित बहुमत सदस्यले हस्ताक्षर गरेको पत्र निर्वाचन आयोगमा पुगेको हो । 

तर अध्यक्ष रामकुमार महतोले निर्वाचन आयोगमा नेता झाले पेस गरेको कागजात फर्जी रहेको भन्दै धनुषा जिल्ला अदालतमा नेता झाविरुद्ध मुद्दा दायर गरेका छन् । रामकुमार महतो भन्छन्, ‘निर्वाचन आयोगमा पेस गरेका हस्ताक्षर फर्जी हुन्, हस्ताक्षर गरेका मध्ये २१ जना मेरो सम्पर्कमा आइसकेका छन्, उहाँहरू भन्नुहुन्छ हामीले हस्ताक्षर गरेका छैनौँ ।’ 

‘केहीले राजीनामा दिइसकेका छन्, उनीहरूको पनि नाम राखेर निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ,’ अध्यक्ष महतोले नेता झाले फर्जी काम गरेकाले त्यसविरुद्ध आफू न्यायालय गरेको दाबी गरे । 

पार्टी सञ्चालनका क्रममा १८ लाख ऋण भएको र त्यो रकम तिरिदिए पार्टी सुम्पिदिने भनेर अध्यक्ष महतोले भनेको झा पक्षीय नेताहरूको भनाई छ ।

तर अध्यक्ष महतोले त्यसो भनी रहँदा अनिल झा पक्षका नेताहरूले भने हस्ताक्षर फर्जी नभएर रकममा कुरा नमिलेको कारण उनले यस्तो लफडा झिकेको बताएका छन् । नेता अनिल झाले भने यस विषयमा केही बोल्न चाहेनन् । उनले भने, ‘रामकुमारजीले अदालतमा मुद्दा दायर गर्नुभएको छ, अब जे भन्नुपर्छ म त्यही भन्छु ।’

उनीनिकट नेताहरू नेता झा र अध्यक्ष महतोबिच रकममा कुरा नमिलेको कारण यो लफडा सुरु भएको बताउँछन् । अध्यक्ष महतोले आफ्नो पार्टी २० लाख रुपैयाँमा नेता झालाई बेचेको दाबी गर्छन् । नेता झाले २० लाख रुपैयाँ दुई वर्षपछि मात्र दिने भनेपछि यो विवाद उत्पन्न भएको उनीहरूको जिकिर छ । 

पार्टी सञ्चालनका क्रममा १८ लाख ऋण भएको र त्यो रकम तिरिदिए पार्टी सुम्पिदिने भनेर अध्यक्ष महतोले भनेको झा पक्षीय नेताहरूको भनाई छ । नेता झालाई पनि पञ्जा छापसहितको नेपाल सद्भावना पार्टी चाहिएको थियो । उनी पनि रकम दिन तयार भए । अध्यक्ष महतोले पनि बैठक बसेर सर्वसम्मतिबाट नेता झाको अध्यक्षतामा पार्टी अगाडि बढाउने कुरा भएको थियो । 

बैठकले गरेको निर्णय तथा केन्द्रीय सदस्यहरूको हस्ताक्षरसहितको निवेदन नेता झाले निर्वाचन आयोगमा दर्ता गराएका थिए । पार्टीलाई लागेको ऋण तथा अन्य दायित्व नेता झाले बेहोर्ने माइन्युट पनि निर्वाचन आयोगमा पेस भएको छ । तर, अध्यक्ष महतोले नेता झासँग रकम माग्न थाले । त्यसका लागि उनीहरूको बिचमा पटक–पटक बैठक बसेको थियो । 

नेता झाले आफू अध्यक्ष मात्र बनेको अरू सबै यो पार्टीमा नै रहने हो, पार्टीको जेजति दायित्व छ, त्यो आफूले तिर्ने तयार भएको तर तत्काल होइन दुई वर्षपछि मात्र तिर्ने जवाफ अध्यक्ष महतोलाई दिएका थिए । बरु दुई वर्षपछिको चेक पनि आफूले काटेर दिन तयार रहेको तर अहिले त्यति रकम नदिने नेता झाले भनेका थिए । 

तर अध्यक्ष महतोले ‘आफू दुई वर्षसम्म कुर्न नसक्ने, दुई वर्षपछिको अवस्था के हुने हो थाह छैन’ भन्दै नेतासँग पैसा माग्न थालेको नेपाल सद्भावना पार्टीका एक नेताले बताए । नेता झाले तत्काल २० लाख रुपैयाँ नदिएपछि अध्यक्ष महतोले धनुषा अदालतमा गएर मुद्दा दायर गरेको झा निकट नेताहरूको दाबी छ । 

तर अध्यक्ष महतोले आफूले कुनै पनि रकम नमागेको दाबी गरे । नेता झाले आफ्नै मनले माइन्युट बनाएर निर्वाचन आयोगमा पेस गरेको दावी अध्यक्ष महतोले गरे । ‘अनिल झासँग रकम बारे कुनै छलफल भएको छैन, जेजति कागजातहरू निर्वाचन आयोगमा पेस भएका छन्, ती सबै फर्जी हुन्,’ अध्यक्ष महतोले दाबी गरे । 

यसअघि पनि नेपाल सद्भावना पार्टीको महाधिवेशन दुई ठाउँमा भएको थियो । रामचन्द्र कुशवाहा समूहले पर्सामा महाधिवेशन गरेको थियो भने अध्यक्ष महतोले जनकपुरमा गराएका थिए । दुवै जनाले महाधिवेशन गराएर निर्वाचन आयोगमा कागजात पेस गरेपछि आधिकारिक अध्यक्ष महतोले पाएका थिए । 

‘म नेतामा कमजोर छु, कमजोर भएकै कारणले मलाई सबैले हेप्नुभएको छ तर म पनि गजेन्द्रनारायणको स्कुलिङबाट आएको नेता हुँ कसैलाई त्यतिकै छाड्नेवाला छैन ।’

रामचन्द्र कुशवाहा पक्षका नेता गोविन्द चौधरी भन्छन्, ‘रामकुमार महतोले हामीसँग पनि २० लाख रुपैयाँ माग गर्नुभएको थियो, पार्टी चलाउँदा ऋण लागेको छ, २० लाख रुपैयाँ पाएपछि पार्टी तपाईंहरुलाई दिने भन्नुभएको थियो तर हामी त्यति रकम दिन तयार भएनौँ ।’

पार्टीका अधिकांश नेताहरू रामकुमार महतोलाई अस्वीकार गरेर रामचन्द्र कुशवाहाको नेतृत्वका महाधिवेशन गराउन तयार भए । पछि महतो पनि रामचन्द्र कुशवाहालाई मानेर जाने तयार भएका थिए । त्यतिबेला पनि रकममा कुरा नमिलेपछि उनी पुनः आफ्नै नेतृत्वमा महाधिवेशन गराएको गोविन्द चौधरीले बताए । 

त्यो विवादको मुद्दा अझै विचाराधीन अवस्था रहेको नेता चौधरीले बताए । चौधरीले भने, ‘रामकुमारजीको धन्दा नै नेपाल सद्भावना पार्टीको नाममा पैसा उठाउने हो । गजेन्द्रबाबुले स्थापना गर्नुभएको पार्टीको ब्राण्ड उहाँको हातमा छ, त्यसलाई भजाएर खाइ रहनुभएको छ, मधेसका हरेक नेतासँग उहाँले पार्टीलाई लिएर बार्गेनिङ गर्नुहुन्छ । उहाँको डिमाण्ड नै हाइ छ ।’ 

तर अध्यक्ष महतोले आफू कसैसँग रकमको कुरा गरेको छैन यदि छ भने कसैले प्रमाणित गरोस् भनी चुनौती दिए । उनले भने, ‘म नेतामा कमजोर छु, कमजोर भएकै कारणले मलाई सबैले हेप्नुभएको छ तर म पनि गजेन्द्रनारायणको स्कुलिङबाट आएको नेता हुँ कसैलाई त्यतिकै छाड्नेवाला छैन ।’

  • पार्टी फुटको इतिहास

गजेन्द्रनारायण सिंह अध्यक्ष भएको बेला नै पटक पटक विभाजनको शिकार भएको नेपाल सद्भावना पार्टी उनको निधनपछि त शृङ्खलाबद्ध रूपमा विभाजन भएको थियो । गजेन्द्रनारायण सिंहको निधनपछि राजविराजमा भएको महाधिवेशनपछि पार्टी विभाजन भएको थियो । एउटा समूहको अध्यक्ष बद्री मण्डल भएका थिए भने अर्को समूहको अध्यक्ष गजेन्द्रनारायण सिंहका श्रीमती आनन्दी देवी ।

पछि दुवै समूहको बिचमा एकता भयो । तर त्यसपछि पनि सो पार्टी विवादरहित बन्न सकेन । आनन्दी देवीलाई प्रयोग गरेर कहिले श्यामसुन्दर गुप्ता मन्त्री बने भने कहिले राजेन्द्र महतो त कहिले सरिता गिरी त कहिले हृदयेश त्रिपाठी । 

मन्त्री बन्नकै लागि नेपाल सद्भावना पार्टी टुक्रा–टुक्रा भयो । नेपाल सद्भावना पार्टीबाट राजेन्द्र महतोले अलग पार्टी बनाए । अनिल झा, रामनरेश राय यादव, श्यामसुन्दर गुप्ता, विकास तिवारीलागयतले अलग अलग पार्टी बनाए । 

पछि नेपाल सद्भावना पार्टी सरिता गिरीको हातमा गयो । त्यहाँ पनि खुशीलाल मण्डल र सरिता गिरीबिच पार्टीलाई लिएर विवाद भयो । विवाद सर्वोच्च अदालतसम्म पुग्यो । सरिता गिरीले नेपाल सद्भावना पार्टी हात पारिन् । 

सरिता गिरीले अनिल झा अध्यक्ष रहेको संघीय सद्भावना पार्टीसँग एकीकरण गरिन् । तर त्यहाँ पनि धेरै दिन टिक्न सकिनन् । सो पार्टीबाट निस्केर उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टीसँग एकीकरण गरिन् । 

चुच्चे नक्साको विपक्षमा अभिव्यक्ति दिएपछि पार्टीले उनलाई कारबाही गरेपछि उनी सो पार्टीबाट कारबाहीमा परिन् । 

त्यसपछि निर्वाचन आयोगमा त्यतिकै लावारिस अवस्थामा रहेको पञ्जा (हात) छाप भएको नेपाल सद्भावना पार्टी राजेन्द्र कुमार सिंहको हातमा पुग्यो । निर्वाचन आयोगबाट राजेन्द्र कुमार सिंहले आफ्नो अध्यक्षतामा सो पार्टीलाई पुनः गठन गरेका थिए । 

केही समयपछि सो पार्टीका अध्यक्ष रामकुमार महतो भए । अध्यक्ष महतोले पछि सो पार्टीलाई लिएर अन्य पार्टीसँग एकीकरणका लागि प्रयास गरेका थिए । गजेन्द्रनारायण सिंहले गठन गरेको र पञ्जा छाप रहेको कारण त्यो पार्टीप्रति सद्भावना पार्टीका पुराना नेताहरूले पनि इच्छा देखाएका छन् । 

  • रेशम चौधरीसँग एकता

नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले २०८० साउन १४ गते रेशम चौधरीले स्थापना गरेको नागरिक उन्मुक्ति पार्टीसँग एकता गरे । एकताको महाधिवेशन नभएसम्म एकीकृत पार्टीको नाम झण्डा, चुनाव चिन्ह नागरिक उन्मुक्ति पार्टीको नै रहने सहमति भएको थियो । 

रामकुमार महतो नागरिक उन्मुक्ति पार्टीको उपाध्यक्ष बने । तर बिचमै महतोले नेपाल सद्भावना पार्टीको अध्यक्ष आफ्नो श्रीमती कविता कुमारी महतोलाई बनाए । निर्वाचन आयोगबाट अरूले सो पार्टी नलियोस् भनेर उनले आफ्नो श्रीमतीलाई अध्यक्ष बनाएर त्यो पार्टीमाथि पनि कब्जा जमाइ रहे । 

त्यतिबेला नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि सुधार मन्त्री थिइन् । उनलाई भनेर महतोले आफ्नो श्रीमती कवितालाई मालपोत कार्यालयमा करारमा जागिर पनि लगाएका थिए । 

सरकारी जागिर खाने व्यक्ति पार्टी अध्यक्ष हुँदैन भने रामकुमार महतोलाई थाहा थिएन । तर पछि कसैले उजुरी गरेपछि कविता महतोले निर्वाचन आयोगमा गएर पार्टी अध्यक्षबाट राजीनामा दिइन् । 

उनले राजिनामा दिएपछि नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता सहजाद मियाँको अध्यक्षतामा बैठक बसेर रामचन्द्र कुशवाहालाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । 

तर निर्वाचन आयोगले त्यसलाई मान्यता दिएन । निर्वाचन आयोगले विधानको एउटा नमुना दिएर यो अनुसार विधान लिएर आउनुस् अनि मात्र रामचन्द्र कुशवाहालाई अध्यक्ष बनाउन मिल्छ भन्यो । 

  • महाधिवेशनको तयारी

त्यसपछि पुनः वरिष्ठ नेता मियाँको अध्यक्षतामा बैठक बसेर कार्यसमितिलाई भङ्ग गरेर रामचन्द्र कुशवाहाको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाइयो । त्यो निर्वाचन आयोगमा पेस गरेपछि आयोगले महाधिवेशन गराउन अनुमति दियो । 

त्यतिबेलासम्म रामकुमार महतो नागरिक उन्मुक्ति पार्टी छाडेर निस्किसकेका थिए । गोविन्द चौधरीका अनुसार रामकुमार महतोले पनि आफू पनि नेपाल सद्भावना पार्टीमा रहने भनेपछि उसलाई सह–आयोजक बनाइएको थियो । 

वीरगञ्जमा महाधिवेशन गर्ने तयारी सुरु भएका थियो । त्यसपछि रामकुमार महतोले आफू पार्टीको कार्यवाहक अध्यक्ष रहेको र जनकपुरमा महाधिवेशन गर्ने अडानमा बसे । पत्रकार सम्मेलन गरेर उनले रामचन्द्र कुशवाहाको संयोजकत्वमा गठन भएको आयोजक समिति पनि भंग गरेका थिए । 

जनकपुरमा महाधिवेशन गर्ने भनेर त्यसको नाममा जनकपुर लगायत विभिन्न ठाउँमा रकम उठाएको भन्दै रामचन्द्र कुशवाहा पक्षले पद र ओहदा ढाँटी ठगी धन्दा गरिरहेको भन्दै धनुषा प्रहरी कार्यालयमा रामकुमार महतो विरुद्ध उजुरी गरेको थियो । 

तर, प्रहरीमा परेको उजुरीको कुनै सुनुवाइ नहुँदा दुई ठाउँमा महाधिवेशन भयो । तर मान्यता भने रामकुमार महतोले पाए । अहिले फेरि अनिलकुमार झालाई अध्यक्ष बनाउने माइन्युट निर्वाचन आयोगमा पुगेको छ । तर अध्यक्ष महतोले ती कागजातहरू फर्जी भएको भन्दै धनुषा जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप