मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

पुलिसका अगाडि अर्धभूमिगत नेता !

शुक्रबार, ०८ मङ्सिर २०७४, १० : ५६
शुक्रबार, ०८ मङ्सिर २०७४

काठमाडौँ – प्रकाश दाहालको निधन भएको पाचौँ दिन विहिवार प्रचण्ड निवासमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो ।

शीर्ष राजनीतिक नेतृत्व, उच्च सरकारी कर्मचारी, कुटनीतिक नियोगका प्रतिनीधिदेखि सर्वसाधरणसम्म प्रकाशलाई श्रद्धान्जली लाजिम्पाट पुगेका थिए । ती मध्ये एक थिए, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, अर्थाथ कमरेड एमबी ।

पार्टीकै नेतासँग उनी लाजिम्पाट पसेका थिए । धेरैले चिनेनन् । उद्घोषक माओवादी नेतृ पम्फा भुसालले नाम लिएर बोलाएपछि उनी मञ्चमा गएर बसे । उनले प्रकाशलाई श्रद्धान्जली दिए, त्यो पनि धेरैले ‘नोटिस’ गरेनन् ।

कार्यक्रम सकिएपछि उनी लाजिम्पाटबाट बाहिर निस्के । गाडी थिएन, अर्का एक नेतासँगै हिँडिरहेका थिए ।

उनका अगाडि प्रहरी थिए । तर, उनले चिनेनन् । एमबी आफ्नो बाटो हिँडिरहे । अचानक सडकमा मेरो भेट भयो । केही बेर कुराकानी गरँे । उहाँसँग धेरै पटक भेट भएको छ । लाजिम्पाट सडकमा भेट चाहीँ अचानक थियो ।

अर्धभूमिगत नेता एमवीलाई धेरैले चिन्दैनन् । कहिले उनी सार्वजनिक यातायातमा देखिन्छन् । कहिले महत्वपूर्ण कार्यक्रमममा पुगेका हुन्छन् । तर, धेरैले उनलाई चिन्दैनन् ।

प्रकाशको निधनपछि उनी आर्यघाट पनि पुगेका थिए । त्यहाँ पनि उनलाई धेरैले चिनेनन् ।

एमबीलाई नजिकबाट चिन्ने पत्रकार दीपेन्द्र कुँवर एउटा किस्सा भन्छन्, ‘ओली प्रधानमन्त्री थिए । एमवी विरामी भएर ग्रान्डी अस्पतालमा उपचार गराइरहेका थिए । ओलीले भेट्न जाने योजना बनाए । ओली अस्पताल जाने भनेपछि सुरक्षाकर्मीले एमबी रहेको कोठा खोजे । एमबी अर्कै नाममा भर्ना भएका रहेछन् । सुरक्षाकर्मीले पूरा अस्पताल खोज्दा पनि एमवीलाई भेटेनन् । प्रधानमन्त्री ओली आउने बेला हुनै लाग्यो । सुरक्षाकर्मी निकै तनावमा देखिए । उनीहरुले एमवीको अनुहार चिनेका रहेनछन् । एमवी भएकै कोठमा गएर सुरक्षाकर्मी केही बेर बसे । त्यसपछि पत्नी दुर्गा पौडेलले तपाईहरुले केही खोजिरहनु भएको छ । उहाँ नै हो भनेर एमवीलाई चिनाइन् । त्यसपछि सुरक्षाकर्मी ढुक्क भए । एकछिनमा ओली पुगे र भेटे ।’

केही वर्ष अगाडि उनको पार्टीले एमवीको फोटो सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

एमबी पत्नी दुर्गा अहिले बामगठबन्धनको तर्फबाट प्युठानबाट प्रतिनीधिसभा सदस्य उम्मेदवार छिन् । छोरा समीर सिंह काठमाडौं–६ मा राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् । तर, एमवी सार्वजनिक रुपमा चुनावी प्रचारमा हिडेका छैनन् ।

८० बर्षको उमेरमा पनि उनी तन्दुरुस्त छन् । आफ्नो स्वास्थबारे निकै सचेत छन् । विहान ३ बजे उठछन् । राती १० बजे सुत्छन् । विहान ६ बजे ब्रेकफास्ट, १९ बजेखाना र दिउँसो सामन्य खाजा लिन्छन् । साँझ ८ बजेको खानाको रुटीन छ । पढाई लेखाईमा समय दिन्छन् । पार्टीका महत्वपूर्ण कार्यक्रममा जान्छन् । आफै पार्टीको महामन्त्री भएकाले धेरै काम गर्छन ।

उनी जनवादी सत्ताको पक्षमा छन् । त्यसैले सधै अहिलेको सत्तासँग उनको दुरी छ । अनि त सडकमा भेटिन्छन् र सामन्य जीवनशैलीमा रमाउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेत्र पन्थी
नेत्र पन्थी
लेखकबाट थप