कथा : टिस्यु पेपर

पैसा भएपछि मान्छेलाई छटपटी सुरु हुन्छ । अझ आफ्नो क्षमताले हासिल गर्न सक्ने भन्दा धेरै पैसा भयो भने त उधुम हुन्छ । उ चुप लागेर बस्नै सक्दैन । सहज जीवनयापन भएपनि मान्छे शान्त बस्न सक्दैन । मलाई किन कुनै कुराको चिन्ता छैन भनेर उ समस्याको खोजीमा हिँड्छ ।
त्यस्तै भएको थियो घरबेटी आन्टीलाई । एक सय रुपैयाँ कमाउन कति मिहिनेत गर्नुपर्छ, त्यो कुरा उनले जीवनमा कहिल्यै जान्न परेन । तर अथाह सम्पत्तिकी मालिक्नी थिइन् उनी । श्रीमान् सरकारी जागिरे थिए, भन्सारबाहेक अन्त नियुक्ति नै नलिने । काठमाडौंमा उनको चार तलाको घर छ, चार पाँच ठाँउमा घडेरी र जिल्ला बाहिर त कति घडेरी कति । घरको दुई फ्ल्याट भाडामा लगाएका थिए र बाँकीमा आफूहरू बस्थे । आफ्नो घरमा भाडामा बस्ने गाउँबाट पढ्न आएका २०/२१ वर्षका केटाहरूलाई उनले असाध्यै माया गर्थिन् । भाडामा बस्ने केही केटीहरू पनि थिए तर उनलाई केटीहरूसँग खासै चासो हुन्थेन ।
गाउँबाट आउँदा झुत्रेझाम्रे, काठमाडौंको कठ्याङ्ग्रिदो जाडोमा जुत्ता लगाउन नसक्ने, घरबाट आउँदा ल्याएको गुन्द्रुक र मस्यौरा बाहेक बजारमा गएर हरियो तरकारी किन्न नसक्नेहरू ४/५ महिनामा त्यै केटो हो भनेर चिन्नै नसकिने गरी परिवर्तन हुन्थे । उनीहरूको दुःख आन्टीले देख्नै नसक्ने ।
झोल उमालेर खानलाई ठिक्क पारिराखेको बेला आन्टी कचौरा भरी मासु बोकेर कोठामा आइपुग्थिन् । हाम्रोमा मासु बनाएको थियो, बाडेर खाउँ भनेर भन्थिन् । किन दुःख गर्नु भएको आन्टी भन्यो भने, पहिलो कुरा उनले आन्टी नभन दिदी भन भन्थिन् र आफूलाई बाँडेर खान मन लाग्ने, आफ्नो घरमा भाडामा बस्ने पनि परिवार जस्तो लाग्ने कुरा गर्थिन् । काठमाडौंमा यस्तो कुरा गर्ने घरबेटी कसले पाउनु ? केटोलाई लाग्छ, यिनी भगवान हुन्, देवी हुन् । उसले गाउँमा बाआमालाई फोन गरेर घरबेटीको असाध्यै जाती छन् भनेर सुनाउँछ ।
सुरु यसरी नै हुन्थ्यो दिन । कहिले राजमा, कहिले साग बोकेर केटाको कोठामा छिर्नु र गफ गरेर बस्न उनलाइ असाध्यै मन पर्थ्यो । घण्टांै कोठामा बस्दा केटोलाई अप्ठ्यारो महसुस हुन्छ, तर घरबेटी हुन् केही बोल्न सक्दैन । उसलाई वरपर कोठामा बस्नेहरूले के भनेका होलान् भन्ने कुराले नतर्साएको होइन । उसको आत्माले मानेको छैन तर उ घरबेटीलाई जानुस् पनि त भन्न सक्दैन । त्यसपछि मोबाइलमा रिचार्ड कार्ड हाल्दिन सुरु हुन्छ । जिन्दगीमा स्याम्पुले ननुहाएको केटोले विस्तारै महङ्गो साबुन र स्याम्पु प्रयोग गर्ने हुन्छ । लुगा किन्दिने, जुत्ता किन्दिने, कोठामा दाल, जिरा मसिना चामलका बोरा आउन थाल्छ । साथै, पकेट मनीको अभाव कम हुँदै जान्छ ।
केटोलाई विस्तारै बानी लाग्दै जान्छ । घरबेटीसँग घण्टौ ढोकाको चुकुल लगाएर उ बस्न सक्ने भयो । वरपरका छिमेकीले कुरा काटेर पनि सकिन्छ । आखिर कति दिन पो मान्छे अरुको बारे कुरा काटेर बस्न सक्छ ? गाउँबाट आएको एउटा संस्कारी केटोले आनन्दले लाजसरम पचाउँदै जान्छ । एकअर्काको स्वार्थ मिलेको खण्डमा झट्ट हेर्दा यो खासै नराम्रो पनि होइन ।
कलेजको फि तिर्दिदै उनले केटोलाई पासआउट भएपछि आफ्नो श्रीमान्लाई भनेर राम्रो ठाउँमा जागिर लगाइदिने वचन दिन्छिन् । जागिर खाएर काठमाडौंमा घर जग्गा किन्ने र त्यसमा पनि आफू सहयोग गर्ने बताउँछिन् । त्यसपछि केटो गाउँबाट सँगै पढ्न आएका साथीहरूबीच ठुलो कुरा गर्न थाल्छ । उसले घरबेटी देखाएका सपनालाई आफ्नो लक्ष्य र योजनाको रुपमा सुनाउँछ । उसको कुरा सुनेर साथीहरू तीनछक्क पर्छन् ।
केटोको जिन्दगीको गाडी नसोचेको अवस्थामा तीव्र गतिमा चलिरहेको थियो । तर अचानक कलेजमा आफ्नै सेमेस्टरको एउटा केटी उसलाई मन पर्न थाल्छ । केटाको लवाइ–खुवाइ मान्छे पनि राम्रो, केटी विस्तारै नजिक हुँदै जान्छे । फोनमा कुरा हुँदै, भिडियो कल सुरु हुन्छ । सुख दुःखका कुरा सेयर हुन थाल्छ । जीवनको आरोह–अवरोह सँगै पढाइ सकेर बिहे गर्ने सपना देख्न थाल्छन् । भविष्यका योजना बनाउन थाल्छन् । विस्तारै रोमान्सका कुरा सुरु हुन्छ । केटोले एकदिन समय मिलाएर आफ्नो काठमाडौंकी सबसे नजिकको साथी घरबेटी दिदीलाई आफ्नी गलफ्रेण्डको बारेमा सुनाउने र भेटाउने मनसाय बनाएको हुन्छ ।
एकदिन केटोले गर्लफ्रेण्ड कोठामा लिएर आउँछ । त्यो दिन घरबेटी दिदी कामले बाहिर निस्किएकी थिइन् । तर बेलुका केटोले गर्लफ्रेण्ड लिएर आएको कुरा उनलाई कसैले सुनाइदिएछ । ढोका थुनेर केटोलाई घरबेटीले कुट्छिन् । ‘म हुँदा–हुँदै तैंले अर्को केटी लिएर आउने ? मेरो खाएर, मेरो घरमा फ्रिमा सुतेर अर्को केटीसँग लभ गर्ने ? तेरो हिम्मत कसरी आयो,’ भनेर तथानाम गाली गर्दै भकुण्डो उफारे झैं कुट्छिन् ।
त्यही बखत केटोले हिम्मत जुटाएर भनेछ, ‘मेरो काखमा बसेर, तपाईंले आफ्नो लोग्नेको बारेमा कुरा गर्नुहुन्थ्यो । मैले कहिले रिस गरिन त ।’
घरबेटीले कड्किदै भनिन्, ‘तँ मेरो लोग्नेसँग बराबरी गर्छस्, मसँग तेरो बराबरी हुन्छ ? तेरो आयु मेरो जीवनमा टिस्यु पेपरको जत्ति हो, बुझिस् ? तेरो मैले के खाकी छु ? अरु म केही जान्दिन । आजसम्म मैले तँलाई कति खर्च गरे, त्यो सबै फिर्ता गर । र, जतिसक्दो छिटो यो कोठा छाडेर जा । कोठा छोडेर जाँदा मैले किनिदिएका यहाँ जतिपनि सामान छन्, त्यो सबै छाडेर जानु ।’
अस्तिसम्म जागिर, घर घडेरीको सपना देखाएकी, मेरो भविष्यको बारेमा चिन्ता गर्ने, मलाई कुनै दुःखले छुन्छ कि भनेर हरसमय सचेत रहने मान्छेले अचानक यति घृणा कसरी गर्न सक्छ ? उ केही सोच्नै नसक्ने हुन्छ । साँच्चै पैसामा कति शक्ति हुँदोरहेछ, पैसा बोल्यो भने सत्य चुप लाग्न बाध्य हुन्छ, त्यसै भनिएको रहेनछ । अब हुन्छ के केटाले अनुमान गर्न सकिरहेको थिएन ।
घरबाट निस्किहाल भनेपछि ऊ त्यहाँ बस्न सकेन । जीवनभर साथ दिन्छु भन्ने गर्लफे्रण्डबाहेक अरु उसलाई याद आएन । र, ऊ सरासर गर्लफे्रण्डकोमा गयो । गर्लफ्रेण्डको काखमा बसेर उ धेरैबेर रोयो । आफ्नो गर्लफ्रेण्डलाई झुट बोल्नुहुन्न भनेर उसले आफ्नो हालतको बारेमा एक–एक कहानी सबै सुनायो । तर यहाँ पनि समयले साथ दिएन । आखिर ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्दो रहेछ ।
गर्लफ्रेण्डले तिमीलाई देखेर घिन लाग्यो भन्न थालिन् । ‘छि ! फोहोरी, बच्चाको आमासँग’ भन्दै थुक्न थालिन् । आफूलाइ नछुन र आफ्नो कोठामा नबस्न उनले अनुरोध गरिन् । काठमाडौंमा घर घडेरी किन्ने, करोडपति बन्ने सपना देखेको केटो क्षणभरमै रोडपतिमा रुपान्तरण भयो । र, अन्तिममा उसले गाउँबाट सँगै आएको साथीहरूको कोठामा शरण लियो ।
साथीहरूले उसलाई शरणमात्र दिएनन् । पैसाको ताकतमा अधबंैसे महिलाले नौजवान केटोको समय बर्बाद गरेको हिसाब त्यसले चुकाउनुपर्छ भनेर समेत उचाले । पैसाको आडमा गाउँबाट आएका गरिबका लक्का जवान छोरा डुलाउने सौख पालेकी उनलाई सबक सिकाउनु पर्ने साथीहरूले सल्लाह दिए । भोलि अर्को गरिबको छोराले उसको शिकार हुन नपरोस् भन्ने पनि उनीहरूको उद्वेश्य थियो ।
फोन नम्बर पत्ता लगाएर केटाहरूले आफ्नो साथीसँग भएको सम्बन्ध र दुर्व्यवहारबारे केटाको घरबेटीको श्रीमान्लाई बताइदिएछन् । आफ्नो श्रीमतीको बारेमा थाहा पाएपछि सरकारी हाकिम रिसले चुर भए । तिनी दुवैलाई मार्दिन्छु भन्दै अपशब्दका खोलो बगाएछन् फोनमा । त्यो बाइफाले आइमाईलाई एक मिनेट मेरो घरमा बस्न दिन्न भनेछन् । केटो त अहिलेसम्म जिउँदै छ तर ती महिला घरबाट बाहिरिइन् वा मारिइन् ? थाहा छैन । मारेको छैन कि ? नभए भवितव्यको समाचार आउँथ्यो होला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ महिनाको पुँजीगत खर्च ३७.५ प्रतिशत
-
७ दशकदेखि स्वाद चखाउँदै धनकुटे नरिवल बिस्कुट
-
समान चरित्र बोकेका बेंगलुरु र पञ्जाब आपसमा भिड्दै, पाँचौँ जितको खोजी
-
प्रदेशको शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा उच्चतम प्रयास भएको छ : मुख्यमन्त्री पाण्डे
-
३६७ किलो गाँजासहित ५ जना प्रहरीको नियन्त्रणमा
-
बागमतीका औद्योगिक ग्राम अलपत्र : न स्रोत छ, न व्यवस्थापन