शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रदेश १ मा अझै पेट्रोलको अभाव, मंगलबारदेखि सहज हुने निगमको दाबी

सोमबार, २१ चैत २०७८, २१ : १६
सोमबार, २१ चैत २०७८

प्रदेश १ मा पेट्रोलको सहज आपूर्ति अझै हुन सकेको छैन । आज दिनभर पनि कतिपय पेट्रोल पम्प बन्द रहे भने पेट्रोल वितरण गरिरहेका कतिपय पेट्रोल पम्पमा सर्वसाधरणको लामो लाइन लागेको देखियो । व्यवसायीले खरिद नगरेपछि गत शुक्रबार इन्धन बिक्री नगरेको निगमले आइतबार भने १३ लाख ५० हजार लिटर डिजेल बजारमा पठाएको जनाएको छ ।

तर, कतिपय पेट्रोल पम्पहरुले सीमित मात्रै पेट्रोल आउने भएका कारण कारलाई १ हजार रुपैयाँ, टेम्पुलाई ७ सय रुपैयाँ र मोटरसाइकल तथा स्कुटरलाई ५ सयको मात्रै पेट्रोल वितरण गर्ने सुचना जारी गरेको पाइएको छ । 

‘पेट्रोल पर्याप्त मात्रामा इन्डियाबाट नआएकोले जतिसक्दो बढी सवारी साधनमा पेट्रोल हाल्ने हेतुले बोतल तथा ग्यालेन लगायतका भाँडाहरूमा पेट्रोल हालिने छैन । यसबाट ग्राहक महानुभावमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं,’ धरानको एक पेट्रोल पम्पले जारी गरेको सूचनामा उल्लेख छ । 

उक्त सूचनामा पम्पमा लाइन नबस्न पनि अनुरोध गरेको छ । तर, सोमबार पनि पेट्रोल पम्पमा लाइन बस्नेको घुइँचो थियो ।  चैत १८ गतेदेखि निगमबाट इन्धन खरिद बन्द गरी आन्दोलनमा उत्रिएपछि बजारमा डिजेलको अभाव हुने संकेत देखिएको थियो । भोलिदेखि सबैतिर इन्धन गएका कारण पेट्रोल अभाव नहुने नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरका प्रमुख अशोककुमार साहले जानकारी दिए । 

उनकाअनुसार आइतबार मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, उदयपुर र प्रदेश २ का सिरहा र सप्तरीमा १३ लाख ५० हजार लिटर डिजेल पठाइएको छ ।  हिजो (आइतबार) भारतमा सार्वजनिक विदाका कारण सिलिगुडीबाट थोरै मात्रै पेट्रोल गाडीमा लोड भएपनि आज (सोमबार) भने पर्याप्त लोड भएको र मंगलबारदेखि आपूर्ति सहज हुने साहले बताए । 

निगमको विराटनगरस्थित डिपोबाट सहज अवस्थामा दैनिक ४ लाख ५० हजार लिटर पेट्रोल बिक्री हुँदै आएको थियो । पछिल्लो केही दिनयता बजारमा पेट्रोलको अभाव देखिएका कारण व्यवसायीहरुले आइतबार करिब ८ लाख लिटर माग गरेका थिए । तर, निगमले २ लाख ४० हजार लिटर पेट्रोल बिक्री गरेको थियो । 

प्रमुख साहकाअनुसार निगमले आइतबार सुनसरीमा ३, सिरहा, सप्तरी र उदयपुरमा १÷१, भोजपुर र संखुवासभाका लागि १ गाडी पेट्रोल उपलब्ध गराएको छ । मोरङ जिल्लामा आइतबार १ लाख २० हजार लिटर पेट्रोल वितरण गरेको प्रमुख साहले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप