शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय चुनाव: मधेसमा जसपा र माओवादीको छुट्टै गठबन्धन

मङ्गलबार, ०६ वैशाख २०७९, ०६ : ५४
मङ्गलबार, ०६ वैशाख २०७९

स्थानीय निर्वाचनमा उम्मेदवारी दिने समय नजिकिएको छ । तर पाँच दलीय सत्ता गठबन्धनमा भागबण्डाबारेको मुद्दा अझै पेचिलो बन्दै गएको छ । यस क्रममा काँग्रेससँग कुरा नमिले सत्ता गठबन्धनभित्र जसपा र माओवादीको छुट्टै गठबन्धन बन्ने स्थिति देखिएको छ । पाँच दलको गठबन्धनभित्र यी दुई दलको बीचमा छुट्टै गठबन्धन रहेको भन्दा पनि हुन्छ । 

गठबन्धनमा राख्ने प्रस्ताव होस् या कुनै छलफलको विषय दुवै दलको समान विचार हुन्छ । यदि स्थानीय चुनावमा अन्य दलको बीचमा गठबन्धन हुन नसके यी दुई दलको बीचमा गठबन्धन हुने यी दुई दलले अनौपचारिक सहमति पनि गरिसकेका छन् । आइतबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष एवं संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईबीच भएको छलफलले उक्त विषयमा सहमति भएको बताइन्छ । 

उक्त छलफलले मूर्त रूप लिने सङ्केत सिरहाको लहान नगरपालिकामा आइतबारै देखिएको छ । पाँच दलीय गठबन्धनबाट चुनाव नलड्ने काँग्रेसले निर्णय गरिसकेपछि जसपा र माओवादी केन्द्रबीच चुनावी गठबन्धन गर्ने निर्णय भएको छ । जसपाका नेता राकेश रोशन गुप्ताका अनुसार लहान नगरपालिकाको मेयर जसपाले लिनेछ भने उपमेयर माओवादी केन्द्रले लिनेछ । २४ वटा वडामध्ये १४ वटा जसपा र १० वटा माओवादी केन्द्रले लिने सहमति भएको नेता गुप्ताले बताए । 

यदि काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले धेरै भाव खाए यसरी जसपा र माओवादी केन्द्र अगाडि बढ्ने जसपाका नेता गुप्ताले बताए । माओवादी केन्द्रका मधेस प्रदेशका इन्चार्ज गणेश साहले पनि मधेस प्रदेशमा जसपा र माओवादी केन्द्रको निकटता बढेको स्वीकारे । उनले भने, ‘काँग्रेसले जहाँसुकै आफ्नै हुनुपर्छ भन्छ भने नेकपा एकीकृत समाजवादी पार्टीले एमाले जति आफ्नो हुनुपर्ने भन्दै आइरहेको छ, त्यसरी त गठबन्धन बन्दैन नि ।’ जहाँ जहाँ काँग्रेस र नेकपा (एस) सँग सहमति बन्दैन, त्यहाँ त्यहाँ जसपा र माओवादी केन्द्रबीच गठबन्धन बन्ने सम्भावना रहेको उनले बताए । 

यद्यपि अहिले पनि जनकपुरमा मधेस प्रदेशको गठबन्धनको बैठक बस्ने तयारी भइरहेको छ । कहाँ कहाँ गठबन्धन गर्ने नगर्ने आज टुंगो लाग्ने साहले बताए । नेकपा (एस) का नेता धर्मनाथ साहले मधेस प्रदेशको १३६ स्थानीय तहमध्ये २५ वटा आफूहरुले पाउनुपर्ने बताए । एमालेले जहाँ जहाँ जितेको छ, ती निकाय आफूहरुले पाउनुपर्ने प्रस्ताव गरिएको उनले जानकारी दिए । 

२०७४ को स्थानीय चुनावमा काँग्रेस बलियो

मधेस प्रदेशमा गत २०७४ को स्थानीय चुनावमा काँग्रेस नै बलियो देखिएको थियो । १३६ स्थानीय तहमा ४० स्थानीय तहको प्रमुख पद तथा ३५ वटा उपप्रमुख काँग्रेस जितेको थियो । एक हजार २७१ वडामध्ये काँग्रेसले ३३८ वटा वडा जितेको थियो । दोस्रो स्थान तत्कालीन संघीय समाजवादी फोरम नेपाल अर्थात अहिलेको जसपाले ल्याएको थियो । सो पार्टीले २६ वटा पालिका प्रमुख तथा २५ वटा उपप्रमुख जितेको थियो । त्यस्तै १९१ वटा वडा जितेको थियो ।

मधेस प्रदेशमा तेस्रो स्थान तत्कालीन राजपा अर्थात् अहिलेको लोसपाले ल्याएको थियो । उसले २५ वटा प्रमुख, ३० वटा उपप्रमुख जितेको थियो भने १९४ वटा वडा पनि जितेको थियो । चौथो स्थान माओवादी केन्द्रले हात पारेको थियो । उसले मधेस प्रदेशको २१ वटा प्रमुख, २४ वटा उपप्रमुख जितेको थियो भने २३१ वटा वडा पनि जितेको थियो । नेकपा एमाले पाँचौ स्थानमा थियो । उसले १८ वटा स्थानीय तहमा प्रमुख र १९ उपप्रमुख जितेको थियो । त्यस्तै, २३० वटा वडा जितेको थियो । 

तत्कालीन समाजवादी पार्टी र राजपाबीच एकीकरण भई जसपा नेपाल बनेको थियो । दुईटै दल मिलाएर मधेस प्रदेशमा जसपाको ५१ स्थानीय तहको प्रमुख भएको थियो । यसले मधेसमा जसपा पहिलो पार्टी बने पनि दल विभाजन पछि लोसपा अलग भएर शक्ति घटेको छ । विभाजनपछि अहिले जसपाले ३४ वटा स्थानीय तहको प्रमुख हात पारेको छ भने लोसपा १७ वटा प्रमुखमा खुम्चिएको छ । यसरी अहिले माओवादी केन्द्रले लोसपालाई उछिन्दै तेस्रो स्थानमा पुगेको छ । त्यस्तै एमालेसँग स्थानीय तहका १८ वटा प्रमुखमध्ये पार्टी विभाजन भई नेकपा एकीकृत समाजवादी पार्टीले दुईवटा मात्र तान्न सक्यो । 

मधेस प्रदेशमा यी दलहरु जुनसुकै स्थानमा भएपनि चुनावको मिति घोषणा भएसँगै गठबन्धनमा रहेका दलहरूको स्थानीय तहको प्रतिनिधि यताउती भएका छन्, जसमा एमालेको स्थानीय तहको प्रतिनिधिमा वृद्धि भएको छ । 

मधेस प्रदेशको अधिकांश स्थानीय तहमा माओवादी केन्द्र र जसपाबीच गठबन्धन हुने देखिएको छ । स्थानीय तहमा जितेका साबिकको सङ्ख्यालाई हेर्दा जसपा र माओवादी केन्द्र मिलेपछि काँग्रेसलाई घाटा हुने देखिएको छ । जसपा र माओवादी केन्द्रको साबिकको स्थानीय तहमा जितेको प्रमुखको सङ्ख्या जोड्दा ५५ हुन्छ । 

मधेसमा काँग्रेसको मत घटेमा राष्ट्रिय रूपमा कमजोर हुने देखिन्छ । यद्यपि काँग्रेसले मधेस प्रदेशमा एक्लै लड्दा पनि अरू दल भन्दा बढी सिट ल्याउने दाबी गरिरहेको छ । त्यही दाबी गर्दै गठबन्धन गर्न आनाकानी गरिरहेको छ । अधिकांश पालिकामा काँग्रेसका पालिका समितिले एक्लै चुनाव लड्ने निर्णय गरिसकेको र सो बारे केन्द्रलाई पनि जानकारी गराइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप