ठुलो संरचनात्मक क्रमभंगता नगरे देशलाई सङ्कटबाट बचाउन सकिँदैन : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देश ठुलो सङ्कटतर्फ धकेलिरहेको भन्दै संरचना सहितको क्रमभंगता नगरे सङ्कट रोक्न नसकिने बताएका छन् । राष्ट्रियसभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
उनले सङ्कटबाट बचाउन सबै राजनीतिक दलका नेताहरूले गम्भीरतापूर्वक सोच्नुपर्ने बताए । उनले देशलाई अग्रगामी निकास कुनै पनि विषय विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा नपरेको आरोप लगाए ।
उनले देशलाई समृद्धिको दिशामा लैजान क्रमभङ्ग हुने गरी कुनै विषय नसमेटिएको बताए । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता यथास्थितिवादको निरन्तरता भएको उनको भनाइ छ । उनले देश वृद्ध नेपाल दुःखी नेपालको दिशामा गइरहेको बताए ।
उनले भने- ‘म के कुरामा जोड दिन चाहन्छु भने हामीले दृढतापूर्वक एउटा नयाँ ढङ्गको प्रक्रियामा जानुपर्छ । नत्र भए समृद्ध नेपाल सुखी नेपाली होइन वृद्ध नेपाल दुखी नेपाली बन्ने वाला छ । यो तथ्यलाई आत्मसाथ नगरी सच्याउन सकिँदैन । हामी वृद्ध नेपाल दुःखी नेपाली बनाउने कि समृद्ध नेपाल सुखी नेपाली बनाउने भन्नेमा घोत्लिएर एउटा क्रमभंगता गर्नु जरुरी छ । त्यो क्रमभङ्ग गर्ने दिशातिर नलगेर यो सिद्धान्त र प्राथमिकता कस्तो छ भने यथास्थितिवादको निरन्तरतामा छ ।’
उपाध्यक्ष श्रेष्ठले भने-‘यसले अहिलेको समाधान गर्दैन र आवश्यकता चाहिँ ठुलो संरचनात्मक सहितको क्रमभंगता हो । त्यसो नगरी हामीले देशलाई निकास दिन सक्दैनौँ र सङ्कटमा धकेलिनुबाट बचाउनु पनि सकिँदैन । यो कुरामा गम्भीर ध्यान दिनु जरुरी छ ।’
उपाध्यक्ष श्रेष्ठले वर्तमान शासन प्रणाली दलाल र भ्रष्टाचारीलाई प्रोत्साहन गर्ने खालको भएको बताए । उनले वर्तमान व्यवस्थामा विधिको शासन नभएको बताए । भ्रष्टाचारमा नियन्त्रण र भ्रष्टाचारीलाई कारबाही गर्न वर्तमान सरकारले नसकेको उनको भनाइ छ । उनले अहिलेका निर्वाचन प्रणाली महँगो र भ्रष्टिकृत भएकाले निर्वाचन प्रणाली फेरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जानुपर्ने बताए । उनले निर्वाचन प्रणालीभन्दा बाहिरबाट मन्त्री नियुक्त गर्नुपर्ने र सांसदहरू कानुन निर्माणमा मात्रै सहभागी बन्ने गरी व्यवस्था गर्नुपर्ने बताए ।
उनले भने- ‘हामी शासकीय स्वरूपको परिवर्तनमा जाऔँ । राजनीतिक अस्थिरता अन्त गर्नका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका जाऔँ । यो महँगो र भ्रष्टिकृत निर्वाचन प्रणालीलाई फेरौँ । समानुपातिक निर्वाचन प्रणालीमा जाऔँ । सांसदहरूलाई कानुन बनाउने काममा केन्द्रित गरौँ । सरकारमा मन्त्रीहरू बाहिरबाट जाऔँ र नयाँ परिवर्तन गरौँ । सुशासनको क्षेत्रमा ठोस प्रभावकारी कार्यक्रम अगाडि बढाऔँ । अहिले जुन प्रकारले देखा परेको छ त्यसले दलालहरूलाई भ्रष्टाचारीहरूलाई प्रोत्साहित गर्ने खालको छ त्यसरी चल्दैन । विधिको शासन पनि छैन, भ्रष्टाचारमाथि नियन्त्रण र भ्रष्टाचारीमाथि कारबाही पनि छैन । यसलाई पूरै परिवर्तन गर्नुपर्छ ।’
उपाध्यक्ष श्रेष्ठले सूचना प्रविधिको विकासले देखा परेका नयाँ सम्भावनालाई प्रयोग गर्नका लागि शिक्षा दशक घोषणा गरी शिक्षामा गुणात्मक लगानी गर्नुपर्नेमा जोड दिए । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सगरमाथा संवाद हिमाल संरक्षणमा विश्वको प्रतिबद्धता खोज्ने प्रयास हो’
-
कीर्ते गरी नक्कली कागजात बनाउने तीन जना पक्राउ
-
बारपाकमा पछिल्लो १० वर्षमा आएको परिवर्तन, तस्बिरमा हेर्नुहोस्
-
मोहन बस्नेतको सांसद पद निलम्बन
-
स्पष्ट ढुवानीमैत्री नीति आवश्यक : सांसद नेम्वाङ
-
क्रान्तिकारी कार्यदिशा नभए जुनसुकै सरकार आए पनि केही हुनेवाला छैन : झलनाथ खनाल