बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

धरानमा गठबन्धन भर्सेस एमाले : कसको पक्षमा पल्ला भारी ?

शुक्रबार, १६ वैशाख २०७९, १० : ३४
शुक्रबार, १६ वैशाख २०७९

आसन्न स्थानीय तहको निर्वाचनमा प्रदेश १ को धरान उपमहानगरपालिकामा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । दुवै पक्षले जनमतलाई आफ्नो पक्षमा पार्न जोडबल गरिरहेका छन् ।

धरानमा तीन दशकभन्दा लामो समयदेखि वामपन्थीको वर्चश्व रहँदै आएकोमा दुई वर्ष अघि सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा भने नेपाली काँग्रेसले बाजी मारेको थियो । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसका किशोर राईले प्रमुख पदमा उम्मेदवारी दिएका छन् भने एमालेले निवर्तमान उपप्रमुख मञ्जु भण्डारीलाई उम्मेदवार बनाएको छ । राईका लागि गठबन्धनका अन्य दल सारथि बनिरहेका छन् भने भण्डारीका लागि गठबन्धन दलभित्रको अन्तरविरोध नै आकर्षक अवसर बनिरहेको स्थानीय बुद्धिजीवी बताउँछन् ।

शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार, बहुसांस्कृतिक, आवासीय सहरको रूपमा परिचित धरानमा आदिवासी जनजातिको बाहुल्यता छ । त्यतिमात्रै होइन, धरानमा पूर्व ब्रिटिस सैनिकहरूको बाक्लो बसोबास पनि छ । धरानमा खस आर्य समुदायले पनि चुनाव जित्छ र ? भन्ने प्रश्न पनि नउठेको होइन । तर, एमाले नेताहरू त्यसलाई खण्डन गर्दै आफू चुनाव जित्ने दाबी गर्छन् ।

‘मनमोहन अधिकारीलाई ०४८ सालमा धरानले जितायो । ०५१ सालमा लीला श्रेष्ठ सुब्बालाई धरानले जितायो । ०५६ सालमा जटिल परिस्थितिमा पार्टी विभाजन भएर ठूलो पङ्क्ति मालेमा जाँदा पनि कुन्ता शर्मालाई एमालेबाट जितायो । त्यसबेला धरानमा मालेले जित्ने प्रक्षेपण थियो । त्यसबेला कुन्ता शर्मालाई चुनावमा उठाउँदा जनताले, कार्यकर्ताले जात होइन रगत हेरौँ भन्ने खालका वाल पेन्टिङ गरेका थिए,’ धरानका एमाले नेता मुरारी सुवेदी भन्छन् ।

यद्यपि २ वर्ष अगाडि भत्किएको धरानको वामपन्थी विरासत फेरि फर्काउने योजनाका साथ लागेको नेकपा एमालेका सामु यस पटक पनि ठुलो चुनौती खडा भएको बताउँछन् पत्रकार तथा वामपन्थी विश्लेषक भवानी बराल ।

‘एमाले विभाजनको पहिलो असर धरान नगर निर्वाचनमा पर्ने पक्कापक्की छ । दोस्रो, नगरको खानेपानी समस्या, सार्वजनिक जग्गामा भू–माफियालाई सुम्पन गरेको दुस्साहससहित अनेकौँ अनियमिततामा एमाले नराम्रोसँग फसेको छ । तेस्रो, नगरमा परिवर्तनको चाहना एमालेको विपक्षमा छ । चौथो, मञ्जु भण्डारी खानेपानी, महेन्द्र कलेजको जग्गा भू–माफियालाई दिन गरेको सिफारिसमा नराम्रोसँग चुकेकी छन्,’ बराल भन्छन्, ‘यसकारण एमालेको सबैभन्दा कमजोर उम्मेदवार भण्डारी नै हुन् । एमाले इतरसमूहमा गठबन्धन भएपछि झनै एमालेलाई समस्या भएको छ ।’

स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकी एमालेकी भण्डारी सुवेदी धराने जनताका लागि अपरिचित नाम भने होइन । धराने जनतामाझ उनको लोकप्रियता पनि छ । त्यतिकै मात्रामा गठबन्धनका उम्मेदवार किशोर राईको पनि लोकप्रियता छ ।

०७४ को निर्वाचनमा स्वर्गीय तारा सुब्बासँगै लोकप्रिय मत लिएर विजयी भएकी भण्डारीसँग मेयर सुब्बाको निधनपछि करिब डेढ वर्षसम्म कार्यवाहक मेयर भएर धरानको समग्र विकास निर्माणमा सरिक भएको अनुभव छ । ‘नगरपालिका अभिभावकविहीन भएको अवस्थामा मेरो जिम्मेवारीमा स्वाभाविक चुनौती थपियो । मैले नगरपालिकालाई र सिङ्गो नगरलाई अभिभावकविहीन भएको महसुस हुन नदिई कार्यवाहक मेयरको रूपमा अभिभावकत्व प्रदान गरेँ,’ भण्डारी भन्छिन्, ‘यो अवधि मेरो जीवनमा चुनौतीमात्र होइन, जिम्मेवारी वहनको अनुभव आर्जन र क्षमता विकासका दृष्टिकोणबाट कोशेढुङ्गा हुन पुग्यो ।’

उनले ०७४ को स्थानीय निर्वाचनमा २१ हजार २५६ मत ल्याएर काँग्रेसकी श्यामा रेग्मीलाई ६ हजार ३३९ को फराकिलो अन्तरले हराएकी थिइन् । उता नेपाली काँग्रेसका युवा नेता राई संघर्षशील, स्पष्टवक्ताका रूपमा लोकप्रिय छन् । धरानमै हुर्किएका आदिवासी रैथाने उनी धरानका सबै समस्यासँग परिचित छन् र मेयरको हैसियतमा काम गर्ने क्षमता पनि राख्छन् ।

नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय मानार्थ उपाध्यक्षसमेत रहेका, नेपाली काँग्रेस धरान उपमहानगर समितिका पूर्व सभापति किशोर राई फुटबलका अब्बल खेलाडी पनि हुन् ।

२०६६ सालदेखि २०७२ सालसम्म नेपाली काँग्रेस धरानको नगर सभापति रहेका उनी २० वर्षसम्म धरान नगरपालिका जनप्रतिनिधिविहीन रहँदा सर्वदलीय संयन्त्रमा रहेर विकास निर्माण गरेको अनुभव आफूसँग रहेको बताउँछन् । ‘धरानको विकास, निर्माणका विषयमा नगरपालिकाले गर्ने निर्णयहरूमा निर्णायक पार्टी नेताका रूपमा मैले काम गरेको छु,’ राई भन्छन्, ‘राजनीतिक संयन्त्रको प्रमुख हुँदा धरानको खानेपानी समस्या समाधानका लागि आयोजना ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थिएँ ।’

०७४ सालको परिणाम

पूर्वको महत्त्वपूर्ण र ठूलो पालिकामध्ये एक हो धरान उपमहानगरपालिका । धरान उपमहानगरपालिकामा ०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट प्रमुखका उम्मेदवार तारा सुब्बा र उपप्रमुखमा मञ्जु भण्डारी विजयी भएका थिए । प्रमुखमा जितेका सुब्बाले त्यसबेला २० हजार ९७५ मत ल्याएका थिए । उनका निकटतम प्रतिस्पर्धी बनेका काँग्रेसका तिलक राईले १६ हजार १०२ र तेस्रो स्थानमा माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाले ११ हजार १८० मत ल्याएका थिए ।

प्रमुख सुब्बाको निधन भएपछि खाली भएको उपनिर्वाचनमा भने काँग्रेसका तिलक राईले परिणाम उल्ट्याउँदै एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई झण्डै ३ हजार मतले पराजित गर्न सफल बने ।

उपनिर्वाचनमा तिलक राईले २६ हजार ७०९ मत ल्याउँदा तत्कालीन नेकपाका उम्मेदवार प्रकाश राईले २३ हजार ९१४ मत पाएका थिए । वडागत परिणामलाई हेर्दा पनि धरानको २० वटा वडामध्ये एमाले एक्लैले १४ वटा जितेको थियो । काँग्रेसले ५ वटा र माओवादी केन्द्रले १ वडा जित्न सफल भएको थियो । आसन्न स्थानीय निर्वाचनमा उपनिर्वाचनको परिणामलाई उल्ट्याउने ध्याउन्नमा एमाले लागेको छ । उसले आफ्नो पार्टी विभाजन भए पनि ०७४ सालमा भन्दा मजबुत ढंगले संगठन सुदृढीकरण गरेको बताएको छ ।

काँग्रेसबाट धरानको प्रमुख पदमा उम्मेदवार बनेका फुटबल खेलाडी किशोर राईलाई उपचुनाव जितेको साख मात्रै होइन, गठबन्धनमा रहेका चार दलको साख पनि जोगाउनु पर्ने चुनौती छ । एमालेबाट उम्मेदवार बनेकी मञ्जु भण्डारीलाई पनि धरान वामपन्थी गढ हो भन्ने प्रमाणित गर्ने चुनौती छ । दुवैको आ–आफ्नै चुनौतीकाबीच हुन गइरहेको स्थानीय निर्वाचन २०७९ को प्रतिस्पर्धाबाट कसले बाजी मार्ला ? यो चासोको विषय हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप