सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीको टीकापुरमा निर्वाचनको चहल–पहल बढ्दै

आइतबार, १८ वैशाख २०७९, १९ : ५७
आइतबार, १८ वैशाख २०७९

कैलालीको पर्यटकीय रूपमा पहिचान बनाएको टीकापुर नगरपालिकामा निर्वाचनको चहल–पहल बढ्दै गएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरुले चुनाव चिन्ह पाएपछि दलहरूले मतदाता रिझाउन विभिन्न गतिविधिहरू अघि बढाएका हुन् ।

टीकापुर नगरपालिकामा ४७ पदका लागि २ सय ८६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन अधिकृतको कार्यालय टीकापुरका अनुसार प्रमुख पदमा १२ जना र उप–प्रमुख पदमा ११ जनाको उम्मेदवारी परेको थियो । प्रमुख पदमा नौ जना राजनीतिक दलबाट तथा तीन जना स्वतन्त्र र उप–प्रमुखमा नौ जना राजनीतिक दलबाट र २ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । जसमध्ये नगर प्रमुख पदका उम्मेदवार माओवादी केन्द्रका आशा चौधरी, स्वतन्त्र उम्मेदवार विष्णुप्रसाद ढुंगाना, उपप्रमुखतर्फ स्वतन्त्रतर्फ प्रकाश खड्काले उम्मेदवारी फिर्ता लिएका छन् ।

टीकापुर नगरपालिकामा नेकपा एमालेबाट नगर प्रमुखमा श्याम खत्री र उप–प्रमुखमा उपमा केसी, नेपाली काँग्रेसबाट नगर प्रमुखमा नवराज रावल, नेकपा माओवादी केन्द्रबाट उप–प्रमुखमा खडकबहादुर शाह, नागरिक उन्मुक्ति पार्टीबाट प्रमुखमा रामलाल डगौरा थारु र उप–प्रमुखमा उल्कादेवी विश्वकर्मा चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

यस्तै काँग्रेस विपीबाट उप–प्रमुखमा मिनादेवी साउँद, जनता समाजवादी पार्टीबाट प्रमुखमा धरमबहादुर घर्तिमगर र उप–प्रमुखमा पिंकी विक, राप्रपाबाट प्रमुखमा गोविन्द रिमाल र उप–प्रमुखमा सरस्वती बोहरा, नेपाल लोकतान्त्रिक पार्टीबाट प्रमुखमा प्रेम बहादुर चौधरी र उप–प्रमुखमा पार्वती चौधरी, सङ्घीय लोकतान्त्रिक मञ्चबाट प्रमुखमा गोपाल कर्मी र उप–प्रमुखमा सुनिता विक, मौलिक जरोकिलो पार्टी नेपालबाट प्रमुखमा राजकुमार विष्ट र उप–प्रमुखमा हीरादेवी थारु पनि प्रतिस्पर्धामा रहेका छन् ।

आठ वडा रहेको टीकापुर नगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवार तपेन्द्र रावल प्रमुखमा निर्वाचित भएका थिए भने उपप्रमुखमा नेपाली काँग्रेसकी केशरी विष्ट निर्वाचित भएकी थिइन् । थारु बाहुल्य क्षेत्र मानिएको यस नगरपालिकामा रेश्म चौधरी पत्नी रञ्जीता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दर्ता गराएपछि दुई ठूला दललाई टक्कर दिने देखिएको छ ।

चुनावमा होमिएका सो पार्टीका चौधरी भन्छन् –‘दुई गठबन्धन भएपनि यहाँ हामी प्रमुख प्रतिस्पर्धी रहेका छौँ । हाम्रो नारा, एजेण्डानै हाम्रो जित्ने आधार रहेको छ ।’ दर्ता भएको चार महिनामै सो पार्टीले टीकापुरमा आफ्नो बलियो पकड बनाउन लागेको दलहरूकै समीक्षा रहेको छ । ‘हामी सबैभन्दा अगाडि छौँ । हामी सबै वडा जित्छौँ भन्ने लागिरहेको छ’ उनले भने –‘जातीय विचार, टीकापुर घटना, झुटा मुद्दा लगाई पक्राउ गर्नु, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संविधान संशोधन गराउन दबाब दिने, खुटिया नदीदेखि बर्दियाका दुई गाउँपालिकालाई जोडेर छुट्टै जिल्ला बनाउन दबाब दिने लगायतका मुद्दा र एजेन्डा रहेका छन् ।’

उनले ४२ प्रतिशत थारु समुदाय, १४ प्रतिशत दलित समुदाय, टीकापुर घटना झुटो मुद्दाको पक्षमा रहेका केही वर्गहरूले आफ्नो पार्टीलाई समर्थन गरेको बताए । २०७४ सालको निर्वाचनमा चार वटा वडा माओवादी केन्द्र, तीन वडा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) पार्टी र एक वडामा नेकपा एमालेले विजयी भएका छन् । अहिले वडामा विजयी भएका तीन वडाका अध्यक्षहरू आफनै पार्टीमा दर्ता भएको उम्मेदवार चौधरीले बताए । उनको दाबी छ –‘गठबन्धन दल र नेकपा एमाले हाम्रो पार्टीभन्दा कमजोर रहेको छ ।’

सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका नेता नवराज रावलले भने कुनै दल आफ्नो प्रतिस्पर्धी नरहेको प्रतिक्रिया दिए । उनले भने –‘काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत पाँच दलिय गठबन्धनका कारण नगरपालिकामा म बलियो उम्मेदवार हुँ ।’ नेपाली काँग्रेसका पार्टी सभापति नरेश कुमार खत्रीले सत्ता गठबन्धनका उम्मेदवार सरल, सहज, नगरवासीले रुचाएका व्यक्ति भएकाले उनलाई प्रतिस्पर्धामा कुनै गाह्रो नभएको बताए ।

२०७४ सालको निर्वाचनमा प्रमुख पदमा विजयी भएको नेकपा एमाले भने तेस्रो दल हुने सो क्षेत्रका राजनीतिक दलहरूको आँकलन गरिएको छ । २०७४ सालको निर्वाचनमा ३९ हजार एक सय ९२ मतदाता रहेकोमा २६ हजार नौ सय २९ मत खसेको थियो । सोमध्ये नेकपा एमालेका नगर प्रमुखका उम्मेदवार तपेन्द्र रावलले पाँच हजार नौ सय ५९ मत प्राप्त गरी निर्वाचित भएका थिए भने उनका प्रतिस्पर्धी तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) पार्टीका लौटन चौधरीले ५ हजार ५ सय ३४ मत प्राप्त गरेका थिए । सो स्थानीय तहमा काँग्रेसका उम्मेदवार तेस्रो र माओवादी केन्द्र चौथो दल बनेको थियो ।

५२ हजारभन्दा बढी मतदाता

टीकापुर नगरपालिकामा ५२ हजारभन्दा बढी मतदाता छन् । जिल्ला निर्वाचन कार्यालय कैलालीका अनुसार सो नगरपालिकामा २५ हजार ६४ पुरुष, २७ हजार ८०७ महिला र अन्य एक गरी ५२ हजार ८७२ मतदाता छन् । आसन्न स्थानीय तहको निर्वाचनमा सो नगरपालिकामा १६ वटा मतदान स्थल र ५७ मतदान केन्द्र रहने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शेरबहादुर ऐर
शेरबहादुर ऐर
लेखकबाट थप