आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

स्ट्रेसले ढलेका कर्मचारीलाई कुटपिट भएको हल्ला चलाएपछि ...

मङ्गलबार, २० वैशाख २०७९, १४ : ०१
मङ्गलबार, २० वैशाख २०७९

नेपाल वायुसेवा निगमका कर्मचारी देवराज ओझाले आफू स्ट्रेसका कारण बेहोस भएको प्रहरीलाई बयान दिएका छन् । सोमबार नेपाल वायुसेवा निगमका कर्मचारी देवराज ओझा निगमकै अध्यक्ष युवराज अधिकारीको कार्यकक्षमा बेहोस भएका थिए । 

अध्यक्षको कार्यकक्षमा पुगेको समयमा एक्कासि चक्कर आएर आफू बेहोस भएको होसमा आउँदा आफू अस्पतालमा रहेको थाहा भएको उनले प्रहरीसामु बयान दिएका छन् । सोमबार नै प्रहरी वृत्त सिंहदरबारका प्रहरीसामु दिएको बयानमा आफूलाई कसैले ह्यारेसमेण्ट नगरेको र कुटपिट नगरेको बयान दिएका हुन् । 

तर सोमबार विभिन्न सञ्चारमाध्यममा ओझामाथि निगमका अध्यक्षले ह्यारेसमेण्ट गरेको र ह्यारेसमेण्टकै कारण उनी बेहोस हुन पुगेको समाचार प्रकाशन भएको थियो । निगमका अध्यक्षले पटकपटक स्पष्टीकरण सोध्ने र ह्यारेसमेण्ट गर्ने काम गरेकाले उनी अध्यक्षकै कार्यकक्षमा बेहोस भएको समाचार सार्वजनिक भएको थियो । 

भएको के थियो ? 

नेपाल वायुसेवा निगम कर्मचारी सङ्घका उपाध्यक्ष दीपेन्द्र पुनका अनुसार संघकै कर्मचारी देवराज ओझाले करिब दुई साताअघि एउटा समाचार कर्मचारीकै ग्रुपमा सेयर गरेका थिए । निगमका अध्यक्ष अधिकारीमाथि स्पष्टीकरण सोधिएको बारे आएको समाचार ओझाले सामाजिक सञ्जालको प्राइभेट ग्रुपमा सेयर गरेपछि उनलाई अध्यक्ष युवराज अधिकारीले सोही समयमा सम्झाएर पठाएका थिए ।

सुरुमा कमर्सियल डिपार्टमेण्टका उपनिर्देशक सुधन कुमार श्रेष्ठले स्पष्टीकरण सोध्ने प्रयास गरेका थिए । कर्मचारीले सामाजिक सञ्जालको प्रयोग गर्नेसम्बन्धी आचारसंहिता विपरीतको कार्य गरेको भन्दै उनलाई स्पष्टीकरण सोध्ने प्रयास गरिएको थियो । तर निगमका अध्यक्ष अधिकारीले उक्त कार्य सानो विषय भएकाले स्पष्टीकरण नसोध्ने तर सम्झाउने भन्दै एक साताअघि मात्रै कर्मचारी देवराज ओझालाई आफ्नै कार्यकक्षमा बोलाएर अधिकारीले सम्झाएको र अब त्यस्तो कार्य नगर्ने भन्दै ओझा फिर्ता भएर नियमित कामकाज मै लागेका थिए । 

तर करिब एक साताअघि मात्रै एकाएक ओझालाई स्पष्टीकरण सोधिएको पत्र उपनिर्देशक सुधन श्रेष्ठको नामबाट जारी भयो । टुंगिसकेको विषयमा फेरि किन स्पष्टीकरण सोधिएको भन्दै उपनिर्देशक श्रेष्ठसँग कुराकानी गर्दा श्रेष्ठले आफूलाई स्पष्टीकरण सोध्नु भन्ने निर्देशन अध्यक्षबाट आएकाले स्पष्टीकरण सोधिएको जवाफ दिएका थिए । 

त्यसपछि सुल्झिसकेको विषयमा स्पष्टीकरण सोधेको भन्दै नेपाल वायुसेवा कर्मचारी संघ लगायतका कर्मचारीहरू आक्रोशित बनेका थिए । सोही विषयमा सङ्घका अध्यक्ष मान बहादुर कुँवरले अध्यक्षको व्यवहारको विषयमा विज्ञप्ति जारी गर्दै आन्दोलनमा जानुपर्ने प्रस्ताव ल्याएका थिए । तर संघकै अन्य कर्मचारीहले विज्ञप्ति नै निकालेर आन्दोलनमा जाने अध्यक्षको प्रस्ताव अस्वीकार गरेपछि वैशाख १५ गते अध्यक्ष मान बहादुर कुँवरले घरबाटै विज्ञप्ति जारी गर्दै कर्मचारीमाथिको धरपकड नरोकिए आन्दोलन गर्ने चेतावनी दिएका थिए । साथै कर्मचारी ओझालाई पनि विज्ञप्ति जारी गर्न दबाब दिइएको थियो । 

सानो अनि सुल्टिसकेको विषयलाई उपनिर्देशक श्रेष्ठले जबरजस्ती स्पष्टीकरण सोध्ने र कर्मचारी संघले पनि विज्ञप्ति निकाल्न दबाब दिएपछि उनी स्ट्रेसमा रहेको उपाध्यक्ष पुनले रातोपाटीलाई बताए । उपाध्यक्ष पुनका अनुसार ओझामाथि सोधिएको स्पष्टीकरणको जवाफ आएपछि सोमबार बिहानै उनलाई कुनै कारबाही गर्नु नपर्ने भन्दै सफाइ पनि दिइसकिएको थियो । तर सोमबार ओझा आफै अध्यक्षलाई भेट गर्न भन्दै उनको कार्यकक्षमा पुगेका थिए । कार्यकक्षमा पुगे लगत्तै आफूलाई रिँगटा लागेको बताएका ओझा त्यसपछि बेहोस भएका थिए । बेहोस भएपछि अध्यक्ष अधिकारी आफैँले गाडीमा राखेर ओझालाई काठमाडौँ मोडेल अस्पतालमा उपचारका लागि पुराएका थिए । उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको र उनी यतिबेला रेष्टमा रहेको उपाध्यक्ष पुनले बताए ।

तर वायुसेवा निगमकै केही कर्मचारी, सङ्घका अध्यक्ष मान बहादुर कुँवर र केही सञ्चार माध्यमले घटनाको अतिरञ्जना गराएको उपाध्यक्ष पुनले बताए । उनले भने, ‘भएको मात्र यत्ति हो, बेहोस भएका व्यक्तिले प्रहरीलाई बयान दिँदा आफूलाई अध्यक्षले ह्यारेसमेण्ट नगरेको बरु संघकै अध्यक्षले सानो विषयलाई ठूलो बनाउन खोज्दा आफू स्ट्रेसमा परेको र स्ट्रेसकै कारण बेहोस भएको बताएका छन् । उनले प्रहरीलाई बयान दिँदा म पनि साथमै थिएँ । बाहिर भने ह्यारेसमेण्ट गरेको तथा कतिपय समाचारमा त कुटपिट नै गरेको भनेर आयो, त्यो गलत हो । सानो घटनालाई राजनीतिकरण गर्न खोजियो, त्यो गलत हो र गलत छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप