सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा रोचक चुनावी भिडन्त : गठबन्धन र एमालेका दुबै उम्मेदवारमाथि चुनौतीका चाङ

मङ्गलबार, २० वैशाख २०७९, १५ : ५२
मङ्गलबार, २० वैशाख २०७९

 पोखरा महानगरमा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच मेयर पदका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ । विगतमा पोखरा महानगरमा एमालेले मेयर र उपमेयर दुवै पद जिते पनि अहिले एमालेका लागि त्यति अनुकुल अवस्था भने छैन । अर्कोतिर, अन्य दल तथा स्वतन्त्र उम्मेदवार पनि दुवै पक्षका लागि चिन्ताको विषय बनेका छन् । यसका बाबजुद गठबन्धन र एमालेका उम्मेदवार चुनाव प्रचारमा खटिएका छन् । यद्यपि, उनीहरुका लागि माहोल भने त्यति सहज देखिएको छैन ।

मेयरमा एमालेका उम्मेदवार कृष्ण थापाका सकस

पोखरा महानगरको मेयरमा एमालेले सुरुमा दीपक पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर उनको टिकट खोसेर अन्तिम समयमा कृष्ण थापालाई उम्मेदवार बनाएको छ । त्यसैले थापामाथि आफ्नै सहकर्मीको टिकट खोसेर मेयरको प्रत्यासी बनेको आरोप एमालेभित्रकै एउटा समूहले लगाइरहेको छ ।

नेकपा एमालेले पोखरा महानगरको उम्मेदवार परिचय तथा घोषणा पत्र सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा समेत पार्टीभित्रको ध्रुवीकरण देखिएको थियो । कार्यक्रमको प्रमुख अतिथि बनेर आएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले थापा समूहका नेता खगराज अधिकारीलाई नमस्तेसमेत फर्काएनन् । पोखरेल कार्यक्रम सकेर थापाको प्रचारमा लागेनन् बरु टिकट खोसिएका उम्मेदवारको घर सात्वना दिन पुगे ।

कास्कीमा एमालेभित्र पृथ्वी सुब्बा समूह र खगराज समूहको लडाई भुसको आगो झैं सल्किएको देखिन्छ । थापा खगराज गुटका हुन् भने टिकट खोसिएका पौडेल पृथ्वी सुब्बा गुटका हुन् । थापालाई पार्टीभित्रको गुटले मात्र नभइ केही वर्ष अगाडिको दलित विभेद सम्बन्धी मुद्दाले पनि निर्वाचनमा अप्ठ्यारो पारिरहेको छ ।

बाटुलेचौर सार्वजनिक किरियापुत्री भवन दलितलाई प्रयोग गर्न नदिनेहरुको संरक्षणमा थापा लागेको भन्दै प्रदेशसभामा समेत उनीविरुद्ध उजुरी परेको थियो । उक्त विषय अहिले फेरि उठेको छ । सो विषयले करिव २० हजारको संख्यामा रहेका दलित मतदातालाई बिच्क्याउन सक्ने जानकारहरु बताउँछन् ।

यतिमात्र होइन, पोखरामा २०७४ को स्थानीय तह निर्वाचनमा मेयर र उपमेयर दुवै पद एमालेले जितेको थियो । विगत पाँच वर्षमा पोखरा महानगरको नेतृत्वले घोषणा पत्रमा सार्वजनिक गरेका अधिकांश काम पूरा गर्न नसकेको विषयमा बढेको जनगुनासोको मार पनि एमाले उम्मेदवार थापाले झेल्नु परेको छ । अर्कोतिर भौगोलिक रुपमा ठुलो महानगर रहेको पोखरामा एमालेले मेयर र उपमेयर पदका उम्मेदवार छान्दा लेखनाथ क्षेत्रलाई उपेक्षा गरेका कारण सो क्षेत्रका मतदाता रुष्ट छन् ।

गण्डकी प्रदेशमै एमाले विभाजनको सबैभन्दा ठुलो असर पोखरा महानगरमा परेको देखिन्छ । पोखरा महानगरमा पार्टी विभाजनको असरमात्र परेन, विभाजनपछि पनि एमालेभित्र नयाँ गुटगत संघर्ष जारी छ ।

गठबन्धनका तर्फबाट मेयरका प्रत्यासी धनराज आचार्य पूर्वमन्त्री रविन्द्र अधिकारीको चुनाव क्याम्पेनका संयोजक बनेर काम गरिसकेका व्यक्ति हुन् । भरतपोखरी, निर्मल पोखरी जस्ता एमालेको किल्ला मानिएको क्षेत्रमा आचार्यको प्रभाव राम्रै मानिन्छ । त्यसैले एमालेका उम्मेदवार थापाले यी सकसलाई चिर्दै मतदातालाई आफ्नो पक्षमा पार्न कम सहज छैन ।

गठबन्धनबाट मेयर पदका प्रत्यासी धनराज आचार्यका सकस

गठबन्धनबाट सांगठनिक धरातल कमजोर भए पनि पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार बनेका धनराज आचार्यलाई पनि थुप्रै सकस छन् । नेपाली काँग्रेसको दरिलो सांगठनिक जग रहेको पोखरामा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका आचार्यले सिङ्गो गठबन्धनको साथ पाएर उम्मेदवारी दिएका छन् ।

उनले गठबन्धनको तर्फबाट उम्मेदवारी फिक्स भएसँगै नेपाली काँग्रेसका बिमल बहादुर कार्कीले उम्मेदवारी दर्ता गराए । जसले गर्दा कार्कीले काँग्रेसको केही मत काट्ने निश्चित छ ।
नेकपा एमालेले मेयर पदमा दीपक पौडेलको टिकट खोसेर प्रभावशाली नेता कृष्ण थापालाई उम्मेदवार बनाउनु पनि आचार्यका लागि अर्को चुनौती हो । पौडेलको तुलनामा थापा एमालेको संगठनभित्र प्रभावशाली नेताको रुपमा चिनिन्छन् ।

देशभर गठबन्धन मजबुत हुँदा पनि पोखरा महानगरमा गठबन्धन वडासम्म मिलाएर लैजान नसक्दा सोचेअनुरुप मत हासिल नहुने हो कि भन्ने डर पनि आचार्यलाई छ । गठबन्धन भित्रकै दलहरुको वडामा प्रतिस्पर्धा रहेको हुँदा सबै दलले साझा रुपमा चुनावी अभियान सञ्चालन गर्न सक्ने अवस्था देखिँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सौगात पोखरेल
सौगात पोखरेल
लेखकबाट थप