बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हिन्दु–मुस्लिम विवाह : जेठानले व्यस्त सडकमा गरिदिए दलित युवकको हत्या

शुक्रबार, २३ वैशाख २०७९, १५ : ४१
शुक्रबार, २३ वैशाख २०७९

‘मैले मेरो भाइको अगाडि बिन्ती गरिरहेँ, तर मेरा भाइले मेरो श्रीमान् नागराजुलाई रडले र अन्य व्यक्तिले छुरीले लगातार आक्रमण गरिरहे । मेरो श्रीमानलाई कसैले बचाउन सकेनन् । हामीले प्रेम विवाह गरेका थियौँ ।’

आफ्नो आँखा अगाडि श्रीमानको हत्या भएको देखेकी असरिनको आँसु थामिएको थिएन ।

असरिन सुल्तानाका भाइ सैयद मोबिन अहमद र एक नातेदार, मसूद अहमदले उनका श्रीमान् डिल्लीपुरम नागराजुलाई हैदराबादको बीच सडकको बीचमा मारेका थिए । हिन्दू केटासँग विवाह गरेपछि सुल्तानाको परिवार रिसाएको थियो ।

बुधबार राति करिब ९ बजे हैदराबादको भीडभाड सडकमा भएको यो निर्मम हत्याले सबैलाई स्तब्ध बनाएको छ । घटना सरूर नगर म्युनिसिपल अफिसबाट केही टाढा पञ्जा अनिल कुमार गायत्री कोलोनीमा भएको हो ।

नागराजु र असरिन स्कुलदेखि नै एकअर्काको प्रेममा थिए । यो प्रेमले कलेजमा पनि निरन्तरता पायो । असरिनको भाइले उनीहरुको प्रेमबारे थाहा पाए । पुलिसका अनुसार असरिनका भाइ हैदराबादको बालानगरमा फलफूलको गाडा चलाउँछन् ।

असरिनका बुवाको धेरै वर्षअघि मृत्यु भइसकेको छ र उनी आमा र भाइसँग बस्दै आएकी थिइन् । नागराजु दलित हुन् र उनका आमाबाबु विकरावादमा कुल्लीको रूपमा काम गर्छन् । उनकी एक बहिनी पनि छिन् । नागराजु हैदराबादको मारुती शोरुममा काम गर्थे ।

असरिनका दाजु सैयद मोबिनले उनलाई सम्बन्ध तोड्न धम्की दिएका थिए । यसै वर्षको जनवरीमा नागराजुले फेरि एकपटक असरिनसँग भेटे र दुवैले विवाह गर्ने निर्णय गरे ।

मृत्युको डरले हैदराबाद छोडेर विशाखापट्टनम

असरिनलाई थाहा थियो कि उनको दाइ विवाहको लागि तयार हुनेछैनन् । त्यसैले उनले घर छोड्ने निर्णय गरेकी छिन् । परिवारका सदस्यले उनको बारेमा कुनै जानकारी नपाउन् भनेर आसारिनले आफ्नो मोबाइल पनि घरमै छोडेकी थिइन् ।

दुवैले गत जनवरी ३१ मा हैदराबादको पुरानो शहरको आर्य समाज मन्दिरमा विवाह गरेका थिए । असरिनका दाइ मोबिनले बालानगर प्रहरी चौकीमा हराएको उजुरी दिर्ता गरे । प्रहरीले दुवैलाई बोलाएर वयस्क भएको थाहा पाएपछि आ–आफ्ना परिवारलाई जिम्मा लगाएको थियो ।

नागराजुकी आमा भन्छिन्, ‘हामी पनि प्रहरी चौकी गयौं र त्यहाँ केटीका आमा र दाइ पनि आए । मैले उनकी आमालाई ‘चिन्ता नगर्नुहोस्, मेरी पनि छोरी छ, उसलाई छोरी जस्तै गरी राख्छु’ भनेकी थिएँ । हाम्रो परिवार र उनको परिवारसँग नागराजु असरिनले फोटो पनि खिचाएका थिए । तर पनि आसरिनले धेरै पटक दाइले यो बिहेलाई स्वीकार नगर्ने बताइरहेकी थिइन् । ’

यही डरका कारण दुवै जना हैदराबाद छोडेर विशाखापट्टनममा बस्न गए । अब असरिनको परिवारको रिस शान्त भएको होला भन्ने सोचेर पाँच दिनअघि दुवै जना हैदरावाद फर्केका थिए ।

नागराजुलाई मार्ने योजना थियो

नागराजुका बुबाका अनुसार दुवैका आफन्त घरतिर गएका थिए । तर मोबिन र मेकानिकको रूपमा काम गर्ने आफन्त मसुद अहमद उनीहरुको पछि लागे ।

यसअघि मलकपेटको सडकमा नै नागराजुमाथि आक्रमण गर्ने योजना थियो तर बाटोमा ठूलो भीड भएकोले उनीहरुले पिछा गरिरहे । घटनास्थलमा पुगेपछि उनीहरुले नागराजुको गाडी रोकेर उनलाई भुइँमा खसालेर आक्रमण गरे ।

असरिनका अनुसार नागराजुले हेल्मेट लगाएका थिए तर मोबिनले उनलाई रडले हिर्काउन थाले । सोही क्रममा मोबिनसँगै आएका मसुदले नागराजुमाथि छुरी प्रहार गरेका थिए । असरिनले नागराजुलाई छोडिदिन अनुनय बिन्ती गरिरहिन्, तर दुवैले नागराजुलाई रगताम्मे नभएसम्म छोडेनन् ।

असरिनका अनुसार वरपरका मानिसहरूले मसूद र मोबिनलाई रोक्न खोजे तर केही भएन । प्रहरीलाई खबर गरिएको थियो तर प्रहरी घटनास्थल पुग्दासम्म नागराजुको ज्यान गइसकेको थियो । केही अघिसम्म व्यस्त सडकमा भयानक घटना देखिएको थियो ।

यो सम्पूर्ण घटना सीसीटीभीमा कैद भएको छ । त्यतिबेला असरिनले आफ्नो पतिलाई कसरी बचाउन खोजेकी थिइन् भन्ने भिडियो पनि भाइरल भएको थियो ।

प्रहरीले शवलाई पोष्टमार्टमका लागि उस्मानिया अस्पताल पठाएको छ । छोराको मृत्युको खबर सुनेर त्यहाँ पुगेका नागराजुका आमा–बुवालाई सम्हाल्न मुश्किल पर्यो । उनीहरु बेहोस भए ।

उनका बुवाले भने, ‘छोराले १२ कक्षासम्म पढेको छ । उनले हैदराबादमा काम गरिरहेका थिए । मेरा दुई सन्तान छन्, एक छोरा र एक छोरी । यी मानिसहरूले मेरो एक मात्र छोरालाई मारेका छन् । मलाई उनीहरुको प्रेम बारे केही थाहा थिएन । दुबैले बिना जानकारी बिहे गरे । बिहेपछि मात्रै उनीहरुले खबर गरे । विवाहपछि असरिनले आफ्नै दाइबाट उनीहरुको ज्यानलाई खतरा भएको बताइरहन्थिन् । मेरा आफन्त सरूरनगरमा बस्छन् । उनीहरुले पनि नजिकै घर लिए । मेरो छोराको हत्या गर्नेलाई कडा भन्दा कडा सजाय हुनुपर्छ । आशा छ प्रहरीबाट न्याय पाउनेछौँ ।’

त्यसपछि उनका बुवाले छोराको शवलाई विकरावादस्थित आफ्नो गाउँमा लगे ।

मृत्युको कारण के हो

दुवै अभियुक्तलाई २४ घण्टाभित्र पक्राउ गरेको प्रहरीले जनाएको छ । एकातिर घटनास्थलमा भिएचपी र भाजपाका कार्यकर्ताहरुले धर्ना दिएका छन् भने अर्कातिर उस्मानिया अस्पताल बाहिर पनि दलित संगठन र भाजपा कार्यकर्ताले प्रदर्शन गरे ।

बीजेपीका तेलंगाना अध्यक्ष र करीमनगरका सांसद सञ्जय कुमारले घटनालाई दुःखद भनी कडा निन्दा गरे र यसलाई धर्मको नाममा भएको हत्या बताए ।

यस्तै, सरूरनगरका डीसीपी सनप्रीत सिंहले यसलाई धर्मको नाममा हत्याका रूपमा हेर्न नहुने बताए । साथै, प्रहरीले पीडितलाई सरकारले जति सहयोग गर्न सक्छ छिट्टै दिने र फास्ट ट्रयाक अदालतबाट न्याय दिलाउन हरसम्भव प्रयास गर्ने आश्वासन पनि दिए । डीसीपीले भने, ‘केटीको मानसिक अवस्था निकै नाजुक छ र उनलाई निको हुन समय लाग्ने छ ।’

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप