शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दलहरू प्रदेश र संघको चुनावी तालमेलका लागि लेखाजोखा गर्दै

मङ्गलबार, ०७ असार २०७९, १६ : १५
मङ्गलबार, ०७ असार २०७९

प्रदेश र संघको चुनावका लागि दलहरू आ–आफ्नो रणनीति बनाउन व्यस्त बनेका छन् । गत वैशाख ३० गतेको स्थानीय तह चुनावमा गठबन्धन बनाएर चुनाव लडेका दलहरू प्रदेश र संघको चुनावमा कसरी सहभागी हुने भन्नेबारे लेखाजोखा गर्न लागिपरेका हुन् ।

आगामी कात्तिक अन्तिम साता वा मङ्सिर पहिलो साता प्रदेश र संघको चुनाव गराउने सरकारको तयारी छ । त्यसका लागि  असार महिनाभित्रै चुनावको मिति घोषणा हुने सत्ता पक्षका नेताहरूले बताएका छन् ।

चुनावको मिति घोषणाको तयारी भइरहँदा राजनीतिक दलहरू भने गठबन्धन बनाएर उम्मेदवारी दिने या कुनै दलसँग तालमेल गरेर जाने या एक्लै प्रतिस्पर्धामा उत्रने भन्नेबारे आन्तरिक रणनीतिका लागि स्थानीय तह निर्वाचनको गम्भीर समीक्षा गरिरहेका छन् ।

नेपाली काँग्रेसले सत्तारुढ गठबन्धनलाई कायमै राखेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसँग पनि चुनावी तालमेलका विषयमा छलफल जारी राखेको छ । त्यसका लागि काँग्रेसका नेताहरूले भेटघाट र छलफललाई निरन्तरता दिएका छन् । कुन दलसँग कसरी तालमेल गर्दा चुनावी परिणाम र राजनीतिक लाभ लिन सकिन्छ भन्ने विषयमा काँग्रेस नेताहरू हिसाब किताब गर्न व्यस्त भएका छन् ।

यस्तै, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा नेपाल लगायतका दलहरू चुनावी हिसाब किताब गरेर बसेका छन् । काँग्रेससहितको गठबन्धन बनाएर जाँदा आउने चुनावी परिणाम र नेकपा एमालेसँग तालमेल गरेर जाँदाको परिणाम र राजनीतिक लाभका विषयमा माओवादीले विश्लेषण गर्न थालेको छ ।

एमालेका नेताहरू माओवादीलाई सत्ता गठबन्धनबाट अलग बनाई आफूसँग चुनावी तालमेल गराउन प्रयासरत छन् । त्यसका लागि एमाले महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव प्रदीप ज्ञवाली लगायतले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् ।

यता माओवादीका वर्षमान पुन, शक्तिबहादुर बस्नेत लगायत नेताहरू काँग्रेस र एमाले दुवै पक्षसँगको भेटघाटमै छन् । वाम तालमेलका विषयमा सबैभन्दा बढी एमाले सक्रिय देखिएको छ । बाहिर माओवादीको विरोध गरे पनि भित्री रूपमा एमाले नेताहरू वाम गठबन्धन गर्नुपर्ने भन्दै लविङ गर्न थालेका छन् ।

अहिले एमालेले सकेसम्म सत्ता गठबन्धन फुटाउने र माओवादीसँग वाम गठबन्धनका नाममा तालमेल गरेर चुनावमा जाने योजना बनाएको छ । त्यसो हुन नसकेमा सत्ता गठबन्धन फुटाएर चुनावी प्रतिस्पर्धाबाट आफूले राजनीतिक लाभ लिनेगरी एमाले नेताहरूले गतिविधि बनाएका छन् । त्यसो भएमा संघीय चुनावमा पहिलो शक्ति भई सत्ताको चाबी लिने एमालेको दाउ छ ।

एकीकृत समाजवादी, जसपा र जनमोर्चा यही गठबन्धन कायम राखेर प्रदेश र संघको चुनावमा जाने प्रतिबद्धता जनाइरहेका छन् । सत्ता गठबन्धनबाटै लाभ लिन सक्ने भएकाले अन्य दलसँगको समीकरणमा एकीकृत समाजवादी र जसपाले त्यति चासो राखेका छैनन् । त्यसैले उनीहरू तत्काल चुनावको मिति घोषणा गरेर भागबण्डा टुंगो लगाउनुपर्ने उनीहरूको भनाइ छ ।

कतिपय शक्तिहरू सत्ता गठबन्धन फुटाएर काँग्रेस, एमाले लगायत दलको गठबन्धन बनाउन सकिन्छ कि भनेर बल गरेको सत्ता गठबन्धनका एक शीर्ष नेताले बताए । ‘अहिलेको गठबन्धन फुटाएर काँग्रेस, एमाले, लोसपासहितको गठबन्धन बनाउन सकिन्छ कि भनेर कतिपय शक्ति लागिपरेका छन्,’ ती नेताले भने, ‘तर, त्यस्तो गठबन्धन बन्ने सम्भावना कम छ । त्यो अवस्था बनाउन गाह्रो छ ।’

अहिलेको प्रदेश र संघको चुनावका लागि कस्तो गठबन्धन र कोसँगको तालमेलमा बढी फाइदा हुन्छ भन्ने लेखाजोखा बढी गर्नेमा काँग्रेस, एमाले र माओवादी केन्द्र देखिएका छन् । कस्तो गठबन्धनबाट कस्तो परिणाम आउन सक्छ र कसको सरकार बन्छ भन्नेसम्म दलहरूले लेखाजोखा गरिराखेका छन् ।

सत्ता गठबन्धन नै बलियो

यस अघि भएको स्थानीय तह चुनावमा सबैभन्दा बढी लाभ काँग्रेसले लिएको छ । यदि सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नभएको भए स्थानीय तहमा एमाले पहिलो हुने जनमतले देखाइसकेको छ ।

सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि क्रमिक रूपमा लाभ लिएका छन् । तर, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको आन्तरिक बैठकमा सत्ता गठबन्धनबाट आफूहरूले काँग्रेसको जति लाभ लिन नसकेको निष्कर्ष निकालिएको छ । त्यति हुँदा पनि यही गठबन्धन बाहेक अन्य गठबन्धनबाट ती दलले धेरै सीट जित्ने अवस्था छैन । त्यसैले सत्ता गठबन्धनलाई नै निरन्तरता दिएर जानुपर्नेमा उनीहरू एक ढिक्का देखिएका छन् ।

काँग्रेसभित्रको संस्थापन पक्ष गठबन्धनकै पक्षमा देखिए पनि शेखर कोइराला पक्ष भने गठबन्धनको विपक्षमा देखिएको छ । यद्यपि, पार्टीमा संस्थापन पक्ष नै निर्णायक देखिन्छ ।

सत्तारुढ गठबन्धनले तत्काल एउटा समिति घोषणा गरेर तालमेलको खाका तथा उम्मेदवारीको भागवण्डा टुंगो लगाउने तयारी गरिरहेको छ । यद्यपि, चुनावी तालमेल गर्ने भने पनि कुन मोडालिटीमा कसरी तालमेल गर्ने भन्ने विषयमा गठबन्धनमा सहभागी दलहरूले आन्तरिक गृहकार्य गरिरहेका छन् ।

नेकपा माओवादी केन्द्रका पूर्व स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेतले संघ र प्रदेशको आगामी चुनावमा पाँच दलीय गठबन्धन बनाएर जानेमा एक भए पनि कुन मोडालिटीमा कसरी जाने भन्ने विषयमा निर्णयमा पुगिनसकेको बताए ।

‘आगामी प्रदेश र संघको चुनावमा पाँच दलीय गठबन्धनलाई नै निरन्तरता दिने भन्ने छ । त्यसमा सबै दलको एक मत छ,’ रातोपाटीसँग कुरा गर्दै बस्नेतले भने, ‘तर, कुन मोडालिटीमा कसरी तालमेल गर्ने भन्ने विषयमा फाइनल भइसकेको छैन । त्यसमा पुगेर अब छलफल हुने छ ।’

चुनावको मिति घोषणा भएपछि तालमेलका मोडालिटीका विषयमा फाइनल हुने बस्नेतले बताए ।

यस्तै नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टीको सम्पूर्ण शक्ति प्रदेश र संघको चुनावमा केन्द्रित गरेको बताए । ‘हामीले पार्टीको सम्पूर्ण ध्यान प्रदेश र संघको चुनावमा केन्द्रित गरेका छौँ । स्थानीय तहको मत परिणामलाई केलाउने, परिस्थितिको विश्लेषण गर्ने र पार्टीमा देखिएको अन्तर्विरोधलाई हल गर्नेतिर लागेका छौँ ।’

रातोपाटीसँग कुरा गर्दै रिजालले भने, ‘आफ्नै पार्टी संगठनको बलमा जनतामा गएर प्रदेश र संघको चुनाव एक्लै लड्ने छौँ । पार्टीले अघि सारेका राष्ट्रियता, जनतन्त्र, समृद्धिका एजेण्डाहरु लिएर जनताबाट विजयी हुनेगरी लागिपरेका छौँ ।’

आगामी प्रदेश र संघको चुनावमा कुनै पार्टी वा संगठनको टेको नलगाइ एमाले एक्लै चुनावी प्रतिस्पर्धामा जाने रिजालले दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप