ad
x
धर्मराज थापाको सम्झना

छोरी ज्ञानु राणाका नजरमा जनकवि केशरी धर्मराज थापा

person explore access_timeसाउन ७, २०७९ chat_bubble_outline0

हरियो डाँडामाथि 
हलो जोत्ने साथी 
हो हो तारे हो हो
हो हो माले हो... 


असार, साउनमा रोपाइँको छेकोमा यो गीत हिट हुन्छ । तर समग्रमा यो गीत सदावहारझैं छ । यसका स्रस्टा हुन् जनकवि केशरी धर्मराज थापा । अनि गीतमा स्वर, सङ्गीत पनि उनकै । 



प्रतिभाका हिसाबले धर्मराज थापा (१९८१–२०७१) प्रसिद्ध लोकगायक, कवि तथा प्राज्ञ थिए । २०१३ मा नेपालभरिका लोकनृत्य एउटै मञ्चबाट प्रदर्शन गरेपछि सो मञ्चबाटै राजा महेन्द्रले उनलाई ‘जनकवि केशरी’ उपाधि घोषणा गरेका थिए । 

जनकवि केशरीको उपाधि उनले त्यति सजिलै पाएका भने होइनन् । किनभने जनतामा भिजेर गीत लेख्नु र गाउनु त्यति सहज कुरा थिएन । यस क्रममा नेपाली लोकगीत, लोकबाजा, लोकनाच, चाडबाडबारे अध्ययन, अनुसन्धान र सङ्कलनका लागि उनी नेपाल र भारतका गाउँगाउँ चहारेका थिए । 

सिक्किम, दार्जिलिङ, आसाम, मेघालय, कालिङ्पोङ, मणिपुर, देहरादून, भाक्सुर हुँदै बर्मासम्म पुगेर उनले नेपाली लोकसंस्कृतिको अध्ययन र सङ्कलन गरेका थिए । उनी जहाँ जहाँ पुग्थे, त्यहाँका लोकभाका सिक्ने अनि गाउने गर्थे । यसबाट उनमा लोकजीवन क्षेत्रको विशेषज्ञता प्राप्त भएको थियो । 

मौलिक लेखनमा उनी गीतकार र कविका रूपमा चिनिन्छन् भने लोकभाका, लोकध्वनि र लोकसाहित्य सङ्कलन र सम्पादन उनको विशेषज्ञताको अर्को क्षेत्र हो । उनका मौलिक रचनामा रत्न जुनेली, बनचरो, पहाडी सङ्गीत, कालीको लहर, विलौना, कोसेली, तिलोत्तमाको भेल, बत्तीमुनि अँधेरो, रानी पोखरी, पृथ्वीको दिव्य अर्ती, निर्वाचन लहर, मेरो नेपाल भ्रमण, श्री ५ महेन्द्रको सवाई, भेटघाट (अभिनन्दनको सँगालो), गोल सिमल, गण्डकीका सुसेली, दिव्य चौतारी, मङ्गली कुसुम, हाम्रो लोकगीत, नेपाली लोकसाहित्यको विवेचना, हिमालको आँसु (शोक काव्य), मिर्मिरेको रन्को, सगरमाथाको सेरोफेरो, लोक साहित्यको घेरामा लमजुङ, मुक्तिनाथ दर्शन, चितौन दर्पण, तनहुँ फूलबारी, नीलकण्ठयात्रा (गोसाइँकुण्ड), मेरो नेपाल भ्रमणलगायत थुप्रै कृति प्रकाशित छन् । 

मङ्गली कुसुम ग्रन्थका लागि उनले पद्य विधामा मदन पुरस्कार प्राप्त गरे भने श्रव्य–पाठ्य विभिन्न माध्यमबाट आधा शताब्दीभन्दा लामो अवधि नेपाली लोकसाहित्य र वाङ्मयको उत्थानमा विशिष्ट योगदान गरेबापत २०५७ मा जगदम्बाश्री पुरस्कार पाए । यसै गरी २०२५ को इन्द्रराज्य लक्ष्मी पुरस्कार, २०१३ र २०३१ मा शुभ राज्याभिषेक पदक, २०४१ मा लोकसाहित्य पुरस्कार, रत्नश्री स्वर्ण पदकलगायतका थुप्रै सम्मान पाएका छन् । प्रस्तुत छ, उनकी जेठी सुपुत्री ज्ञानु राणाका नजरमा जनकवि केशरी धर्मराज थापा कस्ता थिए भन्नेबारे रातोपाटीका लागि शिखर मोहनको प्रस्तुतिः

बुवाको स्वभाव

बुवा असाध्यै सरल र हँसिलो स्वभावको हुनुहुन्थ्यो । रिसाउन नै नजान्ने, कसैको चित्त नदुखाउने खालको मान्छे हुनुहुन्थ्यो । हामीलाई पनि कहिल्यै ठूलो स्वरले गाली गर्नु भएन । बाल्यकाल मैले उहाँसँगै विताएँ तर कहिल्यै पनि नराम्रो गरेको अनुभव भएन । सबैलाई सम्झाएर बोल्ने गर्नुहुन्थ्यो । हामी पाँच जना छोराछोरीमध्ये म जेठी हुँ । भाइहरू मदन, कुञ्ज, डा. बुलन्द थापा हुन् भने पालुङ भट्ट बहिनी हो । उनी अमेरिका बस्छिन् । हामी सबै उहाँको न्यानो माया पाएर हुर्किएका हौँ ।

गाउँले खाना रुचाउने

उहाँ खानपान एकदमै सामान्य खालको मनपराउनु हुन्थ्यो । सेलरोटी, खट्टे, मकै, भट्मास, गुन्द्रुक, मस्यौरा, पिँडालु जस्ता एकदमै गाउँले खाना रुचाउनु हुन्थ्यो । कास्कीको बाटुलेचौर गाउँमै हुर्किनु भएको हुनाले त्यस्ता खाना मनपराउनु हुन्थ्यो । 

पाँच वर्षको उमेरमा उहाँले आमा गुमाउनु पर्यो । एउटा टुहुरो बालकका रूपमा हुर्किनु भयो । मलाई यो चाहियो, त्यो चाहियो भनेर कहिल्यै भन्न पाउनु भएन । त्यही भएर जे अगाडि छ, त्यही खान मनपराउनु हुन्थ्यो । आँटो, कोदोको रोटी पनि खाइहाल्ने स्वभाव थियो उहाँको । गाउँले खाना गुन्द्रुक, मस्यौरा, जस्ता खाना धेरै रुचाउनुहुन्थ्यो । सेल रोटी र बोडीको अचार मलाई एकदमै मनपर्छ भन्नुहुन्थ्यो । 

कहिलेकाहीँ आफैँ पनि खाना पकाउनु हुन्थ्यो । आमाबुवा दुवैजना मिलेर प्रायः खाना पकाउनु हुन्थ्यो । पछि भाइहरू ठूला भएपछि छुट्टै बसे । अनि उहाँले छुट्टै पनि पकाएर खानुभयो । धनियाँको अचार पिसेर अति मीठो बनाउनु हुन्थ्यो । 

अध्ययन नै सोख 

बुवा घरमा सधैँ लेखेर बस्ने गर्नुहुन्थ्यो । अध्ययन गर्न उहाँका लागि छुट्टै टेबलकुर्सी थिए । कागज केहीँ भेटियो भने त्यसमा लेख्न, कविता कोर्न सुरु गरिहाल्नु हुन्थ्यो । उहाँको धेरै कृति प्रकाशित छन् । माङ्गलिक कुसुमले जगदम्बाश्री पुरस्कार पायो । मेरो नेपाल भ्रमण पुस्तक नेपाली स्नातकोत्तर तहमा अध्ययन हुन्छ । त्यसमा नेपाली लोकगीतका बारेमा लेख्नुभएको छ । ठूलो ठेलीमा छ, त्यो किताब । 

हरियो डाँडामाथि हलो जोत्ने साथी..., धुरु धुरु नरोऊ आमा, तिम्रो आँशु पुछेर छाडौँला..., नेपालीले माया मार्यो बरी लै...., जन्मेको देशलाई जन्मेको भेषलाई...., घर सम्झ्यो होला, डाँडा काटी गएको नेपालीले... यस्ता करिब दुई सयवटा गीत उहाँले रेकर्ड गराउनु भएको छ । 

उहाँमा तीन किसिमको प्रतिभा थियो, जोसुकैमा त्यो प्रतिभा हुँदैन । गीत आफैँ लेख्नुहुन्थ्यो, आफैँ सङ्गीत भर्नुहुन्थ्यो र आफैँ स्वर दिनुहुन्थ्यो । आफैँ गाउन, सङ्गीत भर्न, स्वर निकाल्न ठूलो प्रतिभा भएको मानिसले मात्र सक्छ । धेरैले अर्काको गीत, अर्काको सङ्गीतमा गाउने गर्छन् । 

बुवाकै प्रभावले गायिका 

जन्म दिने बुवाको प्रभाव ममा धेरै छ । भगवान्जस्ता बुवा र आमा (सावित्री थापा)को ठूलो आशीर्वाद पाएकाले गायिका भएकी हुँ । बुवाले सानैदेखि डोर्याएर मलाई गीत गाउन लैजानु हुन्थ्यो । 

बुवा लोकगीत प्रबन्धक भएर रेडियो नेपालमा जागिर खाँदा मलाई रेडियो नेपालमा गीत गाउन लैजानुभयो । उहाँले जाने कहाँ हो राजै बाटो देखाइदेऊ, फर्केर आउला कि दिन बरिलै.. भन्ने मेरो पहिलो गीत पनि त्यहीँ रेकर्ड गराइदिनुभएको थियो । उहाँकै सङ्कलनमा मैले पनि करिब दुई सयवटा जति गीत गाएकी छु । 

विसं २०२५ सालमा रेडियो नेपालमा पहिलो पटक गीत गाउँदा म १५÷१६ वर्षकी थिएँ । त्यो बेलामा रेडियो नेपालमा ट्र्याकमा गाउने चलन थिएन, लाइभ रेकर्ड हुन्थ्यो । वरिपरि म्युजिसियन राखेर गायकले गाउनुपर्ने हुन्थ्यो । लाइभ रेकर्डिङ गर्दाखेरि एकातर्फ नातिकाजी, शिवशङ्कर, तारादेवी, हरिप्रसाद रिमाल, जनार्दन समलगायत नेपालका ठूल्ठूला सङ्गीतकारहरूले मैले गाएको हेर्नुभएको थियो । मेरो गीत सुनेर उहाँहरू धेरै प्रभावित हुनुभएको थियो । उहाँहरूको पनि आशीर्वाद मैले पाएँ । उहाँहरूले छोरीले पनि कति राम्रो गीत गाउँदिरहिछिन् भनेर बुवालाई प्रशंसा गरेको आजै जस्तो लाग्छ । 

जाने कहाँ हो राजै गीत गाएपछि मैले २० रुपियाँ पारिश्रमिक पाएकी थिएँ । त्यो बेलाको २० रुपियाँको ठूलो महत्त्व थियो । त्यो २० रुपियाँ त मलाई २० करोड जस्तो भएको थियो । त्यतिबेला पैसाको महत्त्व ज्यादै थियो । धेरै दिनसम्म त्यो पैसा खर्च नगरीकन एउटा बट्टामा जतनले राखेकी थिएँ । 

रेडियो नेपालमा बुवाले लोकगीतको कार्यक्रम सञ्चालन गर्नुपथ्र्यो । उहाँका हरेक कार्यक्रममा गएर म लाइभ रेकर्डिङ गर्थें, लोकगीत गाउँथेँ । 

हामी नेपाली हौँ, हामीमा नेपाली माटोको सुगन्ध आउने हुनुपर्छ । लोकगीत, लोकसंस्कृतिमा हाम्रा छहरा, पहरा, डाँडाकाँडा, हिमाल र वनजङ्गलका गीत गाउनुपर्छ भन्नुहुन्थ्यो । हामीले नेपाललाई चिनाउनुपर्छ, हाम्रो लोकगीतलाई विर्सनु हुन्न भन्नुहुन्थ्यो । जहिले पनि नेपाली लोकगीत सिकाएर मलाई गाउन लगाउनु भयो । 

विवाह गरेपछि मात्र म राणा भएकी हुँ । मेरो शरीरभरि जनकवि केशरी धर्मराज थापाकै सङ्गीतको खुन छ । मैले धेरैजसो उहाँकै गीत मात्र गाएँ । त्यसले गर्दा मलाई धेरै सजिलो भयो, कसैसँग गीत माग्न जानु नपर्ने भयो । आफ्नै घरमा लोकगीतका धरोहर, खम्बा  अर्थात् भण्डार नै हुनुहुन्थ्यो । 

पूर्वेली गीत, कोसी अञ्चलका गीत, पश्चिमेली गीत, गण्डकी अञ्चलका गीतलगायत सबै क्षेत्रका लोकगीत मैले गाएँ, ती सबै बुवाले तयार गरिदिनुहुन्थ्यो । तीन तले घरको जोर बाहाँ, जिउ त यहाँ मन कहाँ..., ऐया बरी लै लै हुर्रा हा हा... जस्ता पूर्वेली गीत पनि मैले गाएँ । पश्चिमेली गीत पनि त्यति नै गाएँ । नारायण गोपाल दाइसँग गीत गाएँ, आज ५०, ६० वर्ष भइसक्यो, अझसम्म पनि ती गीत रेडियो नेपालबाट बज्छन् । 

लोकगीत, लोकसंस्कृति अध्ययन अनुसन्धानका लागि बुवा नपुगेको जिल्ला थिएन । भारतका भाक्सु, सिलाङ, गौहाटीमा गएर घर सम्झी रोएको होला, डाँडा काटी गएको नेपाली...,  नेपालीले माया मार्यो बरी लै..., जन्मेको देशलाई नेपाली भेषलाई... जस्ता गीत गाउँदा खेरी बूढाबूढी, तरुना तन्देरी नेपालीहरू रोएका थिए । त्यसरी गाउँदा कति कति अभिनन्दनहरू लिएर घर आउनुभयो त्यहाँबाट । 

साहित्यकारहरूसँग बाक्लो जमघट

घरमा ठूल्ठूला साहित्यकारहरूको जमघट भइरहन्थ्यो । बुवा पनि उहाँहरूकहाँ जाने आउने गर्नुहुन्थ्यो । लक्ष्मीप्रसाद देवकोटा घरमै आउनुहुन्थ्यो । उहाँले मलाई बुलबुल सान भनेर एउटा पदवी नै दिनुभएको थियो । भीमनिधि तिवारीसँग पनि सङ्गत थियो बुवाको । लेखनाथ पौडेलको घरमै लानुहुन्थ्यो । जनार्दन सम, बालकृष्ण सम, पोषण पाण्डेकहाँ पनि मलाई लिएर जानुभएको याद मलाई ताजै छ । उहाँहरू सबैको आशीर्वाद मैले पाएकी छु ।

बालकृष्ण समले कति राम्रो गीत गाउनु हुँदोरहेछ थापाजी भन्नुभएको अहिले पनि झलझली याद आउँछ । लेखनाथ पौडेलले पनि बाजस्तै तिमी पनि चम्किनु भनेर आशीर्वाद दिनुभएको म झलझली सम्झन्छु । बुवाका कारण मैले समेत सबै साहित्यकारहरूको दर्शन पाएँ । 

लक्ष्मीप्रसाद देवकोटा त हाम्रो घरमा आएर बुवासँग अँगालो हालेर फोटो खिचेर हृदयमा हृदयसँगले मिली, कुसुमतुल्य दुवै रहुँला फुली, अमरताकन प्राप्त गरीकन, रस भरूँ अरूको पनि जीवन... भन्ने कविता लेखेर जानुभयो । 

तीमध्ये पनि देवकोटा र लेखनाथ पौड्यालसँग बढी आउजाउ थियो । देवकोटालाई क्यान्सर भएर पशुपति क्षेत्रमा बस्नुहुँदा बुवा भेट गर्न जाँदा मलाई पनि सँगै लानुभएको थियो । आमा, बुवा र म अन्तिम अवस्थामा त्यहाँ पुगेका थियौँ । बुवाको हात समाएर केही लेख्न मन लाग्यो, एउटा कागज दिनुस् न भनेको मैले सुनेँ । अरू पनि केके बोलिरहनुभएको थियो । त्यसको भोलिपल्ट नै उहाँले देहत्याग गर्नुभयो । त्यस्तो व्यक्तित्वको बारेमा मैले पनि नजिकबाट हेर्न र देख्न पाएँ । 

मेरी छोरीले गाउँछिन् भनेर सबैजनाको आशीर्वाद दिलाउन पनि होला सँगसँगै लैजानुभएको । उहाँहरूको आशीर्वाद पाउनु नै मेरो ठूलो कुरा हो । धनसम्पत्तिभन्दा त आशीर्वाद ठूलो हो नि त । उहाँहरूको आत्माबाट जुन किसिमको आशीर्वाद पाएँ, आज त्यसैको फलिफाप साङ्गीतिक क्षेत्रमा पाएकी छु । यो मेरो बुवाआमाको आशीर्वाद हो । 

साहित्यकारहरूको अवस्था नाजुक

देशमा कलाकार, साहित्यकारहरू अन्तिम समयमा अत्यन्त नाजुक अवस्था भएर वितेका छन् । सरकारले सहयोग गर्ने भनेको नेता या मन्त्रीको नजिकको मान्छेलाई मात्र हो । यीबाहेकका सामान्य मानिसले केही सहयोग पाउँदैनौँ ।

मेरो बुवा त कसरी हुन्छ नेपाली लोकगीत र लोकसंस्कृतिलाई जगेर्ना र समृद्ध पार्ने सोचाइमा लागेरै आफ्नो जीवनको ८५–८६ वर्ष विताउनु भएको मान्छे । भारतमै भए पनि गएर उपचार गराउने उहाँको ठूलो इच्छा थियो । ठीक हुन्छु भन्ने बुवाको आशा थियो तर सकिएन । सरकारले सहयोग नै गरेन । दुई वर्ष थलिएर उहाँ वित्नुभयो । 

जनकवि केशरी प्रतिष्ठान स्थापना

जनकवि केशरी धर्मराज–सावित्री प्रतिष्ठान स्थापना गरेका छौँ । यस संस्थामार्फत् बुवाको जन्मदिन पारेर हरेक वर्ष पुरस्कार वितरण गर्ने गरेका छौँ । त्यसबाट लोकसाहित्य र लोकसङ्गीतमा विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई पुरस्कृत गर्ने गरेका छौँ । मदन थापा यसका अध्यक्ष छन् । विशेष कारण उनी अमेरिका जानु परेकाले यो वर्ष बुवाको जन्मदिन साउन १ गते वितरण गर्न सकेनौँ । आमा सावित्री थापाको जन्म पुस ३ मा पर्छ, सोही दिन वितरण गर्ने तयारी छ । 

लोकसाहित्य र लोकसङ्गीत गरी दुईवटा विधामा पुरस्कार स्थापना गरेका छौँ, यसको राशि चाहिँ ५० हजार र २५ हजार छ । पुरस्कार वितरण गर्न थालेको करिब १४ वर्ष भइसक्यो । सत्यमोहन जोशी, शम्भुजित बाँस्कोटा, कुमार बस्नेत, नारायणी कला मन्दिरलगायत धेरै जनालाई प्रदान गरिसक्यौँ । 

जीवनका प्रत्येक क्षण पूरा उपयोग

हरियो डाँडा माथि हलो जोत्ने साथी... गीत अहिले पनि धेरैले रिमिक्स गरेर निकालेका छन्, त्यो धेरै नै प्रख्यात पनि भयो । पूरै जीवन लोकसाहित्य र लोकसंस्कृतिमा नै लाग्नु भएकाले बुवा फाल्तु काममा यताउती लाग्नु भएन । लेखन शैली र कसरी हुन्छ नयाँ गीत निकाल्ने, नयाँ नेपाली सङ्गीतलाई कसरी अगाडि ल्याउने भन्ने सोचाइले गायन यात्रामा नै लाग्नु भयो । 

आफ्नो जीवनको एक मिनेट पनि खेर फाल्नु भएन । खानेकुरामा पनि केही लत र अरू अम्मल केही थिएन । त्यस्तो सज्जन र होनहार बुवा मैले पाएँ । सामान्य परिवारभित्र एउटा विचार, एउटा वातावरण, संस्कारयुक्त बाबुआमा पाउनु मेरो भाग्य हो । बुवाआमा र भगवान्लाई म एउटै दर्जामा राखेर सम्मान गर्छु । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।