सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

युरोप पठाउँछु भन्दै भिजिट भिसामा दुबई बोलाएर अलपत्र

सोमबार, १६ साउन २०७९, ०६ : ५६
सोमबार, १६ साउन २०७९

दाङ घोराहीका ३७ वर्षीय प्रेमबहादुर बोहरा एक वर्षदेखि दुबईमा छन् । युरोप पठाइदिने भनेर एक जना दलालले उनलाई भिजिट भिसामा दुबई बोलाएका थिए । त्यसका लागि उनले दलाललाई ११ लाख रुपैयाँ दिएका थिए ।

युरोप जान पाउने आशमा उनले ऋण निकालेर उक्त पैसा दलाललाई तिरेका थिए । उनले आफ्नो मात्र नभएर एक अर्को व्यक्तिको समेत ११ लाख रुपैयाँ तिरिदिएका थिए । दुवै जनाको गरेर उनले २२ लाख रुपैयाँ दलाललाई दिएका थिए ।

दुबई पुगेपछि उनी युरोप जान पाउनु त कता हो कता, उल्टै तिनै दलालबाट भाग्दै हिँड्नु परिरहेको छ । आफूलाई युरोप पठाइदेऊ, हैन भने लागेको पैसा फिर्ता देऊ भन्दा उनलाई ती दलालले मार्ने धम्की दिँदै हिँडेका छन् । एक वर्षदेखि उनी भूमिगत अवस्थामा बसिरहेका छन् ।

‘नेपाल पठाइदेऊ भन्दा गाली मात्र गर्छ, केटाहरू पठाएर काट्छु, मार्छु, गायब पारिदिन्छु भन्दै धम्क्याउँछ,’ दुबईमा रहेका प्रेम बहादुरले रातोपाटीसँग भने, ‘अस्ती एउटाले फोन गरेको थियो । म बस्ने अपार्टमेन्ट तल आएर फोन गरेको रहेछ । एकछिन तल आइज, तँलाई देखाउँछु भन्यो । त्यसपछि मैले फोन काटेर ब्लक गरिदिएँ ।’  

एक वर्षदेखि उनी दुबईमा साथीभाइसँग दुई चार पैसा मागेर आफ्नो पेट पालिरहेका छन् । केही समय अगाडिसम्म एउटै फ्ल्याटमा १० जनाको समूहमा बस्दै आएका उनी दलालको बारेमा फेसबुकमा लेखेका कारण दिनदिनै धम्की आउन थालेपछि अहिले अर्कै ठाउँमा बसिरहेका छन् । लामो समयदेखि दुबईमै बस्दै आएका गोरखाका सुवास मालबुलले यसरी नै नेपालीहरूलाई भिजिट भिसामा बोलाएर युरोप पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ उठाउँदै आएका हुन् ।

युरोप पठाइदिने भनेर लामो समयदेखि उनले दुबई ल्याएर राखेका नेपालीहरू अलपत्र अवस्थामा छन् । कञ्चनपुरका नरेन्द्र धामीलाई युरोप पठाईदिन्छु भनेर तीन वर्षअघि उनले दुबई बोलाएका थिए । उनले अहिलेसम्म न युरोप पठाईदिएका छन् न त आफूले लिएको पैसा फिर्ता गरेका छन् ।

प्यूठानकी लक्ष्मी (नाम परिवर्तन) लाई झन् विजोग अवस्थामा छोडेका छन् । घर परिवारलाई समेत थाहा नदिएर युरोप जाने सपना बोकेर विदेशिएकी लक्ष्मीको सपना सुवासले दुबईमा पानी बनाइदिए । उनले पैसा दिँदा घर परिवारलाई थाहै दिएकी थिइनन् । घर परिवारले अहिले दुबईमै छ भन्ने सोचेका छन् । तर, उनी कस्तो अवस्थामा छिन् भन्ने घर परिवारलाई थाहा छैन । अहिले उनी न घर फर्किन सक्ने अवस्थामा छिन्, न त युरोप जान सक्ने ।

नुवाकोट, विदुर नगरपालिका–७ का सचिन अधिकारीलाई तिनै दलालले दोहोरो समस्यामा पारेका छन् । उनी पनि युरोप जाने सपना बोकेर भिजिट भिसामै दुबई पुगे । त्यहाँ पुगेपछि दलालसँग राम्रो सम्बन्ध बन्यो । तर, त्यही सम्बन्ध अहिले उनलाई निल्नु न ओकल्नु भएको छ ।

उनको मोबाईल बैंकिङ थियो । दलालले अरूबाट उठाएको पैसा उनको बैंक एकाउण्टमा पठाउन लगाएका थिए । त्यहीँबाट उनले आफ्नो खातामा रकम निकाल्थे । सचिनलाई अहिले त्यही विषयले झन् ठूलो तनाब दिएको छ ।

‘म त दोहोरो मारमा परेको छु । एकातिर म आफै पीडित हुँ । अर्कोतिर अरू साथीहरूले मेरो एकाउण्टमा पैसा पठाएको हुनाले उनीहरूको नजरमा म दोषी देखिएको छु,’ अधिकारीले भने । आफूहरु अहिले दुबईमा कैदीजस्तै अवस्थामा रहेको उनको भनाइ छ ।

सुवासले प्रेमबहादुरसँगै सचिनसँग ३ लाख, सल्यानका ३० वर्षीय नविन बस्नेतसँग १२ लाख, गंगा घर्तीसँग ५ लाख ७० हजार, दाङका लालबहादुर घर्ती मगरसँग ५ लाख, दाङकै समतोली चौधरीसँग ४ लाख ३० हजार रुपैयाँ लिएका थिए । दुबई पुगेपछि उनीहरूसँग दलालले घरायसी प्रयोजनका लागि ऋण लिएको भन्दै कागज गरेका छन् ।

यसरी युरोप पठाइदिने भन्दै सुवासले प्रतिव्यक्ति ८ देखि १२ लाख रूपैयाँसम्म लिएका थिए । उनले सबैलाई सचिन अधिकारीको खातामा पैसा हाल्न लगाएका थिए । यो विषयमा आफ्नो संलग्नता नरहेको देखाउने उनले यसरी चलाखी गरेको सचिनको भनाइ छ ।

लामो समयदेखि अलपत्र अवस्थामा राखेका सुवासले अहिले विभिन्न धम्की दिन थालेको सचिन बताउँछन् ।

‘फेसबुकमा केही पोष्ट ग¥यो कि केटाहरु पठाएर तलाई मार्छु भनेर धम्की दिन्छ । २/३ पटक केटाहरु पठाइसक्यो । पासपोर्ट पनि उसैले राखेको थियो । बल्लबल्ल मैले मेरो पासपोर्ट त फिर्ता ल्याएँ, लास्टै विजोग बनाएको छ । अहिले भागीभागी हिँड्नु परेको छ,’ प्रेमबहादुरले भने ।

अहिले जेलमा भन्दा कठिन अवस्था भएको उनले बताए । ‘जेलमा त कमसे कम सुरक्षा हुन्छ । यहाँ त हामीलाई जति बेला जे पनि गर्न सक्छन् । चार महिनादेखि भित्रभित्रै बसिरहेका छौँ,’ उनले भने ।

सुवासले अलपत्र पारेका १० जना नेपाली दुई वटा बिल्डिङमा बस्दै आएका छन् । यो बीचमा कोहीले घरबाट ४/५ लाख रुपैयाँ मगाएर ओभरस्टेको पैसा तिरेर नयाँ आईडी पनि बनाए । तर, सबैले त्यसरी घरबाट पैसा मगाएर भिसाको म्याद थप्न सक्ने अवस्था पनि छैन ।

सुरुमा आज हुन्छ, भोलि हुन्छ भनेर टार्दै गएको तर पछि भिसा नै ओरभस्टे बनाइदिएको प्रेमबहादुर बताउँछन् । उनले यहाँको भिसा लगाइदिनु, यहीँ काम गरेर बस्छुसमेत भनेका थिए तर, सुवासले उल्टै थर्काएको उनको भनाइ छ ।

सचिनको अवस्था भने ‘ओभरस्टे’सँगै दुबईमा बस्नै नमिल्ने छ । ‘मेरोचाहिँ ओभरस्टेसँगै दुबई नै छाड्नुपर्ने गराइदिएको छ । अरुको त पैसा भयो भने भिसा लगाउन मिल्छ तर, मेरो भिसा पनि लगाउन नमिल्ने, दुबई छोडेरै जानुपर्ने बनाइदिएको छ,’ सचिनले भने, ‘अहिले एकदमै ठूलो समस्यामा पारिदिएको छ ।’

पैसा ठगेर फरार भएका भनिएका सुवास मालबुलले सबैको पैसा तिरिदिने बताएका छन् । दुबईबाटै रातोपाटीको सम्पर्कमा आएका सुवासले दुबईमा आफ्नो ३४० हजार दिनार फसेको भन्दै सबैको पैसा बिस्तारै तिरिदिने बताएका हुन् ।

‘मेरो फसेको पैसा उठ्दैछ । यदि उनीहरूको काम भएन भने पैसा फिर्ता गरिदिन्छु । अहिले म आफै समस्यामा परेको छु । केही समयभित्र सबैको पैसा चुक्ता गरिदिन्छु,’ सुवासले भने ।  

उनले आफूले कसैलाई पनि नबोलाएको दाबी गरे । धेरै नेपाली दुबई हुँदै युएस गइरहेको भन्दै उनले त्यही आधारमा आफूले पनि पठाउने बताए । अलपत्र परेका भनिएकाहरू लामो समय आफ्नै फ्ल्याटमा बस्ने खाने गरेको उनको दाबी छ ।

‘कोरोनाको बेला खाने बस्ने सबै मैले नै गरेको थिएँ,’ उनले भने, ‘मेरै फ्ल्याटमा बसेका हुन् । अहिले म आफै समस्यामा परेको बेला झन् समस्यामा पार्न खोजिरहेका छन्,’ सुवासले भने ।

दूतावासमा सम्पर्क गरेर नेपाल फर्किन सकिन्छ : विभाग

भिजिट भिसामा जाँदा जति समयका लागि गएका हुन्, त्यसपछि नेपाल फर्किनुपर्छ । तर, त्यसरी भिजिट भिसामा गएकाहरू समस्या परेको खण्डमा आफूहरूले उद्धार गर्न नसक्ने वैदेशिक रोजगार विभागले प्रस्ट पारेको छ । विभागका महानिर्देशक शेषनारायण पौडेलले भिजिट भिसामा ठगीमा परेको खण्डमा कारवाही गर्न विभागले नसक्ने बताए ।

‘भिजिट भिसामा नजानुहोस् भनेर सरकारले पटक पटक भनिरहेको छ । त्यो आग्रह अटेर गरेर जानुहुन्छ भने त हामीले के नै गर्न सक्छौं ? जसरी जानुभएको थियो, त्यसरी नै फर्किनुपर्छ,’ महानिर्देशक पौडेलले भने ।

समस्यामा परेको खण्डमा दुबईमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्न उनले अनुरोध गरे । ‘उद्धारका लागि नेपाली दूतावासमा सम्पर्क ग¥यो भने दूतावासको सहजीकरणमा नेपाल फर्किन सक्नुहुन्छ,’ उनले भने ।

ठगी सम्बन्धमा प्रमाणसहित प्रहरीमा उजुरी दिनसमेत उनले अनुरोध गरे । ‘हामीकहाँ उजुरी दियो भने पनि हामीले प्रहरीकहाँ पठाउने हो । त्योभन्दा सिधै प्रहरीकहाँ जानु राम्रो हुन्छ । प्रहरीले ठगी प्रकरणमा कारवाही गर्छ,’ पौडेलले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप