शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘जसपा र लोसपाबीच एकता सम्भव छ, तर पहिला समीक्षा हुनुपर्छ’

बिहीबार, २६ साउन २०७९, १७ : २५
बिहीबार, २६ साउन २०७९

जसपाले लोसपालाई गठबन्धन र एकता लागि अफर गरेको छ ।  तर लोसपाले हालसम्म कुनै रेसपोन्स गरेको छैन । लोसपाका नेताहरू भन्छन्, ‘जसपाबाट हालसम्म एकताका लागि कुनै औपचारिक प्रस्ताव आएको छैन । मिडियामा आएको कुरालाई आधार मान्न सकिँदैन ।’

चुनावको मिति घोषणा भइसकेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले पनि गठबन्धनका लागि विभिन्न दलसँग कुराकानी सुरु गरेका छन् । एमाले र पाँच दलीय गठबन्धनको साथै सीके राउतको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसँग पनि उनले वार्ता थालेका छन् । तर अहिलेसम्म ठोस निर्णय भएको छैन । यिनै विषयवस्तुमा केन्द्रीत रही लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग गरिएको कुराकानीको सम्पादित अंश:

केही पहिले लोसपा र जसपाबीच एकता वा गठबन्धन हुने खुब चर्चा चलेको थियो । अहिले किन सेलायो ?

–राजनीतिमा यस खालको कुरा बेलाबेलामा चर्चा हुने, फेरि हेराउने गर्छ । यो कुनै नौलो कुरा होइन । तर मुख्य कुरा कसले कुन कुरा किन राख्यो, त्यो महत्वपूर्ण कुरा हो । जसपाले लोसपासँग एकता गर्न चाहन्छ भन्ने कुरा सञ्चारमाध्यममा मात्र आएको थियो ।

त्यसो भए अहिलेसम्म औपचारिक वार्ता किन अगाडि बढेन ?

–किन बढिरहेको छैन, त्यो दुवै दलले बुझ्नुपर्ने कुरा हो । लोसपा एकता वा गठबन्धनका लागि तयार छ । लोसपाले आफू लोकतान्त्रिक गठबन्धनको पक्षमा छ भन्ने कुरा भन्दै आएको छ । यति भनिसकेपछि त कुरा अगाडि बढ्नुपर्ने होइन र ? 

 

तर किन अगाडि बढेको छैन त ?

 

–विगतमा मोर्चा बन्यो भत्कियो, गठबन्धन बन्यो भत्कियो । एकता भयो, फेरि भत्कियो । बारम्बार यस्तो किन हुन्छ त ? यसको समीक्षा हुनुपर्छ कि पर्दैन ? जब आफ्नो आवश्यकता हुन्छ, गठबन्धन गर्ने, एकीकरण गर्ने, तर जब आफ्नो आवश्यकता पुरा हुन्छ, अनि त्यसलाई भत्काउने ? 

यो राजनीतिक संस्कार होइन । विगतमा हामी किन एक भएका थियौँ, फेरि किन अलग भयौँ ? त्यसको समीक्षा हुनुपर्छ । अनि फेरि नयाँ ढंगबाट अगाडि बढ्न सजिलो हुन्छ । समीक्षा नै नगरीकन फेरि एक साथ हिँड्यौँ भने यात्रामा एक अर्कालाई शंकाको दृष्टिले हेर्ने काम हुन्छ ।

त्यसो भए लोसपा र जसपाको एकता वा गठबन्धनको सम्भावनै छैन त ?

–छ, किन छैन ? राजनीति नै यस्तो चिज हो, जहाँ हरेक कुराको सम्भावना हुन्छ । जसपासँग लोसपाको एकता वा गठबन्धन हुनुपर्छ भन्ने पक्षमा म मात्र होइन, सारा मधेस नै रहेको छ । मधेसका जनताको चाहना नै यी दुवै दल मिल्नुपर्छ भन्ने छ । मधेसी जनताले पटक पटक यो मौका दिएकै हो । तर मधेसी जनतालाई त हामीबाटै धोका भएको हो नि, होइन र ?

अब जनतालाई धोका दिने गरी होइन, ठोस रुपमै अगाडि बढ्नुपर्ने चाहना हाम्रो छ । लोसपा कहिले पनि एकता र गठबन्धनको विरोधी होइन । एकता र गठबन्धनका लागि जहिले लचक छ । तर त्यसका लागि एउटा केही मापदण्ड त हुनुपर्छ नि ।

एकताका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवले पटक पटक प्रस्ताव गरेकै हुन् । तपाईंहरुबाटै रेस्पोन्स नभएको आरोप छ त ?

–उहाँले कहाँ प्रस्ताव गर्नुभएको छ, त्यो मलाई थाहा छैन । लोसपामा हालसम्म एकता वा गठबन्धनका लागि कुनै प्रस्ताव आएको छैन । अनौपचारिक रूपमा अरु अरु बाटो भएर आउने गरेको होला, अनि त्यसलाई कसरी रेस्पोन्स गर्ने त ? एकता वा गठबन्धनकै कुरा छ भने बसौं छलफल गरौं, विगतका समीक्षा गरौं । आआफ्नो कुरा राखौं, जहाँ जहाँ मतभेद छ, त्यसलाई स्पष्ट पार्दै अगाडि बढौँ भन्ने हाम्रो चाहना हो । 

तपाईंहरु जसपासँग गठबन्धन गर्न नचाहने तर काँग्रेससँग गठबन्धन गर्ने तयारीमा लाग्नुभएको छ, किन ?

–होइन, अहिले काँग्रेससँग पनि गठबन्धन भएको छैन । काँग्रेसले गठबन्धनमा आउनका लागि प्रस्ताव गरेको छ । कुराकानी भइरहेको छ तर सहमति भएको छैन । 

लामो समयदेखि छलफल चलिरहेको छ । अहिलेसम्म किन कुनै सहमति भएको छैन ?

–हाम्रा विभिन्न माग छन् । ती माग पुरा भएपछि मात्र अन्य कुरामा सहमति हुन्छ । नागरिकताको समस्या समाधान हुनुपर्छ । आन्दोलनको क्रममा लगाइएको झुटा मुद्दा फिर्ता लिनुपर्छ । झुटा मुद्दा लगाएर माननीय रेशम चौधरीलगायत कतिपयलाई जेलमा थुनिएको छ, उनको रिहाइ हुनुपर्छ । आन्दोलनका क्रममा थुप्रै घाइते, अपाङ्ग भएका छन् । तिनको भरण पोषणको ग्यारेन्टी लिनुपर्छ । यस्ता विभिन्न माग छन्, जसमध्ये अहिलेसम्म कुनै पुरा भएका छैन ।

नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैबाट पारित भइसकेको छ, तपाईंहरुको बटमलाइन नै यही थियो होइन र ?

–हामीले कुनैलाई बटमलाइन बनाएका थिएनौँ, हाम्रा सबै माग समान हुन् । सबै माग पुरा हुनुपर्छ भनेका छौँ । यो धेरै प्राथमिकतामा, त्यो कम प्राथमिकतामा रहेको कहीँ भनेका छैनौँ । हो, कुनैमा अलि बढी जोड हुन्छ, कुनैमा कुनै कम हुन्छ, त्यो बेग्लै कुरा हो । तर, हाम्रो बटमलाइन छैन । 

नागरिकता विधेयक दुवै सदनबाट पारित भए पनि राष्ट्रपति कार्यालयमा गएर थन्केको छ । त्यहाँबाट लालमोहर नलागेसम्म हुँदैन । अनि हामीले त्यसलाई पारित भएको कसरी मान्ने ? नागरिकताको ऐनमा व्यवस्था भएर त्यहीअनुसार जनताले नागरिकता पाउन थालेपछि मात्र हामी ढुक्क हुने अवस्था हुन्छ । नागरिकता जनताको लागि जीवन मरणको सवाल भएको छ । नागरिकता नदिनुको मतलब यो देशले हामीलाई पहिचान दिन चाहँदैन, देशको नागरिक मान्दैन । हामी पनि यही देशका नागरिक हौँ भनी बुझाउनका लागि हाम्रो यत्रो सङ्घर्ष भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप