बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

ओखलढुंगामा भूकम्प प्रभावितको कन्तबिजोकः पहिलो किस्ताको रकमसमेत नपाएको गुनासो

शनिबार, ०१ पुस २०७४, १८ : ५०
शनिबार, ०१ पुस २०७४

रामहरि श्रेष्ठ 

ओखलढुंगा– २०७२ सालको भूकम्पपछि सरकारले दिने अनुदान रकमका लागि सबै प्रकृया पुरा गरेको भएपनि ओखलढुंगाका लाभग्राहीले भने पहिलो किस्ता बापतको रकम समेत पाउन सकेका छैनन् । 

प्राबिधिकले अनुगमन गर्दा अनुदान पाउने लाभग्राहीको सूचिमा घर परेको भएपनि अहिलेसम्म पहिलो किस्ताको ५० हजारसमेत पाउन नसक्दा पीडितहरु अन्यौलमा परेका छन् । 

अनुदानका लागि घरको चेकजाँचपछि सबै कानुनी प्रकृया पुरा गरेको काजपत्र राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिमा पठाएको भएपनि उनीहरुको विवरण अपडेटमा फरक परेकाले समस्या भएको प्राधिकरणको भनाई छ । ओखलढुंगामा पहिलो किस्ताका लागि सम्झौता भएको तर किस्ता नै नपाएका लाभग्राहीको संख्या ७० भन्दा बढि छ ।

सबै भन्दा धेरै मानेभञ्ज्याङ गाउपालिकाको माधवपुर र थाक्लेका छन् । उनीहरुले अनुदान सम्झौता भएको लामो समय बितिसक्दा पनि पहिलो किस्ता नै पाउन सकेका छैनन् । 

त्यस्तै, मानेभञ्ज्याङ ६ थाक्लेका लाभग्राहीले भने तेस्रो किस्तकाको रकम झिक्न बैंकमा पुग्दा पहिलो किस्ता नै नलगेको रेकर्डमा उल्लेख छ । 
जिल्लाका अन्य लाभग्राहीहरुले घर निमार्ण गरी तेस्रो किस्ता समेत लिइसकेको अवस्थामा पहिलो किस्ता नै नपाएका लाभग्राहीहरुको दैनिकी गाउँपालिकाका प्रमुख तथा उपप्रमुख गुहार्दै बितिरहेको छ ।

यसरी लाभग्राहीको सूचीमा नाम परेका तर पहिलो किस्ताको रकम नै नपाएका लाभग्राही जिल्लामा ठुलो मात्रामा रहेको भन्दै उनीहरु दैनिक रुपमा आउने गरेको सुनकोशी गाउपालिकाका अध्यक्ष तथा प्रमुख रुद्रप्रसाद अधिकारीले बताए ।

गाउँपालिकाको प्रत्येक वडामा  प्राबिधिकहरु इन्जिनियरहरु खटिरहेका छन् । तर पहिलो किस्ताका लागि लाभग्राहीहरु बैंकमा पुग्दा समेत कागजपत्र नआएको भन्दै फर्काउने गरेका गुनासाहरु आउने गरेको सुनकोशी गाउँपालिकाका उपप्रमुख सबिता राईले बताए ।

अनुदान पाउने आभग्राहीको सुचिमा नाम परेका तर पहिलो किस्तासमेत नपाएकाहरुको नामावली एमआइएस डाटामा नदेखाएको तथा सिरिएल नम्वर समेत फरक परेकाले भुक्तानी दिन समस्या भएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिले बताउने गरेको छ ।

गाउँगाउँमा खटिएका प्राबिधिकहरु गाउमा नबस्ने जनप्रतिनिधिको गुनासो रहेको भएपनि अनुगमनमा जाँदा उनिहरु गाउमै भेटिने गरेको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका इन्जिनियर आशिष श्रेष्ठले बताए । साथै महिनाको अन्त्यमा आउने प्राबिधिक इन्जिनियरहरुको हाजिरीमासमेत पूरा हाजिरी भएर आउने गरेको श्रेष्ठको भनाई छ ।

इन्जिनियरहरु गाउमा भए नभएको वडा प्रमुख तथा गाउँपालिका प्रमुखले हाजिरी रुजु गरेर पठाउने नियम छ । तर ओखलढुंगामा भने जनप्रतिनिधिले इन्जिनियर नभेटेको र प्रधिकरणमा भने सबैको हाजिरी रुजु भएर अउने गरेको पाइएको छ ।

ओखलढुंगामा भूकम्पपछिको सर्बेक्षणका क्रममा जम्मा लाभग्राहीको संख्या २० हजार १ सय ६५ रहेको भएपनि अहिले सम्ममा ५ सय ३० जनाले मात्रै दोस्रो किस्ता बापतको १ लाख ५० हजार पाएका छन् । १ सय १३ जनाले तेस्रो किस्ता बापतको रकम लिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप