घोषणापत्र

नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र : पुष्पलालले २००६ सालकै घोषणापत्रमा लेखेका थिए ‘बुढ्याइँमा भत्ता’

person explore access_timeभदौ २०, २०७९ chat_bubble_outline0

नेपाल कम्युनिष्ट पार्टीको घोषणा–पत्र


(भाग एक )



बितेका चार दशकभित्र दुईवटा ठूला–ठूला विश्वयुद्धहरू भए । पहिलो विश्वयुद्धको नतिजास्वरूप संसारको ६ खण्डको एक खण्ड जमिन पुँजीवादी घेराबाट अलग भयो र त्यहाँ समाजवादी सोभियत संघ खडा भयो । विश्व–क्रान्तिको यो एउटा बलियो किल्ला बन्न पुग्यो । सोभियत संघमा वैज्ञानिक समाजवादका सबै सिद्धान्तहरू महान् ऐतिहासिक सत्यतामा परिणत भए । सामन्तवादी र पुँजीवादी दासत्वका विरुद्ध विद्रोह मच्चाउनका निम्ति सबै देशका शोषित तथा श्रमजीवी जनतालाई यस महान् ऐतिहासिक सत्यताले बराबर आवाज दिइरहेको छ । 



यसकारण बेलायत, फ्रान्स र अमेरिकाका पुँजीवादी शासकहरूले सोभियत संघका विरूद्ध जर्मनीमा हिटलरी फासिजम् कायम गराए । हाकाहाकी फौज र फौजी सामान तयार गरी द्वितीय विश्वयुद्धको बाटो खोलिदिए । तर द्वितीय विश्वयुद्धको आखिरीतक सोभियत संघ भताभुंग हुन त परै जाओस्, झन् पूर्वी तथा दक्षिण–पूर्वी युरोपका धेरै देशहरू पुँजीवादी–साम्राज्यवादी बन्धनहरूबाट मुक्त भए र समाजवादी समाजको साँध बढाए । द्वितीय विश्वयुद्धको नतिजास्वरूप अन्तर्राष्ट्रिय मजदुरवर्गको आन्दोलनले ठूलो फड्को मारेको छ । उपनिवेशका जातिहरू (राष्ट्रहरू) खुल्लम–खुल्ला सशस्त्र क्रान्तिको बाटोतिर लागेका छन् । विश्व पुँजीवादका अगाडि र पछाडिका दुवै भागहरू गम्भीर रूपले क्षतिग्रस्त भएका छन् । दक्षिण–पूर्वी एसियाको क्रान्तिको लहर हाम्रो प्यारो मातृभूमि नेपालमा पनि पुगिसकेको छ । नेपालमा मजदुर वर्ग, वर्षौं वर्षको सामन्ती बन्धनलाई तोडी, १९४७ मार्च महिनामा पहिलोपटक रणक्षेत्रमा उत्रे । विराटनगरका जुट तथा कटन कारखानाका मजदुरहरूले बाँच्न लायक तलब (ज्याला) र कामको राम्रो बन्दोबस्तको निम्ति कामबन्दी हडतालको अगुवाइ मजदुर संघले गरेको थियो । मजदुर संघ क. मनमोहन अधिकारीको अगुवाइमा गुप्त तवरले खडा गरिएको थियो । यद्यपि भारतीय समाजवादी नेताहरू तथा धपाइएका राणाहरूको सहायता र सहानुभूतिमा खडा भएको नेपाली राष्ट्रिय कांग्रेसका नेताहरूले कामबन्दी हडतालको विश्वासघात गरी यसलाई भताभुंग पारेता पनि यसको लहर राजधानीसम्म पुग्यो । काठमाडौंमा विभिन्न सरकारी विभागका कर्मचारीले त्यस्तै मागहरू राखी कामबन्दी हडताल गरे । 

कामबन्दी हड्तालहरू यति सुदृढ थिए– हडताल गर्नेहरूलाई तलब बढाउन र रेशनमा चामल दिन सरकारलाई करै लाग्यो । तलबवृद्धि तथा रेशन–प्रथा काठमाडौं उपत्यकामा मात्र सीमित भए तापनि सबै नेपाली जनताले यसलाई आफ्नै जित हो भन्ने ठानेर आफ्ना हकहरूको रक्षाका निम्ति आम जनसंघर्षको खाँचो छ भन्ने कुरा राम्ररी थाहा पाए ।

भाग दुई 

नेपालमा सामन्तवादको बलियो जग सन् १३८५ मा बसेको हो । त्यसै बेलादेखि विभिन्न सामन्ती खलकहरूले नेपाली जनतालाई शोषण गर्दै आएका छन् । यी शताब्दीहरूको बीचमा नेपालमा जे–जति हेरफेरहरू भए तापनि सबैले सामन्तवादलाई बलियो तुल्याए । नेपालका केही भागहरूमा पुँजीवादी उत्पादन–प्रथा चालू गरिएका भए तापनि सामन्तवादी उत्पादन–प्रथा र सामन्तवादी शासन–व्यवस्था नै सर्वोपरी छन् ।

स्वयं–सम्पूर्ण आदिम आर्थिक–प्रथा अझै पनि नेपालमा चालू नै छ । किसानहरूले आफ्नो खाना मात्र पैदा गर्दैनन्, उनीहरूद्वारा प्रयोग गरिने धेरैजसो वस्तुहरू पनि उनीहरू नै तयार गर्दछन् । राणा, जिम्वाल, जमिनदार, द्वारे, ठालू र मुखियाहरू आफ्नो भोग–विलासको निम्ति किसानहरूबाट उठाइएको मालपोत र करहरू खर्च गर्दछन् । पहिले–पहिले यस्ता मालपोत र करहरू बन्द–व्यापारमा लगाइँदैनथे, तर आजभोलि बन्द–व्यापारमा समेत लगाएर उनीहरू दोहोरो तरिकाले कंगाल नेपाली जनताको रगत चुस्न पल्केका छन् ।

सामन्तवादी शासकवर्ग–राणा, चौतरिया, साहेबज्यू, भाइ–भारदार, जमिनदार गुरुज्यू, र दिन–पर–दिन उक्लँदो मध्यमवर्गको हातमा नेपालका धेरैजसो जग्गा जमिनहरू छन् । किसानहरूको हातमा थोरै जमिनहरू छन्, तर खास गरेर छैन भने पनि हुन्छ । आफ्ना ‘प्रभुहरूको’ खेतबारी खनजोत गर्नलाई किसानहरूले आफ्नै हलो, कुटो र कोदाला लगाउनुपर्दछ । तर बालीनाली चाहिँ चार भागमा तीन भाग तिनै ‘प्रभु’ नरपशुहरूका भलाइ पूरा गर्नको निम्ति समर्पण गर्नुपर्दछ । सन् १९२४ मा कमारा–प्रथा हटाइएता पनि शारीरिक दण्ड–प्रथा चालु नै छ । अझै पनि किसानहरूलाई धरपकड गरी १५ दिनसम्म थुन्ने अधिकार यस सामन्तवर्गलाई प्राप्त नै छ । वास्तवमा किसानहरू अर्ध–कमाराको अवस्थामा छन् । 

किसानहरूले तमाम राणा र राणाशाहीका ठेकेदारहरूको असह्य बोझलाई मात्र थाप्लोमा हाल्नुपर्ने नभई समस्त सामन्तवादी–नोकरशाही (भाइ–भारदार शाही) र राज्यको जनविरोधी जनविरोधी ताकत (पुलिस र फौज) को खर्च–बर्च समेत मालपोत, कर र बेगारी दिएर भर्नु पर्दछ । 

मल्ल वंशको समयमा धेरै नै सामन्ती शासकहरू थिए । यिनै सामन्ती शासकहरूको राज्यको रूपपमा नेपाल धेरै नै स–साना टुक्राहरूमा बाँडिएको थियो । तर सन् १७६९ मा पृथ्वीनारायण शाहले नेपालमा एउटै केन्द्रीय सामन्तवादी, अत्याचारी राज्यसत्ता कायम गरे । यसै प्रथा बमोजिम हाल राणा र तिनका ‘हो, सरकार !’ हरूले नेपालको बागडोर अँठ्याइराखेका छन् ।

नेपालका किसानहरूले न पहिले न अहिले कुनै व्यक्तिगत, शारीरिक अथवा राजनीतिक स्वतन्त्रताको स्वाद चाख्न पाएका छन् । यत्तिका शताब्दीसम्म नेपालको सामन्तवादी सामाजिक व्यवस्था किन धेरै अंशमा जस्ताको तस्तै रहिरह्यो भन्ने प्रश्नको उत्तर नेपालका सामन्ती खलकहरूको अत्यन्त क्रूर शोषण र अत्याचारले नै दिनेछन् । 

सन् १८४६ मा एउटा षड्यन्त्र रची (जुन कोतपर्वको नामले प्रख्यात छ)– राणाले नेपालको बागडोर हत्याए । त्यसै बेलादेखि विदेशी साम्राज्यवादीहरूले नेपालमा आफ्नो पञ्जा छिट–छिटै फैलाउन थाले । आज नेपाल अर्ध–औपनिवेशको हालतमा पुगेको छ । विदेशी साम्राज्यवादीहरूको हातमा राणाशाहीको लगाम छ । नेपाल त्यसै बेलादेखि सिपाही भर्ना गर्ने अखडा हुन गयो । नेपाली जनतालाई साम्राज्यवादको हातमा बेच्ने काममा मुख्य गोठाला (नाइके) नेपालका प्रधानमन्त्री बने । आज पनि कंगाल नेपाली किसान–युवकहरूलाई हजारौंको संख्यामा भर्ना गरी अंग्रेजी उपनिवेशहरूमा चलिरहेका मुक्ति–आन्दोलनको विरुद्ध उनीहरूको प्रयोग गर्न भारतको पुँजीवादी नेहरु–सरकार मनोमानी खुशी–राजी भएको छ । राणाको त कुरै के काट्नु ! अंग्रेजी एकाधिकार पुँजीको नाफा र स्वार्थ रक्षा गर्नको निम्ति दुष्ट महाराजले कंगाल नेपाली युवकहरूको रगत र ज्यान बेचिरहेको छ । 

अमेरिकन साम्राज्यवादीहरूका दलालहरू यस व्यवस्थाको शिखरमा छन् । उनीहरू नेपालमा आफ्नो डेरा जमाएर बसेका छन् र हाम्रो पवित्र जन्मभूमिमा समाजवादी सोभियत संघ विरोधी फौजी अड्डाको जग हाल्नमा व्यस्त छन् । भारतीय पुँजीपतिहरू पनि आफ्ना शोषणका जालहरू नेपालमा फैलाउँदै छन् । प्रधानमन्त्री महाराजासाहेब नेपालमा उर्लंदो प्रजातन्त्रीय आन्दोलनको भेललाई थच्याइ आफ्नो पिरा (आसन) नडग्ने तुल्याउनका निम्ति विदेशी शोषकहरूलाई निम्तो दिँदैछ । सबैलाई थाहा भएकै कुरा हो– राणा सरकार, जो केवल बेलायत र अमेरिकाको सामाज्यवादी सरकारहरू र तिनकै आश्रयमा बाँच्ने भारतीय नेहरु सरकारको पाल्तु कुकर मात्र हो भोका, कंगाल नांगामा नेपाली जनताका सबै समस्याहरूको कुरा त परै जाओस्, केवल एउटा समस्यासम्मको पनि टुंगो लगाउन सक्दैन । राणा सरकारले त केवल, जस्तो वास्तविक रूपमा गरिरहेको छ, नेपाली जनताको समस्या बढाउन र भद्रगोल गर्न मात्र सक्दछ । 

यस्तो राक्षसी अन्याय र अत्याचारको विरुद्ध नेपाली जनता उठिसकेका छन् । पुँजीवादी उत्पादन व्यवस्थाको चालुले गर्दा नेपालमा मजदुर–वर्ग पैदा हँुदैछ । मजदुर–वर्ग आधुनिक समाजमा सबभन्दा क्रान्तिकारी वर्ग हो । नेपालका मजदुर–वर्गले आफ्नो क्रान्तिकारी प्रवृत्तिको पहिचान सन् १९४७ मार्च महिनाको ऐतिहासिक कामबन्दी हडतालका संघर्षहरूमा दिइसकेको छ । कामबन्दी–हडताल पहिले विराटनगरका जूट तथा कटन कारखानाहरूमा भयो । पछि यसले राजनीतिक अधिकारहरूको निम्ति दुष्ट महाराजाको विरुद्ध जनसंघर्षको रूप लियो । नेपाली जनताले राजनीतिक अधिकारहरूको ‘नारा’ लगाई काठमाडौंका सडकहरूमा प्रदर्शन गरे । नेपालको इतिहासमा यस्तो घटना पहिलोपल्ट घटेको हो । फेरि विद्यार्थीहरूले आ–आफ्ना शिक्षालयहरूमा राजनीतिक सभाहरू गरी नागरिक स्वतन्त्रताको ‘नारा’ लगाउँदै सडकहरूमा परिक्रमा गरे । यो पनि नेपालको इतिहासमा पहिलोपल्ट घटेको घटना हो । महिलाहरूले पनि जुलुसको अग्रिम–पंक्तिमा रही प्रदर्शनहरू गरे । यो पनि नेपालको इतिहासमा नयाँ कुरा हो । यस जनआन्दोलनलाई निर्ममतापूर्वक दबाइएता पनि ‘नागरिक स्वतन्त्रता दिन्छु र राजनीतिक बन्दीहरूलाई छोड्छु’ भनेर कबुल गर्न शासकवर्गलाई करै लाग्यो । यसबाट नेपाली जनताले दुई कुराको अनुमान गरे । एक, महाराजा साहेब आत्तिएको छ र अर्को, नेपाली जनताको ताकत बढेको छ । जनताका अनुमान बिल्कुलै सही छ ।

भाग तीन 

द्वितीय विश्वयुद्धको अन्त्यपछि समस्त संसार दुई गुटमा बाँडिएको छ । एक गुट साम्राज्यवादी, प्रतिक्रियावादी र युद्धवादी गुट हो । यस गुटको नेता अंग्रेज–अमेरिकन साम्राज्यवादी हो । यसको मुख्य उद्देश्य नै अंग्रेज–अमेरिकन एकाधिकार पुँजीको रक्षा गर्नु हो । अर्को गुट साम्राज्यवाद विरोधी, जनवादी र शान्तिवादी गुट हो । यस गुटको मुख्य काम नै मानिसद्वारा मानिसलाई गरिने शोषणको अन्त्य गर्ने हो । यसकारण अंग्रेजी तथा अमेरिकन साम्राज्यवादी–युद्धका जनकहरू सम्पूर्ण संसारका हरेक मुलुकहरूमा उठिरहेका जनवादी आन्दोलनहरूलाई दबाउन तत्तत् देशका प्रतिक्रियावादीहरूको मद्दत गरिरहेका छन्, हात–हतियारहरूले लैस गराइरहेका छन् । उपनिवेश र अर्ध–उपनिवेशहरूमा चलिरहेको मुक्ति–आन्दोलनको विरुद्ध विस्तारवादी नीतिको आधारमा युद्ध सञ्चालन गरिरहेका छन् । यस भयानक आर्थिक संकटबाट बची भताभुंग भइसकेको पुँजीवादी प्रथाको अमानवीय शोषणको रक्षा गर्न यिनीहरू सोभियत संघ र नव–प्रजातान्त्रिक देशहरूको विरूद्ध तेश्रो महायुद्ध छेड्नको निम्ति प्रतिक्रियावादीहरूलाई उक्साइरहेका छन् । नेपालका शासकहरू खुल्लम–खुल्ला यस्ता साम्राज्यवादी, पुँजीवादी र युद्धवादी गुटहरूसँग घुलमिल भइसकेका छन् । त्यसकारण प्रतिक्रियावादीहरूको परम भक्त बनेर दलाली गर्दैछन् । राणाहरू धूमधामसँग यो प्रचार गर्दैछन्– बेलायत, अमेरिका र हिन्दूस्तानसँगका उनीहरूका विश्वासघाती सन्धि–पत्रहरूले नेपाली जनताको निम्ति सुख र शान्ति ल्याउनेछन् । भूतपूर्व प्रधानमन्त्री पद्म शमशेरले त यहाँसम्म भन्ने साहस गरे– नेपालमा प्रजातन्त्र खडा भइसकेको छ । वर्तमान प्रधानमन्त्री मोहनशमशेर राणाले नेपाललाई आधुनिक राष्ट्रको रूपमा ढाल्ने अरे भनी एउटा पञ्चवर्षीय योजनाको घोषणा गरे । यी केही पनि होइनन्, जनताका आँखामा छारो हाल्ने चाला मात्र हुन् । वास्तवमा राणाका यी चालहरू अमेरिकन युद्धपिपासुहरूलाई नेपाल उनीहरूको युद्ध अखडा बनाउन दिने चाल हो, अंग्रेजी साम्राज्यवादलाई रक्षा गर्नको निम्ति नेपालको जन–बल लगाउने चाल हो, भारतीय पुँजीपति र तिनका सरकार–नेहरु सरकारको हातमा नेपालको बन्द–व्यापार सुम्पिने चाल हो । नेपालका प्रधानमन्त्रीसँग कागज–पत्र गरी अमेरिकाका केही व्यापारिक फर्महरूले नेपालका केही पश्चिमी भागहरू आउँदो तीस वर्षका निम्ति बन्धकमा लिइराखेका छन् । काठमाडौंमा रहेको अमेरिकन शिष्टमण्डल नेपाललाई आफ्नो उपनिवेश बनाउनका निम्ति अथक मिहिनेत गरिरहेको छ । 

अंग्रेजी साम्राज्यवादीहरू जसले सन् १८५७ देखि नेपालको जन–बल आफ्नो स्वार्थको निम्ति प्रयोग गर्दै आएका छन्, तापनि यस कुकार्यमा निकै उत्साह लिएर काम गरिरहेका छन । बेलायत. भारत र नेपाल यी तीन थरी सरकारहरूको बीचमा सन् १९४७, नोभेम्बर ९ तारिखका दिन काठमाडौंमा भएको सन्धिका शर्तहरूमध्ये एउटा यस प्रकार छ– ‘ब्रिटिश फौजी अधिकारीहरूले गोरखपुर र घुममा मौजुदा (भारतीय फौज) भर्ती–केन्द्रहरू त्यस बेलासम्म चालू गर्न सक्दछन्, जबसम्म भारतमा (अन्यत्र कहीं) अथवा नेपालमा नै ब्रिटिस फौजको निम्ति गोर्खा भर्ती केन्द्रहरू बन्ने छैनन् भन्ने कुरामा भारत सरकार राजी भएको ।’ (जोड हाम्रो !)

यही एउटा शर्त नेहरु र राणा–सरकारको ‘निष्पक्ष’ र ‘स्वतन्त्र’ जाली प्रचारलाई छर्लंग पार्न मनग्गे छ । फेरि यही शर्तले नेहरु र राणा दुवै सरकारहरू साम्राज्य प्रतिक्रियावादी र युद्ध–गुटका जाँगरिला हिस्सेदारहरू हुन् र त्यस गुटको निम्ति दिलोज्यानले कमारागिरी गरिरहेका छन् भन्ने कुरा साबित गर्दछ । 

नेपाली जनताका दुःख र दर्दका कुराहरू यहीँ पाखा लाग्दैनन् । भारतीय धन–कुवेरहरू नेपालमा ठूला–ठूला कलकारखानाहरू खोल्दैछन् । बिडला, सिंहासन र चमरियाहरूले जूट, कपडा, कपास र चिनीका मिलहरू खोलिसकेका छन । कोशी क्याम्पको तर्जुमा नेहरु सरकारले आफ्नै हातमा लिएको छ । नेपालको उद्योगधन्दामा सबभन्दा बढ्ता पुँजी भारतीय पुँजीपतिहरूको लगाइएको छ । भारतीय पुँजीपति ग्राहक नेपालको सस्तो मजदुर (श्रम) र प्राकृतिक धन–दौलतको शोषण गरी आफ्नो थैली फलाउने ताकमा छन् । नेपाललाई औद्योगीकरण गर्न एक त उनीहरू चाहँदैनन्, अर्को उनीहरूको सामथ्र्य नै छैन । यसरी नेपाली जनताको गर्दनमा दोहोरो शोषणको जुआ पर्दैछ । सामन्तवादी शोषणमाथि पुँजीवादी शोषण थपिँदैछ । स्वयं सम्पूर्ण आदिम आर्थिक–प्रथाबाट एकाएक अलग भएर नेपाल आज त्यस पुँजीवादी आर्थिक–प्रथातिर लाग्दै छ, जुन यस आर्थिक संकटमा खलबलिएर भताभुंग भएको छ । नेपाली जनताको मुक्तिको बाटो यो होइन, पतनको बाटो हो ।

यसकारण नेपाली जनताले अर्को बाटो लिनुपर्दछ । यो बाटो हो– वर्तमान सामन्तवादीप्रथा र नेपालमा फैलिएको साम्राज्यवादी तथा पुँजीवादी शोषणको जुआलाई सफाचट गर्ने बाटो ! हामीले विश्व–प्रजातन्त्रीय गुटहरूसँग काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्दछ । अनि मात्र हामी मजदुर–वर्गको नेतृत्वमा पसिना चुहाउने जनताको प्रजातन्त्रीय राष्ट्र खडा गर्न सक्नेछौं । यस (राष्ट्रको) शासन–व्यवस्थामा देशको धन–जनको मालिक जनता हुनेछन् । जनताकै हितको निम्ति सरकारले यस्ता धन–जनहरूको प्रयोग गर्नेछ । अतः नेपाली जनताले आखिरी साससम्म जनताको जनतन्त्र र समाजवादको निम्ति लड्नुपर्दछ । विजयी समाजवादको जमिन– समाजवादी सोभियत प्रजातन्त्र संघ, पूर्वी युरोपका नव–प्रजातन्त्रहरू, नयाँ चीन, उत्तरी कोरिया र उपनिवेशहरूका दिन–पर–दिन विकसित आन्दोलनहरूका अनुभवहरूले विश्वका जहाँ–तहाँका शोषित जनतालाई उनीहरूको आन्दोलनमा जसरी दिनदिनै उत्साहित गराएको छ, उसरी नै नेपाली जनतालाई पनि आफ्नो महान् आन्दोलनको निम्ति उत्साहित गराएको छ ।

सामन्तवादी–प्रथा र साम्राज्यवादी पुँजीवादको जुआलाई उखेलेर फ्याँक्ने संघर्षमा क्रान्तिको अग्रजको काम ऐतिहासिक तवरले मजदुर–वर्गले नै गर्नुपर्दछ । आज नेपालमा मजदुर–वर्ग संख्यामा कमै छ, तापनि त्यही बढ्दो शोषणको आधारमा नेपालको मजदुर–वर्ग दिनहुँ दुई किसिमले बढ्दैछ । एक, उसको संख्या बढ्दैछ ः अर्को राजनीतिक तवरले पनि दिनहुँ बलियो हुँदैछ । सोभियत कम्युनिष्ट पार्टी (बोल्सेभिक)को इतिहासमा कामरेड स्टालिनले लेखेका छन्– ‘हामीले आफ्नो भावी कार्यक्रमको फैसला समाजका ती स्तरहरूको आधारमा गर्नु हुँदैन, जसको हाल केही प्रभाव भए तापनि अगाडिको विकास बन्द भइसकेको छ । हामीले त्यसको आधारमा आफ्नो कार्यक्रम बनाउनुपर्छ, जसको शक्ति हाल प्रमुख नभए तापनि जो विकासमान छ र जसको भविष्य उज्ज्वल छ ।’

नेपालमा बढ्दो वर्ग–संघर्षतिर यस्तो द्वन्द्वात्मक–भौतिकवादी दृष्टिकोणले मात्र क्रान्तिकारीहरूले सही रणनीति तयार गर्न र माक्र्स, एंगेल्स, लेनिन तथा स्टालिनले बोकेको नहारिने झण्डामुनि यस संघर्षलाई संगठित गरी विजयी बनाउन सक्नेछन् ।

भाग चार 

धेरै दिनदेखि हाम्रो हृदयमा उब्जेका इच्छाहरूलाई वास्तविकतामा ल्याउन सबैको साझा वैरी सामन्तवादी निरंकुश सत्ताको विरूद्ध जनताको एकता कायम गर्नको निम्ति हामी नेपालका मजदुर, किसान, सिपाही, पसिना चुहाउने मध्यमवर्ग र समस्त प्रजातन्त्रीय–पक्षधरहरूसँग अपिल गर्दछौं । नेपालका समस्त प्रजातान्त्रिक शक्तिहरू तपशिलका प्रजातान्त्रिक कार्यक्रमको आधारमा मेलको डोरीमा बाटिन सक्दछन् भन्ने हामीलाई पूर्ण विश्वास छ । 

१) सामन्तवादी निरंकुश राजसत्ता र विदेशी शोषणको जुआलाई एकदम सफाचट गरी नेपाललाई पूर्ण तथा वास्तविक रूपले स्वतन्त्र गराउने । 

२) मजदुर, पसिना चुहाउने किसान र शोषित तथा दलित निम्न–मध्यम वर्गलाई प्रतिनिधित्वव गर्ने एउटा प्रजातान्त्रिक सरकारको जग बसाउने । अंग्रेज–अमेरिकन साम्राज्यवादीहरू र तिनका भारतीय कठपुतलीहरूसँग नाता तोडी सबै जातिको स्वतन्त्रता र शान्तिको निम्ति लडिरहेका प्रजातान्त्रिक राष्टहरूसँग नाता जोड्ने ।

३) सर्वसाधारण जनतालाई पूर्ण स्वतन्त्रता, प्रजातन्त्र र मूल–आर्थिक अधिकारहरू इत्यादिको सुरक्षा (ग्यारेन्टी) दिने विधान बनाउने । यो विधान बालिग मताधिकारमा आधारित हुनेछ । विशेष अधिकार, जाति–पाति र साम्प्रदायिक भेदभावहरूलाई ऐन कानुनद्वारा खत्तम गरिदिने र यस्ता ऐन–कानुनहरूको विरुद्ध जानेहरुलाई ऐन कानुनद्वारा सजाय गर्ने । 

४) एक कौढी पनि हर्जाना नदिईकन जमिनदारी तथा सामन्तवादी शोषणका सम्पूर्ण प्रथाहरूलाई निर्मूल पारिदिने र (उनीहरूको) जग्गा–जमिन, खेतबारी, हलो, कुटो, कोदालो र फाली चलाउने र मच्चाउने किसानहरूलाई भागबण्डा गरिदिने । गाउँ–देहातका कर्जा र ब्याजखोर–प्रथालाई हटाइदिने । खेतालाहरू (खेतमजदुरहरू)लाई बाँच्नयोग्य ज्याला दिने ।

५) यातायात, बैंक, चियाबगान, खानी र उद्योगधन्दामा लगाइएका विदेशी–पुँजीहरू राज्यद्वारा जफत गर्ने र यिनीहरूसित सम्बन्धित कुराहरूको राष्ट्रियकरण गर्ने । 

६) ठूला–ठूला उद्योगधन्दाहरू, ठूला ब्यांकहरू र इन्स्योरेन्स कम्पनीहरूलाई

राष्ट्रियकरण गर्ने । संस्थानहरूमा मजदुरहरूद्वारा नियन्त्रण गरिने कुराको ग्यारेन्टी दिने, मजदुरहरूलाई जिउन–योग्य ज्याला दिने । दिनमा आठ घण्टाको कार्यकाल लागू गर्ने ।

७) ठूला–ठूला पुँजीपतिहरूलाई उद्योगधन्धाहरूको खास–खास ठाउँबाट हटाउन र देशका आर्थिक श्रोतहरूलाई विकसित तथा समृद्ध तुल्याउनको निम्ति एउटा आर्थिक योजना बनाउने । 

८) दमनकारी सम्पूर्ण ऐन, कानुन, सनद, सवाल बरखास्त गर्ने ।

९) नोकरशाही (भाइ–भारदारशाही) शासन–प्रथा खतम गर्ने र त्यसको सट्टामा जनसमितिहरूको देखरेखमा रोजिएका प्रतिनिधिहरूलाई हाकिम (अफिसर) नियुक्त गर्ने । 

१०) सर्वसाधारण जनतालाई हात–हतियार दिने र जनताको प्रजातन्त्रीय फौजको गठन गर्ने ।

११) बिना फिसमा सबैलाई पढ्ने अधिकार दिने र प्राथमिक शिक्षा अनिवार्य रूपले चालू गर्ने ।

१२) महिलाहरूलाई समान प्रजातन्त्रीय अधिकार वा हक दिने ।

यस कार्यक्रम बमोजिम काम गर्दा यो प्रजातन्त्रीय मोर्चा र नेपाल कम्युनिष्ट पार्टी दुवै मिली नेपालका विश्वासघाती संस्था (नेताहरूसँग) कम्मर कसी टक्कर लिनुपर्दछ । उनीहरूले देश र जनताप्रति गरेको विश्वासघातको पोल निर्दयतापूर्वक खोल्नुपर्दछ । जति मात्रमा हामी यी बेइमानहरूसँग टक्कर लिने छौँ, जति मात्रामा यिनीहरूलाई हटाउन (अलग्याउन) सक्दछौं, उति नै मात्रामा जनताको संघर्ष क्रान्तिकारी बाटोमा अगाडि बढ्नेछ ।

नेपाल राष्ट्रिय कांग्रेसका रेग्मी र कोइराला दुवै दलहरू र तथाकथित नेपाल प्रजातन्त्र कांग्रेसले नेपाली जनताको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्वार्थहरूप्रति मात्र विश्वासघात गरेका होइनन्, लाज–सर्म पचाएर नेपालको अत्याचारी सामन्तवादसँग, भारतको प्रतिक्रियावादी नेहरु सरकारसँग र अंग्रेज अमेरिकन युद्धवादीहरूसँग मेलमिलाप गर्न लगातार कोसिस गरिरहेका छन् । सोभियत संघ, चिनी कम्युनिष्ट पार्टीको नेतृत्वमा भइरहेको चिनी जनताको तुफानी विजय र बर्मा, मलाया, भियतनाम श्याम तथा इण्डोनेशियामा चलिरहेको औपनिवेशिक मुक्ति–आन्दोलनको विरूद्ध उनीहरू आफ्ना भाषण र मुखपत्रहरूमा विषैला छेड्खानहरू प्रचार गर्दैछन् । उनीहरूको भनाइअनुसार त्यो घृणित राणा–सरकार नेपालको श्रमजीवी जनताको साझा बैरी होइन । उनीहरूको प्रचारअनुसार ‘कम्युनिजम्’ र कम्युनिष्टहरू नेपालको निम्ति ठूलो खतरा हुन् । यहाँसम्म कि कम्युनिजम्को विरूद्ध उनीहरूको ‘लडाइँ’को ‘पवित्र लडाइँ’को दौरानमा नेपाली जनताको रगतले रंगिएको राणाको हातसित आफ्ना हात मिलाउन उनीहरू राजी छन् । कम्युनिजम्प्रति उनीहरूको यस ब्वाँसे–घृणामा कुनै नयाँ चीज छैन । यो नीति विश्वभरिका जनताका बैरीहरूको एकदम प्रख्यात गए–बितेको नीति हो । कम्युनिजम्को विरूद्ध लड्ने बहाना गरेर अनुचित तरिकाले कमाइएको पुँजीको रक्षाको निम्ति उनीहरू शोषित जनतासँग नै लड्दछन् । 

रेग्मी र कोइराला दुवै दल, जो मध्यमवर्गको पातलो तहलाई मात्र प्रतिनिधित्व गर्दछन्, प्रतिक्रियावादी र असन्तुष्ट भएका ती राणाहरूपट्टि लागेका छन् जो स्वयं सामन्ती ‘प्रभु’ हुन् र जो पसिना चुहाउने जनतामा हुने शोषणलाई खत्तम गर्ने पक्षमा छैनन् । नेपाली जनताको रगत चुस्ने काममा यथोचित हिस्सा पाउनको निम्ति उनीहरू वर्तमान राज्यशक्तिसँग टक्कर लिन आएका हुन् । उनीहरू आफ्नो मतलब हासिल गर्नका निम्ति जनताको असन्तोषलाई हत्याउँदछन् । विरोध पनि गरिटोपल्दछन् । दिल्ली हँकाइमा बहादुर पनि बनिहाल्दछन् । तर हर–हमेशा क्रान्तिकारी ताकत र जनताको उत्तरदायित्वलाई बन्दी गर्न खोज्दछन् । जनताको बढ्दो अशान्तिको भेलले जब यस्ता बाँधहरूलाई भत्काउन खोज्दछ, तब यी दिल्ली हाँक्नेहरु बिना हानिको सत्याग्रह आन्दोलन मच्चाउँदछन् । तर यसै आन्दोलनले पनि जब क्रान्तिकारी रूप अपनाउन थाल्दछ, अनि यी कुरौटेहरू जनतालाई धोखा दिई लाज–सर्म सबै पचाएर आफ्नो आन्दोलन बन्द गर्दछन् र राणासँग हात मिलाउन पुग्दछन् । पहिले पनि उनीहरूले यस्तै चाल चले र हालै पनि ।

तर कम्युनिष्टहरू मेलमिलापको बाटोतिर विल्कुलै नलाग्ने र पसिना चुहाउने जनताकै संघर्षलाई अगाडि बढाउने भएका हुनाले यी विश्वासघातीहरूले कम्युनिष्टहरूको विरूद्ध आफ्नो सबै बल लगाउनु त स्वाभाविकै हो । शोषित जनताको अगाडि आफ्नो विश्वासघाती काममा पर्दा हाल्न र शोषकहरूको दलाली गर्नको निम्ति उनीहरूले ‘तेस्रो बाटो’को जाली नारा उठाएका हुन् । तर आज ‘तेस्रो बाटो’ हुनै सक्दैन । ‘बाटोको बीच’को नीति हुनै सक्दैन । किनकि, आज संसार अत्यन्त तीव्र गतिले दुई गुटमा बाँडिदैछ । एउटा गुट हो– पुँजीवादी गुट, जसको थाप्लोमा अंग्रेज अमेरिकन एकाधिकार पुँजी छ । अर्को गुट हो– समाजवादी गुट । यस गुटको नेतृत्व समाजवादी सोभियत प्रजातन्त्र संघ र अन्तर्राष्ट्रिय मजदुर–वर्ग हुन् । हरेकले यी दुई गुटमध्ये एउटा भित्र पस्नु नै पर्दछ, एउटा बाटोमा लम्कनु नै पर्दछ । आफ्ना विश्वासघाती अनुहारहरूलाई ढाक्न र प्रतिक्रियावादीहरूसँगको आफ्नो मेलमिलापलाई लुकाउन यी नकच्चराहरूले ‘तेस्रो बाटो’को नारा लगाएका हुन् । यसो गर्नु नक्कली राजनीति गर्नु हो । नेहरुको ‘तेस्रो बाटो’को नमुना नै यसको मनग्गे प्रमाण हो । नेहरु पहिले त ‘तेस्रो बाटो’ भनेर कड्के, तर केही महिनापछि नै उनी सामन्तवाद–पुँजीवाद–साम्राज्यवादको संयुक्त गुटमा आएर उत्रे, अंग्रेज अमेरिकन युद्धवादी गुटमा हाजिर भए । ‘तेस्रो बाटो’को अनिवार्य नतिजा यही हो । अन्तर्राष्ट्रिय सामाजिक–प्रजातन्त्र (सोसियल डेमोक्रेसी) को यो केवल जाली निशान हो– मजदुर–वर्गप्रतिको विश्वासघातको झण्डा हो ! 

यस्ता झूठा साथी र नक्कली प्रजातन्त्रवादीहरूसँग एकदमै होसियार हुनुहोस् जनताको जनतन्त्रको आन्दोलनलाई सुलहनामा (मेल–मिलाप)को बाटो त्यागी यसलाई अगाडि बढाउनको निम्ति सोभियत संघको नेतृत्वमा खडा भएको विश्व साम्राज्यवाद विरोधी गुटमा हाजिर हुनु होस् । यिनै दुई कुरा हामी नेपालका सम्पूर्ण प्रजातन्त्रीय पक्षधरहरूलाई अपील गर्दछौं ।

थिचिएका, मिचिएका, किचिएका र रगत चुसिएका भाइ–बहिनी र दाज्यू दिी हो ! हाम्रो पवित्र जन्मभूमि नेपालमा विश्वका लडाकू जनताको अगुवा समाजवादी सोभियत युनियनको विरूद्ध साम्राज्यवादी फौजी अड्डाको जग बसाउने जुन कालो योजना बनाइँदैछ, त्यसको विरूद्ध हामीले शानदार संघर्ष गर्नुपर्दछ । नेपालका पसिना चुहाउने जनता सोभियत संघको विरूद्ध कहिल्यै पनि लड्ने छैनन् । आफ्ना वर्गीय भाइहरूको विरूद्ध कहिल्यै पनि हतियार उठाउने छैनन् ।

विदेशमा साम्राज्यवादी–डकैतीको रक्षाको निम्ति आफ्नो रगतको खोला बगाउन नामञ्जुर गर ! हामी, नेपालका गरिब जनताले अरू मुलुकका गरिब जनताको रगत किन चुस्ने ? साम्राज्यवादी, रगत–चुसुवा उपनिवेशवादीहरूलाई मद्दत किन दिने ? हामी, नेपालका गरिब जनताले अंग्रेज–अमेरिकन साम्राज्यवादीहरूलाई, जसले हाम्रो देश र हाम्रा जनतालाई शोषणको जुआमा लगाएका छन्, बलियो पार्नको निम्ति किन जीवनको बलिदान गर्ने ? बर्मा, मलाया र दक्षिण–पूर्वी एशियाका मुलुकहरूमा चलिरहेको जनमुक्ति आन्दोलनको विरूद्ध लड्न नामञ्जुर गर ! किनभने यी देशका जनता तिनै मागहरू लिएर तिनै एकवर्गीय शोषकहरूको विरूद्ध लडिरहेका छन्, जसको निम्ति हामी आफ्नो घरमा लडिरहेका छौं । शोषकहरूको विरुद्ध लड्न अग्रसर होऊ ! शोषितहरूको विरूद्ध होइन, जनताका साझा बैरीको विरूद्ध हाम्रो बन्दुकको मोहरी फर्काऊ– तिम्रा आफ्नै दाजु–भाइहरूको विरूद्ध होइन ! आफ्ना दाजु–भाइहरूसँग लड्नु आफ्नै कमारागिरीलाई बलियो तुल्याउनु हो !! 

दुष्ट महाराजा साहेब र उनका भाइभारदारहरूका हुकुम र मर्जी पाएर घरमा आफ्ना दाजु–भाइहरूलाई सताउने काम नगर । महाराजा साहेब र उनको राजकाजमा साथदिने नोकरशाहीहरू तिमीलाई तिम्रो मातृभूमिको अधिकारबाट वञ्चित गराई तिमी र तिम्रा नाता–कुटुम्बहरूलाई भोकको मुखमा राखिदिएका छन् । तिम्रो यस गरिबी र कंगाल अवस्थाबाट फाइदा उठाएर आफ्नो रक्षा गर्न तिमीलाई उनीहरूले सशस्त्र नोकरको रूपमा भरना गरेका छन् । फेरि भेडा–बाखा बेचेझैँ पैसा लिएर तिमीलाई विदेशी साम्राज्यवादीहरूको हातमा बेचिदिएका छन् । तिमीले आफ्नो फौजी जीवनमा दिनहुँ अपमान सिवाय अरू केही पनि पाउँदैनौ । तिम्रा भोका र कंगाल भाइ–बहिनी र दाजु–दिदीको विरूद्ध गोली चलाउन नामञ्जुर गर ! आफ्नो संगीन अत्याचारी शासकपट्टि फर्काऊ ! यही हो जीवनमुक्ति इज्जतको बाटो ।

नेपालका मजदुर–वर्ग हो ! तिमीहरूले आफ्नो रातो झण्डालाई तिम्रो सबभन्दा पहिलो कामबन्दी–विराधमा, जुन सन् १९४७ मार्च महिनामा भएको थियो, उठाइसकेका छौँ । रातो झण्डा अन्तर्राष्ट्रिय मजदुर–वर्गको एकताको झण्डा हो ! तिम्रो वर्गीय बैरीसँगको तिम्रो पहिलो लडाइँमा धपाइएका– राणा र भारतीय सोसलिष्ट नेताहरूको सहायता र समर्थन पाएका कांग्रेसका नेताहरूले विश्वासघात र गद्दारी गरे तापनि त्यो कामबन्दी–विरोधको लहर सारा नेपालमा फैलियो । विश्वासघाट र नकचरा कांग्रेसीहरूले वैधानिक (कानूनी) तबरले आफ्नो आन्दोलन बन्द गरिसकेपछि पनि राजधानी काठमाडौंका विभिन्न सरकारी विभागका कामदारहरूले जिउनयोग्य तलब र कामको राम्रो प्रबन्धको निम्ति मागहरू राखेर कामबन्दी–विरोध गरे । अब एकताको बलद्वारा तिम्रो आन्दोलन अगाडि बढाउनको निम्ति आफ्नो स्वतन्त्र मजदुर–संगठनको जग हाल । मजदुर–संगठनमा जिल्ला–जिल्लाबाट मजदुरहरूका प्रतिनिधि समावेश गर । उनीहरूद्वारा नै मजदुर–संगठन बनाऊ । यी सबै मागहरू र आफ्नो सुरक्षा हासिल गर्नको निम्ति आफ्ना शक्तिहरूलाई एकताको बलियो डोरीमा बाँध ः

१) जिउनयोग्य तलब (ज्याला) । 

२) दिनमा आठ घण्टाको कार्यकाल । 

३) कामको राम्रो प्रबन्ध । 

४) नोकरीको सुरक्षा । 

५) बुढ्याइँमा भत्ता (निवृत्तिभरण) 

६) केटाकेटीहरूको निम्ति बिना–फिस (निःशुल्क) शिक्षा । 

७) मजदुर संगठनका सम्पूर्ण अधिकारहरूको उपभोग । 

सहयोद्धा मजदुर साथी हो ! हामीहरूको एकता, संगठन र संघर्षले हाम्रो बल बढाउनेछ । नयाँ नेपाल र प्रजातन्त्रीय जीवनको सिर्जना गर्नका निम्ति रातो झण्डामुनि भेला भएर नयाँ संघर्षतिर अगाडि बढ !

नेपालका पसिना चुहाउने किसानहरू हो ! तिम्रो मुक्ति सामन्तवादी–प्रथाको विरूद्ध बिना सुलहनामा (सम्झौता) को तीव्र संघर्षमा छ । तिम्रो यस विशाल संघर्षमा तिमी न निर्धा छौ न त एक्लै नै छौ । देशमा तिम्रो संख्या सबभन्दा बढ्ता छ । नेपाल, भारत, पाकिस्तान र संसारका वीर मजदुर–वर्ग तिम्रो साथमा छन् । देशव्यापी रूपमा आफ्नो स्वतन्त्र जन–संगठन रातो झण्डाको नेतृत्वमा खडा गर । तपसिलका माग हासिल गर्नको निम्ति बेजोड संघर्ष गर ! 

१) जमिन जोत्नेलाई ।

२) बाँझो र पर्ती जमिन खेतालाहरूलाई । 

३) गैर–कानुनी कोसेली–प्रथा र बेगारी चलनको समाप्ति ।

४) विभागा–प्रथा तुरुन्त चालू गर्ने (बालीको तीन खण्डको एक खण्ड तलसिंहलाई दिने, दुई खण्ड मोहीले लिने) । 

५) खेतालाहरूलाई जिउनयोग्य तलब (ज्याला) । 

६) पूर्ण नागरिक स्वतन्त्रता ।

नेपालका प्रजातन्त्रवादी युवकहरू हो ! नेपालको पहिलो राष्ट्रिय आन्दोलनमा किमीले महत्वपूर्ण काम गरेका छौ । प्रशस्त मात्रामा रगतको भेट चढाएका छौ । युवक गंगालालको अमर शहीद–प्राप्तिले तिमीलाई नयाँ संघर्ष र बलिदानको निम्ति उत्साहित तुल्याएको छ । सन् १९३० का एकजना वीर युवक श्री खड्गमान अझै पनि नेल, हतकडी र गलफन्दी सहित जेलैमा छन् । नेपाली परम्परालाई उच्च टाकुरोमा लैजाने बेला यही हो । यसको निम्ति दिनहुँ पाको संघर्ष गर्नु पर्दछ । आजसम्म तिम्रो स्वतन्त्र लडाकु संगठनको कमी छ । तपसिलका मागहरू हासिल गर्नको निम्ति आफ्नो स्वतन्त्र लडाकु–संगठन कायम गर ः

१) सर्वसाधारण जनताको निम्ति पूरा प्रजातान्त्रिक अधिकार । 

२) प्रजातान्त्रिक ढाँचाको शिक्षा – विना फिस र अनिवार्य प्राथमिक शिक्षा, उच्च । शिक्षाको निम्ति कम फिस । 

३) पाठशालाको पूर्ण अधिकार । 

४) सच्चा स्वतन्त्रताको निम्ति प्रजातन्त्र र शान्ति । 

नेपालका पसिना चुहाउने महिला हो ! हामी तिम्रो बढ्दो संघर्ष र जंगीपनालाई स्वागत गर्दछौं । विराटनगरका महिला–मजदुरहरू आफ्नो खसमहरूसँग कुममा कुम जोरी सन् १९४७ मार्च महिनाको कामबन्दी–विरोधमा उत्रिसकेका छन् । त्यसै वर्ष राणाशाहीको फौजी त्रासको वास्तै नगरी काठमाडौंका महिलाहरूले सडकहरूमा राजनीतिक नारा लगाउँदै प्रदर्शन गरिसकेका छन् । जनताको रिसको भेल बढ्दो देखेर राणा–सरकार डरायो र जनताको हातमा म्युनिसिपलको शासन दिन उसलाई करै लाग्यो । तर चुनावमा भोट दिने कुरामा महिलाहरू ठगिए । नेपालका पसिना–चुहाउने महिलाहरू यस कुरामा हात बाँधेर बसेनन् । उनी प्रधानमन्त्रीको घरमा गए । आफ्नो अधिकारको निम्ति लड्ने र विजय हासिल गर्ने तिमीहरूको दृढता यिनै कुराहरूबाट साबत हुन्छ । तिमीहरूको गर्दनमा तेर्साइएका सामाजिक, आर्थिक र राजनीतिक तीन प्रकारका जुआहरूलाई उठाएर फ्याँक्नको निम्ति आफ्नो महिला संघ कायम गर । तपसीलका मागहरूलाई जोडतोडका साथ प्रचार गर ! तिनीहरूलाई हासिल गर्नको बिना–सुलहनामाको संघर्ष छेड । 

१) बराबर कामको निम्ति बराबर ज्याला । 

२) सम्पूर्ण राष्ट्रिय जीवनमा बराबर अधिकार । 

३) सुत्केरीको निम्ति विशेष सुविधा र बालबच्चाहरूको सुरक्षा । 

४) विना फिसमा शिक्षा ।

५) विदेशी साम्राज्यवादी देशहरूको फौजमा रहेका हाम्रा खसमहरू र छोराहरू फिर्ता देऊ । 

६) नेपाललाई स्वतन्त्र, नेपालमा जनताको प्रजातन्त्र । 

यी सबै कुराहरूमा नेपाल कम्युनिष्ट पार्टीले भाग लिनेछ । संगठन गर्नेछ । पसिना चुहाउने सम्पूर्ण नेपाली जनताको बढ्दो संघर्षको नेतृत्व गर्नेछ र विजयको शिखरसम्म पु¥याउनेछ । पुँजीपति र निम्न पुँजीपतिहरूका अरू संस्थाहरूले नेपाली जनतालाई विश्वासघात गरे, अब पछि पनि त्यसै नै गर्नेछन् । तर नेपाल कम्युनिष्ट पार्टी–मजदुर वर्गको पार्टी, माक्र्सवाद–लेनिनवादको पार्टी– आपद–विपदमा जहिले पनि जनताको लहरमा खडा हुनेछ र साँचो स्वतन्त्रता र जनताको प्रजातन्त्रको निम्ति जन–संघर्षको अगाडि–अगाडि बढ्नेछ, लड्नेछ । नेपाल कम्युनिष्ट पार्टी यही प्रतिज्ञा गर्दछ । जनताको दुश्मन अत्याचारी शासनलाई सबैभन्दा पहिले नेपाल कम्युनिष्ट पार्टीले नै ठोक्नेछ । यसकारण मजदूर–वर्गका सच्चा सपूतहरूलाई, जमिन नभएका र गरिब किसानहरूलाई, प्रजातन्त्रवादी विद्यार्थी, युवक र महिलाहरूलाई नेपाल कम्युनिष्ट पार्टीको लडाकू अगुवा दस्तामा दाखिल होऊ भनी हामी अपिल गर्दछौं । किनभने, जन–संगठनमा बलियो कम्युनिष्ट पार्टीले मात्र जनताको प्रजातान्त्रिक क्रान्तिलाई विजय हासिल गराउन सक्दछ ।

१५ सितम्बर १९४९ (३० भदौ २००६)

नेपाल कम्युनिष्ट पार्टी

(हामीले यो सामग्री ‘पुष्पलाल छानिएका रचना भाग १’ बाट लिएका हौँ ।)

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।