आइतबार, १५ माघ २०७९
ताजा लोकप्रिय

‘ग्रीन हाइड्रोजनले नेपाललाई ‘ग्लोबल पावर प्लेयर’ बनाउन सक्छ’

नेपालमा विश्वकै सस्तो हाइड्रोजन उत्पादन सम्भाव्यता देखिएको छ : शेष घले
मंगलबार, २५ असोज २०७९, १९ : ५९
मंगलबार, २५ असोज २०७९

निजी क्षेत्रको आयोजनामा नेपालमै पहिलोपटक दुई दिने ‘नेपाल ग्रीन हाइड्रोजन समिट २०२२’ सम्पन्न भएको छ । अस्ट्रेलियाका व्यवसायी शेष घले अध्यक्ष रहेको मेलर्वन इन्टिच्यूट अफ टेक्नोलोजी (एमआईटी) फाउण्डेशनले ग्लोबल एनआरएनए ग्रुपसँगको साझेदारीमा ग्रीन हाइड्रोजन समिट आयोजना गरेको थियो । हाल विश्वका ठुला अर्थतन्त्र भएका अमेरिका, बेलायत, चीन र भारत लगायतका देशहरूले आफ्नो सम्पूर्ण ध्यान ग्रीन हाइड्रोजनमा लगाएका छन् । कार्बन शून्य गर्ने लक्ष्य भेट्टाउन ग्रीन हाइड्रोजनले सहयोग पुर्‍याउने भएपछि विश्वको ध्यान नै यसतर्फ मोडिएको हो ।

यही क्रममा शेष घलेले समेत नेपालमा ग्रीन हाइड्रोजनमा १०० मिलियन अमेरिकी डलर बराबरको लगानी गरेर वार्षिक ५० मेगावाट ग्रीन हाइड्रोजन उत्पादन गर्ने घोषणा गरेका छन् । यही सन्दर्भमा रातोपाटीले घलेसँग गरेको कुराकानीको सम्पादित अंश:

तपाईंहरूले यतिबेला नेपालमा दुई दिने ‘ग्रीन हाइड्रोजन’ सम्मेलन गर्नुभएको छ । यो सम्मेलनको मुख्य उद्देश्य के हो ?

हामीले सम्मेलनको शीर्षक ‘नेपाल ग्रीन हाइड्रोजन समिट, एन्टिडोट फर मेल्टिङ हिमालय’ राखेका थियौँ । यो सम्मेलनका लागि हामीले विगत ३ महिनादेखि तयारी गरिरहेका थियौँ । यो सम्मेलनमा धेरै अन्तर्राष्ट्रिय प्राविधिक र आर्थिक तथा सरकारी क्षेत्रमा व्यक्तित्वहरूको सहभागिता थियो । यस्तै, विश्व बैंक, अन्तर्राष्ट्रिय फाइनान्स कर्पोरेशन (आईएफसी) लगायतको समेत सहभागिता थियो । यस्तै, यो सम्मेलनमा विज्ञहरूको समेत सहभागिता थियो । हामीले नेपालमा व्यावसायिक रूपमा उत्पादन गर्ने लक्ष्यसहित समिट आयोजना गरिएको हो । सामाजिक जिम्मेवारीको हिसाबमा नेपालमा ग्रीन हाइड्रोजनको उत्पादन सुरु गर्ने नै हाम्रो मुख्य लक्ष्य हो । यो पहिलो पाइला हो तर अन्तिम होइन ।

ग्रीन हाइड्रोजनको क्षेत्रमा पछिल्लो समय तपाईंको सक्रियता देखिएको छ । यो सक्रियता सक्रियतामै सीमित रहन्छ वा लगानीमै परिणत हुन्छ ?

हामी यत्तिकै ‘गिभ अप’ गर्दैनौँ । आर्थिक रूपमा पनि हामीले ३ लाख डलर खर्च गरिसक्यौँ । यो सम्मेलनमा धेरै क्षेत्रका समुदाय जोडिसकेका छन् । र, यो सम्मेलनको अन्तिम रूप लगानीसम्मै पुग्छ । म र मेरो श्रीमतीको मेलवर्न इन्स्टिच्यूट अफ टेक्नोलोजी (एमआईटी) फाउन्डेशनले नेपालमा ग्रीन हाइड्रोजन उत्पादनमा लगानी गर्ने इच्छा देखाएको छ । र, ढिलो चाँडो हामी लगानी गर्छौँ । यतिबेला विश्वका धेरै देशमा ऊर्जा सङ्कट आएको छ । अहिलेसम्म नेपालमा ऊर्जा सङ्कट देखिएको छैन तर भावी दिनमा ऊर्जा सङ्कट आउन सक्छ । त्यो सम्भावनालाई न्यूनीकरण गर्ने लक्ष्यसहित हामीले व्यावसायिक रूपमै अघि बढ्ने योजना बनाएका छौँ ।  नेपालमा ग्रीन हाइड्रोजन उत्पादन गर्न सरकारले आवश्यक कानुन बनाइदिनुपर्छ ।

नेपालमा व्यावसायिक रूपमै ‘ग्रीन हाइड्रोजन’ उत्पादनको सम्भाव्यता कत्तिको छ ? यसको खोजी भएको छ ?

हामीले नेपालमा ग्रीन हाइड्रोजन उत्पादनको पूर्व सम्भाव्यता अध्ययनका लागि मात्रै ३ लाख डलर खर्च गरिसकेको छौँ । अब सम्भाव्यता अध्ययनका लागि पनि दसौँ लाख डलरको आवश्यकता पर्छ । त्यो अध्ययनपछि नेपालमा ग्रीन हाइड्रोजनको उत्पादन सुरु हुन्छ । यो क्षेत्रमा हामी हात बाँधेर बस्दैनौँ । किनकि, सरकारले कहिले नीति बनाउला र लगानी गरौँला भन्ने मनस्थिति हामीसँग छैन । हामी जोखिम लिन तयार छौँ ।

यसका लागि थोरै लगानीले हुँदैन । ठुलो लगानी आवश्यक पर्न सक्छ । कसरी जुटाउनुहुन्छ ?

वार्षिक २ लाख मेट्रिक टन युरिया उत्पादन गर्ने कारखाना स्थापना गर्नका लागि ६ सय मिलियन डलरको लगानी आवश्यक पर्छ । यो भनेका बिलियन डलर लगानी हो । यो विगत २ वर्ष अघिको अध्ययनले निकालेको प्रतिवेदन हो । अहिले सबै वस्तुको मूल्य बढेर गइसकेको छ । भारतमा गौतम अडाणी र रिलायन्स इन्डस्ट्रीले ठुलो रकम लगानी गरिसकेको छ । सन् २०४५ को नेट कार्बन लक्ष्य भेट्टाउनलाई १०० बिलियनभन्दा धेरै डलरको लगानी आवश्यक छ । यस क्षेत्रमा गरिने लगानीले नेपाल विश्वको ऊर्जा क्षेत्रमा मुख्य प्लेयर बन्न सक्छ । ग्रीन हाइड्रोजन प्लान्ट स्थापना गर्न चाहिने लगानी जुटाउन हामी तयार छौँ । तर, कति लगानी लाग्छ र कति उत्पादन हुन्छ भन्ने विषयमा भने अध्ययन गर्न बाँकी छ ।

नेपालको ग्रीन हाइड्रोजन क्षेत्रमा भारतका धनाढ्य गौतम अडाणी समेत लगानी गर्न इच्छुक भन्ने सुनिन्छ । यो कति सत्य हुन सक्छ ?

यो सत्य पनि हुन सक्छ । हाल भारतमा कोइलाबाट उत्पादित बिजुलीलाई प्रयोग गरेर हाइड्रोजन उत्पादन गरिरहेका छन् । यसलाई ग्रे र ब्लू हाइड्रोजन भनिन्छ । तर, हामी जलविद्युतबाट हाइड्रोजन उत्पादन गर्न तयारी अवस्थामा छौँ र यसलाई ग्रीन हाइड्रोजन भनिन्छ । हामी ग्रीन इनर्जीबाट ग्रीन हाइड्रोजन उत्पादनमा जान खोज्दैछौ । नेपालमा ग्रीन हाइड्रोजनमा लगानी गर्न भारतीय धनाढ्यहरू इच्छुक हुनुहुन्छ भने हामी स्वागत गर्न तयार हुनुपर्छ ।

यदि लगानी जुटेर नेपालमा ग्रीन हाइड्रोजन उत्पादन सुरु भयो भने उत्पादन क्षमता कति हो ?

नेपालमा प्रयोग भएर बाँकी रहेको वा खेर जान लागेको जलविद्युतको प्रयोग गरेर ग्रीन हाइड्रोजनको उत्पादन हुनेछ । हाल २ हजार मेगावाट बिजुली उत्पादन हुँदा नै हामीले प्रयोग गर्न नसकेर खेर गइरहेको छ । अबको ३/४ वर्षमा थप ३/४ हजार मेगावाट बिजुली उत्पादन सुरु हुन्छ । यसअनुसार नेपालमा जति बिजुली उपलब्ध हुन्छ सो अनुसार अधिकतम ग्रीन हाइड्रोजनको उत्पादन गर्न सकिन्छ । तर, यसबारे विस्तृत अध्ययन गर्न बाँकी छ । यसलाई पेट्रोलियम पदार्थ जस्तै धेरै चरणमा उत्पादन गर्न सकिन्छ । यसको पहिलो चरण ग्रीन हाइड्रोजन हुन्छ । यसको प्रयोग गर्न सकिएन भने एमोनिया हुन्छ र अन्तिम चरणमा युरिया बन्छ । यसो हुँदा ग्रीन हाइड्रोजन बहुउपयोगी समेत बन्न सक्छ । यसका सबै चरणहरूलाई बिक्री गर्न सकिन्छ ।

तपाईंहरूले नेपालमा यसको उत्पादन सुरु गर्नुभयो भने कति क्षमताबाट गर्नुहुन्छ ?

नेपालमा कम्तीमा वार्षिक उत्पादन क्षमता ५० मेगावाट बढीको प्लान्ट स्थापना गर्ने लक्ष्य लिएका छौँ । यो क्षमतामा ग्रीन हाइड्रोजन उत्पादन गर्नलाई १०० मिलियनभन्दा बढी लगानी चाहिन्छ । यो भनेको १०औँ अर्ब लगानी हुन्छ । ५० मेगावाटलाई १०० मेगावाट क्षमताको बनाउने हो भने लगानी दोब्बर हुन्छ । एउटा अध्ययनले नेपाल र साउदी अरेबियामा ग्रीन हाइड्रोजनको उत्पादन गर्न सबैभन्दा सस्तो हुन आउँछ । साउदी अरबमा हावा र सोलारबाट तथा नेपालमा पानीबाट निकालिएको बिजुलीको प्रयोगबाट उत्पादन गर्दा सस्तो पर्ने उक्त अध्ययनले देखाएको थियो । यी दुई मुलुकमा समेत नेपाल झनै सस्तो मूल्यमा ग्रीन हाइड्रोजन उत्पादन गर्न सक्ने क्षमता देखिन्छ ।

यससम्बन्धी नेपालमा कानुन नै छैन । ग्रीन हाइड्रोजनको उत्पादनका लागि सरकारले के–कस्ता काम गर्नुपर्छ ?

यससम्बन्धमा पहिला हामीले रणनीति बनाउनुपर्छ । रणनीति बनाउनका लागि हामी नजिकबाट सरकारलाई सहयोग गर्छौँ । यस्तै, नेपालले ग्रीन हाइड्रोजनसम्बन्धी कानुन बनाउनका लागि राष्ट्रिय योजना आयोग, लगानी बोर्ड, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय लगायतको संयुक्त पहल आवश्यक पर्छ । तर, नेपालको कर्मचारीतन्त्रले यसमा अड्को थाप्छ जस्तो लाग्छ । सरकारले अबको केही महिनामा ग्रीन हाइड्रोजनसम्बन्धी भिजन सार्वजनिक गर्नुपर्छ र आगामी एक दशकमा कुन स्थानमा पुग्ने भनेर लक्ष्य तय गर्नुपर्छ । कानुन बनाएपछि आवश्यक नीति नियम समेत निर्माण हुँदै जान्छ । तर, हामी कानुन कुरेर बस्दैनौँ । अब ग्रीन हाइड्रोजनको उत्पादन गर्न लगानी सुरु गर्छौँ ।

वातावरणमा राम्रो प्रभाव पार्छ भनिएको छ । खासमा प्रभाव चाहिँ कस्तो पार्छ ?

यसलाई विश्वव्यापीरूपमा ग्रीन हाइड्रोजन भनिएको छ । यसकारण यसले वातावरणलाई नकारात्मक असर गर्दैन । ग्रीन हाइड्रोजन उत्पादन गर्न राखिने प्लान्ट स्थापना गर्दा केही कार्बन उत्सर्जन हुन सक्छ । तर, त्यसपछि निस्कने प्रतिफल राम्रो हुन्छ । यो बाहेकको अन्य कुनै प्रकारको नकारात्मक प्रभाव वातावरणमा पर्दैन । ग्रीन हाइड्रोजनको उत्पादन र प्रयोग सुरु भएपछि पेट्रोलियम पदार्थ, कोइला र खाना पकाउने ग्यासलाई पूर्णरूपमा विस्थापन गर्न सकिन्छ । जसले वर्षमा सयौँ टन कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्छ र सन् २०४५ सम्म भेट्टाउने लक्ष्य लिइएको जेरो कार्बनको उद्देश्य पुरा गर्न सहयोग पुग्छ ।

नेपालमा कहिलेदेखि ग्रीन हाइड्रोजनको उत्पादन सुरु हुन्छ ?

हामी ग्रीन हाइड्रोजन सम्मेलनमा विज्ञहरूको ज्ञान लिँदै छौँ । ग्रीन हाइड्रोजन पेट्रोलियम पदार्थको तुलनामा ३/४ गुणा बढी शक्तिशाली हुन्छ । यसबाट हामीलाई प्रत्यक्ष फाइदा पुग्छ । यही भएर ग्रीन हाइड्रोजन उत्पादनमा हामीले जोड दिएको हो । यही गतिमा हामी अघि बढ्यौँ भने विस्तृत सम्भाव्यता अध्ययन गर्नलाई आगामी ४/५ महिना लाग्छ । त्यसपछि, लगानीकर्ता कम्पनीसँग आवश्यक छलफल गर्नुपर्छ । यो काम सक्न थप ६ देखि ८ महिना लाग्छ सक्छ । त्यसपछि, ग्रीन हाइड्रोजनको प्लान्ट स्थापना गर्न ३ वर्ष लाग्न सक्छ । यसअनुसार हामी आगामी ४/५ वर्षमा नेपालमा ग्रीन हाइड्रोजन उत्पादन गर्न सक्छौँ । तर, नेपालको काम गर्ने शैलीका आधारमा सन् २०३० भित्रमा ग्रीन हाइड्रोजनको उत्पादन सुरु गर्ने लक्ष्य हाम्रो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप