बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

हेलिकप्टरको प्रयोगमा गम्भीर बन्न गृह मन्त्रालयलाई निर्वाचन आयोगको निर्देशन

आइतबार, २७ कात्तिक २०७९, १५ : ५९
आइतबार, २७ कात्तिक २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारमा हेलिकप्टरको प्रयोगको विषयलाई लिएर गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताएका छन् । ​आइतवार निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहीता कार्यान्वयन सम्बन्धी एकीकृत कार्ययोजना, २०७९ माथि छलफल गर्दै उनले हेलिकप्टरको प्रयोगको विषयमा गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताएका हुन् । उनले चुनावको प्रचार गर्न बिरामी भएको नाटक गर्ने गरेको उजुरी आएकाले त्यसतर्फ संवेदनशील बनेर काम गर्न गृह मन्त्रालयलाई निर्देशन दिए । 

 प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगमा बिरामीको नाटक गरी चुनावी प्रचारप्रसार गरेका दुईवटा उजुरी आएकाले आयोग कारबाहीको लागि अग्रसर रहेको बताए । उनले निर्वाचन आचारसंहीतामा ७२ घण्टा हेलिकप्टर उडाउन पाउने उल्लेख गरेका कारण संखुवासभामा चुनावी प्रचारमा समय गनेर नै ७२ घण्टामा विभिन्न १० ठाउँमा चुनावी प्रचारप्रसार गरेको पाइएकाले गृह मन्त्रालय गम्भीर बन्नुपर्ने देखिएको बताए । 

उनले भने, ‘गृहको सन्दर्भमा हेलिकप्टरको प्रयोगको विषयमा अलिकति संवेदनशील हुनुपर्ने देखियो । अरु कामका लागि हेलिकप्टर प्रयोग नगर, सुत्केरी लिन जानुपर्ने होला, बिरामी बनाउनुपर्ने होला, ल्याउनुपर्ने होला, राज्यको कामसँग रिलेटेट कामहरु होला । तर हुँदै नभएको बिरामी लिएर उडेको भन्ने दुई वटा इस्यु आए । हिजो पनि आयो, संखुवासभाको केस पनि मनाङको केस पनि । यो त गम्भीर हो । यसमा हामी भोलि एक्शनमा जानुपर्छ । एक्शनमा जाँदा फेरि कतै सिडिओ, त्यहाँको एसपीसापतिर तेर्सिने हो की ? डिएसपी साबतिर तेर्सिने हो की ? हेर्ने काम त उहाँहरुको हो । त्यसैले यसलाई कस्तोमा पाउने, कस्तोमा नपाउने ? ७२ घण्टासम्म उडाउन पाउने भनेर लेखिदिएको हुन्छ, संखुवासभामा घण्टा हेरेर बसेछ, ७२ घण्टामा १० ठाउँ हेलिकप्टर लिएर गयो । त्यसको ठूलो उजुरी आइरहेको छ । यस्ता कुरामा गम्भीर बनिदिनुहोस् ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले आसन्न निर्वाचनमा हालसम्म भौतिक उपस्थिति सहितको आचारसंहीता उल्लंघन कम रहेपनि सामाजिक सञ्जालमा भने निर्वाचन आचारसंहीता बढेको बताए । उनले सामाजिक सञ्जालबाट आचारसंहिता उल्लंघन गर्नेहरुलाई कारबाही गरिरहेको भन्दै सामाजिक सञ्जालको प्रयोग गर्दा संवेनशील बन्न सबैको ध्यानाकर्षण गराए । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले यस पटकको निर्वाचनमा मौन अवधि नरहेकाले निर्वाचनअघिको ४८ घण्टाको समयलाई कसरी व्यवस्थित बनाउने भन्नेमा आयोगले आवश्यक कार्य गरिरहेको पनि बताए । उनले यस पटक आयोगले मौन अवधि नराखेको तर अहिले प्रचारप्रसार गर्न नपाउने अवधि भनिएकाले सो अवधिमा हुने आचारसंहीता विपरितका गतिविधि रोक्न आयोग लागिपरेको बताए । उनले नेपालमा प्रचारप्रसारमा गर्न नपाउने अवधिमा अवधिमा मित्र राष्ट्रका सञ्चारमाध्यमहरुबाट प्रचारप्रसार गर्ने गरेको पाइएको भन्दै त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने चुनौती आयोगलाई रहेको बताए । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले जिल्लाहरुमा आचारसंहीता उल्लंघन गर्नेमाथि कारबाही गर्न कन्जुस्याँइ भइरहेको भन्दै आयोगको निर्देशनलाई पूर्ण पलना गर्न जिल्ला निर्वाचन आचारसंहीता कार्यान्वयन समितिलाई निर्देशन दिए । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगको कारणबाट निर्वाचन महंगो नभएको जिकिरसमेत गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप