सम्बन्धमा मलजल जरुरी
सूर्यले आफ्नो राप मलिन बनाउँदै गर्दा साँझको चिसो बतास शान्ति काकीको शरीरमा ठोकिँदै थियो । आँगनको कुनामा फुलेका फूलहरू सुस्तरी हल्लिँदै वातावरण आनन्दित बनिरहे पनि शान्ति काकीको मन भने निराश र एक्लोपनले एकोहोरोजस्तो भइरहेको थियो । ती फूलका बोट एकसाथ हल्लिँदै रमाउँदै थिए तर शान्ति काकी एक्लै थिइन् ।
शान्ति काकी ६५ वर्षीया एक पूर्वशिक्षिका हुन्, अहिले अवकाश जीवन बिताइरहेकी छन् । जीवनभर पढाइ, घर, समाज, सन्तान— सबैको जिम्मेवारी सम्हालेर अब उनी आफैँलाई सम्झिन थालेकी छन् । बुढ्यौलीको यो सन्नाटामा जेलाई उनी बारम्बार सम्झन्छिन्, ती थिए उनका ‘सम्बन्धहरू’ ।
- सम्बन्धको अर्थ र अनुभूति
सम्बन्ध भनेको के हो ? यो प्रश्न सरल देखिए पनि यसको उत्तर निकै गहिरो छ । संस्कृतमा सम्बन्ध शब्दको मूल अर्थ ‘सं–बन्ध’ अर्थात् सँगै बाँधिएको भन्ने हुन्छ । सम्बन्ध भनेको एक–आपसमा गाँसिएको त्यो भावना हो, जसले मानिसलाई केवल मानिस होइन, समाज बनाउँछ । नेपाली समाजमा सम्बन्ध भन्नाले केवल रगतको नाता मात्र होइन, संवेदनाको जालो हो । आमाबाबु, दाजुबहिनी, छरछिमेक, टोलछिमेक, गुरुशिष्य, ग्राहक–दुकानदार, यहाँसम्म कि गोठालो र गाईवस्तुबिचको आत्मीयतासम्म सम्बन्धकै एक स्वरूप हो । आज त्यो गाँसिएको डोरी कतै चुँडिन लागेको अनुभव हुन थालेको छ ।
- सम्बन्धको अवमूल्यन
पश्चिमी मुलुकहरूमा सम्बन्धको अवधारणा धेरै हदसम्म व्यक्तिगत स्वतन्त्रताभित्र खुम्चिएको देखिन्छ । संयुक्त परिवार विघटन भइसकेको छ । बालबच्चाले १८ वर्ष पुग्नासाथ घर छाड्ने परिपाटी प्रचलित छ । वृद्धावस्थामा आमाबुबा वृद्धाश्रममा रहने सामान्य अभ्यास बनिसकेको छ । पछिल्लो अनुसन्धानले देखाएको छ कि सम्बन्धविहीनता नै मानिसको मानसिक स्वास्थ्यमा सबैभन्दा ठुलो नकारात्मक असर पार्ने कारक हो ।
नेपाली समाज परम्परागत रूपमा सम्बन्धहरूमा गहिरो विश्वास गर्ने समाज हो । ‘अतिथि देवो भव’ भन्ने संस्कारले अपरिचितलाई पनि सम्मानित सम्बन्धमा बाँध्ने परम्परा बनाएको छ, हाम्रा चाडपर्वहरू दसैँ, तिहार, तिज, जनैपूर्णिमा सम्बन्ध पुनस्र्थापना र सम्मान जनाउने पर्वका रूपमा स्थापित छन्, तर पछिल्लो दशकमा ती सम्बन्धमा दरार आउन थालेको छ ।
परिवारका सदस्य रोजगारी, शिक्षा वा बसोबासका लागि बिदेसिने क्रम तीव्र छ । ‘आमा कतै, छोरा कतै’ भन्ने अवस्थाले पारिवारिक सम्बन्धमा दूरी ल्याएको छ । एकै घरमा बसेका मान्छेबिच संवाद र छलफल कम हुँदै आएको छ । केही मानिसका लागि सम्बन्ध भनेको अब एक किसिमको जिम्मेवारी वा बन्धनजस्तो लाग्न थालेको छ । सामाजिक सुरक्षाको कमजोर संरचना, बेरोजगारी र चुलिँदो महँगीका कारण सम्बन्धमा मायाभन्दा बढी आर्थिक हिसाब जोडिन थालेको छ ।
शान्ति काकी एउटा प्रतिनिधि पात्र मात्र हुन् । ती फूलहरूले आफूसँग कुरा गर्न खोजेजस्तो उनलाई लाग्दै थियो । उनका आँखामा अहिले अस्ट्रेलियामा पढ्दै गरेकी नातिनीको अनुहार झल्किन्छ । कुनै दिन हजुरआमा भन्न नछाड्ने त्यो नानी अहिले सामाजिक सञ्जालको व्यस्तता र टाइम–जोनको फरकमा हराएकी छ । ‘हामी व्यस्त छौँ, कुरा गर्न मिल्दैन, पछि कुरा गरौँला’ भन्ने छोराको आवाज उनको कानमा हप्तौँसम्म गुञ्जिरहन्छ । शान्ति काकीलाई स्पष्ट थाहा छ, आत्मीयता र सम्बन्धको महत्त्व घटिरहेकाले उनीहरू बोल्न नचाहेका हुन् भन्ने ।
संस्कृतमा सम्बन्ध शब्दको मूल अर्थ ‘सं–बन्ध’ अर्थात् सँगै बाँधिएको भन्ने हुन्छ । सम्बन्ध भनेको एकापसमा गाँसिएको त्यो भावना हो जसले मानिसलाई केवल मानिस होइन, समाज बनाउँछ ।
- अनुसन्धानका तथ्य
नेपालमा गरिएको एक अनुसन्धान अनुसार ६० वर्षभन्दा माथिका करिब ४५ प्रतिशत नागरिकले आफूलाई एक्लो महसुस गर्ने गरेका छन् । यही एक्लोपनले मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्ने र दीर्घ रोगहरूको जोखिम बढाउने बताइएको छ । विश्व स्वास्थ्य संगठनको रिपोर्टले पनि देखाएको छ कि सम्बन्धविहीनता र एक्लोपन क्यान्सर वा मुटुरोग जत्तिकै घातक हुन सक्छ ।
अबको आवश्यकता केवल सामाजिक सञ्जाल होइन, ‘सामाजिक सम्बन्धको सञ्जाल’ जरुरी छ । पुनः आत्मीय संवाद अपरिहार्य छ । ‘तिमीलाई सम्झिएँ’ भन्ने एउटा सन्देशले पनि सम्बन्ध फर्कन र सुध्रिन सक्छ । सम्बन्ध बगैँचाको फूलजस्तै हो, वेलावेला मल र सिँचाइ नगरे फुल्न र फक्रिन सक्दैन । सम्बन्धमा पनि सानो प्रयास मलजस्तै बन्छ र माया पलाउँछ । हामीले सामाजिक सम्बन्धमा समयरूपी मल दिन जरुरी छ । जुन व्यक्तिहरू जीवनमा महत्त्वपूर्ण छन्, तिनका लागि थोरै भए पनि समय निकाल्नुपर्छ ।
- हाम्रो जिम्मेवारी
शान्ति काकीको जन्म दिनमा नातिनीले एउटा सानो हस्तलिखित पत्र पठाइन् । जसमा लेखिएको थियो, ‘हजुरआमा ! तपाईंको कथाहरू मलाई मन पर्छ । मलाई पनि कथा भन्न सिकाउनुहोस् ।’ नातिनीको यो पत्रले काकीका आँखा रसाए । काकी केही क्षण निस्तब्ध भइन् । आँखाबाट आँसु खसे । उनलाई नातिनीको पत्रको जवाफ दिन मन लाग्यो । तुरुन्तै सन्देश लेखिन्, ‘छोरी, तिमीले मेरो जिन्दगीको सबैभन्दा मिठो उपहार दिएकी छौ ।’
त्यस रात काकी सुतिनन् । डायरीका पानामा लेखिन्, ‘सम्बन्धहरूमा कहिले काँडा लाग्छन् भने कहिले फूल फुल्छन् । कहिले मौन पनि रहन्छन् । कहिले मुर्झाउँछन्, तर ती सधैँ त्यहीँ हुन्छन् । जरा गाडेर बसेका सम्बन्धलाई वेलावेला सिँचाइ गरिरहनुपर्छ, सम्बन्ध मर्दैन । यसले मलजल खोज्छ । सम्बन्ध भनेको पारिवारिक रगतको नाता मात्र होइन, सामाजिक धरोहर हो । जसलाई बचाउने जिम्मेवारी हाम्रै हो छोरी । तिमीले आज मभित्र ओइलाएको सम्बन्धका जराहरूमा मल र जल दिएर ब्युँझायौ, तिमीलाई धन्यवाद छ ।’
(लेखक वास्तुविज्ञानका सञ्चालक तथा दक्षिण एसियाली ज्योतिष महासंघका महासचिव हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण