शुक्रबार, ०२ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

देशभरका ६ महानगरमध्ये सबैभन्दा कम बेरुजु विराटनगरमा

बिहीबार, ०१ जेठ २०८२, १३ : ३१
बिहीबार, ०१ जेठ २०८२

समाचार सारांश

  • विराटनगर महानगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ, जम्मा ०.३२ प्रतिशत।
  • आर्थिक वर्ष २०८०/८१ मा विराटनगर महानगरको ६ अर्ब ४४ करोड ७६ लाख रुपैयाँको लेखापरीक्षण हुँदा २ करोड ८ लाख रुपैयाँ बेरुजु देखिएको छ।
  • मेयरका अनुसार, उनको नेतृत्वमा बेरुजु घटाएर ३१ करोडमा झारिएको छ।
  • ललितपुर दोस्रो कम बेरुजु भएको महानगर हो भने पोखरामा सबैभन्दा बढी बेरुजु देखिएको छ।

विराटनगर । देशका ६ वटा महानगरपालिकामध्ये विराटनगर महानगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ ।  

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदनअनुसार विराटनगर महानगरको ०.३२ प्रतिशत मात्र बेरुजु देखिएको हो । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा विराटनगर महानगरको ६ अर्ब ४४ करोड ७६ लाख रुपैयाँको लेखापरीक्षण हुँदा जम्मा २ करोड ८ लाख ५७ हजार रुपैयाँ बेरुजु देखिएको छ । 

आव २०८०/८१ मा २१ करोड बेरुजु फर्छ्यौट भएको भएको महानगरको आर्थिक प्रशासन महाशाखाका प्रमुख संजीवकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ६३ करोड ५७ लाख ४३ हजार बेरुजु रहेकोमा आव २०७८/७९ मा २२ करोड ९४ लाख ८१ हजार थपिएको थियो । 

जसमा आव २०७८/७९ मा १ अर्ब १९ करोड ४२ लाख ५२ हजार बेरुजु फर्छ्यौट गरिएको थियो । २०७८/७९ सम्म कूल बेरुजु ७६ करोड ९ लाख ७२ हजार रहेमामा आव २०७९/८० मा ७ करोड ११ लाख ५३ हजार बेरुजु थपिएको थियो । सो आवमा २३ करोड ८३ लाख फर्छ्यौट गरिएको थियो । 

२०७९/०८० सम्म कूल बेरुजु ५० करोड ३८ लाख २५ हजार बाँकी रहेकामा आव २०८०/०८१ मा २ करोड ८ लाख थपिएको सहित २१ करोड फर्छ्यौट भई आव २०८०/०८१ मा ३१ करोड ४६ लाख २५ हजार मात्र महानगरपालिकाको कूल बेरुजु बाँकी रहेको आर्थिक प्रशासन महाशाखाका प्रमुखले जानकारी दिए । 

जुन तीन आर्थिक वर्षअघि महानगरको कूल बेरुजु १ अर्ब ६३ करोड ५७ लाख ४३ हजार थियो ।  महानगरको बेरुजु हरेक आव घट्दै गएको उनको भनाइ थियो । आव २०७९/०८० मा ७ करोड ११ लाख ५३ हजार बेरुजु रहेकोमा २०८०/०८१ मा २ करोड ८ लाख मात्रै बेरुजु देखिएको छ । जुन ०.३२ प्रतिशत मात्रै हो । 

महानगरका मेयर नागेश कोइरालाले आफू नेतृत्वमा आएदेखि बेरुजुलाई शून्यमा झार्ने लक्ष्यका साथ काम गरिरहेको बताए ।  आफू नेतृत्वमा आउँदा झन्डै २ अर्ब बेरुजु रहेकामा हाल महानगरको कूल बेरुजु ३१ करोडमा झार्न सफल भएको मेयर कोइरालाको भनाइ छ ।

 मेयर कोइरालाले सुरुको वर्ष २२ करोड ९४ लाख ८१ हजार, दोस्रो वर्ष ७ करोड ११ लाख ५३ हजार र कार्यभार सम्हालेको तेस्रो वर्ष अर्थात् आव २०८०/०८१ मा २ करोड ८ लाख रुपैयाँ बेरुजु झार्न सफल भएको बताए । 

यसैबीच, विराटनगर महानगरपछि ललितपुर दोस्रो कम बेरुजु देखिएको महानगर हो । ललितपुरको १० अर्ब ६८ करोड ९७ लाख रुपैयाँ लेखापरीक्षण हुँदा ५ करोड ५५ लाख रुपैयाँ बेरुजु देखिएको छ, जुन कुल बजेटको ०.५२ प्रतिशत हो । भरतपुर महानगरपालिकामा ११ अर्ब १३ करोड ३ लाख रुपैयाँ लेखापरीक्षण गर्दा १० करोड २ लाख रुपैयाँ बेरुजु देखिएको छ, जुन ०.९० प्रतिशत हो । राजधानी काठमाडौँ महानगरमा भने २७ अर्ब ५२ करोड ४४ लाख रुपैयाँ लेखापरीक्षण गर्दा ६८ करोड २ लाख रुपैयाँ बेरुजु देखिएको छ । यो कुल रकमको २.४७ प्रतिशत हो ।

वीरगञ्ज महानगरपालिकामा ६ अर्ब २८ करोड १६ लाख रुपैयाँ लेखापरीक्षण हुँदा २२ करोड ७५ लाख रुपैयाँ बेरुजु देखिएको छ, जुन ३.६२ प्रतिशत हो । महानगरहरूमध्ये सबैभन्दा बढी बेरुजु पोखरा महानगरपालिकामा देखिएको छ । पोखराको १३ अर्ब ४६ करोड ७२ लाख रुपैयाँ लेखापरीक्षण हुँदा ५० करोड ४३ लाख रुपैयाँ बेरुजु देखिएको छ, जुन ३.७४ प्रतिशत हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप