शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा ओलीको चुनावी सभा : सत्तारुढ गठबन्धनका तीन नेतामाथि निसाना

आइतबार, २७ कात्तिक २०७९, २२ : ४४
आइतबार, २७ कात्तिक २०७९

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कर्णालीका तीन जिल्लामा आयोजित चुनावी सभालाई सम्बोधन गरे । सम्बोधनमा उनले अधिकांश समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  र प्रधानमन्त्री शेरबहादुर देउवामाथि दोषारोपण र गाली गर्नमै बिताए ।

प्रचण्ड र देउवापछि उनको निशानामा थिए माधव कुमार नेपाल । सुरुमा कालिकोटको रास्कोट नगरपालिकामा आयोजित कार्यक्रममा झण्डै ४५ मिनेट बिताएका ओलीले प्रचण्डको सक्दो आलोचना गरे । किनकि केही दिन अघिमात्रै प्रचण्डले रास्कोटमै पुगेर चुनावी सभालाई सम्बोधन गरेका थिए । प्रचण्डले त्यहाँ पुगेर ओलीलाई प्रतिगमनको मतियार भनेका थिए । त्यसको काउन्टर जवाफ दिँदै ओलीले आइतबार भने, ‘प्रचण्ड दक्षिणपन्थीका शरणमा पुगेपछि ताजा जनादेशका लागि संसद् विघटन गरेको हो, म प्रतिगमनकारी होइन, बरु रोक्नतर्फ लागेको छु ।’

उनले संसद् विघटन सही भएको दाबीसमेत गरे । आगामी निर्वाचनमा एमालेको कार्यदिशा र भावी रणनीतिबारे जानकारी गराउने भन्दा पनि उनले प्रचण्ड–देउवा विरुद्ध बोल्नमै समय खर्चिए ।

उनले प्रचण्डलाई अर्काको देशको हतियार ल्याएर नेपाली जनताको घाँटी रेटेको र देउवा गृहमन्त्री हुँदा सर्वसाधारण १२२ जनाको हत्या गरेको आरोप लगाए । ओलीले देउवा र प्रचण्डलाई प्रतिगमनकारीको आरोप समेत लगाए । उनले भने, ‘हाँडी घोप्टा जस्ताले देश चलाएर प्रतिगमनतिर लगे ।’

तीनवटै सभामा ओलीले यो देशमा जति काम भइरहेको छ, त्यो सबै एमालेले गरेको दाबी गरे । उनले भने, ‘देउवाजी पाँच पटक प्रधानमन्त्री भएर के काम गर्नुभयो ?’

उनले तीन वटै सभामा वृद्ध भत्ताका बारेमा एउटै वाक्य भने, ‘हामीले वृद्धभत्ता ल्यायौँ, विरोधी आत्तिए । अहिले दैनिक १३३ रुपैयाँ पाइरहेको छन् ।’

उल्लेखनीय छ, स्थानीय तहको निर्वाचनमा प्रचारप्रसारका क्रममा २७ चैतमा ओलीले एकै दिन दैलेखको दुल्लु, जुम्लाको सिंजा र कालिकोटमा चुनावी सभालाई सम्बोधन गरेका थिए । जनसहभागितालाई देखेर उनले एमाले विजयी हुने घोषणा समेत गरेका थिए । यद्यपि ओलीले सम्बोधन गरेर सबै ठाउँमा एमाले शून्य भयो ।

दैलेखको जम्बुकाँधमा झण्डै ३० मिनेटभन्दा बढी बोलेका ओलीले प्रधानमन्त्री देउवाको विरोध गर्नमै समय सकाए । त्यहाँ उनले देउवा गृहमन्त्री हुँदा एमालेका ५० प्रतिशत कार्यकर्तालाई पक्राउ गरेको आरोप लगाए ।

वीरेन्द्रनगरमा ४० मिनेट

दैलेख र कालिकोटको सभालाई सम्बोधन गरेर हेलिकप्टरमै प्रदेश राजधानी वीरेन्द्रनगर आएका ओलीले करिब ४० मिनेट भाषण गरे । त्यहाँ पनि उनले गठबन्धनविरुद्ध अभिव्यक्ति दिए । यहाँ भने उनले एमालेले ‘ट्वान्टी ग्यारेन्टी’ भन्ने चुनावी घोषणापत्रमै ल्याएको र अबको देश बनाउने पार्टी एमाले बाहेक अरु नभएको बताए ।

प्रचण्डलाई राजनीतिको बिचौलिया भन्दै भाषण सुरु गरेका ओलीले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी चुनावपछि सकिने घोषणा गरे । यतिमात्र होइन चुनावपछि देउवालाई प्रतिपक्षको सिटको को बस्ने भन्नेबारेमा सल्लाह गर्न उनले सुझाए । ‘अब एमालेले बहुमत ल्याउँछ र एमालेको सरकार बन्छ,’ उनले दाबीका साथ भने, ‘प्रचण्डजीको बिचौलिया जमाना छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप