बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अलपत्र आयोजना देखाउँदै भोट माग्दै बुटवलका नेता

मङ्गलबार, २९ कात्तिक २०७९, १५ : ४१
मङ्गलबार, २९ कात्तिक २०७९

गर्मी याममा बुटवलको सुख्खानगर र दीपनगर क्षेत्रका बासिन्दालाई खानेपानीको समस्याले सताउँछ । धारामा पानी नआउँदा उनीहरु मिलनचोकका सार्वजनिक धारासम्म पानी लिन जानुपर्ने समस्या छ । तर हरेक चुनाव आउँदा यही खानेपानीको समस्या समाधानको एजेण्डा बनाएर नेताहरु भोट माग्न आउने गरेका छन् । एमालेबाट यो क्षेत्रबाट तीन पटक चुनाव जितेका नेता विष्णु पौडेल, बुटवलका पूर्व मेयर एवं प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, कांग्रेसका नेता युवराज गिरी लगायतले यही खानेपानीको समस्या समाधान गर्छु भनेर भोट माग्दै आएका छन् ।

तर उनीहरूको ती घोषणा र भाषणले अहिलेसम्म राहत दिन नसकेको स्थानीय राजेन्द्र पौडेलले बताए । उनले भने, ‘६०÷६२ सालदेखि भुम्साको खानेपानी आयोजनाको काम पूरा गरेर यहाँ पानीको समस्या समाधान गर्छु भनेका छन् तर त्यो आयोजना अलपत्र हुँदा समस्या जहाँको त्यहीँ छ । अधिकांश घरमा पानीको मोटर चल्दैन ।’

२०५२ सालदेखि सुरु भएको झुम्सा खानेपानी आयोजना अलपत्र अवस्थामा छ । यसको काम कहिले पूरा हुन्छ भन्ने टुंगो छैन । खानेपानी संस्थान बुटवलका प्रमुख मोहन दत्तका अनुसार खानेपानी संस्थान र विभिन्न उपभोक्ता समितिमार्फत दैनिक २ करोड ७५ लाख लिटर पानी वितरण भइरहेको छ ।

बुटवलमा मात्र दैनिक ३ करोड ५० लाख लिटर खानेपानीको माग छ । अहिलेको अवस्थामा दैनिक ७५ लाख लिटर पानी अभाव छ । विज्ञहरूका अनुसार नियमित थपिँदै जाने आवादीले बर्सेनि १५ लाख लिटरभन्दा बढी खानेपानी माग थपिँदै जान्छ । जति गर्मी बढ्दै गयो, त्यति नै खानेपानीको माग बढ्ने गरेको छ ।

भुम्साको अलपत्र आयोजना पूरा गर्ने बहानामा भोट माग्ने तर कहिल्यै पूरा नगर्ने काम नेताहरूबाट भएको भन्दै बुटवलको मिलनचोकका व्यवसायी कृष्ण पाण्डेले आक्रोश पोखे । उनले भने, ‘नेताहरुले पटक–पटक खानेपानी समास्यको समाधान गर्छु भन्छन् तर कहिल्यै बाचा पूरा गर्दैनन् ।’

एमालेका नेता विष्णु पौडेलले सो आयोजना पूरा गरिनेछ भनी अहिले पनि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । उनले आफ्नो चुनावी प्रतिबद्धता पत्रमा झुम्सा खानेपानी आयोजना पूरा गरिने बताए पनि कहिले पूरा हुन्छ भन्ने उल्लेख गरेका छैनन् ।

बुटवलको गोलपार्कदेखि साढे १३ किलोमिटर टाढा रहेको पाल्पाको तिनाउ गाउँपालिकाको झुम्साबाट ल्याइने उक्त खानेपानी आयोजना सुरुमै पाइप खरिद गर्दा अनियमितता भएको उजुरी परेपछि अलपत्र अवस्था छ । ती पाइप अहिले बुटवलका दिपनगर जंगलमा लथालिङ्ग अवस्थामा राखिएका छन् ।

पाँच वर्षमा सम्पन्न गर्ने गरि सुरु गरिएको उक्त आयोजना समयमा सम्पन्न भएको भए बुटवलमा दैनिक ५० लाख लिटर खानेपानीको अभाव पूर्ति हुन्थ्यो । करोडौँ रुपैयाँ खर्च भइसके पनि खानेपानी संस्थानले खरिद गरेका पाइपमा अहिले खिया लागेको अवस्था छ । तर पनि नेताहरूले यस्तै अलपत्र आयोजना पूरा गर्ने आश्वासनसहित भोट माग्न व्यस्त छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुवन कार्की
भुवन कार्की
लेखकबाट थप