शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मधेसका हेभीवेट : कुन नेताको अवस्था कस्तो ?

बुधबार, ०७ मङ्सिर २०७९, १६ : ०१
बुधबार, ०७ मङ्सिर २०७९

तराई मधेस केन्द्रित दलहरुले प्रदेशसभामा केही ठाउँमा विजय हासिल गरे पनि प्रतिनिधिसभातर्फ अहिलेसम्म कुनै दलले विजय हात पारेका छैनन् ।

तराई मधेसको राजनीतिलाई नेतृत्व गर्दै आएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य अनिलकुमार झा, लक्ष्मणलाल कर्ण जारी मतगणना अनुसार पछाडि परेका छन् । माओवादी केन्द्रका सचिव मातृका यादव, नेता विश्वनाथ साह र कांग्रेसकी चित्रलेखा यादव पनि पछाडि परेका छन् ।

मधेस प्रदेशमा एमालेले अग्रता लिएको छ भने दोस्रो स्थानमा कांग्रेस र तेस्रो स्थानमा जसपा देखिएको छ । जनमत पार्टीले एक ठाउँमा अग्रता लिएको छ । सिरहा–२ मा पनि जनमतले कडा टक्कर दिइरहेको छ ।

लोसपा र माओवादी केन्द्रले दुई ठाउँमा अग्रता लिएको छ । चार ठाउँमा त स्वतन्त्र उम्मेदवारले लिड गरिरहेका छन् । नेकपा एकीकृत समाजवादीले पनि दुई ठाउँमा अग्रता लिएको छ । यी अग्रताहरु जुनसुकै बेला भत्किन सकिने खतरा पनि छ ।

सप्तरीमा जनमत पार्टीले नै लिड गरिरहेको छ । सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत जसपाका अध्यक्ष उपेन्द्र यादवभन्दा दोब्बर मतले अगाडि छन् । उपेन्द्र यादव यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । तर, यसपटक उनलाई सीके राउतले स्तब्ध तुल्याएका छन् ।

जसपा अध्यक्ष यादव आफ्नो प्रतिस्पर्धा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका लोसपाका नेता जेपी ठाकुरसँग हुनेमा ढुक्क थिए । तर निर्वाचनमा सीके राउतप्रति जनलहर देखियो ।

हालसम्मको मत परिणाम अनुसार जनमतका अध्यक्ष राउतले ३० हजार ६६९ मत हासिल गर्दा जसपाका अध्यक्ष यादवले १५ हजार १८५ मतमात्र पाएका छन् । सत्ता गठबन्धनका उम्मेदवार जेपी ठाकुरले ६ हजार १११ मत मात्र पाएका छन् ।

सप्तरी–१ मा जसपाका नेता नवलकिशोर साहले अग्रता लिएका छन् । त्यहाँ सीके राउतका दाइ जयकान्त राउत तेस्रो स्थानमा छन् । जसपाका नवल किशोर पाँच हजारभन्दा बढी मतले लिड गरिरहेका छन् भने दोस्रो स्थानमा कांग्रेसका रामदेव साह (तेली) छन् ।

सप्तरी–३ मा कांग्रेसका दिनेशकुमार यादवले अग्रता लिएका छन् भने एमालेका ताराकान्ता चौधरी दोस्रो र जनमत पार्टीका अनिश अन्सारी तेस्रो पोजिसनमा छन् ।

सप्तरी–४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरीले दुई हजार २९१ मत ल्याएर अग्रता बनाउँदा जनमतका सुकदेवप्रसाद साहले एक हजार ६५४ मत लिएर चौधरीलाई पछ्याइरहेका छन् । जसपाका बालकिशोर यादव तेस्रो स्थानमा छन् ।

सिरहा–१ मा नेपाली कांग्रेसका पदमनारायण चौधरीले सात हजार २६ मत ल्याएर अग्रस्थानमा छन् भने जसपा–एमाले गठबन्धनमा साझा उम्मेदवार रामशंकर यादवले चौधरीलाई पछ्याइरहेका छन् । रामशंकर यादव थोरै मतले पछाडि छन् । जनमतका उम्मेदवार युगलकिशोर साह तेस्रो स्थानमा छन् ।

सिरहा–२ मा जसपाका नेता राजकिशोर यादवले अग्रता लिएका छन् । यो क्षेत्रमा जसपा, कांग्रेस र जनमतका उम्मेदवार अगाडि पछाडि भइरहने भएका हुनाले कसले बाजी मार्छन् भन्ने प्रस्ट छैन ।

राजकिशोर यादव हालसम्म चारहजार ४७२ मत ल्याएर अग्रस्थानमा छन् भने चित्रलेखा यादवले चार हजार ३२९ र जनमत पार्टीका विनोद यादवले तीन हजार ९७७ मत पाएका छन् ।

सिरहा–३ मा जसपा र एमालेका साझा उम्मेदवार लिलानाथ श्रेष्ठले पाँच हजार ४९८ मत ल्याएर अग्रस्थानमा छन् भने सत्ता गठबन्धनका साझा उम्मेदवार विश्वनाथ साह पाँच हजार १०३ मत ल्याएर दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा जनमत पार्टीका दिनेशकुमार यादव छन् उनले एक हजार मत ल्याएका छन् ।

सिरहा–४ मा जसपाका विरेन्द्र महतोले अग्रता लिएका छन् । हालसम्म उनले ६ हजार ८७८ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका नेता धर्मनाथ साहले पाँच हजार १३७ मत ल्याएर दोस्रो स्थानमा छन् । यी दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा छ । तेस्रो पोजिसनमा जनमत पार्टीका वीरेन्द्र प्रसाद छन् ।

धनुषा–१ मा माओवादी केन्द्रका सचिव मातृका यादव पनि पछाडि परेका छन् । त्यहाँ जसपाका नेता दीपक कार्कीले अग्रता लिएका छन् । कार्की जसपा–एमलोका साझा उम्मेदवार हुन् । मातृका यादव दोस्रो स्थानमा छन् । उनीहरूलाई राप्रपाका मनोज मल्ल ठकुरीले पछ्याइरहेका छन् ।

धनुषा–२ मा एमालेका नेता उमाशंकर अरगरिया पनि पछाडि परेका छन् । त्यहाँ कांग्रेसका रामकृष्ण यादव पहिलो स्थानमा छन् भने नेकपा एकीकृत समाजवादीका नेता रामचन्द्र झा तेस्रो स्थानमा छन् ।

धनुषा–३ मा एमाले–जसपाका साझा उम्मेदवार एमालेकी जुली महतो सुरुदेखि अग्रस्थानमा छिन् । लोसपाका कार्यकारिणी सदस्य अनिल झा दोस्रो स्थानमा कायम छन् । उनीहरुलाई जनमत पार्टीका शम्भु नाथ साहले पछ्याइरहेका छन् । जुली महतोले १२ हजार ३८४ मतसहित लिड गरिरहेकी छन् । अनिल झाले हालसम्म १० हजार मत ल्याएका छन् ।

धनुषा–४ मा पनि एमालेका सचिव रघुवीर महासेठले अग्रता लिएका छन् । उनलाई कांग्रेसका महेन्द्र यादवले पछ्याइरहेका छन् । जसपाका महाजन यादव चौथो स्थानमा छन् । यो क्षेत्रमा जसपा–एमालेबीच गठबन्धन भएको छैन ।

महोत्तरीका हेभीवेट नेता माओवादी केन्द्रका गिरिराजमणी पोखरेल, लोसपाका अध्यक्ष महन्थ ठाकुरको अवस्था पनि नाजुक छ । महोत्तरी–१ मा माओवादी केन्द्रका नेता पोखरेललाई एमालेका लक्ष्मी महतोले पछाडि पारेका छन् । लक्ष्मीले चारहजार ५५७ म ल्याउँदा पोखरेलले तीन हजार ६६३ मत ल्याएका छन् । त्यहाँ पनि यी दुई नेतालाई जनमत पार्टीका राजकिशोर साहले पछ्याइरहेका छन् ।

महोत्तरी–२ मा लोसपाका नेता शरतसिंह भण्डारी सुरुदेखि नै अग्रता लिएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार भण्डारीले हालसम्म पाँच हजार ९६३ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेका एमालेका उम्मेदवार रामपरिक्षण यादवले दुई हजार ७३५ मत ल्याएका छन् । तेस्रो स्थानमा तमलोपाका डा.विजयकुमार सिंह र चौथो स्थानमा जनमत पार्टीका उमेशकुमार सिंह छन् ।

महोत्तरी–३ मा लोसपाका अध्यक्ष ठाकुरभन्दा स्वतन्त्र उम्मेदवार राम आधार कापर थोरै मतले अगाडि छन् । कापरले पाँच हजार २१७ मत ल्याएका छन् भने सत्ता गठबन्धनका साझा उम्मेदवार ठाकुरले पाँच हजार १३५ ल्याएका छन् । जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार जसपाका हरिनारायण यादव तेस्रो स्थानमा छन् ।

महोत्तरी–४ मा कांग्रेसका महेन्द्रकुमार राय र जसपाका डा.सुरेन्द्रकुमार यादवबीच प्रतिस्पर्धा भइरहेका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार महेन्द्रले हालसम्म चारहजार ८०९ मत ल्याएका छन् भने डा.सुरेन्द्रले दुई हजार ५५३ मत ल्याएका छन् । उनीहरुलाई जनमत पार्टीका मनोजकुमार साहले पछ्याइरहेका छन् ।

सर्लाहीमा दुई हेभीवेट नेताले एउटै क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका छन् । सर्लाही–२ मा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव र लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोबीच कडा प्रतिस्पर्धा छ । यहाँ कसले बाजी मार्छ भन्ने प्रस्ट भइसकेको छैन ।

एमालेका राजनारायण साह तेस्रो स्थानमा छन् । महेन्द्र र राजेन्द्र एउटै गठबन्धनमा भए पनि उनीहरुबीच मित्रवत प्रतिस्पर्धा भएको थियो ।

सर्लाही–१ मा लोसपाका रामप्रकाश चौधरी अग्रस्थानमा छन् । उनलाई स्वतन्त्र उम्मेदवार मानबहादुर खड्काले पछ्याइरहेका छन् । यहाँ जसपाका प्रमोद साह तेस्रो स्थानमा छन् ।

सर्लाही–२ मा पनि माओवादी केन्द्रका नरेन्द्र साह कलवार र एमालेका हरिप्रसाद उप्रेतीबीच कडा प्रतिस्पर्धा भइरहेको छ । जनमत पार्टीका त्रिभुवन कुमार सिंह तेस्रो पोजिसनमा छन् ।

सर्लाही–४ मा डा.अमरेशकुमार सिंहले अग्रता लिइरहेका छन् । तर कांग्रेसका नागेन्द्र कुमार पनि कमजोर देखिएका छैनन् । माओवादीबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार बनेकी मधुमाला कुमारी यादव सुरुमा अग्रस्थानमा थिइन् तर अहिले उनी तेस्रो स्थानमा छन् ।

रौतहट–१ मा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अग्रस्थानमा छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाललाई एमालेका उम्मेदवार अजयकुमार गुप्ताले पछ्याइरहेका छन् ।

रौतहट–२ मा कांग्रेसका आफताव आलमको दबदबा छ । आफू जेलमा रहेका कारण आफताव आलमले आफ्नो छोरा फिरदोस आलमलाई उम्मेदवार बनाए । तर उनलाई स्वतन्त्र उम्मेदवार किरणकुमार साहले पछाडि पारेका छन् । किरणलाई जसपाले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बने । जसपाका शैलेन्द्र साह तेस्रो स्थानमा छन् ।

रौतहट–३ मा स्वतन्त्र उम्मेदवार प्रभु साहले लिड गरिरहेका छन् । त्यहाँ दुई जना स्वतन्त्र उम्मेदवारकै बीचमा कडा प्रतिस्पर्धा रहेको छ । प्रभु साहलाई अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाशले पछ्याइरहेका छन् । माओवादी केन्द्रका उम्मेदवार रविन्द्र पटेललाई पार्टीले कारवाही गरिसकेको छ । तैपनि उनी तेस्रो स्थानमा छन् ।

रौतहट–४ मा कांग्रेसका देवप्रसाद तिमल्सिना र एमालेका उद्धवप्रसाद रेग्मीबीच प्रतिस्पर्धा छ ।

बारा–१ का एमालेका अच्युतप्रसाद मैनाली र कांग्रेसका उमाकान्त चौधरीबीच प्रतिस्पर्धा छ । उनीहरु कहिले अगाडि कहिले पछाडि हुने गरेका छन् । अहिले अग्रस्थानमा एमालेका उम्मेदवार अच्युत प्रसाद छन् । बारा–२ मा जसपाका नेता रामसहाय यादवलाई स्वतन्त्र उम्मेदवार रामकिशोर प्रसाद यादवले पछाडि पारिसकेका छन् । माओवादी केन्द्रका शिवचन्द्र कुशवाहा तेस्रो स्थानमा छन् । बारा–३ मा जसपाका रामबाबुकुमार यादवलाई एमालेकी ज्वालाकुमार साहले पछाडि पारिसकेकी छन् । लोसपाका लालबाबु सिंह भुइहार पनि उनीहरुलाई पछ्याइरहेका छन् ।

बारा–४ मा नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठले अग्रता लिएका छन् भने एमालेका अकवाल मियाँले उनलाई पछ्याइरहेका छन् । लोसपाबाट मियाँले टिकट नपाएपछि उनी एमालेको टिकट लिएर चुनावी मैदानमा उत्रिएका हुन् ।

मधेस प्रदेशका पर्साबाट कांग्रेसले आफ्नो खाता खोलेको छ । पर्सा–२ बाट रमेश रिजालले चुनाव जितिसकेका छन् । उनले ३१ हजार १४२ मत ल्याएका छन् । उनका प्रतिस्पर्धा जालिम मियाँ मंसुरीले २५ हजार ६१२ मत ल्याएका छन् ।

पर्सा–१ मा जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार जसपाका प्रदीप यादवले अग्रता लिएका छन् । उनलाई कांग्रेसबाट विद्रोह गरेका स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीले पछ्याइरहेका छन् । राप्रपाका किरणमान डंगोल तेस्रो स्थानमा छन् । पर्सा–२ मा अजयकुमार चौरसिया अग्रस्थानमा छन् । उनलाई जसपाका सुरेन्द्रप्रसाद कर्मीले टक्कर दिइरहेका छन् । राप्रपाका नरेशकुमार साह तेस्रो स्थानमा छन् ।

पर्सा–३ मा एमालेका राजकुमार गुप्ताले अग्रता लिएका छन् । उनलाई कांग्रेसका सुरेन्द्रकुमार चौधरीले पछ्याइरहेका छन् । नेपाल सुशासन पार्टीका नेता राजकुमार यादव तेस्रो स्थानमा छन् ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप