शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिके राउतको उदय : संशय एकातिर, जनमत बढ्दै जाने आधार अर्कोतिर

बिहीबार, ०८ मङ्सिर २०७९, १२ : २८
बिहीबार, ०८ मङ्सिर २०७९

सिके (चन्द्रकान्त) राउतले देश–विदेशमा बसेर हेर्दाहेर्दै देशमा जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन सम्पन्न भए । अमेरिकाबाट कम्प्युटर वैज्ञानिकको जागिर छाडेर स्वदेश फर्केका राउत ‘स्वतन्त्र मधेस गठबन्धन’ समूह निर्माण गरी पृथकतावादी आन्दोलनमा लागेका थिए । हुँदाखाँदाको सानदार जागिर छाडेर राजनीतिक आन्दोलनमा प्रवेश गर्न राउतलाई देशको राजनीतिक परिवेशले नै प्रेरित गरेको थियो ।

११ वर्षअघि (सन् २०११ मा) स्वदेश फर्केका उनी सुरुमा मधेसको अवस्था बुझ्नतिर लागे । मधेस घुमेर उनले बनाएको डकुमेन्ट्री फिल्म ‘ब्लाक बुद्धज्’मा मधेसको संक्षिप्त इतिहाससँगै मधेसी निम्न वर्गको वर्तमान देखाइएको छ । 

मधेसको गरिबी, विभेद, वर्गीय र जातीय खाडल बुझेका राउतले मधेसी जनताको मुक्तिको मार्ग किन पृथकतामै देखे ? यो प्रश्न भने रहस्यकै गर्भमा छ ।   

२४ फागुन २०७५ मा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग ११ बुँदे सहमति गरेपछि उनको पाइला मूलधारको राजनीतितर्फ मोडिएको हो । ०७५ चैतमा ‘स्वतन्त्र मधेस गठबन्धन’को नाम बदली जनमत पार्टीको जन्म भएको थियो, जसमा राउत अध्यक्ष छन् । 

वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा जनमत पार्टीले सप्तरीमा दुई पालिकामा नेतृत्व पाएको छ । यसपालि देशभरबाट ५४ प्रतिनिधिसभा सदस्यका लाागि उम्मेदवार उठाएको यस पार्टीले एक स्थानमा निर्वाचित भइसकेको भने तराई मधेसका अधिकांश क्षेत्रमा राम्रो उपस्थिति देखाएको छ । 

सप्तरी २ मा उम्मेदवार रहेका राउतले यसपालि मधेसका चर्चित नेता उपेन्द्र यादवलाई भारी (१८०६३) मतान्तरले पराजित हराए, योसँगै उनको चर्चा चुलिएको छ । 

मधेस टुक्र्याउने पृथकतावादी आन्दोलनबाट उदाएका उनी संसदीय राजनीतिमा एकैचोटि मोडिएकोप्रति धेरैले आशंका पनि गर्छन् । मधेसमा नेपालको लोकतान्त्रिक आन्दोलनमा सहभागी नेता थुप्रै छन् । तर, उनीहरु सत्ता खिचातानीमै अल्झेको अवस्थामा सिके राउत उदाउनुलाई अनेक प्रश्न र संशयका दृष्टिले हेरिएको छ ।

राउतको राजनीति सरल रेखामा नहिँडेको र  बांगोटिंगो रहेको विश्लेषक चन्द्रकिशोर बताउँछन् । ‘जसरी रवि लामिछानेप्रति अनेकौँ अनुमान र आशंका छ, दक्षिणपन्थी हुन् कि भन्ने खालको, उसरी नै सिके राउतप्रति पनि प्रश्न छन्,’ उनी भन्छन्, ‘हिजो उनी राजनीतिक रिङभन्दा बाहिर थिए, अब उनी रिङभित्र छिरे । उनले डेलिभरी कति दिन्छन्, यसैमा उनको राजनीतिक भविष्य निर्धारित हुन्छ ।’

राउतले स्वतन्त्र मधेसको नारालाई परित्याग गरी, नेपाल राज्यसमक्ष समर्पित भई संसदीय राजनीतिको सुरुवात गर्नु र प्रदेशको संयन्त्रलाई समेत स्वीकार गर्नुलाई विश्लेषक चन्द्रकिशोर सकारात्मक मान्छन् ।  

विश्लेषक तुलानारायण साह जनमत पार्टीलाई केही फरक समूह मान्छन् । ‘राउतले मधेसका निम्न वर्ग र दलित समुदायलाई आफ्नो टार्गेट बनाए,’ साह भन्छन्, ‘उमेरका हिसाबले १५ देखि ३० वर्षका युवालाई उनले आफ्नो कार्यकर्ता बनाउँदै लगे । यस पार्टीको सबैभन्दा मजबुत संगठन प्रवासमा छ । अहिलेको मधेस प्रदेशबाट लाखौँ मानिस खाडी लगायत देशमा रोजगारीका लागि गएका छन् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप