शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नयाँ नेतृत्वमा बौरिएको राप्रपा

​लिङ्देनले ०७४ मा बिउ जोगाए ०७९ मा फैलाए
शनिबार, १० मङ्सिर २०७९, १६ : ०८
शनिबार, १० मङ्सिर २०७९

 फुट्ने, जुट्ने, टुक्रिने र क्षयीकरणको शृङ्खलाबाट गुज्रिँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आम निर्वाचन २०७९ मा आइपुग्दा पुनः बौरिएको छ । गतवर्ष सम्पन्न पार्टीको महाधिवेशनबाट राजेन्द्र लिङ्देन नेतृत्वमा आएसँगै पूर्वपञ्चहरुको बाहुल्यता रहेको पार्टीमा पुनः जतमत केही आकर्षित हुँदै ‘परम्परागत शक्ति’का रूपमा अगाडि आएको हो ।

तत्कालीन अध्यक्ष कमल थापाको नेतृत्वमा पार्टी कमजोर अवस्थामा पुगेको भन्दै लिङ्देनसहितका युवा नेताहरूले पार्टी पुनर्गठनका लागि नेतृत्वका हस्तान्तरणको सवाल जोडतोडले उठाएका थिए ।  पार्टीभित्रको चर्को बहस र नेतृत्व परिवर्तनको पक्षमा देखिएको उभारको बलमा गत वर्षको मङ्सिर दोस्रो साता सम्पन्न महाधिवेशनबाट लिङ्देन अध्यक्षमा निर्वाचित भएका थिए । उसो त दोस्रो जनआन्दोलनको सफलतापछि कमल थापाले नै राप्रपा नेपाल गठन गरेर पार्टीलाई २०७० को चुनावबाट सफलता दिलाएका थिए । हिन्दुराष्ट्र र राजतन्त्रको मुद्दाको बलमा थापाले २०७० मा पार्टीलाई २४ सिटको अवस्थामा पुर्‍याए पनि सत्ता स्वार्थमा लाग्दा पार्टी विभाजन र जनविश्वास गुमेर कमजोर अवस्थामा पुगेको थियो । पार्टीको एकता महाधिवेशनबाट विजयी भएर राजेन्द्रले पार्टी अघि बढाउँदै गर्दा पराजित भएका कमल थापाले भने राप्रपा नेपाल पुनर्गठन गरेका छन् । तर, थापाको पार्टीको चुनावमा कुनै प्रभाव देखिएको छैन । एमालेको चुनाव चिह्नबाट मकवानपुरमा प्रतिस्पर्धी बनेका थापाको विजय हुन सकेन ।

लिङ्देनको नेतृत्वमा एकीकृत भएको राप्रपाको अवस्था एक वर्षकै बीचमा कसरी सुधार भयो त  ? लिङ्देनले यो निर्वाचनबाट राप्रपालाई राष्ट्रिय पार्टीको हैसियत दिलाउनुको पछाडिको यथार्थ नयाँ नेतृत्वप्रति युवाको आशा र प्रमुख राजनीतिक शक्तिप्रतिको वितृष्णा नै हो । देशमा बढ्दो भ्रष्टाचार, महँगी, कालोबजारी अराजकता मौलाउँदै जाँदा जनताले विकल्प खोज्नु स्वाभाविकै हो, त्यसमाथि युवालाई जोड्दै परम्परागत राजनीतिक शक्तिको पक्षमा सकारात्मक माहौला सिर्जना गर्न सक्नु लिङ्देनको राजनीतिक सफलता हो । ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो’ भन्ने उनको सार्वजनिक अभिव्यक्तिका साथै हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डामा विश्वास राख्नेमाथि लिङ्देन भरपर्दो विकल्पको रूपमा रुचाइएको बुझ्न सकिन्छ ।

उसो त लिङ्देनले आफ्नै कार्यकालमा भ्रटाचारविरोधी अभियन्ता ज्ञानेन्द्र शाही, विवेकशील साझाका रवीन्द्र मिश्रसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई पार्टीमा प्रवेश गराएर पार्टीको पक्षमा थप माहौल बनाए ।

यस्तो पृष्ठभूमिमा सत्ता गठबन्धनको रापताप र राष्ट्रिय स्वतन्त्र पार्टीको उदयका बीच राप्रपाले प्रतिनिधिसभामा ६ सिट जितिसकेको छ भने एक सिटमै अझै अग्रता छ । यद्यपि राप्रपाले पनि केही सिटमा भने एमालेसँग तालमेल गरेको थियो ।

निर्वाचनको मतगणनाअनुसार समानुपातिकमा थ्रेस होल्ड पार गर्दै ४ लाख बढी मत पाइसकेको राप्रपाले अझै केही मत थप्ने निश्चित छ । यो हिसाबले राप्रपाले प्रतिनिधिसभामा १४ सिट जित्ने लगभग निश्चित छ ।

२०४६ को जनआन्दोलनपछि २०४७ जेठ १५ गते राप्रपाको स्थापना भएको थियो । त्यतिबेलै राप्रपा थापा र राप्रपा चन्दका रूपमा उदाएको पार्टी योबीचमा आन्तरिक विवाद र विभाजनमा अलमलिँदा कमजोर बनेको अवस्थामा लिङ्देनले पार्टीलाई निर्वाचनबाट पुनर्जीवन दिन सफल त भएका छन् नै आगामी दिनमा कसरी हाँक्छन् भन्ने हेर्न बाँकी नै छ । तर, लिङ्देन त्यस्ता नेता हुन्, जसले २०७४ सालको निर्वाचनमा देशभर पार्टी हार्दा झापा–३ बाट पार्टीको बिउ जोगाएका थिए । अहिले त्यही बिउ हुर्काउँदै राप्रपालाई फैलाउन सफल भएका छन् ।

राप्रपाको हलो चिह्नबाट हालसम्म प्रतिनिधिसभामा झापा–३ बाट लिङ्देन, चितवन ३ बाट विक्रम पाण्डे, मकवानपुर १ बाट दीपक बहादुर सिंह, नवलपरासी २ बाट ध्रुवबहादुर प्रधान, जुम्लाबाट ज्ञानेन्द्र बहादुर शाही, बाँके २ बाट धवल शमशेर राणा विजयी भएका छन् । यस्तै रुपन्देही ३ मा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा विजयी भएका छन् ।

उसो त प्रदेशसभातर्फ प्रत्यक्षका साथै समानुपातिकतर्फ पनि राप्रपाले राम्रो मत पाएको छ । प्रदेशसभामा प्रत्यक्षतर्फ प्रदेश १ मा २ सिट जितेको राप्रपाले बागमती प्रदेशबाट ६ सिट जितेको छ । अझै १ सिटमा अग्रता हुँदा लुम्बिनीमा पनि १ सिटमा विजय र एकमा अग्रता छ ।

को हुन् राजेन्द्र लिङ्देन ?

राजेन्द्र लिङ्देन मूलतः पूर्वपञ्च हुन् । राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलबाट राजनीति सुरु गरेका उनले गत वर्ष अध्यक्ष चयन हुनुअघि नै पार्टीका विभिन्न तहमा काम गरिसकेका थिए । ५७ वर्षीय लिङ्देन २०३८ देखि तत्कालीन राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको विभिन्न तहमा २०४६ सम्म सक्रिय रहे । ०४९ देखि ०५४ सम्म राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनको संस्थापक अध्यक्ष बनेका उनी बहुदलीय व्यवस्थापछिका स्थानीय निर्वाचनमा जनप्रतिनिधि पनि बनेका थिए ।

यस्तै उनी जिल्ला विकास समिति झापाको सभापति पनि बनेका थिए । उनलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले जिविस झापाको सभापतिमा बनाएका थिए । त्यतिबेला उनीमाथि दुर्व्यवहार र आक्रमण समेत भएको थियो । लिङ्देनले त्यतिबेला आफ्नो हत्या प्रयास समेत भएको र भाग्यले बाँच्दा अहिले नाफाको जीवन बिताउन पाएको बताउने गरेका छन् । उनै लिङ्देनले राप्रपालाई बलियो राष्ट्रवादी शक्ति बनाउने प्रतिबद्धता जनाउँदै आएका छन् ।

लामो राजनीतिक यात्रा भएपनि लिङ्देनको संसदीय यात्रा भने २०७० सालबाट सुरु भएको हो । उनी २०७० को पहिलो संघीय संसदमा उनी झापा–३ बाट विजयी भएका थिए । कांग्रेसका प्रभावशाली नेता कृष्ण प्रसाद सिटौलालाई हराएका उनले मङ्सिर ४ को निर्वाचनमा पनि सिटौलालाई नै फराकिलो मतान्तरले हराएका हुन् ।  लिङ्देनले ४० हजार ६६२ मत पाउँदा सिटौलाले ३७ हजार ३८६ मत प्राप्त गरे ।

संसदीय यात्रामा धवलदेखि दीपक सिंहसम्म राजेन्द्रको सारथि

राप्रपालाई पुनर्जीवन दिन जति राजेन्द्रलाई जस दिने काम भइरहेको छ राजेन्द्रलाई सफल बनाउने भूमिकामा पार्टीका महामन्त्री धवलशमशेर राणाको भूमिका त्यतिनै छ । धवलकै बलियो समर्थन र लबिङमा राजेन्द्र लिङ्देन नेतृत्वमा आएको राप्रपाका नेताहरू बताउँछन् । उनै धवल संसदीय यात्रामा लिङ्देनको सारथिका रूपमा विजयी भएका छन् ।

धवलले बाँके २ बाट विजय हासिल गरेका हुन् । उनले २९ हजार ५७७ मतका साथ विजयी हासिल गरेका हुन् ।  नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वमेयर समेत रहेका राणा २०६३ को परिवर्तनपछि राप्रपा नेपालमा लागेका थिए । उसो त उनी मरिचमानसिंह श्रेष्ठको ‘सेभ द नेशन संगठन’ मा पनि लागेका थिए ।

यसैगरी चितवन ३ बाट विजयी भएका विक्रम पाण्डेको परिचय राजनीतिअघि निर्माण व्यवसायीको हो । अहिले राजनीति र व्यवसायलाई सँगै अघि बढाउँदै आएका उनी सूर्यबहादुर थापाले गठन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा स्थापनाकालदेखि नै आवद्ध भएका थिए ।  ०७० सालको संविधान सभा सदस्य निर्वाचनमा तत्कालीन चितवन–५ बाट विजयी भएका उनी भूमिसुधार र वन मन्त्री भएका थिए । उनै पाण्डेले मङ्सिर ४ को निर्वाचनमा चितवन ३ बाट ३५ हजार ६० मतका साथ विजय हासिल गरेर राजेन्द्रको बलियो सारथि बनेका छन् ।

यसैगरी लिङ्देनका अर्का सारथि दीपक बोहरा रुपन्देही ३ बाट विजयी भएका छन् । उनले गृहमन्त्री बालकृष्ण खाँणलाई हराउँदै विजय हासिल गरेका हुन् । विजयी भएका बोहराले ३६ हजार ६ सय ४८ मत प्राप्त गरे ।

चार दशकदेखि राप्रपाको राजनीतिमा क्रियाशील बोहरा २०३६ सालमै रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए । यस्तै २०४२ सालको राष्ट्रिय पञ्चायतमा पनि विजयी उनी २०७० सालमा रुपन्देही क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा विजयी भएका थिए । बोहरा पटक पटक मन्त्री समेत भइसकेका नेता हुन् ।

यसैगरी लिङ्देनको अर्का संसदीय मोर्चाको सारथिका रूपमा प्रवक्ता ज्ञानेन्द्र शाही पनि आएका छन् । भ्रष्टाचारविरोधी अभियन्ताको रूपमा छवि बनाएका शाही जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । स्थानीय चुनाव अघि राप्रपामा प्रवेश गरेका उनले जुम्लाबाट २२ हजार ८१९ मत ल्याएर विजय हासिल गरे ।

यसैगरी नवलपरासी २ बाट चुनाव जितेका ध्रुवबहादुर प्रधान र मकवानपुर १ बाट विजयी दीपक बहादुर सिंह पनि लिङ्देनको संसदीय सारथि बनेका छन् ।  प्रधानले ३४ हजार ७६४ मतका साथ विजयी हासिल गर्दा सिंहले २७ हजार ७२६ मतका साथ संसदीय यात्रा तय गरेका हुन् । पटक पटक मकवानपुरबाट चुनाव लड्दै आएका उनी पहिलो पटक विजयी भएका हुन् । उनले यो पटक विजय मात्रै हासिल गरेनन् आफ्नै पूर्व नेता कमल थापासँगै कांग्रेसकी सहमहामन्त्री डीना उपाध्यायलाई पनि पराजित गरे । उनी लामो समय कमल थापाको सहयोगीको रूपमा थिए ।

पूर्वपञ्च पृष्ठभूमिका सिंहको जन्म २०१५ सालमा धनकुटामा भएको थियो । पछि उनको परिवार हेटौँडा बसाइँ सरेको हो ।  दीपकको राजनीतिक यात्रा २४ वर्षको उमेरदेखि नै सुरु भएको थियो । तत्कालीन नेपाल राष्ट्रिय युवा संघको अध्यक्षसमेत बनेका  उनको राजनीतिक यात्रा अनवरत चलिरहेको छ । हेटौँडाका सफल उद्योगी उनी राप्रपाका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य समेत हुन् ।

यसैगरी ध्रुवबहादुर प्रधान राप्रपाका उपाध्यक्ष समेत हुन् । उनी नेपाल प्रहरीको पूर्वआईजीपीका साथै नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष समेत हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप