मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

सुर्खेत बहुमुखी क्याम्पसमा भर्ना शुल्ककाे विरोध

मङ्गलबार, २३ असार २०८३, १६ : ४१
मङ्गलबार, २३ असार २०८३

सुर्खेत । वीरेन्द्रनगरमा रहेको सुर्खेत बहुमुखी क्याम्पसमा एलएलबी प्रथम वर्षको भर्ना महँगो भएको भन्दै विद्यार्थीले विरोध जनाएका छन् ।

प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले अत्यधिक भर्ना शुल्क पुनरावलोकन गरी न्यायोचित शुल्क कायम गरिदिन भन्दै क्याम्पस प्रशासनलाई ‘अल्टिमेटम’ दिएका हुन् ।

उनीहरूले भर्ना शुल्क तत्काल पुनरवलोकन गर्न तथा अन्य आङ्गिक क्याम्पससरह न्यायोचित तथा समान शुल्क कायम गर्न अनुरोध गरेका छन् ।

साथै, शुल्क निर्धारणको आधार, मापदण्ड तथा निर्णय प्रक्रिया सार्वजनिक गर्नुपर्ने, यदि अस्वाभाविक रूपमा बढी शुल्क निर्धारण गरिएको पाइएमा सो सच्याई विद्यार्थीबाट लिइएको बढी रकम फिर्ता वा आगामी किस्तामा समायोजन गर्नुपर्ने माग विद्यार्थीले राखेका छन् ।

‘कर्णाली प्रदेश अन्य प्रदेशको तुलनामा पिछडिएको प्रदेश हो, उच्च शिक्षामा सबैको पहुँच न्याय र गुणस्तरीय शिक्षा सुनिश्चित गर्नुपर्ने र विद्यार्थीहरूको आर्थिक रूपमा समस्यामा परेका छन्,’ विद्यार्थी केशव साउँदले भने, ‘विशेषगरी न्यून आय भएका परिवारका विद्यार्थीहरूको शिक्षामा प्रतिकूल असर परेको छ ।’

उनका अनुसार सुर्खेत बहुमुखी क्याम्पसले एलएलबी प्रथम वर्षको भर्नाका लागि ३३ हजार निर्धारण गरेको छ । ‘त्रिभुवन विश्वविद्यालय अन्तर्गतका अन्य आङ्गिक क्याम्पसहरूमा सोही कार्यक्रमका लागि कम शुल्क लिएको सार्वजनिक सूचनाबाट देखिन्छ,’ उनले भने ।

यो शुल्क विद्यार्थीहरूको आर्थिक अवस्थाको तुलनामा अत्यधिक भएको उनले बताए । ‘यसका कारण धेरै विद्यार्थीहरू आर्थिक रूपमा समस्यामा परेका छन्, केही विद्यार्थीहरूले भर्ना शुल्क जुटाउन ऋण लिनुपर्ने, आफन्तसँग सापटी माग्नुपर्ने तथा अन्य आर्थिक कठिनाइ भोग्नुपर्ने अवस्था सिर्जना भएको छ,’ उनले थपे, ‘यस्तो अवस्थाले आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीहरूको उच्च शिक्षामा पहुँचसमेत प्रभावित हुने जोखिम देखिएको छ ।’

उनका अनुसार भर्नाका क्रममा विभिन्न शीर्षकमा लिइने शुल्कहरूको आधार, आवश्यकता तथा कानुनी औचित्यबारे विद्यार्थीहरूलाई स्पष्ट जानकारी उपलब्ध गराइएको छैन।

विद्यार्थीले ज्ञापनपत्र क्याम्पस प्रशासनलाई बुझाएको र मागलाई गम्भीरतापूर्वक नलिए सम्बन्धित निकायमा जाने उनले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप