शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक सुरक्षा कोष पाँचौँ वर्षमा : नयाँ नयाँ योजना अघि सार्दै, सबै क्षेत्रका श्रमिकलाई समेट्दै

आइतबार, ११ मङ्सिर २०७९, २० : ३५
आइतबार, ११ मङ्सिर २०७९

विदेशिएका कामदारलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुने भएका छन् । सामाजिक सुरक्षा कोषले निजी क्षेत्रमा कार्यरत श्रमिक मात्रै नभएर अनौपचारिक क्षेत्रमा कार्यरत, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत आबद्ध गराउन लागेको हो । 

त्यसका लागि कोषले कार्यविधि तयार पारेर पारित समेत गरिसकेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट पारि गरेसँगै यो कार्यविधि कार्यान्वयनमा आउनेछ । 

कोष आजदेखि पाँचौँ वर्षमा प्रवेश गरेको छ । आफ्नो वार्षिकोत्सव अवसरमा सो कार्यक्रमको घोषणा गर्ने तयारी गरेको थियो । मन्त्रीस्तरीय निर्णय हुन बाँकी रहेकाले घोषणा गर्न नसकिएको कोषले जनाएको छ । 

कोषका सञ्चालक समिति अध्यक्ष तथा मन्त्रालयका सचिव एकनारायण अर्यालले अबको एक हप्ताभित्रमा ठूलै निर्णय हुने बताए । 

वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सचिव अर्यालले अब निजी क्षेत्रका नभएर अनौपचारिक तथा वैदेशिक रोजगारीमा गएकाहरू समेत कोषमा आबद्ध हुने बताए ।

वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकले २ हजार रुपैयाँ जम्मा गरेको खण्डमा कोषमा आबद्ध हुन पाउने उनको भनाई छ । त्यसका लागि आवश्यक पर्ने सफ्टवेयर समेत निर्माण कार्य अन्तिम चरणमा पुगेको सचिव अर्यालले बताए । 

चार वर्षको अवधिमा ३ लाख ७५ हजार ९१४ योगदानकर्ताहरू सूचीकृत भएका छन् । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा श्रमिक तथा कर्मचारीको २६ अर्ब भन्दा बढी रकम सङ्कलन भएको छ । हालसम्म कोषले सञ्चालन गरेका विभिन्न योजना बापत ५० हजार ८०० योगदानकर्ता र तिनका परिवारलाई २ अर्ब ७० करोड रकम भुक्तानी गरिएको कोषले जनाएको छ । 

कोषका प्रवक्ता विवेक पन्थीका अनुसार औषधोपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा ३१ करोड ७८ लाख, दुर्घटना तथा आशक्ततता सुरक्षा योजनामा ३ करोड ७२  लाख, आश्रित परिवार सुरक्षा योजना अन्तर्गत २७० मृतक योगदानतकर्ताको आश्रित परिवारलाई ५ करोड ९ लाख र बाँकी अवकाश योजना अन्तर्गत भुक्तानी दिइएको छ । अवकाश दाबी योजनाका लागि २ अर्ब १८ करोड ५२ लाख वितरण गरिएको कोषले जनाएको छ । 

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ मा समय सापेक्ष संशोधन गर्दै सुविधाहरूलाई योगदानकर्तामैत्री बनाउँदै लगिएको कोषले जनाएको छ । कार्यविधिको तेस्रो संशोधनले योगदानकर्ताको पति वा पत्नीको समेत औषधी उपचार खर्च र योगदानकर्ताको घातक रोगको १० लाख सम्मको उपचार खर्च कोषले भुक्तान गर्ने गरी सुविधा थप गरेको छ । 

२०७८ को मङ्सिर १० मा कोषमा सूचीकृत भएका प्रतिष्ठानहरूको सङ्ख्या १६ हजार ७८३ थियो । २०७९ को मङ्सिर १० मा यो सङ्ख्या बढेर १७ हजार ५०६ पुगेको कोषले जनाएको छ । 

भदौ ८ गते विराटनगर र सिमरामा शाखा कार्यालय स्थापना गरेको थियो । भने पाँचौँ वार्षिकोत्सव अवसरमा बुटवल र नेपालगञ्जमा सम्पर्क कार्यालयको शुभारम्भ गरेको छ । 

उक्त कार्यक्रम बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले कोषलाई जति सकिन्छ प्रभावकारी बनाउँदै लगिने बताए । कोष सञ्चालनका लागि विभिन्न खालको समस्या तथा कमीकमजोरी रहेको भन्दै ति समस्या समाधान गर्दै लैजाने प्रतिबद्धता जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप