शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश : चुनावी प्रतिस्पर्धामा रहेका ७ मन्त्रीले जित्दा एक पराजित

बुधबार, १४ मङ्सिर २०७९, १४ : ४४
बुधबार, १४ मङ्सिर २०७९

गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा बागमती प्रदेशका ७ जना मन्त्री विजयी भएका छन् । प्रदेशका १२ जिल्लाका  निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन दलहरूबाट प्रदेशका ७ बहालवाला मन्त्रीहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदमा चुनाव जितेका हुन् । कुल १८ जना मन्त्रिमण्डल रहेको बागमती प्रदेश सरकारका ८ मन्त्री प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका थिए ।

प्रदेशको १३ जिल्ला मध्ये दोलखामा मत गणना हुनै बाँकी छ । प्रदेश तर्फको २ वटा क्षेत्र रहेको दोलखाको केही केन्द्रहरुमा मतदानमा विवाद भएपछि पुनः मतदानको लागि निर्वाचन आयोगले मिति तोकेको छ । सो क्षेत्र बाहेक अन्य सबै जिल्लाको प्रत्यक्ष तर्फको मत गणना कार्य सम्पन्न भइसकेको छ ।

 प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे धादिङ क्षेत्र नम्बर–१ बाट विजयी भएका छन् । उनले सो क्षेत्रमा आफ्ना पुराना सहकर्मी नेकपा एमालेका भूमि प्रसाद त्रिपाठीलाई हराउँदै चुनाव जितेका हुन् । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका मुख्यमन्त्री पाण्डेले ३५ हजार ९३४ मतसहित जित हात पार्दा एमालेका त्रिपाठीले २७ हजार ९५३ मत पाएका थिए ।

संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ प्रदेशसभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर–१ (क)बाट दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन् । श्रेष्ठले ६ हजार ३०० मत ल्याएर विजयी हुँदा उनको निकटतम प्रतिद्वन्द्वी राप्रपाका नबिन शाहीले ३ हजार ५०४ मत पाएका थिए ।

एकीकृत समाजवादी चितवन जिल्लाको इञ्चार्जसमेत रहेका कृष्णप्रसाद शर्मा खनाल बागमती प्रदेश सरकारको प्रवक्ता एवम् बहालवाला आन्तरिक मामिला तथा कानुन मन्त्री हुन् । हालै सम्पन्न निर्वाचनमा खनाल प्रदेश सांसद्का लागि चितवन क्षेत्र नम्बर १ (ख) बाट उम्मेदवार रहेका थिए । उनले चुनावी प्रतिस्पर्धामा जित हात पार्दा एमालेका प्रकाश खनाल शैलेश पराजित भए । खनालले १५ हजार ५३६ मत पाउँदा शैलेश १४ हजार ८०२ मत पाए ।

काठमाडौं क्षेत्र नम्बर ७ (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार रहेका बसन्त प्रसाद मानन्धरले चुनाव जितेका छन् । प्रदेशसभाको दोस्रो इनिङका लागि चुनीएका मानन्धर प्रदशेको बहालवाला खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री हुन् । उनले एमालेका जीवन मानन्धरलाई पराजित गरेका हुन् । एकीकृत समाजवादीबाट उम्मेदवार रहेका मन्त्री बसन्तले ५ हजार ८६६ मतसहित चुनाव जित्दा एमालेका जीवनले ४ हजार ५५५ मत पाए ।

धादिङ क्षेत्र नम्बर १ (ख)बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य शालिकराम जम्मकट्टेल निर्वाचित भएका छन् । उनी प्रदेशको बहालवाला आर्थिक मामिला तथा योजना मन्त्री हुन् । १९ हजार ९०३ मतसहित उनले चुनाव जित्दा एमालेका गजेन्द्रप्रसाद थपलिया १२ हजार ४७८ मतसहित पछि परे ।

प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तान प्रदेशसभा सदस्य पदका लागि मकवानपुर क्षेत्र नम्बर २ (क) मा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी थिइन् । माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य मोक्तानले सो क्षेत्रबाट चुनाव जित्दा एमालेका विष्णुप्रसाद ढकाल पराजित भए । मोक्तानले १९ हजार ८७३ मत पाउँदा एमालेका ढकालले १९ हजार ५५१ मत पाए ।

माओवादी केन्द्रका रत्न ढकालले प्रदेशसभा सदस्य पदका लागि काभ्रे क्षेत्र नम्बर १ (ख) बाट उम्मेदवारी दिएका थिए । प्रदेशको युवा तथा खेलकुद मन्त्री रहेका ढकाल चुनाव जितेका छन् । उनले २० हजार ७२० मतसहित चुनाव जित्दा एमालेका दिलबहादुर तामाङ ११ हजार २७८ सहित पराजित भए । 

प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले भने चुनाव हारेका छन् । प्रदशसभा सदस्य पदका लागि चितवन क्षेत्र नम्बर २ (ख) मा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेका उनी पराजित भएका हुन् । उनलाई एमालेका कृष्णप्रसाद सिलवालले पराजित गरेका हुन् । एमालेका सिलवालले १६ हजार ५०३ मत पाउँदा माओवादी केन्द्रका दाहालले १५ हजार २४६ मत पाए ।

१० मन्त्री जसले उम्मेदवार बन्न टिकट नै पाएनन्

प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले पनि आगामी निर्वाचनमा उम्मेदवार बन्ने अवसर पाएनन् । गत २०७४ को निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ (ख)बाट निर्वाचित भएका थिए । आगामी निर्वाचनमा भने पार्टीले सो क्षेत्रमा अर्को व्यक्तिलाई अवसर दिँदा उनी उम्मेदवार बन्न पाएनन् । त्यसैगरी कांग्रेसका अर्का मन्त्री भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेलले पनि आगामी चुनावमा उम्मेदवार बन्ने अवसर पाएनन् । उनी यस अघिको भएको प्रदेशसभाको उप निर्वाचनमा भक्तपुरबाट निर्वाचित भएका थिए ।

कांग्रेसको समानुपातिक कोटाबाट मन्त्री बनेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलन बाबु श्रेष्ठले पनि आगामी निर्वाचनमा उम्मेदवार बन्न पाएनन् । उनी गत २०७४ को निर्वाचनमा कांग्रेसको समानुपातिक सूचीबाट सांसद् भएका थिए ।

त्यस्तै कांग्रेसको समानुपातिक सूचीबाट सांसद् बनेका प्रदेशका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलले पनि उम्मेदवार बन्ने अवसर पाएनन् । कांग्रेसको कोटाबाट प्रदेशको राज्यमन्त्री बनेका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य जोन्छे र स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले पनि आगामी निर्वाचनमा उम्मेदवार बन्ने अवसर पाएनन् । यसअघिको निर्वाचनमा उनीहरु समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य बनेका थिए ।

माओवादी केन्द्रबाट प्रदेशको मन्त्री बनेका वन तथा वातावरण मन्त्री विशाल खड्काले भने आगामी निर्वाचनमा उम्मेदवार बन्ने अवसर पाएनन् । २०७४ को निर्वाचनमा दोलखाबाट निर्वाचित भएका मन्त्री खड्काले सत्तारुढ गठबन्धनका कारण सो क्षेत्र गुमाउनु पर्‍यो । एकीकृत समाजवादीकोट प्रदेश सांसद् बनेकी कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री बनेकी इन्द्रमाया गुरुङले आगामी निर्वाचनमा उम्मेदवार बन्ने अवसर पाइनन् । यसअघिको निर्वाचनमा उनी एमालेको समानुपातिक सूचीबाट प्रदेशसभा सदस्य बनेकी थिइन् ।

यता एकीकृत समाजवादी काभ्रेका अध्यक्ष समेत रहेका प्रदेशका कृषि तथा पशुपन्छी मन्त्री बसुन्धारा हुमागाईले गठबन्धनबाट अलग भएर बागी उम्मेदवारी दिएका थिए । उनले प्रदेशसभा सदस्यका लागि एकीकृत समाजवादीबाट प्रतिनिधित्व गर्दै काभ्रे–२ (ख)मा उम्मेदवारी दिएपनि पछि उनको उम्मेदवारी फिर्ता गराइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप