शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय
इन्डियन प्रिमियर लिग क्रिकेटमा आज

प्ले–अफ चरणमा पुग्न आतुर बेंगलुरु र ‘गर या मर’ को स्थितिमा रहेको कोलकाताको भिडन्त

शनिबार, ०३ जेठ २०८२, १० : ००
शनिबार, ०३ जेठ २०८२

समाचार सारांश

  • इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको बाँकी खेलहरू शनिबारदेखि सुरु हुँदैछन्, जसमा भारत र पाकिस्तानबीचको सैन्य आक्रमणका कारण स्थगित खेलहरू समावेश छन्।
  • रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्सबीचको खेल बेंगलुरुमा हुनेछ, जसमा बेंगलुरु प्ले-अफ चरणमा पुग्न संघर्षरत छ, जबकि कोलकातालाई जित आवश्यक छ।
  • विराट कोहली बेंगलुरुका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन्, र कोलकाताका लागि अजिंक्य रहाणेले सर्वाधिक रन बनाएका छन्; खेलमा वर्षाको सम्भावना रहेको अनुमान छ।

काठमाडौँ । इन्डियन प्रिमियर लिग क्रिकेटको १८औँ संस्करणका बाँकी खेलहरू शनिबारदेखि फेरि सुरु हुँदैछन् । भारत र पाकिस्तानले एक–अर्काविरुद्ध सैन्य आक्रमण सुरु गरेपछि आईपीएल स्थगित गरिएको थियो । दुवै राष्ट्रले सैन्य आक्रमण रोक्ने सहमति जनाएपछि खेल पुनः सुरु हुन लागेको हो ।

आईपीएलको बाँकी खेलका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले नयाँ तालिका सार्वजनिक गरेको हो । नयाँ तालिका अनुसार, शनिबारको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले कोलकाता नाइट राइडर्सको सामना गर्दैछ । 

कोलकाता र बेंगलुरुबिचको खेल बेंगलुरुस्थित एम. चिन्नस्वामी स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ५८औँ खेल हो । बेंगलुरुले आफ्नो १२औँ र कोलकाताले आफ्नो १३औँ खेल खेल्न लागेका हुन् । 

यी दुवै टोली प्रतियोगिताको प्ले–अफ चरणमा पुग्न संघर्षरत छन् । तर, कोलकाताभन्दा बेंगलुरुको प्ले–अफ चरणमा पुग्ने सम्भावना बढी देखिन्छ । शनिबारको खेलमा कोलकातालाई हराए बेंगलुरुको प्ले–अफ यात्रा पक्काजस्तै हुनेछ । 

अर्कोतिर, बेंगलुरुसँग पराजित भए कोलकाताको प्ले–अफ चरणमा पुग्ने सम्भावना समाप्त हुनेछ । त्यसैले शनिबारको खेलमा बेंगलुरुभन्दा कोलकाता बढी दबाबमा रहनेछ । 

कोलकाताले हालसम्म तीनपटक आईपीएलको उपाधि जितेको छ । कोलकाताले सन् २०१२ मा पहिलो पटक उपाधि जितेको थियो । त्यतिबेला कोलकाताले फाइनलमा चेन्नई सुपर किङ्सलाई पाँच विकेटले हराएको थियो । 

कोलकाताले दोस्रो उपाधि सन् २०१४ मा जितेको थियो । फाइनलमा कोलकाताले पञ्जाब किङ्सलाई तीन विकेटले हराएको थियो । कोलकाताले तेस्रो उपाधि सन् २०२४ मा जितेको थियो । कोलकाताले अघिल्लो संस्करणको फाइनलमा सनराइजर्स हैदराबादलाई आठ विकेटले हराएको थियो ।

अर्कोतिर, रोयल च्यालेन्जर्स बेंगलुरुले आईपीएलमा सधें उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । तर, बेंगलुरुले हालसम्म एकपटक पनि उपाधि जित्न सकेको छैन । बेंगलुरु आईपीएलमा तीनपटक फाइनलमा पुगेर पराजित भएको छ । 

बेंगलुरु सन् २००९ मा पहिलो पटक फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा बेंगलुरुलाई डेक्कन चार्जर्सले ६ रनले हराएको थियो । सन् २०११ को फाइनलमा बेंगलुरुलाई चेन्नईले ५८ रनले हराएको थियो । सन् २०१६ को फाइनलमा बेंगलुरुको टोली सनराइजर्स हैदराबादसँग आठ विकेट पराजित भएको थियो । 

399937

  • उत्कृष्ट प्रदर्शनबाट उत्साही बेंगलुरु

जारी सिजनको आईपीएलमा रोयल च्यालेन्जर्स बेंगलुरुले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । बेंगलुरु प्ले–अफ चरण नजिक छ । हालसम्म ११ खेल खेलेको बेंगलुरु १६ अंकसहित तालिकाको दोस्रो स्थानमा आसीन छ । 

बेंगलुरुले हालसम्म खेलेको ११ मध्ये आठ खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । बेंगलुरुले अब तीन खेल खेल्न बाँकी छ । त्यसमध्ये एक खेलमा विजयी भए पनि बेंगलुरुको प्ले–अफ चरणको यात्रा पक्काजस्तै हुनेछ । 

बेंगलुरुले अब कोलकाताका अतिरिक्त सनराइजर्स हैदराबाद र लखनउ सुपर जायन्ट्ससँग खेल्न बाँकी छ । हैदराबाद यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । कोलकाता र लखनउ पनि बेंगलुरुभन्दा कमजोर टोलीका रूपमा देखिएका छन् । 

  • दबाबमा देखिएको साबिक विजेता

कोलकाता नाइट राइडर्सले भने जारी सिजनको आईपीएलमा मिश्रित प्रदर्शन गरेको छ । कोलकाताको प्ले–अफ चरणको यात्रा पनि संकटमा छ । त्यसैले साबिक विजेता कोलकातासँग बाँकी खेलमा जितको विकल्प छैन । 

kolkata

हालसम्म १२ खेल खेलेको कोलकाता ११ अंकसहित तालिकाको छैटौँ स्थानमा आसीन छ । कोलकाताले १२ मध्ये पाँच खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको छ । कोलकाताको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ । 

कोलकाताले अब दुई खेलमात्र खेल्न बाँकी छ । प्ले–अफ चरणमा पुग्ने सम्भावना जीवित राख्न कोलकाताले दुवै खेल जित्नैपर्ने हुन्छ । कोलकाताले अब बेंगलुरुका अतिरिक्त सनराइजर्स हैदराबादसँग खेल्न बाँकी छ । शनिबारको खेलमा बेंगलुरुसँग पराजित भए कोलकाता अन्तिम खेलअगावै उपाधि होडबाट बाहिरिने छ । 

  • हेड टु हेडमा कोलकाता अगाडि

आईपीएलमा रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्सबिच कुल ३५ खेल खेलिएको छ । त्यसमा कोलकाता केही बलियो देखिन्छ । २० खेलमा कोलकाताले बेंगलुरुलाई हराएको छ । बेंगलुरुले भने १५ खेलमा मात्र कोलकातालाई हराउन सकेको छ । 

anjinkya rahane

जारी सिजनको आईपीएलमा पनि यी दुई टोली एकपटक आपसमा भिडिसकेका छन् । उक्त खेलमा बेंगलुरुले कोलकातालाई सात विकेटले हराएको थियो । सन् २०२४ मा यी दुई टोलीबिच दुईपटक भिडन्त भएको थियो । ती दुवै खेलमा कोलकाता विजयी भएको थियो ।

त्यसअघि, सन् २०२३ को आईपीएलमा पनि बेंगलुरु र कोलकाताबिच दुई खेल खेलिएको थियो । त्यतिबेला पनि दुवै खेलमा कोलकाताले जित हासिल गरेको थियो । सन् २०२२ मा खेलिएको एक खेलमा भने बेंगलुरुले कोलकातालाई हराएको थियो । 

  • लयमा छन् कोलकाताका रहाणे र चक्रवर्ती

जारी सिजनको आईपीएलमा साबिक विजेता कोलकाता नाइट राइडर्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान अजिनक्या रहाणे हुन् । उनले हालसम्म १४६.४८ को स्ट्राइक रेटमा कुल तीन सय ७५ रन बनाएका छन् । 

यस क्रममा रहाणेले तीनवटा अर्धशतक पनि प्रहार गरेका छन् । तर, कोलकाताका सबैभन्दा महँगा खेलाडी वेंकटेश ऐयरको प्रदर्शन भने निराशाजनक छ । वेंकटेश ऐयरले यो सिजन ११ खेलमा कुल एक सय ४२ रनमात्र बनाउन सकेका छन् । कोलकाताका लागि यो चिन्ताको विषय हो । 

varun chakraworti

कोलकाताका लागि सर्वाधिक विकेट लिने बलर वरुण चक्रवर्ती हुन् । उनले १२ खेलमा १७ विकेट लिइसकेका छन् । वैभव अरोडाले पनि ११ खेलमा १६ विकेट लिएका छन् । हर्षित राणाले १५ र सुनिल नारिनले १० विकेट हात पारेका छन् । 

  • बेंगलुरुको सर्वाधिक रन विराटको नाममा 

आईपीएलको जारी सिजनमा रोयल च्यालेन्जर्स बेंगलुरुको लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान विराट कोहली हुन् । उनले ११ खेलमा कुल पाँच सय पाँच रन बनाइसकेका छन् । यस क्रममा उनले सातवटा अर्धशतक पनि प्रहार गरेका छन् ।

जारी सिजनको आईपीएलमा सातवटा अर्धशतक बनाउने उनी एकमात्र खेलाडी हुन् । यो सिजन सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पनि उनी चौथो स्थानमा छन् । उनले बनाएको उच्च स्कोर भने अविजित ७३ रन हो । टेस्ट क्रिकेटबाट सन्न्यास लिएपछि विराट पहिलो पटक मैदानमा ओर्लन लागेका हुन् । 

बेंगलुरुका लागि दोस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान भने देवदत्त पडिकल हुन् । उनले १० खेलमा कुल दुई सय ४७ रन बनाएका छन् । बेंगलुरुका लागि सर्वाधिक विकेट लिने बलर भने जस हेजलउड हुन् । उनले १० खेलमा १८ विकेट लिइसकेका छन् । 

हेजलउड जारी सिजनको आईपीएलमा सर्वाधिक विकेट लिने बलरको सूचिमा पनि तेस्रो स्थानमा आसीन छन् । उनी आईपीएलको बाँकी खेल खेल्न भारत फर्कने भएपछि बेंगलुरु उत्साही बनेको छ । भारत र पाकिस्तानले एक–अर्काविरुद्ध सैन्य आक्रामक सुरु भएपछि सुरक्षाको कारण देखाउँदै अन्य विदेशी खेलाडीसँगै उनी पनि स्वदेश फर्किएका थिए । 

hazelwood

तर, तीव्र गतिका बलर हेजलउड फर्कने मिति भने सार्वजनिक गरिएको छैन । काँधको समस्याका कारण उनले अघिल्लो खेल भने खेलेका थिएनन् । कोलकाताविरुद्धको खेलमा भने हेजलउड सहभागी हुने सम्भावना निकै कम रहेको बताइएको छ । 

  • ब्याट्सम्यानलाई माया गर्ने पिच

रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्सबिच खेल हुने बेंगलुरुस्थित एम. चिन्नास्वामी स्टेडियमको पिच खासगरी ब्याट्सम्यानलाई सहयोग पुर्‍याउने प्रकृतिको छ । त्यसैले यो स्टेडियममा बढी नै रन बन्ने गरेको छ । 

यो स्टेडियममा हालसम्म आईपीएलको कुल एक सय खेल खेलिएको छ । त्यसमध्ये ४३ खेलमा पहिले ब्याटिङ गर्ने टोलीले जित हात पारेका छन् । जवाफी ब्याटिङ गर्ने टोलीले भने यो स्टेडियममा ५३ खेल जितेका छन् । 

चार खेल भने अनिर्णीत रूपमा सकिएको छ । यो स्टेडियममा खेलिएको आईपीएलमा बनेको उच्च स्कोर दुई सय ८७ रन हो । यो स्कोर अघिल्लो सिजनको आईपीएलमा यो स्टेडियममा बनेको सबैभन्दा कम स्कोर भने ८२ रन हो । यो स्कोर आईपीएलको पहिलो सिजनमा बनेको थियो । 

  • वर्षाले खेल बिथोल्ने सम्भावना

कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच खेल हुने दिन शनिबार बेंगलुरुमा वर्षाको सम्भावना रहेको बताइएको छ । शनिबार बेंगलुरुमा ८४ प्रतिशत वर्षाको सम्भावना रहेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तापक्रम २२ देखि ३१ डिग्री सेल्सियसको बिचमा रहने अनुमान गरिएको छ । 

  • सम्भावित टोली 

कोलकाता नाइट राइडर्स : अजिनक्या रहाणे (कप्तान), रहमानुल्लाह गुरबाज (विकेटकिपर), सुनिल नारिन, अंगकृष रघुवंशी, मनिष पाण्डे, आन्द्रे रसेल, रिंकु सिंह, मोइन अली, रमनदीप सिंह, वैभव अरोडा र वरुण चक्रवर्ती । इम्प्याक्ट खेलाडी : हर्षित राणा ।

रोयल च्यालेन्जर्स बेंगलुरु : रजत पाटिदार (कप्तान), जितेश शर्मा (विकेटकिपर), ज्याक बेथेल वा फिल साल्ट, विराट कोहली, मयंक अग्रवाल, टिम डेभिड, क्रुणाल पाण्ड्या, रोमारियो शेफर्ड, भुवनेश्वर कुमार, लुङ्गी एनगिडी र यश दयाल । इम्प्याक्ट प्लेयर : सुयश शर्मा ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप