शुक्रबार, २० माघ २०७९
ताजा लोकप्रिय

पहेँलो आकाश र राता पहाडले के भन्छन् ?

शनिबार, १७ मंसिर २०७९, १३ : ५२
शनिबार, १७ मंसिर २०७९

विनोद प्रधानले शृंखलाबद्ध चट्टाने पहाडलाई लिएर विभिन्न आकृतिका चित्र बनाएका छन्, जो सपनामा देखेको दृश्यजस्तो लाग्छ । 

ठाउँ कुठाउँ अस्वाभाविक हुँदै सुहाउँदा नसुहाउँदा साना–ठूला मन्दिर, स्तुपा अनि देवी–देवतालाई उनले चित्रमा स्थापित गरेको देखिन्छ । चट्टाने पहाडमा अटेसमटेस भई देवी–देवता बसेको जस्तो देखिनु, चट्टाने पहाडको टुप्पोमा पहाडकै एक भागजस्तो भएर मन्दिर देखिनु अलौकिक र मायाजालजस्तो लाग्छ । मान्छेको जातलाई सानो अंशमा कतै नदेखाएर देवी–देवतालाई मात्र एक्लो देखाइएको छ, जो मान्छे र समाजदेखि अलग्गै लाग्छ । पूजाअर्चना हुनै नसक्ने यस्ता मन्दिर र स्तुपा अनकन्टार ठाउँमा किन स्थापित गरियो, कलाकारले यस्तो परिकल्पना किन गरे ? चित्र अवलोकन गर्दा यस्तै जिज्ञासा जाग्छ । 

सिद्धार्थ कला दीर्घामा २१ दिन (४–२५ नोभेम्बर)सम्म प्रधानका चित्र प्रदर्शन गरियो । उनका मोनोक्रोम्याटिक (एउटै रंगले बनाएका) चित्रमा स्वर्गका परीहरूको रमाइलो खेलजस्तो नितान्त स्वैरकाल्पनिक दृश्य उद्घाटित भएको र यथार्थभित्र पनि स्वैरकाल्पनिकता भरपुर मात्रामा समाहित भएको जस्तो पनि देखिन्छ । प्रकृति र मान्छेलाई मिलाउन मान्छेका हातका औँला विम्बको रूपमा चित्रमा आएका छन्, तर मानवदेखि देवीदेवता टाढा कतै भाग्दै गएको, भगाउँदै गएको अनुभूत हुन्छ । 

चित्रमा ग्लोबल वार्मिङ 

उनले चित्रमा ह्वारह्वार्ती बलेको आगोजस्तो रंगको अत्यधिक प्रयोग गरेका छन्, जसले ‘ग्लोबल वार्मिङ’को प्रत्याभूति हुन्छ । यस्ता चित्रले भावक स्वयं न्यानो वा तातोको अनुभूत गर्न सक्छन्, यसले पोल्नु वा न्यानो अनुभव गर्नु भावकको कुरा भयो । तथापि यसबाट चित्रले भन्न खोजिरहेको प्रभाव सञ्चारित हुन्थ्यो नै । 

अहिले विश्वभर भइरहेको परिवर्तित वातावरणप्रति विनोद निकै सचेत छन् । प्रकृतिको स्वाभाविक स्वरूप र क्रियाकलापमा परिवर्तन आएकाले अचेल जाडो हुने बेला गर्मी जस्तो, गर्मी हुने बेला जाडोजस्तो, पानी नपर्ने बेला पानी पर्नु आदि अवस्था सिर्जना भएको छ । प्राकृतिक संगति वा इको सिस्टममा खलबली आएको प्रति उनी चिन्तित हुँदा उनका चित्र पनि यस्तै विसंगतिको परिणतिको रूपमा जन्मेको जस्तो देखिन्छ । त्यसकारण उनका अधिकांश चित्रमा गरम रंग पोखिएका हुन् । आकाश अचानक पहेँलो देखिनु अनि पहाड रातो देखिनु पनि यसैको संकेत हो । 

यद्यपि उनका चित्र नियालिरहेका भावक तातो र गरम रंगलाई एकातिर पन्छाएर आफैँ अलौकिक संसारको भ्रमणमा निस्केजस्तो, स्वप्नमय वातावरणमा उफ्रे वा कुदेजस्तो हुन गएको देखिन्थ्यो । धार्मिक गाथामा डुबुल्की मार्दा अनेकानेक परिकल्पना महसुस गरिएजस्तो भान भावकमा यथेष्ट रूपमा भएको देखिन्थ्यो । सामान्य भावक कला ग्यालरीमा चिन्तन–मनन गर्नुभन्दा कला हेरेर आनन्दानुभूति ग्रहण गर्न जान्छन् । यसैकारण भावक आनन्दाविभोर भएर एक टकले चित्र अवलोकन गरिरहेका देखिनु अनौठो भएन । 

यथार्थ र स्वैरकाल्पनिक हुँदाहँुदै पनि विनोदका चित्रमा यथार्थताभित्र धर्म प्रवेश गरी धार्मिक क्षेत्र स्थापित भएका छन् । यथार्थ पहाड भने बिल्कुलै आ–आफ्नै प्रकृति र स्वरूपबाट नहल्लीकन बसेको देखिनु चासोलाग्दो र चाखलाग्दो लाग्छ । पहेँलो होस् वा रातो, उनका चित्रमा पहाड पहाड नै भएर देखिएका छन्, पहाडको स्वरूप हराएको छैन । धार्मिकता झल्काउने चित्रमा अलिकता यथार्थता मिसिएर देखापरेकाले उनले यस प्रदर्शनीको नाम ‘धार्मिक क्षेत्र’ (सेक्रेड रेयलम्स्) भनी राखे । जहाँ प्रकृति, धर्म अनि कलाको सौन्दर्यता एक आपसमा घुलमिलका साथ देख्न र हेर्न सकिन्छ । 

कलाकारको मन मस्तिष्कमा अनेक उथलपुथल भएझैँ चित्रमा थुप्रै विम्ब जन्मिएको जस्तो देखिन्छ । आज हरियो र शीतल अनुभूत हुने पहाड उजाड र रातो–तातो भएर देखिएको यी चित्रबाट बुझ्न सकिन्छ । देवीदेवता पनि मान्छेको भीडदेखि अत्यास मानेर कतै एकान्तमा बस्न वा लुक्न पुगेको नितान्त निजी भाव वा बुझाइलाई विनोदले आफ्ना चित्रमा ल्याएका छन् । स्वाभाविक पहाडलाई कलाकारले नितान्त अर्कै ढंगबाट देखाउन वा पुनव्र्याख्या गर्न खोजेका छन् । 

पहाडहरूको पनि आ–आफ्नै स्वरूप, आकार, प्रकार र प्रकृति हुने गर्दछ । पहाडको जति उचाइ बढ्दै जान्छ, त्यति नै झारपात, घाँसरुख बिरुवा सिद्धिएर नांगो हुँदै जान्छ । ढुंगाको कडा चट्टान भरिँदै अन्ततः पहाड हिउँले सेताम्मे भएर ढाकिन पुग्छ । साना–ठूला रुख, बिरुवा आदिले भरिएका पहाडको सौन्दर्यताबाट विमुख भई कलाकारले यस्ता उजाड लाग्ने पहाड किन रोजे ? यो उनैको रहर हुँदो हो । हो हल्ला र प्रकृतिको गतिमय बहावबाट किन उनी उछिट्टिन खोजेका हुन् । यति हुँदाहँुदै पनि भावकले यथेष्ट मात्रामा सौन्दर्यको अनुभूत गर्ने किसिमको बनाउनु कलाकारको बलियो शिल्प–दक्षताको उदाहरण हो । 

प्रभाववाद 

विनोदका यी चित्र दृश्यचित्रकै आधुनिक रूप हो । दृश्यचित्रको कुरा उठाउनुपर्दा प्रभाववादीतिर फर्कनुपर्छ । प्रकाशले गर्दा परिवर्तन भइरहने प्राकृतिक वातावरणलाइई उहिले प्रभाववादीहरूले देखाउन खोजेका थिए । प्रकाशले कुनै वस्तुमा प्रभाव पार्दा वस्तु आफैँमा कस्तो देखिन्छ ? खुला आँखाले हेर्दा देखिने यथार्थताको वास्तविक स्वरूपको कुरा गर्दै गरेका यी प्रभाववादीबाट विनोद प्रभावित भइरहे तर आफ्नो विचारलाई यसैमा जोड्ने उपक्रम पनि उनले गर्दै रहे । यसो गर्दा उनी आजको कलाको प्रकृतिमा प्रवेश हुन पुगेका हुन् । यसरी विचार पोख्ने क्रममा यसपल्ट उनले गहिराइमा एक पाइला अघि सर्दै भूमण्डलीय प्रभावले हाम्रो प्रकृति, संस्कृति, धर्म र गौरवमयी परम्परा (समग्रमा वातावरण)लाई कता पु¥याउन कोसिस भइरहेको छ, यसैमा सचेत रहन विनोदले केही आग्रह गरेका हुन् । 

प्रकृतिको यथार्थ अवस्था, वातावरण, दिनचर्या अनि प्रकाश र छायाको अद्भूत खेल खेल्दै विकास भएको ‘आउट डोर पेटिङ’को अर्कै रूपमा विनोदका चित्र देखापरेका छन् । हिजोआज यसैलाई ‘ओपन एयर पेन्टिङ’ भन्ने प्रचलन छ । एकताका कलाकारलाई स्टुडियोको अँध्यारो कोठाबाट निकालेर खुला आकाशमुनि ल्याउन यो आन्दोलनको जन्म भएको थियो । यो एउटा कलागत आन्दोलनले साहित्यलगायत ललित कलाका अन्य कैयौँ विधालाई गहिरो प्रभाव पारेको थियो । 

आउटडोर पेटिङको आन्दोलन १९औँ शताब्दीको अन्ततिर प्रभाववादी कला आन्दोलनको रूपमा देखापरेको थियो । शाश्वत प्रकृतिलाई तत्क्षणको वातावरणसहित टिप्न, प्रकृतिमाथि घामको प्रभावलाई देखाउन भएको यस कलागत आन्दोलन प्रभाववादले प्रकृतिलाई हेर्ने कलाकारको दृष्टिकोण, प्रयोग गर्ने तकनिकी आदिलाई पूर्ण रूपमा भाँचिदियो । यसका लागि प्रभाववादी चित्रकार मोने, सिसलीका प्रकृतिसँग जोडिएका चित्र हेरे हुन्छ । उत्तर प्रभाववादी कलाकार सेजाँ र भ्यानगगले प्रकृतिलाई आधार बनाएका चित्र यसका ज्वलन्त उदाहरण हुन् । यसरी यथार्थलाई भाँच्ने, बंग्याउने, अ–यथार्थ रंग यसमाथि छरिदिने चलन विश्वभर नै द्रूत गतिमा फैलियो, जसलाई हामी आधुनिक कलाको शुभारम्भ भएको मान्छौँ ।

चित्रमा मनका रंग, मनका आवेग देखिन थालेपछि यथार्थ रूपमै अ–यथार्थ विम्ब देखिन थालेको सय वर्ष नाघिसक्यो । यही कलागत प्रवृत्ति नेपालमा पनि अहिले छ्यासछ्यास्ती देखिन थालेको छ । विनोदभन्दा थोरै पहिले यसरी पहाडलाई खेलाएर अमूर्ततामा कलालाई पस्कने काम उनीभन्दा अग्रज कलाकार कृष्ण मानन्धरले गरेका थिए । मानन्धरले पहाड, हिमाललाई लिएर नितान्त गतिमय, मिठो, कोमल, मुलायम ताजा रंग खेलाउँथे । फलस्वरूप उनका पहाडहरू अमूर्त रूपमा आइपुग्दा एक अलग्गै स्वाद भावकले महसुस गर्दथे । हुन त नेपालमा यस्ता पहाड आदिले भरिएको दृश्यचित्रले प्रवेश पाएको १८औँ शताब्दीतिर हो । जतिबेला धार्मिक चित्रको एक अंग भएर यस्ता पहाड किसिम किसिमबाट देखिने गर्थे । यो आफैँमा यथार्थभन्दा बढी स्वच्छन्दता प्रकृतिको देखिन्थ्यो, आज देखिएका आधुनिक कलाजस्ता पनि देखिन्थ्यो । तथापि यस्ता पहाड त्यसबेला कलालाई सिँगार्ने उपक्रममा देखापरेकाले यसलाई आधुनिकता भन्न मिलेन । 

त्यसै बेला नेपालमा पश्चिमी आधुनिक कलागत प्रवृत्ति, आधुनिक कलाका सबैजसो शैली एकैचोटि प्रवेश गरेका हुन् । यसले गर्दा आजका अधिकांश आधुनिक कलाकारले अभिव्यञ्जना, अमूर्ततादेखि स्वैरकाल्पनिक शैलीदेखि यथार्थ शैली, प्रभाववाद शैली एकैपल्ट प्रयोग गर्ने प्रचलन चलेको देखिन्छ । यसर्थ विनोद पनि यो प्रभावबाट बाहिर उम्कन पाएका छैनन् । स्वैरकाल्पनिकता र अमूर्तताको मोहले उनलाई नछोड्नु समग्रमा आधुनिक कलाका सबैजसो शैली र प्रवृत्तिलाई एकैपल्ट एउटै गाँसमा खानुजस्तो भएर देखिएको छ । एउटा अलग्गै स्वादको मिठास लेपन हुँदा उनका उनका चित्र एक तमासका देखिन्छन् ।  

यसर्थ यही शृंखलाको अर्को पाइलाका रूपमा विनोदका यी कला उदाएका हुन् । ९० को उत्तराद्र्धतिर उदाएका यी कलाकार सुरुको अवस्थामा आउटडोर पेन्टिङमा ज्यादै रमाउने गर्थे । यसैमा बढी चाख राख्ने र बाहिर प्रकृतिमै गई दृश्यचित्रहरू बनाउने कलाकार पनि हुन् उनी । सन् २००२ तिरबाटै उनले दृश्यचित्रलाई भत्काउन सुरु गरिसकेका थिए । कलाकारहरू गाउँघर घुम्न छाडेर सहर बजारतिरका दृश्यचित्र बनाउन थाले, जसलाई ‘सिटी स्केप’ पनि भनिन थालिएको थियो । यसै वेला कलाकार उत्तम नेपालीले विनोदको विषयमा भनेको एउटा कथन यहाँ सान्दर्भिक छ, ‘विनोद विभिन्न मुड र एप्रोचमा सिटी स्केप बनाउने गर्छन् । जसले उनका चित्रभित्र सहरको मुड नै प्रतिविम्बत हुने गर्दछ । यसो हुँदा उनका भावाभिव्यक्तिमा पनि ‘कन्टेम्पोररी एब्स्ट्राक्सन’को प्रतिविम्ब दृृष्टिगोचर हुने गर्दछ । अहिले उनको यही मूल विशेषता बनेको छ । 

जुन बेला नेपालको समसामयिक कला एउटा अर्कै कलाको धारमा प्रवेश गर्ने अवस्था थियो, जोे आधुनिक र उत्तरआधुनिकताकोे सीमा–साँधजस्तो भएर देखापरेको थियो, यसै बेला कलाकारको एउटा सानो समूह कलाको नितान्त नौलो धारको अभ्यास र प्रयोगात्मक काममा व्यस्त थियो । यस्तो अवस्थामा देखापरेका विनोद भने लामो समयदेखि चल्दै आएको आधुनिक कलाको निश्चित धारमै आफूलाई उभ्याएर आफ्ना मनका अभिव्यक्तिलाई प्रस्तुत गर्दै आएका कलाकार हुन् । यसो हुँदा उनका कला यथार्थभन्दा टाढा छैनन्, आकारमूलक अमूर्तता अनि आकारलाई नजिकबाट समेटेर प्रस्तुत गर्न खप्पिस कलाकारको रूपमा उनी देखापरेका छन् । 

समसामयिकताको सन्दर्भमा त्यतिबेला झन्डैझन्डै अमूर्तता, अर्धअमूर्तताजस्ता देखिने चित्रमार्फत विनोदले आधुनिकतामा फड्को हानेको देखिन्थ्यो । तथापि त्यसैवेलाको उनका कथन पनि अहिलेको भन्दा खासै फरक छैन । सन् २००२ मा ‘मिथ एन्ड रियालिटिज’ नामक चारजना कलाकार मिली गरेको सामूहिक कला प्रदर्शनीमा उनको भनाइ यस प्रकार थियो– ‘म दृश्यचित्रभन्दा नितान्त बाहिर गएर चित्र बनाउन मन गर्छु । अहिलेको मेरो दृश्यचित्रमाथिको मेरा अवचेतन प्रतिक्रिया चाहिँ मैले तत्काल देखेका दृश्यमाथिको दृश्यात्मक संवेदन–अनुभूतिले स्थान पाउनु हो । अहिले वर्षात्को सिजन भएको हुँदा पनि यसैको क्षण र पललाई मैले हावाको गाडा र गतिपूर्ण बहावको माध्यमबाट कलामा ल्याउने प्रयत्न गरेकोे छु । त्यो पलको उज्याला असंख्य सपनालाई सिर्जित गर्नु मेरो मुख्य लक्ष्य हो । यसो गर्न अति तीव्र रूपमा झलक्क बलेको प्रकाशलाई मेरा रंगद्वारा प्रज्ज्वलित गरी आफ्नो खोजयात्रा शुभारम्भ गर्ने मेरो अठोट पनि हो ।’ 

टेक्चर सौन्दर्य 

ग्लोेबल वार्मिङको प्रभाव त छँदैछ, अझ अमूर्तताको सानो अंश टेक्चरमा बढी केन्द्रीभूत हुँदा विनोदले बनाएका पहाड बढी मात्रामा अझ रहस्यमयी बनेका छन् । यसर्थ यो उनको चित्रमा सौन्दर्यताको अथाह माधुर्यता छ । विनोदले अहिले कोरेका चित्र सन् २००० तिर कोरेका भन्दा थोरै फरक ढंगले दृश्यावलोकन हुन्छ । अहिलेका यी चित्रमा एक्रेलिक माध्यमबाट पातलो गरी खेल्न खोज्दा पनि आकर्षक टेक्चरको प्रादुर्भाव भएको देखिन्छ । उहिले पारम्परिक कलामा धार्मिक चित्र राम्रो बनाउन वरिपरि बुट्टाले सजाउने परम्परा थियो । जसको केही अर्थ हँुदैनथ्यो, मात्र यसले चित्रलाई अझ आकर्षक बनाउँथ्यो । भक्तहरू यी चारैतिर बुट्टैबुट्टाले भरिएका आ–आफ्ना देवीदेवतालाई भक्तिभाव प्रकट गर्दथे । यसैको विकसित रूपमा अहिले अनेकौँ माध्यम प्रयोग गरेर अनेक टेक्चर बनाउने प्रचलन बढेको छ । उहिले आकारमूलक अमूर्तता हुन्थ्यो भने आज आकारविहीन अमूर्तता यसको स्वभाव हुन्छ । यही आकर्षणले विनोदलाई पनि छोएको देखिन्छ । जस कारण पारदर्शी जलरंगी प्रभाव हुँदा उनका चित्र अझ मनमोहक देखिन्छ । 

उहिले प्रयोग गरिने तेलरंग अनि पारदर्शी वा ओपेक जलरंगको समिश्रण अहिले एउटै रंगबाट ल्याउन सकिन्छ, यसले आज यो एक्रेलिक रंगको धेरै कलाकारले प्रयोग गर्ने गरेका छन् । सजिलो र चाँडै सुकिहाल्ने यो रंगको प्रकृति हो, तसर्थ अधिकांश कलाकारलाई यो मनपर्ने गर्छ । यो रंगलाई पानीमै मिसाएर प्रयोग गरिने भएकाले तेल रंगको टेक्निक र पारदर्शी जलरंगको टेक्निक पनि प्रयोग गर्न सकिन्छ । विनोदले यसपल्ट पारदर्शीय जंलरंगीय टेक्निकको सहारा लिई यसैका तौरतरिकालाई प्रयोग गरेका छन्, जस कारण उनका टेक्चर खाइलाग्दा भएर देखापरेका हुन् । यसले डाँडाकाँडाका अन्तरंगी विशेषतालाई उजिल्याउने काम मात्र गरेको छैन, चिराचिरा भएर दृश्यावलोकन भएका यी ढुंगाका ढिस्का मनोरम भएर पनि देखापरेको छ । ढुंगाका टुक्राटुक्रा थुप्रिएर पहाडको स्वरूप बन्न पुग्दा उनका चित्रले भावकमा आनन्दानुभूति प्रदान गर्छ । यसो हुँदा केही नसोची, सोध्ने चेष्टा नगरी कैयौँ भावक आनन्द लिएर यी चित्र हेर्दै रोमाञ्चित भएको देखिन्थ्यो । पहाडका रेशारेशामा टेक्चरका अनेक आकर्षक रूप निकालेर उनले अमूर्तताको भाव र प्रकृतिलाई पनि स्थापित गर्ने कोसिस गरेको देखिन्छ । यसर्थ यस्ता कलालाई आज ‘कन्टेम्पोररी ल्यान्ड स्केप’ भन्ने प्रचलन छ । आज शास्त्रीय दृश्यचित्रको बग्रेल्ती सिर्जना भइरहेको छ, यो अवस्थामा दृश्यचित्र (ल्यान्डस्केप) कोर्नुलाई विनोदको निजी विशेषता मान्न सकिन्छ । यही नै कलाकारको सबल पक्ष हो । 

धर्म र संस्कृति

विनोदले यी चित्रमा प्राकृतिक अवयवसँग मूलतः धर्म, संस्कृतिलाई गाँसेका छन् । मनमा उठेका अनेकौँ भाव, विचार जोडिएर देखापर्दा उनको काम अझ चहकिलो देखिएको छ । कलाकारको मनभित्रको धर्म, आस्था र विश्वास गहिरो रूपमा जीवन्त बन्दा प्रतिविम्बको रूपमा मन्दिर, स्तुपा र अजंगका लाखे क्यानभासमा उदाएका हुन् । 

मानवसँग गाँसिदै आएको संस्कारका स–साना अवयव उनका चित्रमा आएका छन् । उनको यी चित्रमा डाँडा, खोलानाला, मन्दिर, स्तुपा, चैत्य, बुद्ध र लाखे आदि छन् । धर्मलाई जस्ताको तस्तै ल्याएको भने होइन । यहाँ धर्मको सन्दर्भभन्दा हाम्रा महात्मा बुद्ध जन्मेको शान्त भूमि ल्याइएको छ, जहाँबाट बुद्धले विश्वमै शान्तिको सन्देश फैलाएका थिए । हजारौँ मठ–मन्दिर र जात्रापर्वले सुसज्जित हाम्रो परम्परा अझै जीवन्त छ भन्ने प्रत्याभूति यी चित्रले गराउँछन् । सबैजसो देवी–देवताले यहाँ स्थान पाएका छन्, बौद्ध र हिन्दूधर्मको वकालत हुनुभन्दा यहाँ आम समुदायको भक्तिभाव सशक्त देखिन्छ, यिनै सन्दर्भलाई विनोदले आफ्नो चित्रमा उतारेका छन् । 

(मल्ल कलाकार र कला समीक्षक हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप