सोमबार, २३ माघ २०७९
ताजा लोकप्रिय

यो चुनावमा मैले मतदाताको मनोविज्ञानमा परिवर्तन देखेँ : महन्थ ठाकुर

शनिबार, १७ मंसिर २०७९, १७ : ०२
शनिबार, १७ मंसिर २०७९

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । आफू चुनाव जिते पनि ठाकुरले पार्टीलाई राष्ट्रिय पार्टी बनाउन भने सकेनन् । 

प्रतिनिधि सभामा ४ र प्रदेश सभामा नौ सिट जितेको लोसपाले सत्ता गठबन्धनसँग सरकारमा सहकार्यका लागि छलफलहरू पनि गरिरहेको छ । ठाकुरले मधेस प्रदेशमा लोसपाको नेतृत्वमा सरकार गठन हुनुपर्ने भनिरहेका छन् भने यता केन्द्रमा पनि शक्ति बाँडफाँडमा हिस्सेदारी लिनेबारे छलफल गरिरहेका छन् । उनले यस विषयमा काँग्रेसका सभापति शेरबहादुर देउवासँग पटक पटक छलफल गरिसकेका छन् ।  मधेस आन्दोलनबाट उदय भएको शक्ति लोसपा यो चुनावमा किन कमजोर भयो ?  यसको दोषी को ? अबको संसद् र सरकार कस्तो हुन्छ ? लोसपा कसरी अगाडि बढ्छ लगायतका विषयमा रातोपाटीका लागि एसके यादवले गरेको कुराकानीको सम्पादित अंशः'

यसपटकको चुनावको अनुभव कस्तो रह्यो ?

–राजनीति भनेको एक प्रकारको युद्ध नै हो । युद्ध कठिन नै हुन्छ । युद्धमा विजय वा पराजय दुवै हुन्छ । दुईमध्ये जे भए पनि त्यसलाई स्वीकार गर्नैपर्छ । मैल पहिला पनि यस्ता चुनाव लडेको हुँ । कतिमा हारेको छु, कतिमा जितेको पनि छु । तर यसपटकको चुनाव बेग्लै खालको थियो । अन्य चुनावभन्दा यसपालिको चुनावमा अलि चुनौती बढी नै थियो । 

यो चुनावमा मैले मतदाताको मनोविज्ञानमा परिवर्तन देखेँ । त्यस्तै यो चुनावबाट अबको राजनीति ठूल्ठूला व्यापारी, ठेकेदारको हातमा जाँदै गरेको महसुस गरेँ । गरिब, किसान, कम पुँजी भएकाहरू अब चुनाव लड्न सक्दैनन् । अब चुनाव व्यापारी र ठेकेदारहरू मात्र लड्न सक्ने अवस्था आउँदैछ ।

यो चुनावमा परिवर्तनका लागि लडेका दलहरू नै कमजोर भएर आए । कहाँ कमजोरी भयो जसले यो अवस्था आयो ?

– म पहिला देशको नेता थिएँ, अहिले मधेसको नेता भएको छु । मान्छे तलबाट माथि जान्छ तर म माथिबाट नै तल आएको हुँ । कोही मधेसको नेता भएर देशको नेता बनेका छन् म देशको नेता भएर मधेसको नेता बनेको हुँ । यो चुनावमा लोसपालाई के कति घाटा) भएको छ भन्ने कुरा समीक्षापछि मात्र केही भन्न सकिन्छ । तर, म कमजोर भएँ भन्ने कुराले धेरै अर्थ राख्दैन किनभने म देशबाट मधेस झरेको मान्छु हुँ । कहिलेकाहीँ जित्छु, त्यो बेग्लै कुरा हो तर मधेसले नै मलाई दुई पटक अस्वीकार गरेको छ । म कमजोर भए पनि मेरो विचार, मेरो मुद्दा, मेरो एजेण्डा कमजोर भएको छैन । यसको लागि म निरन्तर लडाइँ लडिनै रहन्छु ।

यसपटक त लोसपा साह्रै नै कमजोर भयो । राष्ट्रिय पार्टी पनि हुन सकेन किन ?

–हो, कमजोर भएको हो । यसको जिम्मा म लिन्छु । कमजोर हुनुको कारण हाम्रो संगठन विल्कुल नयाँ थियो । जसपाबाट विभाजन हुँदा धेरै साथीहरू उतै जसपामा नै बस्नुभयो । पछिल्लो समय केही साथीहरू पनि अन्य अन्य पार्टीमा जानुभयो । राजपा बनाउँदा पनि पश्चिमका केही साथीहरू पार्टी छाडेर जानु भएको थियो । जसपाबाट लोसपा बन्यो । त्यस लगतै स्थानीय चुनाव आयो । त्यसको तयारीमा लाग्नु पर्‍यो । त्यो चुनाव लगतै संगठनको काम लागेँ । संगठनको काम सुरु मात्र भएको थियो, त्यति नै बेला निर्वाचनको मिति घोषणा भयो । मिति घोषणा भए पनि सबैजना आआफ्नो क्षेत्रको तयारीमा लाग्न थाल्नु भयो । संगठन सुदृढ नै गर्न सकिएन । 

अर्को कुरा, हामीले गठबन्धन बनाउन ढिलो गर्‍यौँ । विभिन्न दलसँग छलफल गर्दा गर्दै अन्तिममा आएर सत्ता गठबन्धनसँग हाम्रो सहमति भयो । चुनाव आउन त्यो एकदमै अन्तिम समय थियो । सुरुदेखि नै गठबन्धन तयार भएको भए एउटा माहौल तयार हुन्थ्यो, त्यो हुन सकेन । मधेस प्रदेशमा ७ ठाउँमा मात्र गठबन्धन गर्‍यौँ । सुरुमा १६ सिटमा तालमेल गर्ने कुरा भएको थियो तर छलफलको क्रममा सातवटा सिटमा मात्र सम्भव भयो । थोरै सिटमा उम्मेदवारी दिएको कारण लोसपा कमजोर देखिएको हो । सात सिटमा हामी तीन सिट जितेका छौँ । त्यसले पक्कै कमजोर देखिएको हो । तर मुद्दा र एजेन्डामा हामी कहीँ कमजोर छैनौँ । 

तराई मधेसमा जुन शक्तिहरू छन्, ती शक्तिहरू आपसमा मिलेर गएको भए मधेसी दलहरूको यो अवस्था हुने थिएन भनी टिप्पणीहरू भइरहेका छन् । यसमा के भन्नुहुन्छ ?

–तराई मधेसको समाज इमोशनल समाज हो । यो समाजमा इगो पनि बढी हुन्छ । कसैले कसैलाई स्वीकार गर्ने अवस्था छैन । दलहरू आपसमा नमिल्नु यो पनि यो एउटा आन्तरिक कारण हो । हामीले अन्तिम समयसम्म एकताका लागि प्रयास गरेका थियौँ । आ–आफ्ना कमीकमजोरी सुधार गरौँ र पार्टीलाई एकीकृत राखौँ भन्यौँ तर उहाँ (उपेन्द्र यादवपक्ष)हरुले कानुनी आधार जे छ त्यसैलाई टेकेर अगाडि बढौँ भन्नुभयो । पार्टी विभाजन विभाजन भयो । चुनावको समयमा पनि हामीले मधेसका शक्तिहरूसँग गठबन्धन बनाउनुपर्छ भनेर एउटा कार्यदल नै बनाएका थियौँ । तर मधेसका कुनै दलसँग सहमति हुन सकेन र त्यसले मूर्त रूप लिन सकेन । र, मधेसमा शक्ति कमजोर भयो । त्यसको फाइदा अरुअरुले उठाइरहेका छन् ।  

अब त दुईटै पार्टी (जसपा–लोसपा) को साइज कम भयो । अब मिल्ने सम्भावना छ कि छैन ? 

–राजनीति त सम्भावनाको पनि खेल हो नि । हर सम्भावना खुल्ला हुन्छ । कसैले सोचेको थिएन अघिल्लो संसद्मा नेपाली काँग्रेसबाट यो देशको प्रधानमन्त्री बन्छ । तर शेरबहादुर देउवा देशको प्रधानमन्त्री बन्नुभयो । दुई तिहाइको सरकार, दुई तिहाइ बहुमत भएको नेकपाको सरकार, कसरी ढल्यो, कसरी सबै भताभुङ्ग भयो, कसरी देशमा काँग्रेसले नेतृत्व पायो । सबै कुरा छर्लङ्ग छ । यहाँ जे पनि हुनसक्छ । मेरो कसैसँग दुस्मनी छैन । वार्ता र संवादका लागि खुल्ला छु । तर अहिले जसपा वा कसैसँग कुनै प्रकारको संवाद भएको छैन ।

नयाँ सरकार बनाउने चलखेलहरू सुरु भएका छन् । अनौपचारिक, औपचारिक कुराकानीहरू सुरु भएका छन्, तपाईसँग संवाद र छलफलहरू भइराखेका होलान् नि ?

–म जुन गठबन्धनसँग सहमति गरेका थिएँ, अहिले पनि त्यही गठबन्धन (सत्ता गठबन्धन)को साथमा छु । म यताउति गएको छैन । हामी चुनावमा साथ थियौँ अगामी दिनमा पनि साथै रहनेछौँ ।

त्यसो भए लोसपा सरकारमा जाने भयो होइन ?

–गठबन्धनमा बस्नु भनेको सरकारमा जानु होइन । गठबन्धन सरकारको हाम्रो समर्थन रहनेछ तर सरकारमै गइहाल्ने भन्ने कुरा अहिलेसम्म क्लियर भएको छैन । गठबन्धनको सरकार बन्छ तर कसको नेतृत्वमा बन्छ त्यसको छिनोफानो अहिलेसम्म भएको छैन । काँग्रेसमै प्रधानमन्त्रीका लागि विभिन्न नेताहरूको नाम बाहिर आइरहेका छन् । पहिला त्यो सेटल हुनुपर्‍यो । त्यसपछि गठबन्धनमा रहेका विभिन्न दलहरूले पनि प्रधानमन्त्रीको दाबी गरिएका कुरा बाहिर आइरहेको छ । त्यो कुरा पनि मिलाउनु पर्‍यो । अहिले धेरै कुरा मिल्न बाँकी छ । त्यसैले अहिले हामीलाई कुनै हतार छैन । पहिला जजसले यो सरकारको नेतृत्व गर्छन् उनीहरूले कुरा मिलाओस् अनि हामी कुरा गरौँला । ​

अहिलेको संसद् जुन संरचनाको बन्न गइरहेको छ, त्यसमाथि अहिले विभिन्न टीकाटिप्पणी भइरहेका छन् । कसैले भन्छन्, संघीयता नै खतरामा पर्न सक्छ, कसैले यो संसद् नै टिकाउ हुँदैन भन्छन् । अहिले बन्न लागेको संसदप्रति तपाईको विश्लेषण कस्तो छ ?

–जनताले जुन अधिकार एकपटक पाइसकेको छ, त्यसलाई छाड्न तयार हुँदैनन् । ज्ञानेन्द्र शाहले म फेरि आउँछु भन्नुभयो भने आउनु हुन्छ र ? त्यो सम्भव छ र अहिले ? जनताले लोकतन्त्र, संघीयता, गणतन्त्रलाई अपनाइसकेको छन् । त्यसलाई कुने पनि हालतमा छाड्दैन । नेताहरू प्रति केही असन्तुष्टि होला, त्यो बेग्लै कुरा हो तर मुख्य उपलब्धिलाई कहिले पनि गुमाउन चाहँदैन । हामीले पनि संवैधानिक राजा स्वीकार गरेका थियौँ, तर राजाहरूलाई त्यतिले मात्र पुगेन । त्यसपछि शान्तिपूर्ण आन्दोलनले राजतन्त्रलाई पनि हटाउने काम भयो । 

अहिले जुन अवस्था सृजना भएको छ त्यो कसरी आयो ?

–देशमा डेमोक्रेसी छ । सबैतिरबाट विचारहरू आउँछन् । कसैले कसैलाई रोक्न अवस्था छैन । प्रेस स्वतन्त्रता छ । वाक स्वतन्त्रता छ । डेमोक्रेसीमा सबै किसिमको विचार आउनु स्वाभाविक हो । लोकतन्त्र भनेको वादको विवादको, संवादका व्यवस्था हो, कम्परमाइजको व्यवस्था हो । हुनसक्छ जनताको नजरमा दलहरू, नेताहरूले गल्ती गरेका होलान् । हामी पनि जनता समक्ष पुग्न सकेनौँ कि, बुझाउन सकेनौँ कि । 

लोसपा राष्ट्रिय पार्टी रहेन । अब पार्टी कसरी अगाडि बढ्छ ?

–पार्टीका नेताहरू बाहिर हुनुहुन्छ । काठमाडौँ आइपुग्नु भएको छैन । उहाँहरू आएपछि पार्टीको समीक्षा बैठक बस्छ । त्यो बैठकबाट पार्टीलाई कसरी अगाडि बढाउने छलफल हुन्छ त्यसपछि तपाईहरुलाई जानकारी गराउँला । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

एसके यादव
एसके यादव
लेखकबाट थप