शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीकी पत्नीसँग चुनाव लड्न सजिलो थिएन : नारदमुनि राना (अन्तर्वार्ता)

सोमबार, १७ पुस २०७४, १३ : ५९
सोमबार, १७ पुस २०७४

प्रधानमन्त्री पत्नी आरजु राणालाई प्रतिनिधिसभा चुनावमा हारको स्वाद चखाएपछि एमाले नेता नारदमुनि राना निकै चर्चामा छन् । कैलाली–५ मा राणासँग चुनाव लड्दा उनीसँग धेरै चुनौती थिए । तर पनि अन्त्यमा लडाइँ उनले जिते । यसै सन्दर्भमा उनले कृष्ण गिरीसँग चुनावका अनभुव बाँडेका छन् ।
 
प्रधानमन्त्रीकी श्रीमती आरजु राणा देउवालाई चुनावमा हराएर विजयी हुनुभयो, कस्तो रह्यो यो चुनावको अनुभव ?
कैलाली क्षेत्र नं. ५ बाट चुनाव जित्दा खुशी छु । यो निर्वाचनले मलाई धेरै अनुभव दियो । निर्वाचनमा मेरा लागि चुनौती धेरै थिए । मभन्दा धेरै पावरफुल व्यक्ति हुन् आरजु राणा । उनको हातमा सत्ता थियो । सत्तासिन प्रधानमन्त्रीकी श्रीमतीसँग चुनाव लड्दाका चुनौती अन्य उमेदवारसँग लड्दाभन्दा फरक हुन्छ । उनको तडकभडक पार्टीका उम्मेदवार र सरकारको मन्त्रीभन्दा बढी नै हुन्थ्यो । २०–२२ वटा गाडीको लस्कर, पैसाको रेलोखेलो जस्ता प्रदर्शनले आम मतदातामा पनि असर पाथ्र्यो नै । उनी उम्मेदवारभन्दा पनि सरकार गए जस्तो गरी जान्थिन् । आचार संहिताको कुनै वास्ता थिएन । हामी चारवटा गाडी लिएर प्रचारमा होमिएका थियौँ । त्यस कारण मैले केवल आरजु राणासँग मात्र होइन, यो राज्यसत्तासँग चुनाव जितेको हुँ । जससँग सत्ताको बागडोर थियो, तिनै व्यक्तिसँग चुनाव लड्नु भनेको सत्तासँग चुनाव लड्नु नै हो । यस्तोमा व्यक्ति गौण भएर आउँछ, सत्ताको चरम दुरूपयोग हुन्छ ।

यसमा नेपाली काङ्ग्रेसले चार पटक जित्दा पनि कुनै परिवर्तनको अनुभव गर्न पाएनन् । मतदाताले परिवर्तन खोजेका थिए । हामी परिवर्तनको पक्षमा थियौँ । जनताले खुलेर वामगठबन्धनको पक्षमा मत दिए ।

मानसिक रूपमा कस्ता दबाबहरू झेल्नुभयो ?
मानसिक रूपमा पनि धेरै दबाब भोगेको छु । कैयौँ मान्छेहरू मलाई भेट्न आउँथे । उनीहरूको एउटै भनाइ हुन्थ्यो । देशको प्रधानमन्त्रीकी श्रीमतीसँग निर्वाचन लड्नु त्यति सहज छैन । तपाईंलाई पार्टीले फसाएको हो । फिर्ता लिनुहोस् । किन पैसा खर्च गर्नु हुन्छ । ती सबै मान्छे काङ्ग्रेसबाट परिचालित थिए । यहाँसम्म भने कि तपाईंले भोट पाए पनि राताराता बाक्सा पनि चेन्ज गर्ने ताकगत राख्छन्, त्यही भएर छोड्नोस् भन्न थाले । कतिसम्म भन्न आए भने अहिलेसम्म भएको खर्च लिनुहोस् तर निर्वाचन नलड्नुस । तर मैले मानिनँ । 

मैले एक भोट ल्याए पनि मेरो पार्टी गठबन्धनको इज्जत प्रतिष्ठाको कुरा हो भनेर प्रचारमा लागेँ । आम जनताले परिवर्तन चाहेको कुरा देखाइदिए ।  प्रधानमन्त्रीकी श्रीमती लडेपछि स्वतः जितिन्छ भन्ने काङ्ग्रेसमा घमण्ड थियो । निर्वाचन आयोगलाई हामीले यहाँ पैसा बाडिँदै छ भन्दा पनि चासो राखेन । उनीसँगै अगाडि पछाडि सरकारी गाडी हुन्थे, कसले गर्ने अनुगमन ?

आर्थिक रूपमा कत्तिको दबाब पर्यो ?
मलाई सबैभन्दा बढी थ्रेट पैसाले दियो । निर्वाचनमा हारे पैसाको कारणले हार्ने छु भन्ने मलाई लागेको थियो । उनीहरूले कुनै पनि कार्यक्रम हुनुभन्दा पहिला भोज खुवाउँथे । घरघरबाट मान्छे बोलाएर खसीको मासु खुवाएर कार्यक्रम सुरु गर्थे ।

तर जनताले मलाई धेरै आश्वसन दिए, हामी भोट तपाईंलाई दिन्छौँ, ढुक्क हुनोस् भनेर । म पनि जनतामाथि विश्वस्त हुँदै गएँ । जनताको मनोभावना बुझेपछि मनोबल पनि बढ्यो । मेरो निर्वाचन क्षेत्रमा दुईवटा बस्ती छ । एक गाउँ र अर्को सहर । सहरीयाहरूले सरकार स्थायी हुनुपर्छ भनेर जुन अभियान जस्तो बनाए । यसले मलाई गाउँमा पनि फाइदा भयो । अर्को म गाउँको मान्छे हुँ । किसानको छोरा हुँ । स्थानीय थिएँ । पाहुनालाई जिताउँदैनौँ भने । पैसा भने राणाजीले कुनै हिसाब नै नगरी खर्च गर्नुभयो ।

कैलालीमा पहाडिया र थारु समुदाय छ, यसले कत्तिको काम गर्यो निर्वाचनमा ?
यो फ्याक्टरले मेरो निर्वाचन क्षेत्रमा काम गरेन । मलाई सबैले भोट दिए । केही केहीमा नगन्य रूपमा भयो होला तर आम रूपमा केही असर गरेन । ९२ हजार मतदातामध्ये ३५ हजार थारुको भोट छ । तर यसमा पनि राजपाको पनि उम्मेदवार थिए । टीकपुर घटनाले केही भोट डाइभर्ट भयो । तर यो भोट पाएको भए मलाई बढी मत आउँथ्यो ।

पहाडिया र थारुबीचको मतभेद सकिएको हो त अब ?
सकिएकै त म भन्दिन । केही छिटफुट हुन सक्छ । यसमा पनि टीकापुर घटनामा मुछिएका रेशम चौधरी छन् । उनले निर्वाचन जितेका छन् । उनका कार्यकर्ताहरूले अस्ति प्रदर्शन गरे । तर मेरो क्षेत्रमा यसको कुनै असर छैन । अति थारुवाद र पहाडियावाद अब छैन । जे जस्ता घटना भए अब भुल्नुपर्छ । अब सबैभन्दा पहिला सामाजिक सद्भाव नै चाहिन्छ । यो सदभाव सुरु गरेर ७ नं. प्रदेशको विकास र समृद्धि हुन सक्दैन । अब विकास गर्ने हो भने सबै मिलेर हो न कि विभाजनले हुन्छ । त्यसकारण अब सामाजिक सद्भावसहितको समृद्धि चाहिएको छ ।

पैसा र पावरले पनि चुनाव जितिदैन भन्ने देखाएको हो तपाईंले चुनाव जितेपछि ?
वास्तवमा यसबाट शिक्षा लिनुपर्छ । यसबाट के प्रस्ट भएको छ भने जनता नै इतिहासका निर्माता हुन् । पैसा र पावरले मात्र चुनाव जित्न अब सम्भव छैन भन्ने कुरा देखाएको छ । जसको पहुँच जनतासँग हुन्छ, उसले चुनाव जित्छ भन्ने यो प्रष्ट जनादेश हो । अब पावर र पैसाको भरमा चुनाव जित्छु भन्ने नसम्झे हुन्छ ।

वामगठबन्धनको स्थायी सरकार र समृद्धिको नाराले कति काम गर्यो यो निर्वाचनमा ?
स्थायी सरकार र समृद्धिको नाराका कारण पनि निर्वाचन जितिएको हो । यो नारा मात्र नभई हाम्रो सपना थियो । हामीले स्थायी सरकारबाट समृद्धि ल्याउने कुरा जनतालाई बुझायाँै । जनताले चाहेको पनि यही हो । समृद्धि विकास नै अबको प्रमुख कार्यभार हो भनेर हामीले जनतासँग भोट मागेका हौँ । यी एजेन्डालाई जनताले अनुमोदन गरेका छन् । ऊर्जा, कृषि, उद्योगधन्दामा हामीले अल्पकालीन र दीर्घकालीन योजना बनाएर जानैपर्छ । यो नेपाल निर्माण गर्ने योजना लागू गरेर हामी जान्छौँ । काङ्ग्रेसलाई पटक पटक जिताउँदा पनि सरकार चलाउन सकेनन् । यसकारण अब वामपन्थीका हातमा सरकारको नेतृत्व जनताले दिएका हुन् । छोटो अवधिमा पनि कम्युनिस्ट सरकारहरूले राम्रा काम गरेका धेरै उदाहरण पनि छन् । यसकारण जनताले कम्युनिस्टलाई विश्वास गरेका हुन् ।

निर्वाचनका क्रममा जनतासँग गरेका प्रतिबद्धता पूरा हुने सम्भावना कत्तिको छ ?
मैले जनतासँग जति प्रतिबद्धता जाहेर गरेको छु । यी सबै पाँच वर्षमा पूरा गर्छु । सबैभन्दा ठूलो समस्या सकुुम्बासीको हो । यो समस्या सबैभन्दा पहिला पूरा गर्ने छु । त्यसपछि मैले एयरपोर्टको कुरा उठाएको छु । यसको स्तर उन्नति गर्ने भनेको छु । यहाँ ठूला जहाज पनि ल्यान्ड गराउनुपर्छ । गौरीफन्टा नाका सञ्चालन गराउन पहल गर्ने छौँ । तटबन्धनको समस्या हल गर्छु । सेती अञ्चल अस्पतालको स्तर उन्नति गराउने छु ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप