बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपालको ब्रिफिङ : ‘पावर सेयरिङ’मा राष्ट्रपति बटमलाइन

सोमबार, ०४ पुस २०७९, १६ : ३५
सोमबार, ०४ पुस २०७९

नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने बटमलाइन बनाउने भएको छ । नयाँ निर्वाचनको परिणाम सार्वजनिक भएपछि सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेसँगै दलहरुबीच पद बाँडफाँटबारे आन्तरिक गृहकार्य तीव्र भइरहेका बेला समाजवादीले राष्ट्रपति पदलाई बटमलाइन बनाउन लागेको हो ।

 हालकै सत्ता गठबन्धनले नै सरकार बनाउने तयारी भएका बेला गठबन्धनमा आबद्ध माधव नेपाल नेतृत्वको नेकपा समाजवादीले ‘पावर सेयरिङ’को भागबण्डामा राष्ट्रपतिको ‘बटमलाइन’ बनाउने पार्टीभित्र सहमति भएको हो ।

आइतबार बसेको सचिवालय बैठकमा गठबन्धनमा पावर सेयरिङबारे छलफल हुँदा राष्ट्रपतिलाई बटमलाइन बनाउँदा उपयुक्त हुने निष्कर्ष निकाल्दै सोही अनुसार अघि बढ्नेबारे नेताहरूबीच कुराकानी भएको छ । त्यसक्रममा नेताहरुबीच अहिले कांग्रेस र माओवादीले प्रधानमन्त्रीमा दावी गरेकाले ठूलो दलको हैसियतले सो पद उनीहरूलाई नै छोड्नुपर्ने निष्कर्ष समेत निकालेको छ ।

‘प्रधानमन्त्रीमा दावी गर्न हाम्रो संसद संख्याको हिसाबले हैसियत पुग्दैन, त्यो गर्न पनि मिल्दैन’, बैठकमा भएको छलफलबारे उद्धृत गर्दै एक सचिवालय सदस्यले रातोपाटीसँग भने, ‘पावर सेयरिङका क्रममा हामीले राष्ट्रपतिलाई बटमलाइन बनाउनुपर्छ भन्नेमा सबै नेताको निष्कर्ष छ ।’

सो क्रममा अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखमा प्याकेजमा सहमति गर्न लागेको ‘ब्रिफिङ’ गरेका थिए ।

‘बाहिर प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले नछोड्ने भन्ने प्रचार भइरहेको छ । माओवादीले प्रधानमन्त्री नछोड्ने पनि भनिएको छ । यो दुवै एकअर्कालाई दवावमा राख्ने नीति हुनसक्छ’, अध्यक्ष नेपालले बैठकमा ब्रिफिङ गर्दै भनेका थिए, ‘ठूलो दलको हैसियतले कांग्रेसले प्रधानमन्त्री र माओवादीले सभामुख र उपराष्ट्रपति लिन सक्छ । यद्यपि राष्ट्रपतिमा समेत उनीहरूले बार्गेनिङ गर्न सक्छन् तर हाम्रो दरो अडान आवश्यक छ ।’

पार्टी सचिवालयको बैठकमा नेताहरूले शीर्ष नेताहरूलाई सत्ताको भागबण्डाबारे चासो राखेका थिए । नेताहरूको जिज्ञासापछि अध्यक्ष नेपालले आफ्नै पार्टीका कारण ओली सत्ताच्युत भएकोदेखि देउवा प्रधानमन्त्री भएको भन्दै आफ्नो पार्टी संख्यात्मक रुपमा सानो भएपनि राजनीतिक रुपमा ठूलो अर्थ लाग्ने भएकाले आफूहरूलाई कांग्रेस र माओवादीले अण्डरस्टिमेट गर्न नसक्ने बताएका थिए । 

‘संख्यात्मक रुपमा हामी थोरै भएपनि राजनीतिक रुपमा हाम्रो भुमिका धेरै महत्वपूर्ण छ’, नेता नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘शक्ति बाँडफाँटमा पनि हाम्रो सम्मानजनक हैसियत हुन जरुरी छ ।’

सत्ता गठबन्धनको चाँडै बैठक बसेर प्रमुख पद बाँडफाँट गर्ने तयारी छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार चितवन पुगेर गठबन्धनको बैठक बसेर प्रमुख पदहरुबारे प्याकेजमा सहमति गर्ने प्रयास भइरहेको बताएका थिए ।

समाजवादीको बटमलाइन अनुसार पार्टीका सम्मानित नेता झलनाथ खनाललाई राष्ट्रपतिका रुपमा अघि सार्ने तयारी छ । केपी ओली नेतृत्वको सरकार विस्थापन गर्ने बेलादेखि नै खनाललाई राष्ट्रपतिका रुपमा अघि सारिएको थियो । मंसिरको निर्वाचनमा इलाम–१ बाट उपविजेता बनेका खनाल एमालेका महेश बस्नेतसँग पराजित बनेका थिए । पराजित भएपछि खनालले पुन मतदानको माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका छन् ।

‘यसअघि गठबन्धनबाटै नेता खनाललाई राष्ट्रपतिका लागि प्रस्ताव गरिएको हो । अव उपयुक्त समय पनि आएकोले उहाँ नै उपयुक्त पात्र हो’, अध्यक्ष नेपाल निकट स्रोतले भन्यो,‘सरकारमा जाँदा महासचिव डा. बेदुराम भुसालको नेतृत्वमा जाने र राष्ट्रपति झलनाथ कमरेडलाई बनाउने नेताहरूबीच आन्तरिक सहमति भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप