बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धनमा सामेल होला जसपा ?

प्रदेश १ मा एक सिटमात्र हुँदा पनि यसरी बढ्यो ‘बार्गेनिङ पावर’
मङ्गलबार, ०५ पुस २०७९, १५ : ४१
मङ्गलबार, ०५ पुस २०७९

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अपेक्षाकृत सफलता हात नपारे पनि जसपा नेपालको राजनीतिक हैसियत महत्त्वपूर्ण देखिन्छ । नेकपा एमालेसँग केही सिटमा तालमेल गरेको जसपा यतिबेला सत्ता गठबन्धनका लागि महत्त्वपूर्ण हुने देखिएको हो ।

नयाँ सरकार गठनका लागि पहल भइरहँदा प्रतिनिधिसभाको समीकरणमा मात्र नभई केही प्रदेशमा पनि जसपा नेपाललाई साथ लिएमा सत्तारुढ गठबन्धनलाई सरकार गठनमा सहज हुने अवस्था छ । प्रदेश १ मा भने कांग्रेस र एमाले मिलेर सरकार नबनाउने हो भने जसपा नेपालको समर्थन बिना बहुमतको आकडा पार गर्न सक्ने अर्को समीकरण बन्ने अवस्था छैन ।

जसपाले प्रतिनिधिसभामा प्रत्यक्षबाट सात र समानुपातिकमा पाँच गरी १२ सिट प्राप्त गरेको छ । वर्तमान सत्ता गठबन्धनसँग १३६ सिटमात्र छ । पाँच दलीय सत्ता गठबन्धनमा रहेका दलमध्ये समानुपातिकसहित कांग्रेसले ८९, माओवादी केन्द्रले ३२, नेकपा एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले चार र राष्ट्रिय जनमोर्चाले एकसहित १३६ सिट जितेका छन् ।

बहुमतका लागि दुई सिट कम रहेको अवस्थामा जसपालाई साथ लिँदा सत्ता गठबन्धनले केन्द्रमा सहजै सरकार बनाउन सक्ने देखिन्छ । गठबन्धनले जसपालाई साथमा लिँदा १४८ सांसद हुन जान्छ । स्वतन्त्रबाट जितेका प्रभु साह र डा.अमरेशकुमार सिंहलाई पनि साथमा लिएमा १५० सांसद हुन जान्छ । केन्द्रमा सरकार गठनका लागि सत्तारुढ गठबन्धनसँग जसपाको विकल्पमा अन्य साना दल र स्वतन्त्र सांसद पनि छन् । तर प्रदेश १ को हकमा जसपाको साथ बिना सरकार गठन गर्न नसकिने अवस्था रहेकाले केन्द्रमै सत्ता साझेदार बनाएर प्रदेश १ सहित अन्य प्रदेशमा पनि आफ्नो अनुकुल वातावरण बनाउन सत्ता गठबन्धनले पहल गर्न सक्छ ।

सत्ता गठबन्धनमा सामेल हुन्छ जसपा ?

जसपाका प्रवक्ता मनिष सुमनले अहिलेसम्म जसपाले कुनै पनि गठबन्धनमा जाने निर्णय नगरेको बताए । सरकार बनाउन कसलाई सहयोग गर्ने भन्ने बारेमा अगामी राजनीतिक समितिको बैठकले तय गर्ने उनको भनाइ छ ।

अनौपचारिक छलफल हरेक पक्षसँग भइरहेको बताउँदै उनले जसपाको मुद्दा र एजेण्डामा सहमत हुने पक्षलाई नै सहयोग गर्ने रणनीति रहेको प्रस्ट पारे । अहिले जसपा कुनै पनि गठबन्धनमा नरहेको उनको भनाइ छ ।

‘बार्गेनिङ पावर’ बढ्यो

प्रदेश १ मा एक सिटमात्र पाएको जसपाले प्रदेश सरकार गठनका लागि त्यही एक सिट निर्णायक बन्ने भएसँगै केन्द्रसम्म आफ्नो ‘बार्गेनिङ पावर’ बढाएको छ ।

प्रदेश १ मा जसपाले साथ नदिएको अवस्थामा सत्तारुढ गठबन्धनले सरकार गठनका लागि बहुमत हासिल गर्न सक्दैन । त्यसैले जसपाले सत्ता गठबन्धनसँग केन्द्रमा केही मन्त्रालय, मधेस प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्दै भागबण्डामा हिस्सा खोजेको छ । यतिमात्र होइन, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पदमध्ये पनि जसपाले हिस्सा खोजेपछि सत्तारुढ गठबन्धन हच्किएको छ ।

खासगरी नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा जसपालाई गठबन्धनमा सामेल गर्न त्यति सकारात्मक देखिएका छैनन् । तर नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने जसपालाई सामेल गर्न सकारात्मक रहेको स्रोत बताउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप