आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षासेवी हाडाको निधन

सोमबार, ११ पुस २०७९, २१ : ५४
सोमबार, ११ पुस २०७९

भक्तपुर नगरपालिका तेखापुखुमा रहेको जिल्लाकै उत्कृष्ट मध्येको एक मेधा माध्यमिक विद्यालयको आँगन र कक्षाकोठामा रहेका विद्यार्थी आज दिनभर शोकमा डुबेका छन् । विद्यालयको आँगनमा विद्यार्थीहरू खेलेको, नाचेको, दगुरेको, कक्षाकोठामा विद्यार्थीको चहलपहल आज केही देखिएन ।

नियमित झैँ पढ्न विद्यालय आएका विद्यार्थीहरू जब आफ्नै विद्यालयका प्रधानाध्यापक गङ्गाधर हाडाको विद्यालय आउँदै गर्दा बाटोमै निधन भएको खबर स्कुलमा पुग्यो, तब एकाएक सबै विद्यार्थी, शिक्षक स्तब्ध मात्रै भएनन्, रुवाबासी चल्यो । 

विद्यार्थी, शिक्षक, शिक्षिकाको आँखा रसायो । आज दिनभर सिङ्गो विद्यालय परिवार शोकमा डुब्यो । विद्यालय मात्रै होइन, आसपासका बासिन्दा, भक्तपुरका अधिकांश विद्यालयका प्रिन्सिपल, शिक्षक र यहाँका शिक्षासेवीको स्तब्ध भए । अस्पतालमा उनको अवस्था बुझ्न आउनेको निकै भीड चल्यो । सामाजिक सञ्जालमा उनको निधनको खबर फैलिएपछि यो सत्यतालाई पत्याउन निकै गाह्रो भएको शिक्षासेवी लक्ष्मी पाण्डेले बताइन् ।

भक्तपुरका शिक्षासेवी एवं भक्तपुरको शिक्षालाई उत्कृष्ट स्थानमा पु¥याउने व्यक्तिको नाम लिनुपर्दा मेधा मावि, तेखापुखुका ५७ वर्षीय प्रधानाध्यापक गङ्गाधर हाडाको नाम अग्रस्थानमा आउँछ ।

झन्डै बन्द हुने अवस्थामा पुगेको सामुदायिक विद्यालयलाई आफू अहोरात्र खटेर जिल्लाकै विद्यालयमध्येको एक नमुना विद्यालय बनाउन र एसइईमा सश्प्रतिशत नतिजा ल्याउन सफल बनाउन योगदान दिने शिक्षा सेवी ५७ वर्षीय हाडाको आज विद्यालय जाँदाजाँदै बाटोमै भएको निधनले धेरैलाई  स्तब्ध बनाएको छ ।

विद्यालय जाँदाजाँदै हृदयाघात भएपछि उनको निधन भएको उनका भाइ एवं श्रीपद्म मावि एवं कलेजका प्राचार्य राम हाडाले जानकारी दिए । उनले घरबाट मोटरसाइकल चढेर विद्यालय जाने क्रममा भक्तपुर नगरपालिकाको देगमना पुगेपछि गाह्रो भएर त्यहीँको एक पसलको मेचमा बसेर पानी पिउनुभएका उनको पसलमै निधन भएको उनले जानकारी दिए । 

पसल सञ्चालक महिलाका भनाइलाई आधार मान्दै रामले भने, “गाह्रो भयो भनेर मेचमा बसेर पानी माग्नुभयो, पानीको बोतलको बिर्को पनि खोल्न सक्नुभएन, साहुनीले गाह्रो भयो कि भनेर सोध्दा निकै गाह्रो भएको बताएपछि एम्बुलेन्स बोलाउन खोज्दा खोज्दै त्यहीँ लड्नुभयो ।”

उपचारका लागि भक्तपुर अस्पताल पुर्याउँदा उच्च रक्तचापका र हृदयाघातका कारण उनको मृत्यु भइसकेको अस्पतालका चिकित्सकले जानकारी गराएको उनले बताए । २०४७ सालमा भक्तपुरको सूर्योदय माविबाट अध्यापन थाल्नुभएका उनले आफ्नो जीवनमा ज्ञानविजय मावि, बोडे मावि, आदर्श माविमा पनि अध्यापन गराउँदै विगत डेढ दशकदेखि मेधा माविमा प्रधानाध्यापकको भूमिका निर्वाह गर्दै विद्यालयलाई उत्कृष्ट बनाउन सफल भएका थिए ।

गङ्गाधरको शव भक्तपुरको दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेजमा राखिएको र अस्ट्रेलियामा रहेकी उहाँको छोरीको आगमन भएपछि आगामी बुधबार अन्त्यष्टि गरिने भाइ राम हाडाले बताए । रामले भने “बुधबार उहाँको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि विद्यालय प्राङ्गणमा राखिनेछ, त्यसपछि शवयात्रा गरेर भक्तपुर नगर परिक्रमा गरी हनुमानघाटमा अन्त्येष्टि गरिनेछ ।” नेपाल शिक्षक महासङ्घ भक्तपुरका पूर्वअध्यक्षसमेत रहेका हाडा विसं २०२३ मङ्सिरमा जन्मिएका स्व.हाडाको श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप