बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रचण्डको विगतको चरित्र बुझेर ‘ट्रयाक टु’ का लागि तयार रहनुपर्थ्यो, हामी चुक्यौँ’

राजीनामाको कुरा पार्टी फोरममा गर्ने हो, बाहिर कुर्लिएर तमासा देखाउनु हुँदैन : डा. नारायण खड्का
बिहीबार, १४ पुस २०७९, १८ : ००
बिहीबार, १४ पुस २०७९

नेपाली कांग्रेसका नेता तथा निवर्तमान परराष्ट्रमन्त्री डा. नारायण खड्काले नयाँ सरकारलाई धेरै उग्र नहुन र राजनीतिक सिद्धान्तका आधारमा नबहकिन सुझाव दिएका छन् ।

परराष्ट्र नीतिमा धेरै ठूलो कुरा गरेर बस्न थाल्यौं भने ‘हातमा लाग्यो शून्य’ हुने उनको भनाइ छ । उपप्रधान तथा गृहमन्त्री गृहमन्त्री रवि लामिछाने भारतसँग पहिलेजस्तै बोल्ने हिम्मत राख्नुहुन्छ ? भन्दै खड्काले प्रश्न गरे ।

यस्तै विगतका परराष्ट्रमन्त्रीको भन्दा आफूले राम्रो काम गरेको उनको दाबी छ । खड्काले प्रचण्डमा नैतिक ह्रास आउँदा गठबन्धन भत्किएको पनि बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीको रणनीति सफल हुँदा कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीमा रक्षात्मक हुन पुगेको उनको बुझाइ छ ।

गठबन्धन भत्किनुका पछाडिको कारणबारे सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा जवाफ दिनुपर्ने खड्काले बताए । समसामयिक राजनीतिक घटना, परराष्ट्र नीतिका विषयमा निवर्तमान परराष्ट्रमन्त्री खड्कासँग रातोपाटीकर्मी लोकेन्द्र भट्टले कुराकानी गरेका छन् । प्रस्तुत छ, खड्कासँग गरिएको कुराकानीको सम्पादित अंश –

गठबन्धन भत्किँदा आम निर्वाचनबाट पहिलो पार्टी बनेको कांग्रेस केन्द्रदेखि प्रदेससम्म प्रतिपक्षमा बस्नुपर्ने अवस्था आएको छ । यो परिघटनालाई कसरी हेर्नुभएको छ ?

हाम्रो पार्टी सभापति नेतृत्वको गठबन्धनले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न ग¥यो । नेपाली कांग्रेस ८९ सिट प्राप्त गरेर पहिलो पार्टी बन्यो । निर्वाचनमा पाँच दलीय गठबन्धनले करिब बहुमत प्राप्त गरेको थियो । गठबन्धनकै सरकार बन्ने अवस्था हुँदा हुँदै प्रचण्डजी एमालेसहितको गठबन्धन बनाएर सरकारमा जानुभयो ।

प्रचण्डलाई चुनावपछिको प्रधानमन्त्री दिने कुरा गर्नु भएको थियो भने त्यो दिनुपर्थ्यो । तर निर्णय गर्ने मान्छेका हातमा अनेक सूचना हुन्छ । ती सूचनाको विश्लेषणको आधारमा थप निर्णय गरिन्छ ।

कुन कुन सूचनाको आधारमा पार्टी सभापतिले प्रधानमन्त्री छाड्ने निर्णय गर्न सक्नु भएन ? त्यो उहाँले प्रस्ट पार्नुहोला । तर गठबन्धन जोगाउन नसक्दा आघात भयो । हामीले हाम्रै हातबाट सत्ता फुत्कायौं । बीचको दुर्घटना हुन्थ्यो भने त त्यति महत्व हुन्थेन । तर यसमा धेरै पदहरु जोडिएर आएका थिए । पार्टीका साथीहरुमा खुसीयालीको तरंग आएको थियो । ठूलो अवसरका कुरा थिए । त्यो गुमेपछि पार्टीमा निराशा र आक्रोश देखिएको छ ।

पार्टी सभापतिले सामूहिक छलफल गर्न नचाहँदा दुर्घटना निम्तिएको भन्ने छ । तपाई सभापतिको विश्वास पात्रमध्ये एक हुनुहुन्छ । खास भएको के हो ?

छलफलमा जति जना साथीहरु राखे पनि सभापतिले आफूलाई आएको सूचना अनुसार निर्णय लिनुहुन्थ्यो होला । ठूलो पार्टीका नेताले नैतिक र राजनीतिक रुपमा पहिलो चरणको नेतृत्व कांग्रेसले गर्नपर्छ भन्ने उहाँमा दृढता भयो होला । त्यसमा थेरै साथीहरु थपिएर परिवर्तन हुन्थ्यो भन्ने कुरा म भन्न सक्दिनँ ।

प्रचण्डजीलाई पहिलो चरणमा छाड्नुपर्छ भन्ने साथीहरु छलफलमा नभएको होइन । त्यसमा एक दुई जना थपिएर केही हुनेवाला थिएन । उहाँले सूचना र विश्वासको आधारमा निर्णय गर्नुभयो । त्यो निर्णयले बुम¥याङ गर्यो ।

यसमा देउवा मात्र दोषी देख्नुहुन्छ ? गठबन्धन भत्किएर आफैले प्रतिगामी भनेर दुत्कारेको मान्छेको सहयोगमा प्रधानमन्त्री बन्ने प्रचण्डको निर्णयलाई कसरी हेर्नुहुन्छ ?

केपी ओलीजीको सहयोगमा प्रधानमन्त्री बन्नु प्रचण्डजीको नैतिक ह्रास हो । उहाँले बचे–खुचेको नैतिकता गुमाउनु भएको छ । कांग्रेससँग गठबन्धन गरेर, कांग्रेसकै भोट लिएर अन्तिममा एमालेसँग मिल्न जानुले उहाँमा नैतिक आधार रहेनछ भन्ने देखिन्छ । उहाँको विगतको चरित्र, आनीबानी र लिन सक्ने कदमबारे सोचेर हामी ‘ट्रयाक टु’का लागि तयार भइरहनुपर्थ्यो । त्यहाँ चुक्यौं जस्तो लाग्छ ।

गठबन्धन भत्किएपछि सभापतिसँग संवाद गर्नुभयो ? अहिले देउवाको बुझाई के छ ?

मैले सोमबार भेटेँ । ठूलो दल भएको नाताले प्रधानमन्त्रीको अडान राखेको उहाँको बुझाइ थियो । मैले प्रधानमन्त्रीमा दाबा नगरेको भए संसदको ठूलो पार्टीलाई प्रचण्डसँग बुझायो भनिहाल्थे । आफूले किन दाबा नगरेको भनेर भन्थे ? मैले त्यही भएर दाबा गरेको हुँ भन्ने उहाँको भनाइ छ ।

गठबन्धनलाई यहाँसम्म हामीले नै ल्याएकाले अगाडि पनि हामीले नै लैजानुपर्ने जिम्मेवारी थियो । आफूले त्यो हिसाबले हेरेको उहाँको भनाइ थियो । सभापतिज्यूका अनुसार आलोचना गर्नेहरुले त कांग्रेसले प्रधानमन्त्री पाए पनि भनिहाल्थे, हामीले प्रचण्डलाई दिएको भए पनि आलोचना गरिहाल्थे । मैले जे गरे पनि भन्नलाई छाड्दैन थिए, तथापि मैले सोची, विचारी ठूलो पार्टीका नेताले दाबा गरेको थिएँ । बहुमत नआउँदाको सधैंको परम्परा पनि त्यही छ भन्ने कुरा गर्नुभयो ।

ठूलो पार्टीले २०५१, २०६४, २०७४ मा पनि पहिलो दलले नै सरकारको दावा गरेको थियो । अर्कातिर संवादको अन्तिम घडी पनि बाँकी नै थियो । तर त्यहीबीचमा प्रचण्डजीले एमालेसँग कुरा मिलाइसकेको रैछ भन्ने कुरा गर्नुभयो ।

माओवादी र एमालेबीच सहकार्य भयो । कांग्रेस र एमालेबीच पनि सहकार्य हुन्थ्यो होला । कांग्रेसले माओवादीको विकल्प खोजेको भए पनि सबै गुमाउनुपर्ने अवस्था आउने थिएन । यसमा पनि कांग्रेस किन चुक्यो ?

ओलीजीको रणनीति नै गठबन्धन भत्काउने थियो । प्रचण्डजीलाई साथमा लिएर माधव नेपालजीलाई साइजमा ल्याउने ओलीजीको ठूलो स्ट्राटेजी थियो । उहाँको पहिलो च्वाइस् हामीभन्दा प्रचण्ड थिए । हामीलाई त बाहिरबाट समर्थन गर्ने कुरा मात्र थियो । दुई ठूलो पार्टी मिलेर सरकार बनाउँदा कत्तिको लोकतान्त्रिक हुन्छ भन्ने पनि होला ।

केपी ओलीको स्ट्राटेजी सफल भयो ? ओलीसामु तपाईहरु हार्नुभयो होइन त ?

रणनीतिक रुपमा हामी असफल भयौं । यसले पार्टीमा साथीहरु निराश हुनुहुन्छ । आफ्नै हातमा भएको मौका गुमायौं । अरुले दिने मौका हामीले लिन नसकेको होइन कि हाम्रै हातमा भएको गुमाउँदा साथीहरुले पीडाबोध भएको छ । यसलाई गुटका हिसाबले लिँदा पार्टीमा एकता हुनसक्दैन । पार्टीमा अराजकता निम्तिन्छ । ड्यामेज भइसकेपछि अब सबैले ड्यामेज कन्ट्रोल गर्नतिर लाग्नुपर्छ । पार्टीका जिम्मेवार साथीहरुको काम पनि यही हो ।

पार्टीभित्र यो घटनाको नेतृत्वले नैतिक जिम्मेवारी लिएर सभापति देउवा बिदा हुनुपर्छ भन्ने आवाज सुनिएको छ, तपाई के भन्नुहुन्छ ?

पार्टीभित्र विगतमा पनि यस्ता घटना हुँदा राजीनामा दिनुपर्छ भन्ने आवाज उठ्ने गर्थ्यो । यस्ता कुरा पार्टीका फोरममा गर्नुपर्छ । बाहिर कुर्लिएर तमासा देखाउनु हुँदैन ।

कांग्रेसलाई पहिलो पार्टी बनाएर जस लिनेबेला गठबन्धन भत्किएपछि देउवामाथि अपजसको भारी आइलागेको छ । अब उहाँ पार्टीभित्र रक्षात्मक बनेको अवस्था छ । अब कांग्रेस कसरी अगाडि बढ्छ ?

केन्द्रीय कार्यसमितिमा सभापतिले गठबन्धन भत्किनुको कारण भन्नुपर्छ । सबै कुरालाई क्रमिक रुपमा यो परिस्थिति आयो, मैले यो कारणले अगाडि बढेँ भनेर आफूलाई जस्टिफाइ गर्ने तरिकाले जानुपर्छ । उहाँसँग ०५१ सालदेखि नै गठबन्धनको नेतृत्व सम्हालेको अनुभव थियो । गठबन्धनका दलका नेतासँग खेलिखाएर हिँडेकाले आनीबानी थाहा थियो । उहाँले मजाले गठबन्धनलाई अगाडि बढाउनुहुन्छ भन्ने हामीलाई लागेको थियो । चाँडोभन्दा चाँडो सरकार हातमा लिनुपर्यो ।

त्यो सम्भव छ र ?

नेपालमा सबै कुरा सम्भव छ । नेकपाको दुई तिहाइको सरकार हुँदा कांग्रेस सरकारमा जान्छ भन्ने कुरालाई सम्भव ठान्नु भएको थिएन । हामीसँग ६३ जना मात्र सांसद थिए । त्यो बेला पनि पार्टीलाई सरकारमा पुर्याउनु भयो । नेपालमा हरेक खेल भइरहन्छन् । खेल खेल्नु प¥यो ।

कांग्रेसमा तपाई अन्तर्राष्ट्रिय गतिविधिलाई नजिकबाट बुझेको नेता हो । नयाँ सत्ता समीकरण बन्नुका पछाडि बाह्य चलखेल थियो कि देशभित्र कै चलखेलले सम्भव भयो  ?

हामीले हरेक कुरालाई बाहिरी आँखाले हेर्दा आन्तरिक राजनीतिको चुरो बुझिँदैन क्या । आन्तरिक राजनीतिको चुरो बुझेपछि मात्र फराकिलो ढंगले हेर्नुपर्छ । तपाईले भूराजनीतिक कुरा गर्नुभयो । हाम्रो गाउँको सामान्य उदाहरणबाट यसको पुष्टि हुन्छ । जस्तो ऊ त्यो पल्लो घरमा झगडा भयो भने म एकछिन सुन्छु । निकै हल्लाखल्ला भएपछि म अलि परै पुग्छु । चिनजानको मान्छे हो भने आफूलाई केही असर भइहाल्छ कि भनेर घरभित्रै गएर कुरा गर्छु । बुढाबुढी वा छिमेकीको झगडा हो भने मिलेर बस्नुपर्छ भनेर मिलाउँछु । त्यसैको वृहतररुप हो क्या भूराजनीति भनेको । छिमेकी राष्ट्रले सिधै हस्तक्षेप गरेर यो गर, त्यो गर भनेर भन्ने कुरा हुँदैन ।

तपाईले करिब १५ महिना परराष्ट्र मन्त्रालयको नेतृत्व गर्नुभयो । अनुभव र उपलब्धि के रह्यो ?

परराष्ट्र मन्त्रालयको काम तत्काल देखिनेखालको हुँदैन । भौतिक मन्त्रीले मैले यति सडक बनाए भन्छ । ऊर्जा मन्त्रीले यति मेघावाट तयार भयो भन्छ । खानेपानी मन्त्रीले यति मान्छेलाई खानेपानी वितरण गरियो भन्छ । परराष्ट्रमा त्यस्तो हुँदैन । परराष्ट्र मन्त्रालयको काम देखिने होइन, महसुस गर्ने विषय हो । नेपालको प्रतिष्ठा बढायो, हाम्रो समस्या समाधान हुँदै गयो, मित्र राष्ट्रले पनि हामीलाई सुन्न थाले भन्ने खालको अनुभूति दिलाउने हो ।

मन्त्री नहुँदा तपाई मिडिया फ्रेण्डली हुनुहुन्छ । तर मन्त्री भएपछि मिडियाबाट भाग्नुको कारण के थियो ?

परराष्ट्रमन्त्री हुँदा म एकदमै कम बोलेँ । मन्त्री हुँदा केही पनि इन्फर्मेसन नदिने भनेर कतिपय मिडियाका साथीहरु रिसाएका पनि छन् । इन्फर्मेसन ग्याप नहोस् भनेर मन्त्रालयका प्रवक्तामार्फत महिनाको १ र १५ तारिख प्रेसमिट गर्ने व्यवस्था गरेको थिएँ ।

मसँग प्रत्यक्ष कुरा गर्न नपाए पनि सूचना पाउनु भएको थियो । अन्तर्राष्ट्रिय मामिलामा बोल्दा बढो समवेदनशील भएर बोल्नुपर्छ । मैले एउटा बोल्छु, मिडियामा अर्कै समाचार आइदिन्छ । एमसीसी र लिपुलेकका विषयमा मैले नबोलेकै कुरालाई अतिरञ्जित गरियो ।

विगतको सरकारले निलो नम्बर प्लेट र झण्डा हल्लाएर कालोबाजारी गरेको आरोपमा अवैतनिक दूतको सुविधा रोक्का गरेको थियो । तर तपाईले अवैतनिक दूतलाई सुविधा दिएर व्यापारीसँग नजिक हुन खोजेको आरोप लाग्यो । ५३ देशका अवैतनिक दूतलाई सुविधा दिने निर्णय गर्नुको बाध्यता के थियो ?

यस विषयमा पूर्वाग्रही ढंगले समाचार आएको हो । अवैतनिक दूतलाई निलो नम्बर प्लेट र विमानस्थलको पास दिने कुराको मैले सुरुवात गरेको होइन । त्यो सहाना प्रधानले सुरु गर्नु भएको हो ।

एक जना अवैतनिक दूतले कोभिडको भ्याक्सिन गाडीमा लुकाएपछि त्यस्तो सुविधा रोकिएको थियो । धेरै आएर मलाई हाम्रा राजदूत आउनुहुन्छ, भीआइपी आउनुहुन्छ, हामीले उनीहरुलाई कहाँ भेट्ने ? बाहिर पठाएर कुन गाडीमा चढाइदिने ? हामीले रिसिभ गर्न नपाउने कुरा राम्रो भएन । हाम्रो देशको भीआइपी आउँदा रिसिभ गर्न नपाउँदा हामीलाई उसले के भन्ला ? हामीलाई यति सुविधा दिनु प¥यो भनेपछि सुविधा दिने निर्णय भएको हो । उनीहरुको राष्ट्रिय दिवसमा पनि त्यो सुविधा दिइएको हो । एक जना पत्रकार साथीको अफगानिस्तान जाने टोलीमा नाम थियो । उहाँको नाम काटियो । मैले काटेको पनि होइन । त्यसपछि उहाँले मेरो बारेमा सतही कुरा लेख्न थाल्नुभयो । यस्तै एक जनाले आफ्नो श्रीमतीलाई परराष्ट्र मन्त्रालयमा जागिर लगाइदिनु भन्नु भएको थियो । मैले सकिनँ । त्यसपछि उहाँले पनि पूर्वाग्रही भएर समाचार बनाउन थाल्नुभयो ।

परराष्ट्रमन्त्री भएर तपाईले अपेक्षित काम गर्न नसकेको कांग्रेसभित्र कै परराष्ट्रका जानकारहरुले भनेको सुनिन्थ्यो । परराष्ट्र मन्त्रालयमा तपाई किन जम्न सक्नु भएन ?

कांग्रेसका को जानकार हुन् ? यहाँ सबै आग्रह–पूर्वाग्रह राखेर बोल्नुहुन्छ ।  मेरो कामबारे परराष्ट्रविद र परराष्ट्र मन्त्रालयका कर्मचारीलाई सोध्नु भए हुन्छ । मैले जुन किसिमको सन्तुलन कायम गरेको छु, जुन किसिमको नयाँ काम गरेको छु यसअघिका कुनै पनि परराष्ट्रमन्त्रीले गर्न सकेका थिएनन् ।

पाकिस्तान र अफगानस्तानमा मानवीय सहयोग र चीनसँगको सम्बन्ध सुधारको काम भएको छ । अन्तर्राष्ट्रिय फोरममा मैले बोलेको कुराले विश्वको ध्यान तानेको थियो । परराष्ट्र मन्त्रालयलाई एउटा हाइटमा पुर्याउने काम भएको छ । मेरो कामको युएनबाट प्रशंसा भएको छ ।

लामो समयदेखि सार्क सम्मेलन हुन सकेको छैन । भारत र पाकिस्तानको तनावले सार्कको अस्तित्व एकपछि अर्को गरी संकटमा फस्दै छ । सार्कबारे तपाई सम्मिलित सरकारले पनि केही काम गर्न सकेको देखिएन नि ?

नेपाल, बंगलादेश, श्रीलंका लगायतको प्रयासले मात्र सार्क सम्मेलन हुने कुरा सम्भव थिएन । जतिसुकै खर्राट मान्छे परराष्ट्रमन्त्री वा प्रधानमन्त्री भए पनि सार्कको समस्या सुल्झाउन सकिने अवस्था छैन ।

भारत र पाकिस्तानको मुद्दामा हामीले मध्यस्थता गर्न सक्ने अवस्था थिएन । भारतलाई सम्झाएर सार्क अगाडि बढाउने भन्ने खालको कुटनीतिक दक्षता प्राप्त गर्न हामीलाई निकै नै संघर्ष गर्नुपर्ने हुन्छ । हामीले मात्र होइन, अन्य देशले पनि भारत र पाकिस्तानको सम्बन्धन समधुर होस् भन्ने छ । तर अहिलेसम्म त्यो भएको छैन । ठूलो फड्को मार्नका लागि परराष्ट्रमन्त्री एक्लैले गरेर मात्र हुँदैन । देशको पुरै परिस्थिति चेन्ज हुँदा मात्र काम गर्न सकिन्छ । मुलुकको अवस्था गज्याङ–मज्याङ भइरहेका बेला परराष्ट्र नीति पनि त्यस्तै हुन्छ ।

सीमा समस्या समधान गर्ने विषयमा तपाईको तदारुकता देखिएन । सम्बन्धित पक्षले नसुनेको हो या तपाई उदासिन बन्नु भएको हो ?

प्रधानमन्त्रीजी भारत जानुभयो । भारतका प्रधानमन्त्री मोदीजी लुम्बिनी आउनुभयो । हामीले त्यहाँ सीमाको विषय नउठाएको होइन । यसलाई पछि छलफल गर्छु । कुटनीति संयन्त्रमार्फत कुरा गरौँला भन्ने कुरा भए ।

वार्ताको टेबलमा बस्नुअघि घरेलु अवस्था मजबुत बनाउनुपर्ने अवस्था छ क्या । घरमा आर्थिक वा अन्य रुपमा परनिर्भर हुँदा ठूलो उपलब्धि गर्न गाह्रो हुन्छ । तथापि विगतमा बिग्रिएको कुरालाई स्टेप टू स्टेप सुधारेर जानुपर्छ । राष्ट्रिय हितलाई पूरा गर्ने क्रममा हामीले कुनै कसर बाँकी राखेका छैनौं ।

परराष्ट्रका सन्दर्भमा नयाँ सरकारलाई तपाईको सुझाव के छ ?

धेरै उत्ताउलो, उग्रता नदेखाउन र राजनीतिक सिद्धान्तका आधारमा नबहकिन मेरो सुझाव छ । गठबन्धनमा रहेको एउटा पार्टीका अध्यक्ष (राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने) ले भारतलाई वार्ता कहाँ गर्ने ? लिम्पियाधुरामा गर्ने कि दिल्लीमा गर्ने ? हामी तयार छौं भनेर भनेँ ।

अहिले ती मन्त्री भएका छन् । अब उनले त्यो हिम्मत राख्छन् कि राख्दैनन् त ? लिम्पियाधुरा र दिल्लीमा वार्ता गर्ने कहिले हो भनेर अब उहाँले भन्नुहुन्छ त ? यस्ता खालको उग्रताले विदेश नीति चल्दैन ।

कुटनीतिक शब्द प्रयोग गरेर विदेश नीतिलाई अगाडि बढाउनुपर्छ । हामी धेरै ठूलो कुरा गरेर बस्न थाल्यौं भने हातमा लाग्यो शून्य हुन्छ । हाम्रो राष्ट्रियता, सार्वभौमता, क्षेत्रीय अखण्डता, अन्तर्राष्ट्रिय सीमाका र भौगोलिक समवेदनशीलतालाई ध्यान दिएर जानुपर्छ । वैदेशिक घाटा न्यून गर्न, विदेशी लगानी ल्याउन र ठूला देशका राष्ट्र प्रमुखको भ्रमण गराउन लाग्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप