शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

राप्रपामा फेरि विवादः राणाको निर्णयको लोहनी समुहद्वारा विरोध

बिहीबार, २४ मङ्सिर २०७२, १३ : ४६
बिहीबार, २४ मङ्सिर २०७२

काठमाडौं– झण्डै डेढ वर्षपछि दुई पक्षबीचको आन्तरिक विवाद मिलेको भनिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र फेरि अर्को विवाद देखिएको छ । वरिष्ठ नेता लोकेन्द्र बहादुर चन्द र अध्यक्ष पशुपति शमशेर राणा बीच एक भएर अघि बढ्ने विषयमा सहमति भएसँगै पार्टीभित्रको विवाद साम्य भएको भनिएपनि अर्का नेता प्रकाशचन्द्र लोहनी समुह फेरि असन्तुष्ट बनेको हो । लोहनीसहितका ५ नेताहरु ध्रुवबहादुर प्रधान, हरिबहादुर बस्नेत, परशुराम खापुङ, बलराम घर्तीमगरले अध्यक्ष राणाले रिक्त रहेको उच्चस्तरीय कार्यसम्पादन समिति सदस्यमा गरेको नयाँ नियुक्तिको विरोध गरेका छन् । राणाले गत आइतबार एक विज्ञप्ती जारी गर्दै पार्टी विधान बमोजिम उच्चस्तरीय कार्यसम्पादन समिति सदस्यमा प्रेमबहादुर भण्डारीलाई नियुक्त गरेको जानकारी दिएका थिए । यसअघि सो समितिका वैकल्पिक सदस्य रहेका उनलाई राणाले सूर्यबहादुर थापाको निधनपछि रिक्त रहेको उच्चस्तरीय कार्यसम्पादन समितिको सदस्यमा नियुक्त गरेका हुन् ।

तर लोहनी समुहले भने सदस्य नियुक्ति प्रक्रियामा पार्टीको विधानको ठाडो उलंघन भएको बताएको छ । नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै जारी विज्ञप्तीमा भनिएको छ, ‘उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्य नियुक्ति गर्ने प्रक्रियामा पार्टीको विधानको दफा ३८ बमोजिम महाधिवेशनले अनुमोदन गरेको चार जनामध्ये कुनै कारणले पद रिक्त हुन गएमा त्यसको पदपूर्ति महाधिवेशनबाट मात्रै हुन सक्दछ । यो प्रावधानको उलंघनप्रति असहमति जनाउँछौं । ’ विज्ञप्तीमा पार्टीलाई आन्तरिक रुपमा सुढृड गर्न र जनतामा प्रभावकारी शक्तिको रुपमा कायम गराउन पार्टीको आन्तरिक गतिविधि विधान अनुरुप चल्नुपर्नेमा जोड दिइएको छ ।

अध्यक्ष राणा र वरिष्ठ चन्द तथा लोहनीबीच भएको वार्तामा पालैपालो अध्यक्ष बन्ने सहमति भएपछि गत मंसिर ३ गते राजधानीमा आयोजित पत्रकार सम्मेलनबाट पार्टी एक भएको घोषणा गरिएको थियो । तर, सो घोषणा भएको तीन साता नबित्दै लोहनी समुहले असन्तुष्टि देखाउन थालेको हो । यसो त राणा र चन्दबीच भएको सहमतिअनुसार राणाले अध्यक्ष हस्तान्तरण गरेपछि चन्द बन्ने र त्यसपछि फेरि राणाले पार्टी चलाउने र त्यसपछि मात्रै लोहनीलाई नेतृत्व दिने सहमति भएको थियो । तर, चन्द पछि आफूले नै नेतृत्व पाउनु पर्ने लोहनीको अडान रहेको बताइन्छ । सोहि कारण पार्टी एकताको जानकारी दिन गत मंसिर तीन गते आयोजित पत्रकार सम्मेलनमा समेत उनको सहभागिता नरहेको बताइएको छ ।

मंसिर ३ गते अघि सम्म तत्कालिन राप्रपा र राष्ट्रिय जनशक्तिबीच एकता हुँदा चक्रिय प्रणालीअनुसार दिवंगत नेता थापासहित राणा, चन्द र लोहनी अध्यक्ष बन्ने सहमति भएको तर बीचमा सहमति उलंघन गरेर राणा अध्यक्ष बनेको भन्दै चन्द समुहले समानान्तर पार्टी चलाउँदै आएको थियो । त्यतिबेला लोहनीले चन्दलाई सघाउँदै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप