मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिममा तीन लाख ७६ हजार बालबालिकालाई खोप दिइने

सोमबार, २० पुस २०७२, १० : ५४
सोमबार, २० पुस २०७२

धनगढी-चौथो चरणको दादुरा–रुबेला खोप अभियान ०७२÷७३ अन्तर्गत सुदूरपश्चिमाञ्चलका जन्मेदेखि पाँच वर्षमुनिका झन्डै तीन लाख ७६ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको खोप दिइने भएको छ ।

आइतबार आयोजित अभिमुखीकरण कार्यक्रममा दादुरा–रुबेला खोप अभियानका संयोजक डा जगतनारायण गिरीले खोप अभियानका क्रममा सुदूरपश्चिमाञ्चलका नौ महिनादेखि पाँच वर्षसम्मका तीन लाख ७६ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोपसमेत दिइन लागिएको जानकारी दिए ।

खोप पाउनेमध्ये सुदूरपश्चिममा सबैभन्दा बढी कैलाली जिल्लामा एक लाख चार हजार बालबालिका रहेका छन् ।

सरकारले प्रत्येक चार वर्षमा अभियानकै रुपमा सञ्चालन गर्ने गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियान यस वर्ष आगामी माघ २४ गतेदेखि सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलबाट सुरु गर्न लागिएको हो ।

चौथो चरणको खोप अभियान देशभरिका जम्मा ६१ जिल्लामा सञ्चालन हुन लागेको बताइएको छ ।

यसअघि भूकम्प प्रभावित १४ जिल्लामा यो अभियान सम्पन्न भइसकेको छ । बाल मृत्यु दर घटाउन सरकारले थालेको खोप कार्यक्रम प्रभावकारी देखिएको बताइएको छ ।

बाल स्वास्थ्य महाशाखाको तथ्याङ्क अनुसार देशभरि चरणबद्ध रुपमा बालबालिकालाई दिइने खोपबाट ८७ प्रतिशत सफलता मिलेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० सम्म यो रोग निवारण गर्ने लक्ष्य लिएकामा नेपालमा सन् २०१९ अर्थात् एक वर्षअगावै यो रोग निवारण गर्ने लक्ष्य लिइएको डा गिरीले बताए ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका वरिष्ठ जनस्वास्थ्य प्रशासक शिवदत्त भट्टले अभियानलाई सफल बनाउन सबै सरोकारवालाको सहयोग आवश्यक रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप