बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

यस्तो छ अविवाहित सेलिब्रेटीको ‘भ्यालेन्टाइन’ योजना

आइतबार, ०२ फागुन २०७२, ११ : ३५
आइतबार, ०२ फागुन २०७२

केकी अधिकारी, नायिका

भ्यालेन्टाइन सप्ताह चलिरहेको छ । प्रेम गर्नेहरू खुबै रमाइ–रमाइ मायाको सप्ताह मनाइरहेका होलान् । माया गर्ने प्रेमी जोडीहरूलाई मेरो तर्फबाट पनि प्रेम दिवसको धेरै–धेरै शुभकामना । भ्यालेन्टाइन डे हामी नेपालीहरूको पर्व त होइन तर प्रेम दिवस मनाउनु सकरात्मक कुरा नै होजस्तो लाग्छ । संसारमा घृणा फैलिनुभन्दा त माया नै फैलिएको राम्रो हो नि । यद्यपि म आफैंले भने जीवनमा प्रेमिल भ्यालेन्टाइन डे मनाउन पाएको छैन । भ्यालेन्टाइन डे भनेर प्रेमीसँग डेटिङ जाने र माया साटासाट नगरे पनि यो दिनलाई विशेषरूपमा मनाउन मन लाग्छ । साथीभाइहरूसँग घुम्ने, मनपर्ने खानेकुरा खाने, कामबाट छुट्टी नै लिएर पूरै समय परिवारसँग बिताउने या कुनै फिल्म हेर्ने, यस्तै रमाइलो गरेर अघिल्ला वर्षहरूमा मैले भ्यालेन्टाइन डे मनाउने गरेकी थिएँ । यस वर्षको भ्यालेन्टाइन डेका लागि मैले त्यस्तो विशेष केही योजना बनाएको छैन । एक हप्तादेखि मेरो नयाँ फिल्म ‘लभ साशा’ को शुटिङमा व्यस्त थिएँ । अचानक फिल्म निर्देशक प्रचण्डमान श्रेष्ठलाई पितृशोक परेको खबरले हामी सबै काठमाडौँ फर्किएका छौं । शोकको समय छ, हामी सबै फिल्म युनिट शोकमा भएकाले भ्यालेन्टाइन डेको उत्सव छैन । बरु, चाँडै नै प्रर्दशनमा आउन लागेको मेरो फिल्म ‘भाग सानी भाग’ को प्रमोशनतिर लाग्छु होला ।

सुदर्शन थापा, नायक/निर्देशक

प्रेम आफैंमा सुन्दर चिज हो । प्रेमले नै संसारमा शान्ति र सुकुन जन्माउँछ । प्रेम दिवसमा सम्पूर्ण मायालु जोडीहरूलाई मेरो व्यक्तिगत तर्फबाट पनि शुभकामना दिन चाहन्छु । हरेक वर्ष प्रेम दिवसलाई म पनि रमाइलो र खुशी बाँडेर मनाउने गर्दछु । धेरैले प्रेम दिवसलाई पश्चिमी मुलुकहरूको नक्कल भनेर गिज्याएको पनि सुनिन्छ । तर राम्रो कुराहरूको नक्कल गर्नुमा गलत नै के छ र ? हो, प्रेम दिवस मनाउने नाममा केही गलत प्रवृत्तीहरू पनि भित्रिएका छन् तर प्रेम फैलाउनु गलत त होइन राम्रै कुरा हो । यसवर्ष मैले खासै भ्यालेनटाइन डे योजना बनाउने फुर्सद नै पाइनँ । गत शुक्रबार मात्र मेरो फिल्म ‘प्रेमगीत’ प्रदर्शनमा आएको छ । मेरो दैनिकी पुरै ‘प्याक’ छ । फिल्म प्रमोशनका लागि हिँडिरहनुपर्छ । आजै नेपाल भ्रमणको लागि निक्लिँदै छु । ‘प्रेमगीत’का सम्पूर्ण फिल्मी सदस्यहरूसँग बित्नेछ यसपालिको भ्यालेन्टाइन डे ।

संयम पुरी, नायक

प्रेममय मौसम छ । रमाइलो लाग्छ । हरेक वर्षको भ्यालेन्टाइन डे मिल्ने साथीहरूसँग रमाइलो नै गरेर मनाउँछु । साथीहरूसँग मनपर्ने ठाउँमा घुम्ने, भ्यालेन्टाइन डे स्पेशल कार्यक्रमहरूमा सहभागी हुने र फिल्म हेर्ने गर्दछु । तर यसपालिको मेरो भ्यालेन्टाइन डे फरक बित्नेछ । मेरो ढाड दुख्ने निकै पुरानो समस्या हो । अहिले पनि उही पीडा बल्झिएको छ । बिरामी छु । डाक्टरले पूरै एक महिनाको रेस्ट दिएको छ । ओछ्यानबाट उठेर कतै जान मिल्दैन । नत्र फेरि–फेरि पनि बल्झेर आउने सम्भावना छ । त्यसैले केही योजना बनाउन पाइनँ । मेरो सम्पूर्ण कामहरू पनि स्थगित गर्नुपरेको छ । अझै केही साता ओछ्यानमै बित्छ दिनहरू ।

पूजना प्रधान, नायिका

प्रेम सुन्दर चिज हो । प्रेम साटासाट गर्न भ्यालेन्टाइन डे नै आउनुपर्छ लाग्दैन । यो हामी नेपालीको चाड पनि होइन । भ्यालेनटाइन डे, क्रिसमस डे, अंग्रेजी नयाँ वर्ष सबै पश्चिमी मुलुकहरूका देखासिकीमात्र हुन जस्तो लाग्छ मलाइ त । म प्रेमको सम्मान गर्दछु तर मैले भ्यालेनटाइन डे कहिल्यै मनाएको छैन । यस वर्ष पनि कुनै योजना छैन । यस्ता पर्वहरूको म विरोधी त होइन तर मलाइ मन पर्दैनन् । सर्मथन पनि गर्दिनँ । सबैका आ–आफ्नै इच्छा र चाहना हुन्छन् । त्यसैले प्रेम दिवस मनाउने सबै प्रेम जोडीहरूलाई मेरो शुभकामना त छँदै छ । पछिल्लो समयमा भ्यालेनटाइन डे मनाउने नाममा धेरै विकृतीहरू पनि भित्रिन थालिसकेका छन् । मेरो विचारमा यस्ता कुराहरूलाई निरुत्साहित गर्नुपर्छ । भ्यालेनटाइन डेको भव्य तयारी गरिरहँदा अघिल्लो दिनमा पर्ने हाम्रो आफ्नै पर्व सरस्वती पूजा ओझेलमा नपरोस् ।

नन्दिता केसी, नायिका

प्रेममय सप्ताह चलिरहेको छ । प्रेमीहरूका लागि विशेष सप्ताह पनि होला । हाम्रो देशमा पनि प्रेम दिवस चलन बढिरहेको छ । मैले चाहीँ जीवनमा कहिल्यै पनि भ्यालेन्टाइन डे मनाएको छैन । यसवर्ष पनि कुनै योजना बनेको छैन । भ्यालेन्टाइन डेकै अवसर पारेर रमाइलो गर्ने घुमघाम गर्ने पनि गर्दिनँ । म आफ्नै समय अनुकूल बनाएर घुम्ने रमाइलो गर्ने गर्दछु । भ्यालेनटाइन डे या नयाँ वर्ष नै कुरेर बस्दिन । म आफ्नै देशका दशैं–तिहार नयाँ वर्षलगायत चाडपर्वहरूमा रमाउँछु । रमाइलो गर्ने नाममा पश्चिमा मुलुकहरूका चाड मनाएको खासै मनपर्दैन । त्यसैले भ्यालेन्टाइन डे र अरू कुनै डेमा मेरा लागि केही फरक छैन । आफ्नै कामलाइ निरन्तरता दिन्छु ।

प्रस्तुती:फतिमा बानु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप