बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

बारपाक र सिम्जुङका टहरोमा घरबास सञ्चालन

आइतबार, ०२ फागुन २०७२, १३ : ०७
आइतबार, ०२ फागुन २०७२

गोरखा– वैशाखमा बारपाक केन्द्रविन्दू रहेर गएको ‘गोरखा भूकम्प’ ले भत्काएको १८ वटा होमस्टे (घरबास कार्यक्रम) मध्ये छवटा होमस्टे पुनःस्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

‘कोसिस सामुदायिक सेवा केन्द्र, काठमाडौँ’, ‘भिटोफ’लगायत पर्यटन क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घसंस्थाको सहयोगमा बारपाक र सिम्जुङका छ÷छवटा टहरोमा होमस्टे सञ्चालन गरिएको हो ।

होमस्टेमा पाहुनाका लागि आवश्यक पर्ने भाँडाकुँडा, सोलार बत्तीका साथै सिरक, डसनालगायत शौचालय निर्माणमा कोसिसले सहयोग गरेको हो भने टहरो छाउने जस्तापाता भिटोफले सहयोग दिएको बारपाक होमस्टेकी अध्यक्ष मनोस घलेले जानकारी दिए ।

भूकम्पको केन्द्रविन्दू अवलोकन गर्न पुगेका, राहत र पुनःनिर्माणको कामका लागि खटिएका अवलोकनकर्ता, कामदार, कर्मचारी राख्न होमस्टे सञ्चालन गरिएको हो । त्यस्तै एकै गाउँमा चौधसय ४७ घरधुरी रहेको बारपाक हेर्न आएका स्वदेशी, विदेशी पर्यटकलाई ग्रामीण परिवेशमा राख्न होमस्टे प्रभावकारी भएको घलेको भनाइ छ ।

कोसिस सामुदायिक सेवा केन्द्रकी सकुन्तला न्यौपानेका अनुसार गोरखा र तनहुँका विभिन्न पर्यटकीय गाउँमा होमस्टे सञ्चालनका लागि केन्द्रले सहयोग गर्दै आएको छ ।

होमस्टे समन्वय समिति गठन

जिल्लाभित्रका पर्यटकीय केन्द्रहरु पहिचान गरी त्यहाँ होमस्टे सञ्चालन गर्न पहलका साथै सहयोग गर्न जिल्लास्तरीय होमस्टे समन्वय समिति गठन गरिएको छ । जिल्ला विकास समिति, गोरखाअन्तर्गत रहेर समितिमा शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत्लगायत कार्यालयका प्रमुख तथा प्रतिनिधि सदस्य रहेका छन् ।

होमस्टे सञ्चालन कार्यविधि–२०६७ मा रही जिविसमा पर्यटन हेर्ने सदस्यको संयोजकत्वमा समिति गठन गरिएको हो । साथै पर्यटन क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घसंस्थालाई सदस्यका रुपमा पछि थप गर्न सकिने व्यवस्था गरिएको छ ।

पर्यटकीय गाउँमा खुलेका होटल विस्थापित गर्दै स्थानीयवासीको जीविकोपार्जनमा सुधार ल्याउन होमस्टे सञ्चालनमा स्थानीयवासीको सक्रिय सहभागिता रहनुपर्ने सिम्जुङका जीतबहादुर लामाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप