बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

तीन वर्षभित्र लुम्बिनी गुरुयोजना पूरागर्न प्रम ओलीको निर्देशन

आइतबार, ०२ फागुन २०७२, १९ : ५७
आइतबार, ०२ फागुन २०७२

भैरहवा– प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी गुरुयोजना पूरा गर्नमा विगतमा भएको ढिलासुस्ती अब सरकारलाई मान्य नहुने बताएका छन् । उनले अबको तीन वर्षभित्र लुम्बिनी गुरुयोजना पूरा गर्नसमेत निर्देशन दिएका छन् ।

बुद्ध जन्मस्थल लुम्बिनीको आज भ्रमणपश्चात् आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लुम्बिनी गुरुयोजनालाई आवश्यकताअनुसार संशोधन गर्न सकिने बताए । उनले भने– “गुरुयोजनामा पवित्रता र आकर्षण थप गर्न सकिने हो भने हेरफेर गर्न सकिन्छ, तर यसको निर्माणमा भएको बिलम्व अशोभनीय हो, अब हामी प्रतीक्षा गर्न सक्दैनौँ ।” प्रधानमन्त्री ओलीले गुरुयोजना पूरा गर्न रु छ अर्बको योजनालाई आगामी छ महिनाभित्र थप गरेर बिस्तृत लागत अनुमानसहित लुम्बिनीको विकास आयोजना अघि बढाउन निर्देशनसमेत दिए । उनले लुम्बिनीसँगै रामग्राम, तिलौराकोटलगायतका यस क्षेत्रका बुद्धसँग सम्बन्धित क्षेत्रलाई समेटेर विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

उनले लुम्बिनीलाई दुनियाँको एकपटक पुग्नैपर्ने आस्थाको गन्तव्यस्थल बनाउन सरकार प्रतिबद्ध रहेको बताउँदै भने– “अब तीन वर्षभित्र सबै काम सकेर यो स्थान दुनियाँको आकर्षणको केन्द्रको रुपमा विकास हुनेछ ।” प्रधानमन्त्री ओलीले नेपाल पुण्यभूमि भएकाले बुद्धको जन्म पनि यही भूमिमा भएको उल्लेख गर्दै बुद्ध जन्मस्थल, बुद्धधर्मको मुहान र शान्तिकामीलाई प्रज्वलित गर्ने पवित्र भूमि भएको समेत बताए । उनले यस क्षेत्रको ऐतिहासिकता, पवित्रता र महत्वलाई बुझ्ने र विश्वव्यापीकरण गर्न योगदान दिने सबैमा आभार व्यक्त गरे । उनले बुद्धको शान्तिको सन्देश सबैले आत्मसात् गर्नुपर्ने बताउँदै यसलाई शान्तिको पयार्यका रुपमा आत्मसात् गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले लुम्बिनीको विकासका लागि सरकारको तर्फबाट यहाँ लगानी गर्न इच्छुक अन्तर्राष्ट्रिय निकाय र संयुक्त राष्ट्रसङ्घलगायतमा कुरा गरिरहेको बताउँदै यहाँको विकासका लागि तीव्रतर ढङ्गले अगाडि बढाउन सकिने बताए । त्यस अवसरमा प्रधानमन्त्रीलाई लुम्बिनीको बृहत्तर विकासका र गुरुयोजनाका बारेमा लुम्बिनी विकास कोषका उपाध्यक्ष सिद्धार्थ महर्जन ९भिक्षु निग्रोध०, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, विकास कोषका वरिष्ठ इन्जिनियर सरोज भट्टराईलगायतले जानकारी गराएका थिउ । लुम्बिनी गुरुयोजनाको हालसम्म ६५ प्रतिशत काम सम्पन्न भएको र बाँकी काम सम्पन्न गर्न छ अर्ब रकम आवश्यक पर्ने र चार वर्षभित्रमा सम्पन्न गर्न सकिने वरिष्ठ इन्जिनियर भट्टराईले जानकारी गराए । त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले लुम्बिनीको विकास गर्न अब सबै क्षेत्रबाट बुद्ध जन्मस्थल र निर्माणको क्षेत्र लुम्बिनीको नारालाई साकार पार्नतर्फ लाग्न आह्वान गरे । उनले बृहत्तर लुम्बिनी गुरुयोजनाको कामलाई अगाडि बढाउनु आवश्यक रहेको बताउँदै यसकालागि सरकार प्रतिबद्ध रहेको बताए । उनले लुम्बिनीलाई विश्वशान्ति क्षेत्र बनाउन यस क्षेत्रमा बन्द, हडतालको अन्त्य गरिनुपर्ने पनि बताए ।

मन्त्री पोखरेलले आगामी बुद्ध पूर्णिमाको अवसर पारेर जेठ ६ र ७ गते विश्वका बौद्धमार्गीलाई भेला गराई बौद्ध सम्मेलन गरिने सरकारको योजना रहेको समेत जानकारी गराए । प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, श्रम तथा रोजगारमन्त्री दीपक बोहरालगायत आउनुभएको थियो । आजै प्रधानमन्त्रीले मायादेवी मन्दिरको अवलोकन तथा बौद्व परम्पराअनुसार पुजा पनि गरेका थिए ।

आजै प्रधानमन्त्री ओलीले लुम्बिनीमा रहेको बौद्ध विश्वविद्यालयको प्रशासनिक भवनको उद्घाटन पनि गरेका छन् । त्यस अवसरमा प्रधानमन्त्री ओलीले विश्वविद्यालयको शिक्षा गुणस्तरीय र विश्वमा प्रतिस्पर्धा गर्ने खालको हुनुपर्ने बताए ।

उहाँले लुम्बिनी विश्वविद्यालयले गुणस्तरीय, प्रतिस्पर्धी शिक्षाका लागि आफ्नो कार्ययोजना बनाउनुपर्ने बताए । चौधकोठे उक्त भवन करिब रु दुई करोडको लागतमा निर्माण सम्पन्न भएको लुम्बिनी विश्वविद्यालयका डिन डा भद्ररत्न बज्राचार्यले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप