बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

छात्राहरुका लागि महिनावारी शिक्षा

सोमबार, ०३ फागुन २०७२, ११ : १५
सोमबार, ०३ फागुन २०७२

उदयपुर - महिनाबारी भएको बेला प्रयोग गरिने सामग्री नहुँदा किशोरीहरु बिद्यालय जान छाडेपछि उदयपुर जिल्लाका दुईवटा गाउँ विकास समितिका बिद्यालयमा महिनाबारी (रजश्वला) शिक्षा कार्यक्रम सञ्चलन गरीने भएको छ । जिल्ला शिक्षा कार्यालय र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को संयुक्त पहलमा जिल्लाको इनामे र सिरिसे गाविसमा पहिलोपल्ट यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । खानेपानी तथा सरसफाइको क्षेत्रमा जिल्लामा क्रियाशिल पत्रकारहरुको संस्था जेवाससिसिले शुक्रवार गाईघाटमा आयोजना गरेको खानेपानी सरसफाइ तथा स्वच्छता र महिनाबारी व्यवस्थापन अभिमुखिकरण कार्यक्रममा साझेदार संस्था शिक्षा कार्यालय र नेवाले दुई गाबिसमा नमुना र अन्य ४३ वटा बिद्यालयकासाथै बिभिन्न आठवटा स्थानीय समुदायमा यो कार्यक्रम प्रारम्भिक रुपले सञ्चालन गरिने जानकारी दिइएको छ । महिनाबारी भएको बेला विशेषगरी प्रयोग गरिने प्याड, पानी, शौचालय, आराम कक्ष नहुँदा किशोरीहरु महिनामा हप्तादिन बिद्यालय जान नसकेको र अभिभावकलाईसमेत जानकारी नहुँदा किशोरीहरु मर्कामा पर्ने गरेकाले साझेदार संस्थाहरुले जिल्ला र गाबिसस्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिसँग सहकार्यमा यो शिक्षा सञ्चालन गर्न लागेको जिल्ला शिक्षा कार्यालय उदयपुरका सहाएक जिशिअ रामेश्वर कुवरले बताए । कार्यक्रम अन्र्तगत पहिलोचरणमा समुदाय, अभिभावक, बिद्यालयका बालिका र फोकल पर्सनलाई महिनाबारी शिक्षा र चेतना बारेमा जानकारी दिने, महिनाबारी भनेको के हो ? यो कुन अबश्थामा हुन्छ ? महिनाबारी भएको बेलामा कस्ता सावधानी अपनाउनु पर्छ भन्ने कुराको तालिम दिईने साझेदारी संस्था नेवा पूर्वाञ्चल प्रमुख बिष्णु पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य विभाग अन्र्तगतको बालस्वास्थ्य महाशाखा र शिक्षा विभागको समन्वयमा सञ्चालन गर्न लागिएको यो कार्यक्रम उदयपुरसँगै छिमेकी जिल्ला सिरहा र सिन्धुलीमा पनि सञ्चालन गरिने छ । तालिमपश्चात प्याड किन्न सक्नेलाई प्रोत्साहन र किन्न नसक्नेलाई प्याड बनाउने घरेलु बिधीका बारेमा जानकारी दिईनेछ । यसकासाथै सबै बिद्यालयमा खानेपानीको व्यवस्था, सरसफाइ सम्बन्धी सामग्री, शौचालय, आराम कक्षको निर्माण गरिने कार्यक्रम रहेको पोखरेलले बताउनुभयो । ‘बालिकाको खानेपानी सरसफाइ तथा स्वच्छता अधिकार सुनिश्चितताका लागि बिद्यालय खानेपानी सरसफाइ स्वच्छताको नाम दिइएको उक्त कार्यक्रम सञ्चालनका लागि सिरिसे, इनामे र मयाखु गाबिसमा महिनाबारी श्रोत केन्द्र स्थापना गरिने पनि उनले बताए । समुदाय, अभिभावक र किशोरीहरुमा चेतनाको अभावमा महिनाबारी भएका बेला बिद्यालय नजाने, सरसफाइमा ध्यान नदिने, घर वा गाईका गोठहरुमा लुकेर बस्नु पर्ने, छोएको खान नहुने जस्ता पुराना संस्कार गाउँघरमा अझैपनि रहेकाले त्यसलाई निरुत्साहित गर्नका निम्ति यस्ता कार्यक्रम प्रभावकारी हुने भन्दै जेवाससिसिका संयोजक कौशल चेम्जोङ्गले महिलामा प्राकृतिक रुपमा हुने महिनाबारी प्रथाको सहि ढंगले बुझ्न र व्यवस्थापन गर्न नसक्दा अझैपनि महिलाहरु समस्यामा रहेकाले यो कार्यक्रम जिल्लामा सञ्चालन गरिएको बताए । कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी दिलिपकुमार ठाकुरले किशोरीहरुलाई जुनसुकै बेलापनि बिद्यालय जाने वातावरण बनाउनका लागि यो कार्यक्रम सञ्चालन गरिएको भन्दै समुदाय मात्र सफा भएर नहुने भएकाले बिद्यालयलाई पनि सफा राख्न यो कार्यक्रमले मद्धत पुग्ने र बालबालिकालाई निरन्तर अभ्यासको माध्यमबाट सरसफाइको चेतना फैलाउने, वानीव्यहोरामा परिवर्तन ल्याउने र बालबालिकालाई सरसफाइका लागि भित्रि आत्मादेखि नै महसुस गराउन सहजहुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप