पैसाले सन्तुष्टि नदिएपछि अमेरिकाको भिसा त्यागेर गाईपालन
काठमाडौँ -‘पैसाले पैसा तान्छ’ भनेर पैसा हुनेले बैंक, अस्पताल, कलेज खोलेर झन् धेरै पैसा कमाउने ध्याउन्नमा लागेका हुन्छन् । अत्याधुनिक उद्योग तथा कलकारखाना खोलेर पुँजीपति बन्ने सपना देखेका हुन्छन् । बैंक, अस्पताल, कलेज खोलिसकेका रूपन्देहीका शशी पौडेल भने पछिल्लो समय गाईगोठालो बनेका छन् ।
पर्वतको कुर्घामा जन्मेका बुटवल–१८ तिलोत्तमानिवासी पौडेलले आफ्नो जीवनको चालीसका दशकसम्म प्रशस्त धन–दौलत कमाएपछि गाईपालन थालेका छन् । पैसाले सन्तुष्टि नदिएपछि आनन्दका लागि गाई पाल्न थालेका बताउने उनी भन्छन्, ‘मेरा बैंक, अस्पताल, कलेज छन् । सबैमा एकपटक नेतृत्व गरिसकेको छु । त्यसले पैसा त देला तर पैसाले दिने भनेको असन्तुष्टिमात्रै रहेछ । आनन्दका लागि गाई पाल्न थालेको हुँ ।’ त्यसताका उनी रूपन्देहीका धनीमानीमा गनिइसकेका थिए । उनको हातमा अमेरिकाको भिसा थियो । त्यतिमात्रै होइन, छँदाखाँदाको स्थायी शिक्षकको जागिर छाडेर उनी २०६६ सालदेखि गाई पाल्न थाले । सुरुमा २५ करोड रुपैयाँको लगानीमा ‘लुम्बिनी एग्रो प्रोडक्ट्स एन्ड रिसर्च सेन्टर’ खोलेर गाई पाल्न थालेका उनी अहिले मुलुककै ठूलो गाई फार्म मालिक र अगुवा किसानका रूपमा चिनिएका छन् । गाईमै एक अर्ब सुरुमा २५ करोडबाट थालेको उनको गाई फार्म अहिले एक अर्ब रुपैयाँको सम्पत्ति भएको छ । आफ्नै २५ बिघा जग्गामध्ये एकछेउमा गाई फार्म र कामदारलाई बस्ने ठाउँ छ । बाँकी सबैमा घाँसखेती । भन्छन्, ‘गाई फार्म भएरमात्र त भएन, तिनलाई खुवाउने दाना र घाँस उत्पादनका लागि जग्गा किनेको हुँ ।’ साढे दुई सय गाईबाट थालेको उनको फार्ममा अहिले चार सयभन्दा बढी गाई छन् । तीन सय माउ गाईमध्ये दुहुनामात्रै सवा सय छन् । ७० बाच्छी हुर्कंदै छन् । ‘दिनदिनै ब्याउँछन्,’ उनले सुनाए, ‘त्यसैले ठ्याक्कै यति नै भन्न त गन्नैपर्छ ।’ अमेरिका बस्ने रहर सातामै पूरा ४७ वर्षीय पौडेलले ३० वर्षको उमेरमा अमेरिकाको भिसा पाएका थिए । उनी ०५९ मा प्राथमिक विद्यालय शिक्षकको जागिर छाडेर अमेरिका पुगेका हुन् । अमेरिका पुगेको साता दिनमै त्यहाँ बस्ने रहर पूरा भएपछि उनी नेपाल फर्के । अमेरिकाको जुम्ल्याहा भवन सेप्टेम्बर ११ मा ध्वस्त बनाइएको थियो । सेप्टेम्बर १९ मा आफ्नो भिसा लागेको उनले सम्झे । दूध दिने गाई मेसिनमा लाइन शशी पौडेलको फार्ममा मेसिनले दूध दुहुने गरिन्छ । बिहान चार र दिउँसो चार बजे दुईपटक दूध दुहुने गरिन्छ । समय भएपछि गाईले पर्खंदैन । ‘मानिसले समयको ख्याल गर्दैनन्, गाईले चाहिँ गर्छ,’ पौडेलले भने, ‘दुहुने बेला भएपछि बिहान चार र दिउँसो चार बजे गाई मेसिनमा लाइन लाग्छन् ।’ पहिलो चरणमा १२ गाई दुहुन सक्ने मेसिन छ । दुहुनका लागि दुई मानिस खटिन्छन् । दुईजनालाई एक चरण दुहुनका लागि ६ देखि सात मिनेट लाग्छ । गाई दाम्लोले बाँधिएका छैनन् । आधुनिक गोठमा त्यत्तिकै व्यवस्थित तरिकाले बस्छन् । गाई बेचेरै वार्षिक चार करोड पौडेलको फार्म उन्नत जातका गाई विकास केन्द्रसमेत हो । उनले कृत्रिम गर्भाधानमार्फत जर्सी र होलस्टन गाई उत्पादन गर्छन् । ‘सुरुमा भारतबाट ल्याइए पनि पछिल्लो समय अमेरिकाबाट ब्रिड ल्याएर त्यहीं कृत्रिम गर्भाधान गराउँछु,’ उनले जानकारी गराए, ‘वर्षमा दुई÷अढाई सय गाई बेच्ने गरेको छु ।’ एउटाको मूल्य डेढ लाखदेखि माथि पर्ने भएकाले वर्षमा तीन÷चार करोड रुपैयाँको उन्नत गाई बिक्रीबाट आम्दानी हुन्छ । दूधबाटै वार्षिक ४८ लाख एक सय १५ बढी गाईबाट दैनिक १२ देखि १५ सय लिटर दूध दुहुने गरिन्छ । दूध चिसो बनाइसकेपछि बिहानै बुटवल र भैरहवाका उपभोक्ताकहाँ पठाइन्छ । दूध बिक्रीबाट मात्रै मासिक १८ देखि २० लाख रुपैयाँ आम्दानीको हिसाब उनी सुनाउँछन् । ‘१८ देखि २० लाख रुपैयाँको दूध बिक्री हुन्छ । तर, १५ लाख त खर्चै हुन्छ,’ उनले भने, ‘मासिक १५ लाख खर्च हुँदा वर्षमा कति हुन्छ ? हो, त्यो कटाएर बचेको नाफा हो ।’ दूधबाट मासिक चार लाख रुपैयाँका दरले वार्षिक ४८ लाख रुपैयाँ नाफा कमाउने उनको हिसाब छ । सिजनको समयमा प्रशस्तै दूध उत्पादन हुँदासमेत बुटवल र भैरहवामा दूधको माग पूर्ति गर्न नसकेको उनले दुःखेसो पोखे । ‘अहिले बर्सिम र जै खाने समय भएकाले दूध उत्पादनको सिजन हो,’ उनले भने, ‘तर, उत्पादनले माग पूर्ति गर्न सकेको छैन ।’ आफ्नै खेतमा घाँस घाँसका लागि समस्या नहोस् भनेर पौडेलले घाँस पनि आफंै उत्पादन गर्छन् । गाई फार्मवरिपरि घाँस उत्पादन गर्ने खेत भएकाले घाँसका लागि अरूको आश्रित हुनुपर्ने अवस्था छैन । तर, दाना भने भारतबाट ल्याउँछन् । ‘दानाका लागि भटमासको पिना भारतबाट ल्याइन्छ तर घाँस भने आफ्नै खेतमा उत्पादन गर्छु,’ उनी भन्छन्, ‘बाँकी स्वदेशी कच्चापदार्थबाटै दाना बनाउने गरिन्छ ।’ ३० जनालाई रोजगारी
गाई फार्ममा तीसजनाले रोजगारी पाएका छन् । घाँस लगाउने, गोबर, सोत्तर गर्ने, सफा गर्ने, गाई दुहुनेलगायतका काममा रोजगारी पाएका कामदारले मासिक पाँच/सात हजारदेखि २० हजारसम्म पारिश्रमिक पाउँछन् । ‘त्योबाहेक घाँस काट्न, ओसार्ने, दाना, कच्चापदार्थ ढुवानीमा अरू थुप्रैले काम गर्छन् । एक अर्बको लगानीमा ६ लाख अनुदान अन्य क्षेत्रमा समेत लगानी गरेका शशी पौडेलले राज्यले किसानलाई सबैभन्दा बढी उपेक्षा गरेको गुनासो गर्छन् । ऋण दिने, सहुलियत, बीमालगायतमा धेरै झन्झटिलो भएकाले नीति नै कृषिमैत्री नभएको उनको तर्क छ । ‘काम गर्न खोज्नेलाई अल्झाउने नीति छ,’ उनी सोध्छन्, ‘यस्ता राज्यका नीति तथा कार्यक्रम कसरी कृषिमैत्री भए ?’ राज्यको नीति कृषिमैत्री नभएपछि उनले पाँचै विकास क्षेत्रमा गाई फार्म विस्तार गर्ने लक्ष्य खुम्च्याएर बसेका छन् । ‘पाँच विकास क्षेत्रमा एक÷एक गाई फार्म, दूध, विद्युत्, अर्गानिक उत्पादन, एग्रो रिसोर्ट तयार गर्ने योजना थियो,’ उनले चिन्ता व्यक्त गरे, ‘राज्यको नीति नै असहयोगी भएकाले मेरो लक्ष्य पूरा हुँदैन कि जस्तो लागेको छ ।’ गत वर्ष कृषि मन्त्रालयले पौडेलको गाई फार्मलाई प्रोत्साहनस्वरूप ६ लाख रुपैयाँ अनुदान दिइएको थियो । यस वर्ष १५ लाख रुपैयाँ अनुदान दिने मन्त्रालयले घोषणा गरेको छ । पहिले अचम्म मान्ने छिमेकी अहिले जिब्रो टोक्छन् छिमेकमा धनीमानीमा गनिएको व्यक्तिले एकाएक गाई पाल्न थालेपछि छिमेकीले अचम्म मानेका थिए । तर, हिजोआज गाईपालनबाट पनि राम्रो आम्दानी गरेको देखेर उनीहरू जिब्रो टोक्छन् । ‘सुरुमा त होइन शशीले के गरेको होला ? यत्रो कमाएको मान्छे, आनन्दले बस्न छाडेर किन दुःख बेसाएको होला भन्थे,’ उनी भन्छन्, ‘तर, हिजोआज उनीहरूले कृषि क्रान्तिमा लागेको प्रतिक्रिया दिन्छन् ।’ गोबरबाट पाँच किलोवाटको बिजुली व्यवसायले आकार लिँदै गएपछि आम्दानीसमेत बढ्दै जान थालेको छ । फार्मलाई बहुउपयोगी बनाउने उनको योजना छ । त्यसका लागि गोबर सदुपयोग गरेर १० किलोवाट बिजुली निकाल्ने तयारी थालिएको छ । फार्ममा पाँच सय घनमिटर क्षमताको बायोग्यास प्लान्ट बनाउन सुरु भइसकेको छ । ‘पहिलो चरणमा पाँच सय घनमिटरको गोबर ग्यास प्लान्ट बनाएर पाँच सय किलोवाट बिजुली निकाल्ने काम थालिएको छ,’ उनले भने, ‘गत आइतवार सुरु प्लान्ट करिब दुई महिनामा पूरा हुन्छ । त्यसपछि दोस्रो चरणमा पुनः पाँच किलोवाट निकाल्ने योजना छ ।’ सन्तुष्टिका लागि गोठालो जिजुबाजेले गरेको गाईपालनभन्दा केही व्यवस्थित तरिकाले आफूले गाई फार्म थालेको उनको बुझाइ छ । ‘म ०४५÷४६ देखि ०६२÷०६३ सम्म पत्रकारिता गर्थें । अहिले पनि पेपर र रेडियो छन् । कलेज अस्पताल र बैंकमा पनि लगानी छ,’ उनले भने, ‘मेरा बैंक, अस्पताल, कलेज छन् । ती सबैबाट पैसामात्रै कमाइने भइयो । आनन्द खोज्दाखोज्दै मैले गाई पाल्न थालें ।’ ‘गाईपालन नै किन रोजें ?’ उनको भनाइ छ, ‘गाई अध्यात्मसँग पनि जोडिएको छ । गाईको पुच्छर समातेर मर्दा वैतरणी तरिन्छ, स्वर्ग गइन्छ भन्ने मान्यता छ भने चार÷पाँच सय गाई पालेपछि वैतरणी नतर्ने कुरै भएन ।’ त्यतिमात्रै होइन, मानिसलाई दूध खुवाइएको छ । दूध भनेको अमृतसरह हो । कृषिप्रधान देशका किसानले मल बाहिरबाट ल्याएर माटो विशाक्त बनाइरहेकोमा उनको दुःखेसो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
-
पूर्वप्रधानमन्त्री खनाल साताव्यापी चीन भ्रमणमा
-
स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
करेन्ट लागेका बालकलाई क्षतिपूर्ति दिइने
-
देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु
-
‘उनीहरू युद्ध गर्न होइन, पढ्न गएका थिए’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण